देउवाको निर्देशन अलपत्र, फर्केर हेर्दैनन् सानेपातिर कांग्रेसका मन्त्री | Khabarhub Khabarhub

देउवाको निर्देशन अलपत्र, फर्केर हेर्दैनन् सानेपातिर कांग्रेसका मन्त्री


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी मन्त्रीहरूले सभापति शेरबहादुर देउवाकै निर्देशन अटेर गरेका छन् ।

उनीहरूले सभापति देउवाले सातामा दुई दिन पार्टी केन्द्रीय कार्यालयमा जान दिएको निर्देशन पालना नगरेको देखिएको छ ।

सभापति देउवाले गत माघ ३ गते बूढानीलकण्ठस्थित निवासमा संसदीय दल कार्यसमितिको बैठकका क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सातामा दुई दिन केन्द्रीय कार्यालयमा पुग्न निर्देशन दिएका थिए ।

बूढानीलकण्ठ बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले मन्त्रीहरूलाई सातामा दुई दिन ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा पुग्न भनिएको सञ्चारकर्मीहरूलाई ‘ब्रिफिङ’ गरेका थिए ।

‘हाम्रा मन्त्रीहरू अब सातामा दुई दिन केन्द्रीय कार्यालय सानेपामा पनि पुग्नुहुनेछ,’ घिमिरेले संघीय मन्त्रीहरूसमेत सहभागी संसदीय दल कार्यसमिति बैठकपछि भनेका थिए, ‘त्यहाँ नेता–कार्यकर्ताहरूसँग भेटघाट गर्नु हुनेछ । तलबाट आएका गुनासा सुन्नु हुनेछ ।’

तर, सानेपा स्रोतले सभापति देउवाको निर्देशनविपरीत मन्त्रीहरू पार्टी कार्यालयमा पुग्ने नगरेको जानकारी खबरहबलाई दिएको छ । ‘महामन्त्रीज्यूहरू (गगन थापा र विश्वप्रकाश शर्मा) सातामा दुई–चार, दुई–चार दिन बिराएर आइरहनुहुन्छ । मन्त्रीज्यूहरूको चाहिँ त्यस्तो बाक्लो उपस्थिति अहिलेसम्म देखिएको छैन ।’

सभापति देउवाको निर्देशनबमोजिम एकजना पनि मन्त्री एक महिनायता सानेपा नपुगेका केन्द्रीय कार्यालयसम्बद्ध एक अर्का कर्मचारीले बताएका छन् । मन्त्रीहरूको आगमनबारे खबरहबको जिज्ञासामा ती कर्मचारीले भने, ‘कोही आएका छैनन् ।’

केन्द्रीय कार्यालयमा आयोजना हुने बैठक र कार्यक्रमहरूमा मन्त्रीहरू उपस्थित हुने गरे पनि सभापति देउवाको निर्देशनअनुसार कसैले पनि सानेपा पुगेर नेता–कार्यकर्ताको गुनासो नसुनेको कांग्रेस कार्यालय स्रोतको भनाइ छ ।

‘अस्ति समिटमा सबै मन्त्रीज्यूहरू आउनुभएको थियो । त्यसपछाडि एकजना पनि मन्त्री पनि सानेपा आउनुभएको छैन’, ती कर्मचारीले खबरहबलाई भने ।

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले माघ १६ र १७ गते गरेको ‘नेपाल स्टार्ट–अप र साना तथा मझौला व्यवसाय सम्मेलन’मा प्रायः सबै मन्त्री त्यहाँ पुगेका थिए ।

काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रकाशमान सिंह कांग्रेसको नेतृत्व गर्दै उपप्रधान एवम् सहरी विकासमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । उनीसँगै कांग्रेसबाट अन्य नौ मन्त्री र दुईजना राज्यमन्त्री सरकारमा छन् ।

उपप्रधानमन्त्री सिंहका स्वकीय सचिव यूपी लामिछानेले सभापति देउवाको निर्देशनअनुसार पार्टी केन्द्रीय कार्यालयमा जाने तालिका तय नभएको प्रतिक्रिया दिएका छन् । उनले खबरहबसँग भने, ‘त्यसमा छलफल चलिरहेको छ । पार्टीले नै एउटा सेड्युल बनाउने भनेको छ ।’

कांग्रेसबाट रमेश लेखक गृहमन्त्री, डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री, बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् ।

यस्तै, रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकासमन्त्री, दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, ऐनबहादुर शाही ठकुरी वन तथा वातावरणमन्त्री तथा रुपा विक वन तथा वातावरण राज्यमन्त्री र पूर्णबहादुर तामाङ ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारीमा छन् ।

अर्को निर्देशन

देउवाले त्यसपछि गत माघ १४ गते पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिए ।

संसदीय दलको बैठकमा दलको नेतासमेत रहेका सभापति देउवाले सरकारमा सहभागी मन्त्रीहरूलाई पार्टीबाट निर्वाचित सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका थिए ।

‘सभापतिज्यूले अन्तिममा मन्त्रीज्यूहरूको काम अलिकति अप्ठ्यारो त होला तर, सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो,’ बैठकपछि कांग्रेस सांसद रामहरि खतिवडाले भनेका थिए ।

‘गठबन्धनको सरकार हाम्रो ७ बुँदे सहमतिअनुसार निरन्तर जाने कुरामा विवाद छैन । तर, गल्ती भयो भने गल्ती भएका कुराहरू खुलेर राख्न सभापतिले पनि भन्नुभएको छ,’ खतिवडाले त्यसबेला भनेका थिए, ‘माननीय सदस्यहरूले पनि कुरा उठाएका छन् ।’

सभापति देउवाको यो निर्देशनको अवस्थाबारे पनि पार्टीले केही बोलेको छैन । मन्त्रीहरूको कामबारे प्रश्न उठिरहेका बेला देउवाले सांसदहरूसँग सम्वन्य र कार्यकर्तासँग भेटघाट बाक्लो बनाउन मन्त्रीहरूलाई भनेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १२ : १६ बजे

रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु

स्कोप्जे– उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा

राजावादी आन्दोलनबारे प्रधानमन्त्री- लोकतन्त्र राजमार्ग हो, यसमा ‘ब्याक गियर’ हुँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई राष्ट्रिय राजमार्गको संज्ञा दिँदै

उच्च प्रतिफल दिने आयोजनामा वैदेशिक सहायता स्वीकार गर्ने सरकारको नीति छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च प्रतिफल दिने आयोजनाहरूमा

फोहर प्रशोधन गर्दै जुम्लाको चन्दननाथ नगरपालिका

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक र सिसाजन्य फोहर प्रशोधन सुरु

विश्लेषक मीना पौडेलको ‘साहस’ बजारमा

काठमाडौं- समाजवादी विश्लेषक मीना पौडेल लिखित ‘साहस (महिला बेचबिखन, बहिष्कार