आफूलाई चुनौती दिनेहरूलाई ओलीको ‘निषेध’, एकमात्रै महिला उपाध्यक्ष अष्टलक्ष्मीलाई पनि बोल्न दिइएन « Khabarhub

आफूलाई चुनौती दिनेहरूलाई ओलीको ‘निषेध’, एकमात्रै महिला उपाध्यक्ष अष्टलक्ष्मीलाई पनि बोल्न दिइएन



काठमाडौं- नेकपा एमालेले ११ औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाहघारीमा समापन गरेको छ ।

उद्घाटन सत्रमा प्रमुख दलका कोही पनि शीर्ष नेताहरू उपस्थित भएनन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठबाहेक अरु ठूला दलका शीर्ष नेताले एमालेलाई बहिष्कार गरेजस्तै दृश्य १०८ रोपनीको पटाङ्गिनीमा देखियो ।

एमालेको निम्तो स्वीकारेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले एमाले अध्यक्ष ओलीलक्षित भाषण दिए । उनले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन कसको कारण भएको हो ? यसमा मुख्य दोषी को हो ? भनेर एमालेकै मञ्चबाट प्रश्न गरे ।

जेन-जी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओलीतिर लक्षित गर्दै उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था किन र कसरी आयो भन्नेबारे गहिरो आत्मसमीक्षा यो महाधिवेशनमा गर्नुपर्ने छ ।’

बुर्लाकोटीले नेतृत्व पुस्तान्तरणको माग सबैले बुझिसकेको उल्लेख गर्दै एमालेले पनि यस विषयमा उपयुक्त निर्णय गर्नै पर्ने सुझाव दिए ।

संयोजक पुष्पकमल दाहाल प्रचण्डले निम्तो अस्वीकार गरेपछि पुगेका नेकपाका नेता देव गुरुङले कम्युनिस्ट पार्टीहरू ढिलोचाँडो एकै स्थानमा आउनुपर्ने बताए । उनले हरेक चुनौतीहरूमा कम्युनिस्ट मिलेर अगाडि बढेकाले एकताको पक्षमा महाधिवेशनले केही निर्णय गर्नुपर्ने सुझाव दिए ।

नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा नआएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का पुगे । उनले भदौ २७ गते गरिएको प्रतिनिधि सभा विगठनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय मुद्दामा एमाले र नेपाली कांग्रेस एकैसाथ रहेको बताए । खड्काले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा मुख खोलेनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै बाजा बजायो । संविधान संशोधनको विषय उठाएर लिङ्देनले राजाकोसमेत स्पेश खोज्दा नेतृत्व हस्तान्तरणको विषयमा मौन रहे।

एमालेले ११ औँ महाधिवेशनमा करिब ३ लाख कार्यकर्ता उतार्ने लक्ष्य राखेको थियो ।तर उद्घाटन सत्रमा अनुमानअनुसार करिब एक लाख हाराहारी मानिसहरू देखिए ।

तर एमालेको महाधिवेशनको उद्घाटन सत्रमा शीर्ष दलका नेताहरू उपस्थित नभएर केही न केही राजनीतिक सन्देश दिन खोजेका छन् । जेन-जी आन्दोलन हुनुमा आफ्नो कुनै गल्ती नदेखेका अध्यक्ष ओलीलाई अन्य दलले निकट भविष्यमा सहकार्यको रातो झण्डा देखाएको आँकलन भइरहेको छ।

पुरानै शैलीमा ओली

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले कुनै पनि रुपमा मञ्चबाट आत्मालोचना गरेनन्। जेन-जी आन्दोलनप्रति उनले कुनै पश्चताप पनि गर्नु जरूरी ठानेनन् । उनले जेन-जीद्वारा निर्मित सुशीला कार्की नेतृत्वकोको सरकारलाई सकेसम्म महाधिवेशनको मञ्चबाट आक्रमण गरिरहे ।

आफ्नो पुरानै शैलीमा प्रस्तुत भएका ओलीले एमालेको सक्दो बचाऊ गरे । ‘धुवाँ र खरानीको निषेध चिर्दै एमालेको पक्षमा जनलहर छ कि छैन भन्ने यहाँ उपस्थित जनसागरले दिएको छ । यहाँ उपस्थित जनसागर त एक थोपा मात्रै हो। यस्तो थोपाथोपा देशभरि छ’, उनले भने ।

प्रधानमन्त्री सुशीला कार्कीले चुनावको वातावरण नबनाएको भन्दै उनले असन्तुष्टि जनाएरे। ‘चुनावको मिति तोकिएको छ । तयारी कतै भएको छ त ? देखिँदैन’, उनले कटाक्ष गर्दै भने, ‘चुनाव गर्ने भए सरकार के गर्थ्यो, सबै दलको विश्वास जित्थ्यो, निर्णयमा पनि पारदर्शिता देखाउँथ्यो। राजनीतिक दललाई सभा-जुलुस गर्ने सुरक्षित वातावरण सिर्जना गर्‍थ्यो। लुटेका हातहतियार फिर्ता ल्याउँथ्यो। जेलबाट भागेका कैदीहरू फेरि जेलमा फर्काउँथ्यो ।’

ओलीले आफूसहित नेताहरूको राहदानी रोक्का र स्थान हद तोकिएकोबारे खुलेरै रोष प्रकट गरे । उनी यतिमै रोकिएनन्, सरकार र जेन-जीजीबीचको सम्झौताले देशलाई भिडन्ततर्फ लाने भन्दै गम्भीर षड्यन्त्रको संज्ञा दिए ।

‘सरकार र जेन-जीको सम्झौता देशलाई भिडन्ततर्फ लाने गम्भीर षड्यन्त्र हो। यस्ता नाटक मञ्चन गने प्रपञ्चको यो सरकारको जालो रहेको बुझिन्छ’, उनले भने, ‘सरकारले जेन-जी सम्झौता जस्ता नाटक मञ्चन गरेको छ । यो सम्झौता अनाधिकृत र बेकारको हल्ला हो।’

सरकारमाथि गाली बर्साएका ओलीले अन्तिमतिर जेन-जीलाई फकाउँदै भने, ‘जेन-जी साथीहरू पनि संयमित र धैर्यवान बन्दिनुहोला। यहाँहरूले भन्दै हुनुहुन्छ आन्दोलनमा घुसपैठ भयो। कोबाट भएको छ, यसको खोजीनीति हुनुपर्छ । शान्तिपूर्ण रुपमा समाज बदल्न सकिन्छ । म राजनीति दल र नेता कार्यकर्तालाई के आग्रह गर्छु भने जहाँ सकिन्छ, त्यहाँ युवालाई अगाडि सारौं।’

पोखरेल पक्षलाई बोल्न दिइएन

महाधिवेशन उद्घाटन कार्यक्रमको उद्घोषणको जिम्मेवारी उपमहासचिव प्रदीप ज्ञवालीले पाए। महासचिव शंकर पोखरेलले स्वागत मन्तव्य राखे । स्वागत मन्तव्यका क्रममा पोखरेलले भदौ २३ र २४ गतेको घटनामा जिम्मेवार देखाउन दुष्प्रयास गरिएको भन्दै ओलीको बचाउ गरे ।

‘अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जुन प्रकारले प्रचारबाजी भयो, एक प्रकारले भन्ने हो भने भदौ २३ र २४ को घटनामा हाम्रो अध्यक्षको जिम्मेवारी चित्रण गर्नु दुष्प्रयास हो’, पोखरेलले ओलीको बचाउ गर्दै भने, ‘गणतन्त्र विरोधीहरूले सडकमा गतिविधि गर्दा हाम्रो अध्यक्षमाथि प्रहार भयो। मुलुकमा एक प्रकारको भय त्रास प्रतिगमनले धकेल्ने प्रयास भइरहेको समयमा एमाले महाधिवेशनको उद्घाटनमा भएको उपस्थितिले धेरैलाई जवाफ दिएको छ।’

पोखरेलले यति मात्रै भनेनन्, एमाले कमजोर नभएको जिकिरसहित झनै शक्तिशाली भएर अगाडि बढ्नेसमेत दाबी गरे।

पोखरेल ओली ओली समूहका नेता हुन् । अब उनी एघारौं महाधिवेशनबाट पाएसम्म वरिष्ठ उपाध्यक्ष नत्र महासचिवमै दोहोरिने तयारीमा छन्।

ओलीका विश्वासिला पात्र उनले स्वागत भाषण गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका लागि बोल्नै मौकै दिइएन ।

कार्यक्रमको उद्घोषणका क्रममा ज्ञवालीले पनि अध्यक्ष ओलीको प्रशंसा गरे । उनी ओलीनिकट नेता हुन्। एघारौं महाधिवेशनमा उनी पनि महासचिवको दौडमा छन् । उनले यदि महासचिवमा जान नसके केन्द्रीय सदस्यमै बस्ने जनाउ अध्यक्ष ओलीलाई दिइसकेका छन् ।

शुभकामना मन्तव्य राख्दा ओलीले करिब आधा घण्टाभन्दा लामो भाषण गरे । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सम्बोधनको कुनै मौका दिइएन । पोखरेल पक्षका कुनै नेताले मञ्चको पोडियममा उक्लिएर बोल्न पाएनन्

एकमात्रै महिला उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई ओलीले मञ्चमा बोल्ने मौका दिएनन् । शुक्रबार बसेको बैठकमा शाक्यलाई शुभकामना मन्तव्य गर्न दिनुपर्ने माग उठेको थियो। तर ओलीले महासचिव पोखरेललाई नै शुभकामना मन्तव्य राख्न दिए।

‘हामीलाई घेराबन्दी गरेको देख्दा अध्यक्ष ओली र उनको टीम डराएको छ। उपाध्यक्ष शाक्य नभए वरिष्ठ उपाध्यक्ष पोखरेललाई शुभकामना मन्तव्य राख्न दिऊँ भनेका थियौँ’, एकजना सचिवालय सदस्यले भने, ‘अध्यक्षज्यू यसमा पनि डराउनुभयो । उहाँले आफूनिकटलाई मात्रै सम्बोधनको तालिका बनाउनु भयो ।’

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ९ : २१ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर