मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ? | Khabarhub Khabarhub

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै आएका छन् । उनीहरू निर्वाचनलाई लक्षित गरेर ठूला दलहरूलाई धक्का दिने उद्देश्य राखेर एकता गर्छन्, केही समय मिल्छन् पनि !

तर, एकताको कथ्यमा जुट्ने गरेका साना दलहरू लामो समय सँगै टिक्ने गरेको तथ्य छैन । उनीहरूको एकता ‘भ्यागुताको धार्नी’ पुर्‍याउन खोजेजस्तो देखिन्छ ।

त्यस्तै ‘भ्यागुताको धार्नी’ पुर्‍याउन यतिबेला राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले प्रयास गरिरहेका छन् ।

उनीहरूले बिहीबारमात्रै नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेर कार्यगत एकता घोषणा गरेका छन् । महतो र राईले पार्टी एकताकै लागि औपचारिक रूपमा ‘कार्यगत एकता’ घोषणा गरेका हुन् ।

दुवै दलले क्रमशः प्रदेश, जिल्ला र गाउँ कमिटीबीच पनि एकता गराउँदै लैजाने आन्तरिक तयारी थालेका छन् । कार्यगत एकताअनुसार महतो र राईले प्रदेश, जिल्ला र स्थानीय तहसम्म संयुक्त कार्यक्रम सञ्चालन गर्ने भएका हुन् ।

त्यसैमार्फत् एकताको पक्षमा जनमत सिर्जना गरिने राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाको भनाइ छ । उनले दुई दलबीच कतिपय ठाउँमा साङ्गठानिक संरचनाहरू पनि सहमतिमै गठन गरिने पनि बताए ।

‘यो एकताउन्मुख कार्यगत एकता हो । हामीले कार्यक्रमहरूसँगै गर्ने, सम्भव भए कतिपय ठाउँमा साङ्गठनिक संरचना पनि सहमतिमै बनाउने अध्यास सुरू गर्ने भनेका छौँ । पछि गएर एकता नै गर्ने योजना हो,’ महासचिव झाले खबरहबसँग भने ।

राष्ट्रिय मुक्ति पार्टी र जसपा साना दलहरूबीच विगतमा हुने एकता र फुटबाट पाठ सिकेर अघि बढ्ने मनस्थितिमा देखिन्छन् ।

‘पहिला हतार गरीगरी एकता गरिन्थ्यो । अब सोच–विचार गरेर, सँगै बस्ने अभ्यास गर्दैगर्दै एकतामा जाने पक्षमा छौँ,’ महासचिव झाले भने ।

महतोले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट अलग्गिएर नयाँ दल खोलेका हुन् भने राईले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर जसपा गठन गरेका हुन् ।

लोसपाको वरिष्ठ नेता त्यागेर महतोले २०८० फागुन १४ मा आदिवासी जनजातिको अधिकारका लागि वकालत गर्दै आएका बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका थिए ।

उनले ०८१ असोज १ गते आफ्नै अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक पार्टी गठन घोषणा गरेका थिए । पछि निर्वाचन आयोगमा दल दर्ता गर्दा पार्टीको नाम ‘राष्ट्रिय मुक्ति पार्टी, नेपाल’ राखिएको थियो ।

यस्तै; राईले ०८१ वैशाख २३ मा जसपा नेपाल फुटाउँदै बहुमत सांसदको समर्थनमा आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तत्कालीन समयमा उनी जसपा नेपालको सङ्घीय परिषद्का अध्यक्ष थिए ।

उनले आयोगमा नयाँ दलको नाम जनता समाजवादी पार्टी (जसपा) प्रस्ताव गरेका थिए भने सङ्घीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठको नाम उल्लेख गरेका थिए ।

बिहीबारमात्रै कार्यगत एकता गरेका महतो र राई नेतृत्वका दुवै दलले नेपालको संविधान अपूरो र विभेदकारी रहेको भन्दै संशोधनका लागि संयुक्त आन्दोलन थाल्ने बताएका छन् । यसका लागि उनीहरूले सरकार, संसद् र सडक—तीनै माध्यमबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

उनीहरूले प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका कार्यकारी प्रमुख पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने, स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने, राष्ट्रपतिले समावेशी मन्त्रिपरिषद् गठन गर्नुपर्ने र मन्त्रीहरू विज्ञ, राजनीतिकर्मी वा विशेषज्ञबाट नियुक्त गर्नुपर्ने मागसहित अभियान पनि चलाउने भएका छन् ।

दुवै दलले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत् जनसङ्ख्याको आधारमा समावेशी लोकतन्त्र सुनिश्चित गर्नुपर्नेमा पनि मत मिलाएका छन् ।

मधेशवादी दलको विगत

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि पहिलो प्रतिनिधि सभा निर्वाचन (०७४) मंसिर १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न भएको थियो । तत्कालीन समयमा मधेशकेन्द्रित विभिन्न दलहरू एकता गरेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नामक दलबाट निर्वाचनमा होमिएका थिए । 

उनीहरूले उक्त निर्वाचनलाई लक्षित गरेर ०७४ वैशाख ६ को मध्यरातमा एकतामार्फत राजपा घोषणा गरेका थिए । तत्कालीन समयमा मधेसी मोर्चामा आवद्ध पाँच पार्टीबीच सम्पन्न एकताको औपचारिक घोषणा वैशाख ७ मा गरिएको थियो ।

महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा), राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)बीच एकता गरेर राजपा गठन भएको थियो ।

राजपाको औपचारिक घोषणा सभा स्थलमा पुगेर अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि एकता प्रक्रियामा सामेल भएको थियो । पाँच पार्टीको एकता घोषणा सभा चलिरहेका बेला पुगेका झाले एकताका लागि तयार पारिएको सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

पार्टी एकताका लागि भएको सहमति अनुसार सबै पार्टीका अध्यक्षहरू रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो भने दलका पदाधिकारीहरू सम्मिलित पदाधिकारीको संयन्त्र बनाइएको थियो ।

विभिन्न ६ साना दलहरू मिलेर गठन भएको राजपा ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ६ सिट हारिस गर्न सफल भएको थियो । यस्तै प्रदेशसभा निर्वाचनमा राजपाले प्रत्यक्षतर्फ १६ र समानुपातिकतर्फ १२ सिट जितेको थियो ।

उपेन्द्र–बाबुराम मिलन

तत्कालीन समयमा मधेशमा अन्य दुई दल सङ्घीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम एक्ला–एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए ।

उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीबीच ०७२ जेठ अन्तिम साता एकीकरण भएर ‘सङ्घीय समाजवादी फोरम’ गठन भएको थियो ।

निर्वाचनपछि उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमले ०७६ वैशाख २३ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता गरेको थियो । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखेर यादव र भट्टराई दुवै पार्टी अध्यक्ष बनेका थिए ।

यादवले केन्द्रीय समितिको र भट्टराईले सङ्घीय परिषद्को अध्यक्षता गर्ने सहमति तत्कालीन समयमा भएको थियो । एकताका क्रममा सङ्घीय परिषद्लाई केन्द्रीय समितिको निर्णय उल्टाउने अधिकारसमेत प्रदान गरिएको थियो ।

जसपाको जन्म

६ जना नेताहरूको अध्यक्ष मण्डलबाट राजनीतिक गतिविधि गर्दै आएको राजपा र दुई जनाको अध्यक्षता रहेको समाजवादी पार्टी नेपालबीच ०७७ वैशाख १० मा एकता भएको थियो । एकता पछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको थियो ।

एकताको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका थिए । सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव र शरत्सिंह भण्डारीको हस्ताक्षर थियो । यस्तै बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले समाजवादी पार्टी, नेपालका तर्फबाट हस्ताक्षर गरेका थिए ।

दुई दलले पार्टीको झन्डा समाजवादी पार्टीको र चुनाव चिह्न राजपाको राख्ने सहमति पनि भएको थियो । दल विभाजन खुकुलो हुनेगरी आएको अध्यादेशको त्रासमा राजपा र समाजवादी पार्टी हतार–हतार मध्यरातमा एकता गर्न बाध्य भएका थिए ।

तर, दुई दलबीचको एकता लामो समयसम्म टिक्न सकेन । ०७८ जेठ १८ गते जसपा अध्यक्ष उपेन्द्र यादव पक्षीय समूहले गुटगत गतिविधिमा लागेको भन्दै कार्यकारणी समिति सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरिदियो ।

पार्टीबाट निस्कासन हुनुअघि उनीहरूलाई ‘एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गरेको’ भन्दै स्पष्टीकरण सोधिएको थियो ।

तीन दिनको समयावधि तोकेर जेठ ११ मा स्पष्टीकरण सोधिएपछि ठाकुर पक्षले पनि यादवलाई स्पष्टीकरण सोधेको थियो । यादवले फेरि जेठ १५ मा ठाकुर पक्षका नेतालाई २४ घण्टे स्पष्टीकरणपत्र पठाएका थिए ।

त्यसको तीन दिनपछि अध्यक्ष यादवले बैठक बोलाएर चार नेतालाई निष्कासन गर्ने निर्णय गरेका थिए ।

फेरि जन्मियो लोसपा

जसपाबाट कारबाहीमा परेपछि ठाकुर पक्षले ०७८ भदौको सुरुवातमा नयाँ दल गठन गरेको थियो । तत्कालीन सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै जसपा नेपालबाट विभाजन भएर ठाकुर समूहले नयाँ पार्टी खोलेको थियो ।

ठाकुर पक्षले ०७८ भदौ १ मा जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम प्रस्ताव गरेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको थियो । तर आयोगले जसपा नेपालसँग मिल्दोजुल्दो भएको भन्दै नयाँ नाम दिन भनेको थियो ।

भदौ २ मा ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल नामको दल दर्ताका लागि पुनः निवेदन दिएको थियो । दल दर्ताका लागि निवदेन दिएको झण्डै डेढ सातापछि आयोगले लोसपालाई दलीय मान्यता प्रदान गरेको थियो ।

पार्टी गठन भएको झन्डै एक वर्षसम्म पनि लोसपाले केन्द्रीय समिति बनाउन सकेन भने भ्रातृ संगठनहरू पनि गठन गर्न सकेन । एक वर्षमै लोसपा भद्रगोल अवस्थामा पुग्यो । अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आ–आफ्नो गुट चलाउन सुरु गरे ।

पार्टीमा आन्तरिक सङ्घर्ष बढ्दै गएपछि अन्ततः महतोले ०८० फागुन १४ गते काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्यागको घोषणा गरे ।

बहुराष्ट्रिय राज्य स्थापनाका लागि भन्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ घउद्घोष गरेका महताले ०८१ असोज १ गते आफ्नै अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति, नेपाल नामक पार्टी गठन गरे ।

निर्वाचन आयोगमा दर्ता भएको गर्दा उनको पार्टी राष्ट्रिय मुक्ति पार्टी, नेपालले बिहीबारमात्रै अशोक राई नेतृत्वको जसपासँग ‘कार्यगत एकता’को घोषणा गरेको छ । कार्यगत एकता घोषणा गरेको महतो नेतृत्वको पार्टी तराई–मधेशकेन्द्रित सात दलीय मोर्चा ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’मा पनि सहभागी छ ।

उनीहरूले ०८१ चैत २१ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि भन्दै ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका थिए ।

मोर्चामा तराई–मधेश केन्द्रित दलहरू डा. सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी छन् ।

यस्तै, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पनि मोर्चाका सदस्य दलहरू हुन् ।

मोर्चा गठनको समयमा खबरहबको जिज्ञासामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘सङ्घीयता, गणतन्त्र, समावेशीतालाई संस्थागत गर्न, यसको रक्षा गर्न हामीले मोर्चा बनाएका हौँ ।’

मोर्चामा सहभागी ५ दलले आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नाउपका उम्मेदवारलाई सघाउने निर्णय गरेका छन् ।

तर, केही समय अघि नाउपासँग पार्टी एकताका लागि तयार जनमत पार्टी भने अहिले उपनिर्वाचनमा सघाउन नसक्ने अवस्थामा पुगेको छ ।

जनमतका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनमा एकल उम्मेदवारी दिने घोषणा केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत् गरेका थिए । यी दुई दल बीचको एकता गत वैशाख १७ गते अन्तिम समयमा आएर बिथोलिएको थियो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नाउपा र जनमत पार्टीबीचको एकताका लागि घोषणा सभा आयोजना गरिएको थियो । घोषणा सभामा सहभागी हुन आएका नाउपाका संरक्षक रेशमलाल चौधरीलाई प्रहरीले पक्राउ गरेपछि पूर्वनिर्धारित एकता सभा रोकिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ८ : २४ बजे

सामाजिक सञ्जालबारे सञ्चारमन्त्री गुरुङले झुट बोलेको आरोप

लमजुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रमुख सचेतक

काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज

एमाले विधान महाधिवेशन : आज समूहगत छलफल

काठमाडौं– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल भदौ २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २१ गते शनिबार। भाद्र