काठमाडौं– सरकारको पूर्ण स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले लामो समयदेखि राम्रो व्यावसायिक क्षमता प्रदर्शन गर्न सकेको छैन । सरकारकै अन्य केही संस्थानहरू नाफामा चलिरहँदा नेवानि भने लगातार घाटामा चलिरहेको छ ।
वि.सं. २०१५ असार १७ स्थापना भएको निगम पछिल्लो समयमा व्यावसायिक असक्षमताका कारण आलोचनाको केन्द्र बन्दै आएको छ ।
दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी र दुईवटा ट्वीनअटरसहित ६ वटा विमान सञ्चालन गर्दै आएको निगमको आम्दानीभन्दा खर्च धेरै छ । अर्थात्, नाफाको दिशातर्फ उन्मुख हुनेभन्दा निगम वर्षेनि घाटामा चलिरहेको छ । यद्यपि, अघिल्ला दुई वर्षको तथ्यांकले निगमले वार्षिक अर्बौं घाटालाई घटाउन सफल भएको देखिन्छ ।
निरन्तर घाटा
निगमले हालसम्म आर्थिक वर्ष ०७९/८० सम्मको मात्रै पूर्ण लेखापरीक्षण सम्पन्न गरेको छ । उक्त लेखापरीक्षणअनुसार निगम आर्थिक वर्ष ०७८/७९ मा एक अर्ब ७१ करोड १२ लाख १७ हजार ६८८ रुपैयाँ घाटामा थियो । त्यसको पछिल्लो आर्थिक वर्ष ०७९/८० सम्म आइपुग्दा निगमले वार्षिक घाटामा एक अर्ब चार करोड बढीले कटौती गरेर ६६ करोड ५३ लाख १४ हजार ४३ रुपैयाँमा र्झान सफल भयो ।
निगमले आर्थिक वर्ष ०८०/८१ मा २० अर्ब ५० करोड रुपैयाँ कूल आय हुने अनुमान गरेको छ । त्यस अवधिमा निगमले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडानबाट १४ अर्ब १९ करोड ५७ लाख र ग्राउन्ड ह्यान्डलिङबाट पाँच अर्ब ४९ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
निगमको आम्दानीतर्फ टिकट, कार्गो र एक्सेस ब्यागेजको हिस्सा सबैभन्दा धेरै ७३ प्रतिशत छ, २७ प्रतिशत ग्राउन्ड ह्याडलिङको आम्दानी छ ।
तथ्यांकअनुसार ०८० असार मसान्तसम्म निगमको सञ्चित नोक्सानी १५ अर्ब ६२ करोड थियो, उता दीर्घकालीन कर्जा ५२ अर्ब पुगेको थियो ।
१४६६ कर्मचारी, पाइलट ७९ जना
निगममा आ.व. ०८१/८२ को अन्तिमसम्म एक हजार चार सय ६६ जना कर्मचारीले काम गर्दै आएका छन् । स्वीकृत दरबन्दी दुई हजार तीन सय ६९ भएकोमा नौ सय १० जना कर्मचारीको दरबन्दी खाली रहेको निगमले जनाएको छ ।
निगमले खबरहबलाई उपलब्ध गराएको तथ्यांकअनुसार आठ सय ५५ जना कर्मचारी स्थायी छन् भने तीन सय ३६ कर्मचारीले कन्ट्रयाक्ट दरबन्दीका छन् । त्यस्तै, निगममा दुई सय ७५ कर्मचारी मासिक ज्यालादारीका छन् ।
ती कर्मचारीमध्ये ७९ जना पाइलट छन् । जसमध्ये ६० जना स्थायी र १९ जनाले कन्ट्रयाक्ट दरबन्दीमा काम गर्ने निगमले जनाएको छ । साथै, एक सय ६८ जना कर्मचारीले क्याबिन क्रुमा काम गर्ने गरेकोमा एकजना बाहेक सबै कर्मचारीले कन्ट्रयाक्टमा छन् ।
निगमका अनुसार गत आवमा मात्रै ३० जना कर्मचारीले राजीनामा दिए भने ५६ जना अवकासमा गए ।
चार वर्षमा आठ अर्ब ऋण भुक्तानी
निगमले पछिल्लो चार वर्षको अवधिमा झण्डै आठ अर्ब रुपैयाँ ऋण भुक्तानीमा खर्च गरेको छ । खबरहबलाई उपलब्ध तथ्यांकअनुसार निगमले आव ०७८/७९ देखि ०८१/८२ सम्म कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई सात अर्ब ९२ करोड १४ लाख ६३ हजार तीन सय ७४ रुपैयाँ ऋण भुक्तानी गरेको छ ।
जसमध्ये निगमले ए ३३० र ए ३२० एयरबस खरिदका लागि कर्मचारी सञ्चय कोषबाट लिएको ऋणबापत कोषलाई गत आवको असार मसान्तसम्म एक अर्ब ७० करोड र चार अर्ब ४२ करोड १४ लाख ६३ हजार तीन सय ७४ रुपैयाँ बुझाएको छ ।
त्यस्तै, निगमले ए ३३० एयरबस खरिदकै लागि नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये गत आवको असार मसान्तसम्म एक अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ । उक्त ऋण भुक्तानीपछि दुई कोषलाई निगमले ४७ अर्ब पाँच करोड बढी भुक्तानी गर्न बाँकी छ । जसको ब्याजदर औसतमा झण्डै १० प्रतिशत भन्दा बढी छ ।
ऋण स्वाप प्रक्रियामा निगम, दुई आवेदन
निगमले ऋणको ब्याजदर उच्च भएपछि सस्तोमा रुपान्तरण गर्न प्रक्रिया अगाडि बढाएको छ । झण्डै एक वर्षदेखि अन्तर्राष्ट्रिय सहुलियत ऋणका लागि गरेको आह्वानमा दुई कम्पनीले आवेदन दिएका निगमका प्रवक्ता सुवास डाँगीले बताएका छन् । उनका अनुसार ती आवेदनको मूल्यांकन टुंगोमा पुगिसकेको छैन ।
अहिलेको तुलनामा ५ प्रतिशत कम ब्याजदरको सहुलियत ऋण लिन सके वार्षिक १६ करोड बढी, ४ प्रतिशत ब्याजदरमा लिन सके ६३ करोड बढी र २ प्रतिशतमा लिन सके वार्षिक डेढ अर्ब बढी बचत हुन सक्ने अनुमान निगमले गरेको छ ।
प्रतिक्रिया