काठमाडौं- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास बूढानीलकण्ठमा भएको कुटपिटबाट गम्भीर घाइते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अझै राम्रो नभएको पाइएको छ।
मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधनका क्रममा पुगेका उनी अझै स्वस्थ नभइसकेको देखिएको एकजना नेताले बताएका छन्।
कुटपिबाट टाउकोको पछाडि भागमा १२ टाँका लगाएर लामो उपचार गरिएका देउवा अझै बिरामी अवस्थामा रहेको देखिएको ती नेताले बताए ।
‘उहाँ सानेपा पुग्दा केही काँपेको जस्तो देखिनु भयो । उहाँले सानेपामा पनि रिँगटा चलेजस्तो महसुस गर्नु भयो’, कांग्रेसका एक पदाधिकारीले भने,‘उहाँको सचिवायले पनि स्वास्थ्य अवस्था ठिक नभएको बताउनु भएको छ ।’
बैठकमा देउवासँगै उनकी पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सहभागी थिइन्। बैठकमा सम्बोधनका क्रममा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको भूमिका दिएका छन् ।
कांग्रेस नेताहरूले भने जस्तै देउवा अब खड्कालाई कार्यवाहक दिएर थप उपचारका लागि सिंगापुर जाने तयारीम छन् । त्यसकै लागि देउवाले सैनिक अस्पतालमै हुँदा राहदानीसमेत बनाइसकेका छन् ।
प्रतिक्रिया