काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे अहिले नेतृत्व परिवर्तनको पक्षमा छन् । जेन–जी आन्दोलनअघि नै उनी नेतृत्व परिवर्तनको पक्षमा देखिएका हुन् । अहिले उनी अध्यक्ष केपी शर्मा ओलीले नौतिकताका आधारमा बिदा हुनुपर्ने तर्क गरिरहेका छन् । तर जेन–जी आन्दोलनको बलमा दुईतिहाइको सरकार गुमाएर पनि अझै ओलीले ११ औँ महाधिवेशनमा नउठ्ने भन्न नसकेको पाण्डे बताउँछन् । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकेको अवस्थामा आगामी केन्द्रीय कमिटीले त्यसलाई उल्ट्याउने कुरामा पाण्डे ढुक्क देखिएका छन् । भण्डारीले सदस्यता नवीकरण नभए नयाँ विकल्प खोज्ने सम्भावना नरहेको उनी बताउँछन् । भण्डारीका लागि एमालेको ढोका खोलिने उनको विश्वास छ । ११ औँ महाधिवेशनका प्रतिनिधिले नयाँ ऊर्जा र विचारसहितको नेतृत्व ल्याउन विद्रोह गर्नुपर्ने बताउँछन् । एमालेका दोस्रो पुस्ता अघि सर्नुपर्ने मत बलियो भइरहेको अवस्थामा उपाध्यक्ष पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश :
यहाँहरूले त महाधिवेशनपछि पनि केपी ओली नै अध्यक्षमा फर्किने बाटो खोलिदिनु भयो नि ?
छोडेको छैनौँ । उहाँले केन्द्रीय कमिटी बैठकमा यसबारे बोल्नुहोला भन्ने लागेको छ । बाटो त बाँकी नै छ । त्यसो गर्छु भन्नु माान्छेको नैतिक अधिकार पनि हो ।
उहाँले आगामी महाधिवेशनमा म उठ्दिन भन्नुभएन ?
कहाँ भन्नु, छोड्ने मान्छे भए यत्रो प्रश्न उठ्दा छोडिहाल्नु हुन्थ्यो नि । शक्तिमा पुगेको मान्छेले अन्तिमसम्म पनि पदबाट बिदा लिन कहाँ मान्छ र ?
तपाईंहरूले नउठ्नुस्, अब विश्राम लिनुस् भन्नुभएन ?
भनेकै हो । तर उहाँले हाम्रा कुरा कहाँ सुन्नु हुन्छ र ? हामी अझै आशावादी छौँ, उहाँले छोड्नुहुन्छ ।
उसो भए उहाँ फेरि महाधिवेशनबाट आउने सम्भावना देखियो होइन ?
त्यो त स्वभाविक छ । उहाँले म उठ्दिनँ नभनेपछि यो कुरा स्वाभाविक भयो । मैलिक हकको कुरा पनि होला । उहाँले म उठ्दिनँ भन्नुभएन । वाचा बन्धन गराउने अवस्था पनि भएन । कसैले छोड्नुपर्छ भने, कसैले बस्नुपर्छ भने । निर्णय गर्ने आफ्नो मतको कुरा भयो । बाँकी कुरा महाधिवेशनले गर्छ ।
उहाँ फेरि अध्यक्ष हुने दौडमै देखिनु भयो होइन ?
यो कुरा उहाँलाई सोध्दा राम्रो । तर उहाँ नैतिकवान् भएकाले यसो नगर्नु भन्ने हाम्रो सुझाव छ । उहाँ ११ औँ महाधिवेशनमा उठ्ने योजनामा हुनुहुन्छ या हुनुहुन्न मलाई थाहा भएन ।
फेरि अध्यक्षमा ओली नै दोहोरिनुभए एमालेलाई आगामी निर्वाचनमा गम्भीर धक्का लाग्ला नि ? अध्यक्षमाथि जेन–जी आन्दोलन दबाउन आदेश दिएको र भ्रष्टाचारीलाई संरक्षण गरेकासहित कयौँ आरोप छन् ।
यसबारे छलफल गर्न बाँकी छ । सचिवालय बैठकमा नयाँ नेतृत्वको विषयमा छलफल भएन । किनकि महाधिवेशन प्रस्तावित छ । केन्द्रीय कमिटीले मिति तय गर्ला । त्यसपछि नयाँ नेतृत्वका लागि सबै विकल्पमा छलफल हुन्छ ।

नयाँ अनुहार आउला कि पुरानै अनुहार दोहोरिएलान् ?
त्यो त म भन्न सक्दिनँ । महाधिवेशन प्रतिनिधिले के गर्छन् भन्न मिलेन । तर अहिलेको समयको माग र आवाज नयाँ आउन्, पुराना बिदा हुन् भन्ने छ । हरेक दलमा यो आवाज उठेको छ । त्यही कुरा महाधिवेशनमा कसरी उठ्छ हेर्न बाँकी छ ।
पुराना भन्दै गर्दा यहाँहरूमाथि पनि प्रश्न छ नि, तपाईंहरू तयार हो ?
हामी तयार छौँ, केही फरक पर्दैन । किनभने सबै मान्छे एकदिन बुढा हुन्छन् । हामीले पहिला पनि ७० वर्षको विषय विधानमै लेखेको हो । ७० वर्षभन्दा बढी भएका मान्छे यसै पनि बिदा हुनुहोला । त्योभन्दा मुनिका पनि समय र आवश्यकताले दिए निर्वाचनमा युवा पनि हार्छन्, बुढाले पनि जित्छन् । निष्पक्ष निर्वाचन भए यसको प्रभाव पार्टीमा पर्छ । स्वच्छ ढङ्गले पार्टीभित्र छलफल, बहस र प्रतिस्पर्धाको माहौल बनोस् । त्यसले नयाँ स्थिति ल्याउँछ ।
एमालेको ११ औँ महाधिवेशनबाट नयाँ विचारको नेतृत्व आउने सम्भावना आउला ?
अपेक्षा गरौँ । किनभने यो नेताले ल्याउने होइन । नेता खराब भए विरोध गर्ने । तर नयाँ पिढी पुरानाको पिछलग्गु भए सम्भव छैन । नयाँ पिढीले आफैँ प्रयास गर्नुपर्छ । कुरा चाहिँ नयाँले गर्नुपर्छ भन्ने आश चाहिँ पुरानो पिढीको गर्ने यो मेल खाएन । नयाँ पिढीको सक्रियता चाहिन्छ । नयाँ पिढीले हस्तक्षेप गर्न सक्नुपर्छ । युवाको भूमिका चाहिन्छ नि । यो सबै पार्टीलाई भनेको हो मैले । अर्कालाई भनेर मात्रै हुँदैन, आफैँले पहलकदमी गर्नुपर्छ । यो कुरा तलदेखि माथिसम्मकै कार्यकर्ताले गर्नुपर्छ । परिवर्तन गर्न सबैको तत्परता र सक्रियता चाहिन्छ । त्यो भए नयाँ कुरा आउँछ ।
एमालेका महाधिवेशन प्रतिनिधिलाई के भन्नुहुन्छ ?
समयले जे कुरा खोजेको छ, त्यो केही नभएर भएको होइन । हाम्रा के कमजोरीका कारण यो परिणाम आयो । यो कुरा नहुने गरी पार्टी कसरी बनाउने ? अब सोचेर पार्टी निर्माणमा प्रतिनिधिले भूमिका खेल्न अग्रसरता लिनुपर्छ । तब मात्रै पार्टी र मुलुक बन्छ । नत्र दुवैको दोष देखिन्छ । पार्टी र मुलुक दुवै जोखिममा छन् । देशको जटिलता हटाउन नागरिक सचेत हुनुपर्छ । पार्टीको कमजोरी हटाउन सदस्य बढी जिम्मेवार बन्नुपर्छ । पार्टी र जनता एक अर्काका पूरक हुन् । महाधिवेशन प्रतिनतिनिधिले समय सुहाउने र सबैलाई समेट्ने नेतृत्व खोज्नुपर्छ । सचेतनासहित काम गर्दा महाधिवेशनपछि पार्टी थप बलियो हुन्छ । जनताको निराशा पनि चिरिन्छ ।
एमाले कमिटी विघटन गर्ने कुरा पनि थियो, तर गर्न सक्नुभए नि ?
विघटन गरेको भए पद सबैको जान्थ्यो । माओवादीमा अहिले सबै कुरा मिलाएर प्रचण्ड बलियो भए । एमाले त्यो दिशामा जाँदैन । त्यसबारे छलफल भएन । हाम्रो विधानले पनि दिँदैन । यो अभ्यास ठिक छैन । अहिले त माओवादीमा सर्वेसर्वा प्रचण्ड देखिनुभयो ।
अर्को कुरा बैठकमा पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण गर्ने विषय उठेको रहेछ ओलीले के भन्नुभयो ?
उहाँले पुरानै अडान दोहोर्याउनुभयो । अहिले हुँदैन भन्नुभयो । थप कुरा गर्न खोज्नुभएन ।
अबको केन्द्रीय कमिटीको बैठकले निर्णय उल्टाउने सम्भावना छ कि छैन ?
जे पनि चान्स छ । जुन कमिटीले निर्णय गरेको छ, त्यसले उल्टयाउन सक्छ । र, म के भन्छु भने पार्टीलाई फाइदा बलियो हुने निर्णय केन्द्रीय कमिटीका साथीहरूले गर्नुहोस् ।

यदि उहाँको सदस्यता नवीकरणको विषय केन्द्रीय कमिटीले नउल्ट्याएमा पार्टी विभाजन गर्ने चर्चा छ । विभाजनको पक्षमा यहाँहरू उभिनुहुन्छ ?
त्यो कुरा होइन । यहाँले सोधेको प्रश्न मात्रै हो । त्यो प्रश्न मलाई सोध्ने होइन नि । यो त गलत कुरा हो । यो नियोजित कुरा हो । हामी यसबारे छलफलमा छैनौँ ।
उसो भए ११ औँ महाधिवेशनसम्म उहाँको सदस्यता नवीकरण हुनेमा ढुक्क हुनुहुन्छ ?
हो, त्यो पार्टीको आन्तरिक विषय हो । त्यसबारे हामी छलफल गर्छौँ । सकारात्मक निष्कर्षमा पुगिन्छ भन्ने लागेको छ ।
यहाँहरूले त प्रतिनिधि सभा पुनर्स्थापनाको योजना बनाउनु भएछ, किन एमाले निर्वाचनबाट डराएको ?
अहिले प्रतिनिधिसभा पुनर्स्थापना पनि गाह्रो छ । संसद्को निर्वाचन पनि गाह्रो छ । तर संसद्को निर्वाचन हुन्छ भने एमाले जान्छ । संसद्को निर्वाचन हुने वातावरण सरकारले बनाएको छैन । जुन जुन काम गरेर सरकारले निर्वाचनको वातावरण बनाउने हो, त्यो भएको छैन । चुनावको वातावरण नबने कसरी भाग लिने ? निर्वाचनको वातावरण बने एमालेले भाग लिन्छ । नत्र अदालत जान्छ ।
निर्वाचनको वातावरण बनाउन सरकारले के के गर्नुपर्छ ?
शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । दोषै नभएका नेताहरूमाथि लगाइएको कारबाही रोकिनुपर्छ । सुरक्षा मिलाउनु पर्छ । लुटिएका सारा कुरा फिर्ता हुनुपर्छ । भागेका कैदी पक्राउ गर्नुपर्छ । लुटिएका हतियार खोजबिन गर्नुपर्छ । यी सबै कुरामा सदरकारले गम्भीर रुपमा काम गर्नुपर्छ । विश्वासको वातावरण बनाउनुपर्छ ।
तपाईंहरूले त सरकारले दलसँग संवाद गरेन भनेर चित्त दुखाइरहनु भएको छ रे ?
दलसँग त छलफल हुनुपर्छ नि । निर्दलीय त हुँदैन होला । यी सबै कुरामा सरकारले गम्भीर भएर काम गर्नुपर्छ । छलफल त गर्नुपर्छ । सरकारले दलहरूको कुरा सुन्नु पर्छ । हामीले सरकारका सुन्नुपर्छ ।

यो कुरा पार्टीभित्र उठ्यो कि उठेन ?
उठिहाल्छ नि । दलसँग त संवाद गर्नुपर्छ । बहुदलीय राजनीतिक व्यवस्थामा दल ठूलो हो । निर्दलीय कहीँ हुन्छ र ? एउटा दलको साटो अर्को आउला तर दलसँग त संवाद हुनुपर्छ । म प्रधानमन्त्रीलाई के भन्छु भने दलहरूको सुरक्षा गर्ने वातावरण बन्नुपर्छ ।
अब एमाले कसरी अघि बढ्नु पर्छ ?
अहिलेको परिवर्तित सन्दर्भलाई एमालेले आत्मसात गर्नुपर्छ । एमालेले गर्छ । किनभने आजको विश्व मार्क्सकालीन र लेनिनकालीन छैन । २१ औँ शताब्दीको युग डेटा क्पापेलिजम हो । यसले मानिसलाई मिस गाइड पनि गर्छ । हिजो जानकारी पाउने तागत मानिन्थ्यो, आजकाल जानकारी कुन सही र गलत हो भनेर छुटाउन सक्नु तागत हो । किनभने मानिसलाई गलत जानकारीले प्रभावित पारेको हुन्छ ।
मानिसलाई लागिरहेको हुन्छ कि म सही सूचनामा छु । तर ती सबै गलत हुन् । त्यो युगमा हामी छौँ । हरेक मानिस सूचनाको हामी राजमार्गमा छौँ । पत्रकार भन्दा सर्वसाधारण यात्रु अगाडि छन् । यो युगको पार्टी सङ्गठन, सूचना कस्तो हुनुपर्छ भन्ने हिसाबले अगाडि जानुपर्छ । हिजो ३० वर्षमा लाग्ने परिवर्तन अहिले एकै दिनमा हुन्छ । त्यसकारण विकास निर्माण र परिवर्तनका कुरा गरेर मात्रै हुँदैन । हाम्रो पार्टीले युग सुहाउँदो धेरै काम गर्न बाकी छ । अहिलेको विश्व एकदमै धेरै इन्टिग्रेट छ ।
विश्व नै एउटा बजार भएको छ । नेपालमा कम ज्याला र विदेशमा बढी ज्याला पाउने अवस्था छ । यस्तो चुनौतीबीच काम गर्न गाह्रो छ । यसका लागि नयाँ पिढीका मान्छे जरुरी पर्छ । हामीलाई जानेबुझेका मान्छे चाहिन्छ । पार्टीमा पुराना कुरा गर्ने मान्छेको संख्या बढी भए नयाँ गतिलाई पक्रिन सकिँदैन । त्यस कारण पार्टी पङ्क्तिमा सबै प्रकृतिका मान्छे सहभागी गराउनुपर्छ । नयाँ पिढी बढाउनुपर्छ । त्यो सक्षमता नयाँ पिढीले विकास गर्नुपर्छ, पुराना पिढीले सिक्नुपर्छ । हामी यो प्रकृतिबाट पार्टी निमार्ण गर्ने दिशामा छौँ ।
प्रतिक्रिया