दोलखा– जिल्लाको शैलुङ गाउँपालिका भित्रका स्थानीय कृषक तरकारी तथा आलुखेतीमा लागेका छन् । यहाँका कृषकको आम्दानीको मुख्य स्रोत तरकारी खेती बन्न थालेको छ । तरकारी खेतीबाट यहाँका स्थानीयले लाखौँ आम्दानी गर्दै आएका छन् ।
बढ्दो बेरोजगारी र आत्मनिर्भर बन्न चाहने इच्छाले पछिल्ला वर्षहरूमा यहाँका स्थानीय किसानले परम्परागत खेतीलाई भन्दा छोटो समयमै आम्दानी लिन सक्ने व्यावसायिक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् ।
घट्दो जनसंख्या र बढ्दो तरकारी उत्पादनले यहाँको ढुङ्गे, बोत्ले, नागी, कालापानी, झोर मनगाउँ, भुरुङ्गा, काडे, शैलुङ्गेश्वर, भैसे लगायतका स्थानीय कृषकको आयआर्जन तथा आम्दानीको भरपर्दो स्रोत तरकारी खेती बन्न पुगेको छ ।
शैलुङ ढुङ्गेकी माया तामाङ यति बेला तरकारी लगाउन व्यस्त छिन् । दुई वर्ष अघिसम्म काठमाडौंमा ज्यामी काम गर्दै आएकी उनी अहिले गाउँ फर्केर तरकारी खेतीमा लागेकी छन् ।

तरकारीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ । ‘दिनभर ज्यालादारीमा काम गर्दा परिवारको छाक टार्न समस्या हुन्थ्यो । तर अहिले त्यस्तो छैन एक सिजनमा काउली, बन्दाकोबी गाजर र आलुबाट एक लाखसम्म आम्दानी हुने गरेको छ ।’, उनले भनिन् ।
शैलुङ ढुङ्गेका दर्जनौँ किसान हिजोआज तरकारी रोप्न व्यस्त छन् । शैलुङको तरकारी काठमाडौंमासमेत निर्यात हुँदा बजारको समस्या नरहेको यहाँका तरकारी कृषक सुनाउँछन् ।
‘तरकारी रोप्ने बित्तिकै ठेकेदार तरकारीको मूल्य तोक्न बारीमै आउने गर्छन् ।’, बोत्लेकी स्थानीय हरिमाया खड्काले भनिन् । उनले दुई रोपनीमा तरकारी लगाएकी छन् । उनको बारीमा गाजर, फुलकाउली, बन्दा, मुला रोप्ने समय सुरु भएको छ ।

तरकारीले जीविकोपार्जनसँगै राम्रो बचत समेत हुने गरेको उनको भनाइ छ । गत वर्ष ८०/९० हजारको काउली र बन्दा बिक्री गरेकी खड्काले यस वर्ष काउली-बन्दासँगै मुला र गाजर पनि लगाएकी छन् । शैलुङ ढुङ्गेका अर्को स्थानीय साइला तामाङले पनि तरकारीबाट राम्रो आम्दानी लिँदै आएका छन् ।
तामाङले यस वर्ष तरकारीबाट ३ लाख ५० हजार तरकारीबाट आम्दानी लिने अनुमान गरेका छन् । अहिले मुला ,काउली र गाजरका बिरुवा उनको बारीमा हुर्किरहेका छन् । बाझो पाखो र भिरालो बारीमा लगाएको काउली राम्रो उत्पादन हुने गरेको तामाङ बताउँछन् ।
शैलुङको ढुङ्गेबाट वार्षिक ५ करोड भन्दा बढीको तरकारी काठमाडौं निर्यात हुने गरेको छ।गाउँपालिकाको बिउ विजन बाहेक अन्य सहयोग बिनै यहाँ किसानले करोडौँको तरकारी उत्पादन गर्दै आएको स्थानीय बोत्लेका मकरबहादुर शाक्यले बताए ।

उनका अनुसार शैलुङका विभिन्न गाउँबाट मौसमी तथा बेमौसमी सिजनमा ५०/६० करोड हाराहारीको तरकारी काठमाडौं निर्यात हुन्छ । आलु वार्षिक ४०/५० करोडको उत्पादन तथा बिक्री हुने गरेको छ ।
यता गाउँपालिका सँग उत्पादन र बिक्रीको तथ्याङ्क नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । प्राविधिक गङ्गामाया जिरेलका अनुसार वार्षिक अनुमानित ६० करोड बराबरको तरकारी सिधै काठमाडौं कालिमाटीमा निर्यात हुने गरेको पाइएको छ ।
धेरै खेती हुने र किसानले सिधै ठेकेदारलाई दिने हुँदा पालिकासँग यकिन उत्पादन संख्या र तथ्याङ्क नरहेको र फिल्ड भिजिट गर्दा सामान्य एक जना किसानले १लाख ५० हजार देखि १२ लाखसम्म तरकारीबाट आम्दानी गर्ने गरेको उनले बताइन् ।

गत वर्ष गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा काउली, मुला, बन्दा, गाजरको बिउ वितरण गरे पनि किसानले मागे जति बिउ पुर्याउन नसकेको उनको गुनासो छ ।
उनले भनिन्, ‘एक किसान -५/७ केजी सम्म काउलीको बिउको दल राख्ने गर्छन् । हामीले दिने भनेको एक कृषक बराबर आधा केजी देखि दुई केजीसम्म मात्रै बिउ हो । उहाँहरूले दुई रोपनी देखी ८० रोपनीमा तरकारी लगाउनु हुन्छ ।’ यस वर्ष भने उक्त कार्यक्रम बजेट अभावमा गर्न नसकेको प्राविधिक जिरेल बताउँछिन् ।
यता गाउँपालिका अध्यक्ष रिमालबावु श्रेष्ठले पनि पालिकाबाट वार्षिक ५५/६० करोडको तरकारी र ४० करोड बराबरको आलु निर्यात हुने गरेको बताए ।
पालिकाले वार्षिक तथ्याङ्क नराखे पनि शैलुङ क्षेत्रबाट ४० करोड बराबरको आलु मुडे तथा काठमाडौं निर्यात हुने गरेको उनले सुनाए । तरकारी पनि सो भन्दा बढी निर्यात हुने गरेको श्रेष्ठले सुनाए ।

गत वर्ष स्थानीयले ठेकेदारमार्फत ५०/५५ करोड माथिको तरकारी विभिन्न सिजनमा निर्यात गरेका थिए । शैलुङमा उत्पादित तरकारी तथा आलुलाई पालिकाले थप प्रवर्द्धन गर्न खोजे पनि बजेट अभावले नसकेको पालिका अध्यक्ष श्रेष्ठ बताउँछन् ।
स्थानीय सरकारसँग सीमित स्रोत र बजेट हुन्छ खै कसरी कृषिमा लगानी गर्नु ?उनले भने,उत्पादन राम्रो छ तर पालिकाले सोचेजस्तो कृषि र किसान हितमा काम गर्न सकिरहेको छैन ।
‘माथिल्लो निकायबाट आउने बजेट कर्मचारीको तलब र शिक्षा, स्वास्थ्य, पूर्वाधार क्षेत्रको आवश्यकता पुरा गर्दै सकिन्छ,’ श्रेष्ठले भने । शैलुङ झोरगाउँ, मनगाउँ, कालापानी, बोत्ले, नागी, ढुङ्गेलगायतका गाउँ तरकारीखेती उत्पादनका हिसाबले पकेट गाउँ हुन् ।
यहाँका यी गाउँमाबाट हजारौँ टन तरकारी तथा आलु उत्पादन हुँदै आएको छ । वर्षभरीलाई खान र खर्च पुग्ने गरी यहाँका स्थानीयले तरकारी लगाउने गर्छन् । यति धेरै उत्पादन र तरकारी निर्यात हुँदा पनि स्थानीय सरकारले प्रदेश तथा केन्द्र सरकारबाट सहयोग पाउन नसकेको पालिका अध्यक्ष श्रेष्ठको दुखेसो छ ।

प्रदेशबाट आएका साझेदार कार्यक्रमले सबै किसानलाई समेट्न सकिँदैन उनले भने,खेती प्रवर्द्धनको लागि हामीसँग प्राप्त बजेट हुन्न । किसान आफैँले लगानी गरेर करोडौँको आलु तथा तरकारी फलाउँदै आउनु भएको छ ।
गत वर्ष कृषि तथा पशु प्रवर्द्धन कार्यक्रम करिब साढे एक करोड बजेट विनियोजन गरिएको थियो।यस वर्ष पनि बजेट विनियोजन त गरेको छु तर त्यतिले सबैलाई समेट्न सकिँदैन उनले भने । मुख्यगरी शैलुङको वडा नम्बर-१,२,३,६ र ८ मा राम्रो तरकारी तथा आलुखेती हुँदै आएको छ । सुवाश बस्नेत/दोलखा
प्रतिक्रिया