जनसङ्ख्याको एक प्रतिशतले पनि गर्दैनन्‌ रक्तदान, युवा सहभागिता न्यून | Khabarhub Khabarhub

सन्दर्भ : विश्व रक्तदाता दिवस

जनसङ्ख्याको एक प्रतिशतले पनि गर्दैनन्‌ रक्तदान, युवा सहभागिता न्यून


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज विश्व रक्तदाता दिवस; ‘रक्तदान गरौँ, आशा देऊ, सँगै हामी जीवन बचाउँछौँ’ नारासाथ नेपाल लगायत विश्वभर मनाइँदैछ ।

रक्तसमूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ अवसरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा सुरक्षित रक्तदान र रगत उत्पादन आवश्यकताबारे सचेतना जगाउनुका साथै रक्तदातालाई धन्यवाद ज्ञापन गर्ने गरिन्छ ।

विगत तुलनामा रक्तदानप्रति केही हदसम्म सचेतना फैलिए पनि आवश्यक परेका बेलामा रगत नपाइने समस्या अझै कायम छ । यो समस्या हटाउन रक्तदानप्रति सचेतना फैलाउन आश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।

नेपालमा रक्तदाताको अवस्था

ब्लड डोनर्स एशोसिएसन अफ नेपाल (ब्लोदान) का अध्यक्ष राजेश श्रेष्ठ डब्ल्यूएचओको मान्यताअनुसार रगत अभाव हुन नदिन मुलुकको कुल जनसङ्ख्याको दुई प्रतिशतले वर्षेनी रक्तदान गर्नुपर्ने बताउँछन् ।

तर, अहिले त्यसको आधा जनसङ्ख्याले पनि रक्तदान नगरेका उनले बताए । तथ्याङ्क अनुसार अहिले कुल जनसङ्ख्याको ०.८ प्रतिशतले मात्रै रक्तदान गर्ने गरेको पाइएको छ ।

नेपालमा अहिले २४–२५ वटा रक्तसञ्चार केन्द्र रहे पनि कुन केन्द्रबाट कति रगत सङ्कलन हुन्छ ? कति प्रयोगमा आउँछ ? कति नष्ट गर्नुपर्छ ? भन्ने कुराको लेखाजोखा कसैसँग नभएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘सूचना–प्रविधिको अहिलेको युगमा रक्तदानसम्बन्धी कार्यलाई डिजिटलाइज गरी सङ्कलन, खपत तथा नष्ट गरिएको परिणाम लगायत सबै कुराको जानकारी राख्न सक्दा सबैलाई सहज हुन सक्छ, रगतको सही सदुपयोग गर्न पनि सघाउ पुग्छ,’ श्रेष्ठले भने ।

दाताबाट सङ्कलन गरिएको रगत ३५ दिनभित्र प्रयोग गरिसक्नुपर्ने बताउँदै अध्यक्ष श्रेष्ठ थप्छन्, ‘यो अवधिमा उपयोग गर्न नसकिए उक्त रगत नष्ट गर्नुपर्ने हुन्छ । कुनै बिरामी भने त्यही रगत नपाएर छट्पटिरहेका हुन्छन् ।’

त्यस्तो अवस्था सिर्जना हुन नदिन डिजिटल बोर्डको विकल्प नभएको श्रेष्ठले बताए ।

रगत किनबेचको इतिहास

विगतमा वीर अस्पताल पछाडि सञ्चालित लक्ष्मी ब्लड बैङ्कमा निर्वाध रूपमा भरियाबाट रगत किनबेच हुने गरेको इतिहास रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

उनका अनुसार उक्त ब्लड बैङ्क वि.सं. २०२३ सालतिर सञ्चालनमा आएको थियो । पछि त्यो ब्लड बैङ्क नेपाल रेडक्रसलाई हस्तान्तरण गरियो ।

२०२३ देखि २०३८ सालको बीचमा न्यूरोड र असनलगायत व्यापारिक केन्द्रमा भरियाको रूपमा काम गर्नेहरूले पैसाकै लागि ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्ममा रगत किनबेच गर्ने गरेको इतिहास छ । तर, अहिले त्यो पूर्णरूपमा बन्द भइसकेको उनले बताए ।

पछिल्लो समय पठाओ चालकहरूले उक्त काम गरेको सुनेपछि त्यसलाई तत्काल हटाइएको श्रेष्ठले जानकारी दिए ।

रक्तदानसम्बन्धी दिशानिर्देश र मापदण्ड

सामान्यतयाः बालबालिका बाहेक जो कोहीले पनि रक्तदान गर्न सक्छन् भन्ने सामान्य धारणा छ । तर, चिकित्सकहरूले केही दिशानिर्देश मापदण्डहरू तय गरेका छन् ।

१७ देखि ६० वर्ष उमेरका कुनै पनि लिङ्गका व्यक्तिले रक्तदान गर्न सक्छन् । रक्तदाताको तौल न्यूनतम ४५ किलोग्राम र रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्रामभन्दा बढी हुनुपर्छ । रक्तदान गर्ने व्यक्ति स्वस्थ र कुनै गम्भीर रोगबाट पीडित हुनुहुँदैन ।

मुटु, फोक्सो र कलेजो राम्रो अवस्थामा हुनुपर्छ । जन्डिस, मलेरिया, टाइफाइड, एड्स र हेपाटाइटिसजस्ता रोग विगतदेखि नै लागेको हुनुहुँदैन । यदि दाताले कुनै औषधि प्रयोग गरिरहेको छ भने रक्तदानअघि डाक्टरसँग परामर्श गर्नुपर्छ ।

वर्षमा चारपटक भन्दा बढी रक्तदान गर्न हुँदैन । महिलाहरूलाई वर्षमा दुई पटकमात्र रक्तदान सिफारिस गरिएको छ । सिफारिसअनुसार; एक पटकमा ४०० मिलिलिटर भन्दा बढी रक्तदान गर्नुहुँदैन ।

प्रत्येक पटक रगत निकालेपछि शरीरमा तरल पदार्थको मात्रा पुनर्गठन गर्न ३६ घण्टा र रक्तकोष गणना सामान्य स्तरमा फर्कन २१ दिन लाग्छ ।

रक्तदानका लागि को अयोग्य ?

क्षयरोग, यौनजन्य रोगहरू, मधुमेह, दम, उच्च रक्तचाप, मिर्गौला समस्या, मुटु रोग, जन्डिस, ज्वरो, एड्स स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई रक्तदान निषेध गरिएको छ ।

यदि व्यक्ति लामो समयदेखि औषधि सेवन गरिरहेको छ वा कुनै पनि लागूपदार्थको लतमा छ भने उसलाई रक्तदान गर्न निषेध गरिन्छ । महिलाहरूको हकमा महिनावारी, गर्भावस्था र स्तनपानको समयमा पनि रक्तदान गर्न मिल्दैन ।

रक्तदाता बढाउन सरकारकै भूमिका आवश्यक

ब्लोदानका अध्यक्ष श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक ५०० पिन्ट रगत आवश्यक हुन्छ । तर, मागअनुसार आपूर्ति हुन सकेको छैन । आपूर्ति नहुनुको कारण मुख्यगरी सचेतना फैलाउन नसक्नु रहेको उनी बताउँछन् ।

‘सचेतना फैलाउन सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सबै सरोकारवाला निकायहरूले ध्यान दिनुपर्छ । हामीजस्तो स्वयंसेवी रक्तदान गर्ने गराउने संस्थालाई सङ्गै लगेर छुट्टै बजेट राखेर सचेतनामूलक कार्यक्रम राख्यो भने माग र आपूर्तिमा सामञ्जस्य ल्याउन सक्छौँ’, उनले भने ।

विगत तुलनामा सचेतना केही मात्रामा बढे पनि चाहिने जति रगत सङ्कलन गर्न नसकिएको श्रेष्ठले उल्लेख गरे । १८ वर्ष पुगेका हरेक स्वस्थ नागरिकलाई रक्तदान गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १ : ५२ बजे

माइतीघरमा आमरण अनसन बसेका मेयरलाई प्रहरीले उठाउन खोजेपछि…

काठमाडौं– सात बुँदे माग राखेर माइतीघरमा आमरण अनसन बसिरहेका खोटाङको

स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालय अन्तर्गतका कार्यालयहरूको आर्थिक

रास्वपाको निर्णय‍- भिजिट भिसा प्रकरणमा संसदीय समिति नबनेसम्म आन्दोलन रोकिँदैन

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन

रेशमले पारित गराए रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव, बुवा लालवीरलाई नेतृत्वमा ल्याउने तयारी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटेबाघहरू नामकरण गरिए

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका पाटेबाघको पहिचान तथा सहजताका लागि