काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अब पार्टी एकताको महाधिवेशन हुनुपर्ने कुरो उठाएका छन्। उनले पाँचौँ महाधिवेशनको स्मरण गराउँदै यस्तो कुरा उठाएका हुन्।
‘विगतका महाधिवेशनको स्मरण भइरहेको छ, खास गरेर पाँचौँ महाधिवेशन, त्यो अधिवेशनमा जबज प्रस्ताव भएको थियो । त्यो महाधिवेशनले फरक मतको संरक्षण गर्ने कुराको ग्यारेन्टी गरेको थियो’, उनले भने, ‘जुन ऐतिहासिक थियो, पाँचौँ महाधिवेशनले फरक मतलाई स्वीकारेको कुरा कति महत्वपूर्ण रहेछ भन्ने आज पनि उत्तिकै अर्थपूर्ण छ ।’
पोखरेलले आइतबारदेखि सुरू बन्द सत्रमा बोल्ने क्रममा पार्टी सञ्चालनको शैलीमा विचार गर्नुपर्ने बताए ।
‘पार्टी सञ्चालनबारे हामीले पुनर्विचार गर्नु जरुरी छ। बाह्य षड्यन्त्रलाई जिम्मा लगायो, हाम्रो कार्यभार सकियो, यो राम्रो होइन । पाँचौं महाधिवेशनपछि किन पार्टी फुट्यो छलफल भएन’, उनले भने, ‘२०७१ मा कमरेड केपी ओली निर्वाचित हुनुभयो, हामी कुन सन्दर्भमा थियौँ । कमरेड ओली बिरामी हुनुहुन्थ्यो। हामीले आन्दोलनबाट आएको कमरेड ओली अध्यक्ष हुनुपर्छ भन्ने ठान्यौँ । उहाँले पार्टी जीवनको लोकतान्त्रिकरण र जबजबारे एउटा किताब लेख्नुभएको छ । त्यसमा उमेरहद कार्यकाल उल्लेख गरिएको छ । त्यसमा भूराजनीति भार लगायतका विषयमा गहन कुरा छन् । जुन कमरेडहरूले एकपटक पढ्नुस् । दशौं महाधिवेशनमा एकताको बाधक थियो । नेकपामा समस्या आयो, त्यहाँबाट समीक्षा हुनुपर्थ्यो तर कुनै समीक्षा छैन ।’
बैठकमा पोखरेलले एघारौँ महाधिवेशनको हलमा हुँदै गर्दा गत भदौ २०-२२ मा पास गरिएको विधानलाई संशोधन गरिएकोबारे पनि प्रश्न उठाएका छन्। यस्तै जे-नजी आन्दोलन र आन्दोलनबाट पार्टी नेतृत्वमाथि उठेको प्रश्नको निराकरण गर्नुपर्ने पनि उनले बताए ।
‘सबै ध्वस्त भयो, बाह्य कारण प्रमुख हो कि आन्तरिक कारण निर्णायक हो भन्ने प्रश्नको निराकरण गर्नुपर्छ। हामीले सबै राम्रै राम्रो गरौँ भन्दा भन्दै असफल भयौँ। किन ? हामीसँग राज्य संयन्त्र थियो, के राज्य संयन्त्र निकम्मा हो वा हामीबाट कमजोरी भयो ?’, उनले भने, ‘कमजोरी भयो भन्नेतिर ध्यान दिनुपर्छ, हामीमा पर्याप्त कमजोरी थिए ।’
उनले महाधिवेशनका लागि आफूले एउटा अवधारणापत्र पेश गरेको पनि बताए ।
‘त्यो अवधारणा पत्र प्रतिनिधिहरूले पाउनुहुनेछ । हाम्रो नीति र विधिमा समस्या छैन, हाम्रो नीति र व्यवहारमा समस्या रह्यो भन्ने कुरा स्वीकार्नुपर्छ’, उनले भने, ‘हाम्रो पार्टीले थुप्रै ऐतिहासिक आन्दोलनहरूको नेतृत्व गरेको छ । यसलाई अभिछिन्न क्रान्तिकारी बाटोतर्फ लाग्न आजकै कार्यशैलीले सम्भव हुँदैन । हामी नीति र विधान अनुसार हिँड्नुपर्छ।’ उनले पार्टी नेतृत्व नीति र विधानअनुसार नचलेकोले त्यसको समीक्षा गर्नुपर्ने बताए ।













प्रतिक्रिया