रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ? | Khabarhub Khabarhub

विश्लेषण

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

रास्वपामाथि प्रश्न - रविलाई बोकेर हिँड्ने कि छोडेर ?


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 17 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेका विषयमा टिप्पणी गर्दा उनका समर्थकबाट प्रश्न उठ्ने जोखिम छ– ‘बाह्र भाइ’ पत्रकारले रविबारे तटस्थ÷निष्पक्ष विश्लेषण गर्न सक्छन् ? के मूलधारका सम्पादकहरु सधैं रवि लामिछानेप्रति पूर्वाग्रही छैनन् ?’

मूलधारका मिडियाप्रति रवि समर्थकहरुको संशयको जवाफ खोज्नका लागि दुई वर्षअघि रविले पत्रकार सम्मेलनमार्फत लगाएको ‘१२ भाइ’को ‘ट्याग’बारे ‘रि–भिजिट’ गर्नुपर्ने हुन्छ ।

‘बाह्र भाइ’वाला प्रकरणको चर्चा गर्नुअघि रवि लामिछानेको ‘आन्तरिक शक्ति’को चर्चा गर्नु सान्दर्भिक होला ।

विसं.२०३२ जेठ १८ गते काठमाडौंमा जन्मेका रवि लामिछाने अहिले ५० वर्ष पुगे । रविको सबैभन्दा सबल पक्ष भनेको उनी असाध्य महत्वाकांक्षी मानिस हुन् । सफल मानिस बन्नका लागि महत्वाकांक्षा जरुरी हुन्छ, जुन रवि लामिछानेमा प्रचुर मात्रामा पाइन्छ । अहिले जेलमा रहँदा पनि रविभित्र रहेको जोश सेलाएको छैन ।

रविलाई अनुहार र जिउडालले पनि उत्तिकै साथ दिएको छ । उनी ह्याण्डसम र स्टायलिस्ट नेता हुन् । उनको हेयरस्टायल र दाह्री धेरै युवाका लागि अनुकरणीय बन्ने गरेको छ ।

धाराबाहिक रुपमा बोलेर आफ्ना कुराहरु राख्न सक्ने र आफ्नो बचाऊमा बेजोड तर्क गर्न सक्ने रविमा अद्भुत् क्षमता रहेको छ । सन् २०१३, अप्रिलमा रविले निरन्तर ६० घण्टा टेलिभिजन शो चलाएर गिनिज बुकमा नाम लेखाएका थिए । यसबाट उनको वाक क्षमता कति छ भन्ने प्रष्ट हुन्छ ।

ग्यालेक्सी फोरके टेलिभिजनको प्रवन्ध निर्देशक पदबाट राजीनामा दिएर ०७९ को चुनावअघि राजनीतिक पार्टी खोलेको एकाध महिनामै रविले देशभरिबाट ११ लाख मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई चौथो दलको सफलता दिलाए । राजनीतिमा लागेको छोटो समयमै देशको गृहमन्त्री र उपप्रधानमन्त्री बन्न सफल हुनु रविको चानचुने सफलता होइन ।

आफ्नो जोखिमपूर्ण वर्तमानलाई अवसरमा बदल्न सक्ने क्षमता बोकेका युवा हुन्– रवि लामिछाने । आफूमाथि चौतर्फी प्रहार हुँदा पनि अनवरत् जुध्न सक्ने रविकोजस्तो क्षमता कमै मानिसमा पाइन्छ । यही कारण उनी भन्ने गर्छन्, मलाई कसैले सक्तैन । सक्तै त सक्तैन !

रवि लामिछाने आईएको पढाइ पूरा नगर्दै भिजिट भिसामा अमेरिका गए । सन् २००७ देखि २०१७ सम्म उनी अमेरिकी नागरिकका रुपमा रहे । अमेरिकामा रहँदा उनले श्रीमतीसँग सम्बन्ध तोडे । एक विदेशी प्रेमिकातर्फ एक सन्तानको जायजन्म हुन गयो र उनी तीन सन्तानका पिता बने । तर, दोस्रो घरबार पनि असफल भयो । उनी पत्रकारिता गर्ने भन्दै एक्लै नेपाल फर्किए।

रविले सन् २०१७ मा अमेरिकी नागरिकता परित्याग गरेर पुरानो नेपाली नागरिकता पुनःप्राप्त गरेको दाबी गरेका थिए । तर, यसबारे अदालतमा प्रश्न उठ्यो । अन्ततः लामिछानेले कानुनी प्रक्रिया नपुर्‍याई नयाँ नेपाली नागरिकता प्रयोग गरेको भन्दै सर्वोच्च अदालतले उनलाई उपप्रधानमन्त्री, गृहमन्त्री, पार्टी अध्यक्ष, संसदीय दलको नेता तथा सांसद पदबाट हटाउने आदेश दियो ।अदालतको फैसलापछि बल्ल रविले पुनः नेपाली नागरिकता लिए । फेरि चितवनबाट चुनाव लडे र पहिलेको भन्दा लोकप्रिय मत पाएर संसदमा आए ।

रवि लामिछानेमाथि नागरिकता जस्तै दोहोरो पासपोर्टको पनि आरोप लागेको थियो । सन् २०१५ मा लामिछानेले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी लिएको आरोप लागेको थियो तर यसलाई सर्वोच्च अदालतले नागरिकताको मुद्दामा नसमेटी बेग्लै अनुसन्धानको विषय भन्यो ।

तर, सरकारले पासपोर्टको मुद्दा अगाडि बढाएन । यसको विपरीत, महान्यायाधिवक्ताले पासपोर्ट प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेपछि रविले यो प्रकरणबाट उन्मुक्ति पाए । राजनीतिका चतुर खेलाडी लामिछानेले त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता सहकार्यको नीति लिएर गठबन्धन बनाएपछि उनी जोगिएको टिप्पणीसमेत हुने गरेको छ ।

नागरिकता र पासपोर्टको प्रकरण सकिएपछि पनि रवि लामिछाने विवादहरुबाट मुक्त भएनन् । ग्यालेक्सी टेलिभिजनमा प्रवन्ध निर्देशक रहँदा जीबी राईसँग मिलेर विभिन्न सहकारीको रकम ठगी गरेको आरोप उनीमाथि लाग्यो ।

कांग्रेस एमालेलगायत पुराना दलका नेताहरुबाट रविलाई फसाउन सहकारी ठगीको आरोप लगाइएको रास्पवाका कार्यकर्ताले गुनासो गर्दै आएका छन् । तर, एकपछि अर्को अदालतले नै रविलाई दोषी ठहर्‍याउँदै आएको अवस्था छ । रास्वपा कार्यकर्ताहरु चाहिँ अदालत नै ओली सरकारबाट परिचालित भएको आरोप लगाउन पनि पछि परेका छैनन् । र, यही क्रममा रवि भैरहवा जेलमा पुर्पक्षका लागि थुनामा छन् ।

रविमाथि लागेको मुद्दाका विषयमा केही समयपछि चर्चा गरौंला । त्यसअघि ‘मिडिया र रवि लामिछानेको सम्बन्ध’बारे चर्चा गरौं । किनभने, रविबारे कुनै पत्रकारले समाचार लेख्दा वा विश्लेषण गर्दा पूर्वाग्रह साँधिएको आरोप आउने गरेको छ ।

दोहोरो नागरिकतासम्बन्धी मुद्दामा अदालतले गृहमन्त्री र सांसद पदबाटै मुक्त गराएलगत्तै आवेगमा आएका लामिछानेले पत्रकार सम्मेलन नै गरेर आम सञ्चार माध्यमविरुद्ध गाली वर्षाए । सम्पादकहरुलाई उनले ‘१२ भाइ’को ट्याग लगाए । रविको त्यो अभिव्यक्तिले नेपाली मिडियालाई धेरै नै मनोवैज्ञानिक क्षति पुर्‍याएको छ ।

हुन त एक वर्षपछि स्वयं रविले नै गल्ती स्वीकार्दै सार्वजनिकरुपमा माफीसमेत मागिसकेका छन् । तथापि मिडियामाथि पुगेको क्षतिको भने अझै परिपूरण हुन सकेको छैन । रविले आफूमाथि मिडिया पूर्वाग्रही रहेको आरोप लगाएता पनि स्वयं उनी नै आम सञ्चार माध्यमप्रति पूर्वाग्रही रहेको उनकै अभिव्यक्तिबाट पुष्टि हुन्छ ।

अब, रवि लामिछानेले दुई वर्षअघि पत्रकार सम्मेलन आयोजना गरेर मूलधारका मिडियाविरुद्ध गरेको ‘बाह्र भाइ’वाला टिप्पणीको सारसंक्षेप उनकै शब्दमा स्मरण गरौं–

भाउजू, आउनुहोस् म देखाइदिन्छु !

१२ भाइ पत्रकारलाई त यो पच्दैन नि । उनलाई त टक्क बसेर जाँड खाएर यसलाई ठोक्ने हैन त भन्ने हुन्छ । ..तिनले ठोकेर नेपालको राजनीति सधैं ठोकिने ? केपी ओली डराउलान्, कान्तिपुरले ठोक्ला, अन्नपूर्णले ठोक्ला । अनलाइनखबरले सिध्याउला, सेतोपाटीले रातोपाटीले… । नट मी । तपाईहरु गलत मान्छेको हातमा पर्नुभो । मसँग चल्दैन । मसँग त्यो खेल, त्यो धन्दा केही पनि चल्दैन ….।

पासपोर्टमा फसाउन सकिन्छ, ए… पासपोर्ट दुरुपयोगमा फौजदारी लाग्यो भने जिन्दगीभरि चुनाव लड्न पनि पाउँदैन, त्यहाँ हान्नुपर्छ भनेर १२ भाइ मिलिसके होलान् अब । १२ भाइ, कति भाइ छन्, ए… मिटिङ भइसक्यो ।

आज दुःख पर्‍यो भने जनताहरु युवराज कँडेललाई खोज्दै हिँड्छन् । वीरेन्द्र जैरुलाई खोज्दै हिँड्छन् । रमेश प्रसाईलाई खोज्दै हिँड्छन् । तपाईलाई खोज्दै हिँड्दैनन् । यो भ्रमबाट बाहिर निस्कनोस् । तपाई यिनै ठाउँहरुलाई प्रभावित गर्न मात्र पत्रकारिता गरिरहनुभएको छ । यो चिजबाट बाहिर निस्कनोस् । नेपाली जनताका मुद्दामा काँध हाल्न आउनोस् । पत्रकारिता गर्नुहोस् । पत्रिका तपाईले चलाउने हो, देश हामीले चलाउने हो ।

देश चलाउन मन छ भने चितवन–२ मा मसँग चुनाव लड्न आउनोस् । एक–एकजना । अमित ढकाल पनि आउनोस् । वहाँ अनलाइनखबरको, कत्ति कपटी रहेछन्, नाम पनि आएन, धर्मराज भुसाल पनि आउनोस् । कनकमणि दीक्षित पनि आउनोस् । दिलभूषण पाठकजी पनि आउनोस् । मलाई गाली गरेको देख्नेवित्तिकै रिट्विट गर्न हतार हुन्छ उहाँलाई । कहीँ कतै मलाई गाली गरेको देख्यो कि रिट्विट गर्न हतार भैहाल्ने । अनि हो र ? हो र ? भन्ने ग्रुप आइहाल्ने । म तर्सिन्नँ । अलिअलि भएको डर पनि आज सिध्याएँ ।

देश तपाईले चलाउने होइन, तपाईले आफ्नो मिडिया चलाउने हो । इथिक्स तपाईहरुलाई पनि लाग्छ, मलाई मात्रै इथिक्स लाग्दैन । अदालतमा प्रभाव पार्न एउटै कुरा चार चोटि, पाँचचोटि निरन्तर तपाईले लेख्नुभएको छ ।

ओके कन्फिक्ट अफ इन्ट्रेस्ट ? नाउ…

२०७२ साल मंसिर २६ गते शनिबार बिहान माइतीघर मण्डलामा बा २ च ६१०० नम्बरको सेतो रंगको निजी कार दुर्घटना हुँदा त्यसमा सवार चारजना घाइते भएका थिए । कार सडकमा उत्तानो परेपछि मर्निङवाकमा निस्केका सर्वसाधारणले उद्धार गरेर नर्भिक अस्पताल लिएर गए । यो गाडी कसको थियो थाहा छ तपाईलाई ? ..थाहा थियो धेरैलाई । लुकाइयो । कार कान्तिपुर मिडिया ग्रुपको नाममा थियो । चालक कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहियाले चलाएका थिए । घटना सामसुम भयो । राजाको छोरो पारसले हेल्मेट लिएर गर्दा हुन्थ्यो भने अहिले हामीले नवराजा बनाएको हो उहाँलाई ? यो अपराध, गाडीका तस्बिरहरु हामीसँग छन् । यो कसले लुकायो, किन लुकायो ? यसको खोजी गर्न कसैले सक्छ ? हुन्न । अहँ हुन्न । कैलाश सिरोहियाले सिध्याइदिन्छ तपाईलाई । सिध्याइदिन्छ, ए… चल्नुहुन्न । विज्ञापन, आहा दिइहाल, कान्तिपुरले सिध्याइदिन्छ । रवि लामिछाने त्यस्तो कसैसँग डराउँदैन ।

यो देश मिडियाले चलाउने हैन, मिडियाले मिडिया चलाउने हो । देश नेताहरुले चलाउने हो । चुनाव लडेर आउने हो । सातजना, बाह्रजना पत्रकारहरु जम्मा भए, एक ठाउँमा बसे र यो लेख्दिने हो, देख्दिउँ ।

उहाँहरुको चरित्रका बारेमा कहिलेकाहीँ सम्पादकनी भाउजूहरुले यसो फोन चेक गरे हुने नि । घर छिर्नुभन्दा अगाडि नै डिलिट भैसकेको म्यासेज पनि निस्किन्छ नि । इन्टरनेटको वल्र्डमा डिलिट भन्ने हुँदैन ।

सम्पादकनी भाउजूहरुलाई फुर्सद भयो भने भेट्न आउनुहोला । तपाईहरुका आदर्शवान्, जसले मलाई चरित्रहीन देखाउनुभएको छ, तपाईका आदर्शवान् सम्पादकहरुको वास्तविक हैसियत र मुखुण्डो म उतार्दिन्छु, आउनुहोस् ।

जीबी राईलाई कान्तिपुरले खेदेको खेद्यै थियो । …. अब आधारविहीन समाचार लेख्यो भने म कान्तिपुर घेर्न आउँछु ।

अब अनलाइनलाई अलि हान्न पुगेन छ, छुट्यो । धर्मराज भुसाल छुट्यो । मैले चारवटा श्रीमती बिहा गरेको भन्ने उसले स्टाबिलिस्ट गर्दियो त्यहाँ । लेख्दियो त्यहाँ उसले । अहिले कान्तिपुरतिर गएका छन्, त्यो के रे, सम्पादक अरुण बराल । उनलाई चाहिँ कोहीबेला डाक्टरले के भनेका थिए होला भने यसलाई चाहिँ नखेदी तेरो रोग निको हुँदैन भनेका थिए होला । नभए किन खेद्नुपर्‍यो त ? रोगै मलाई खेदेमात्र निको हुनेखालको लागेको रहेछ नि त । नत्र त भएन हाम्रो किशोरजीहरुलाई, उहाँहरुलाई ।

अनलाइनखबरले के लेख्दियो भने चारवटा श्रीमती बिहा गरेको मान्छे भनेर बनाइदियो मलाई । अब जिन्दगीभरि गगनले बाख्राबाट मुक्ति पाउँदैनन्, मैले चारवटा स्वास्नीबाट मुक्ति पाउदिनँ । बिचरा गगन थापाले लाखचोटि भनिसक्यो मैले बाख्रा बेच्या छैन, मैले बाख्रा… गरेको छैन । जति भनोस् न बाख्रै भइसक्यो ऊ । अब मलाई चारवटा स्वास्नी बिहा गरेको बनाइसक्यो ।
अब.. मेरो एउटा विवाह बिग्रियो । त्यसबीचमा म लामो समय अलग बसें । त्यसबीचमा मेरो कुनै एउटा प्रेमिकासित सम्बन्ध हुन गयो, त्यो बीचमा आफ्नो एउटा बच्चा भयो, सकियो ।

त्यसपछि यहाँ (नेपालमा) आएँ । फर्किएँ । लामो समय बित्यो । त्यसपछि अहिले म आफ्नो जिन्दगीमा खुशी छु । ह्याप्पी छु । निकितासँग मेरो विवाह भयो । मेरो जिन्दगीमा भएको यही हो ।

अब कोकेटीका बेलामा स्कुलमा पढ्दाखेरि ऊ… पर देखेकी केटी पनि मेरो गर्ल फ्रेन्ड भनेर लेखे भने पीर छैन । अब कसैसँग सँगै काम गरे पनि उसको गर्ल फ्रेण्ड… यत्ति चरित्रहीन भनेर मलाई बनाइयो कि .. ।

अनि यिनको थाहा छ फेरि आफूलाई यी कस्तो हुन् भनेर । यिनको ह्वाट्एप म्यासेज श्रीमतीले देख्लिन् भनेर पहिल्यै डिलिट गरेर जाने क्या । भाउजू आउनु न, म तपाईलाई देखाइदिन्छु नि तपाईको पत्रकार साथीहरुको । इतिहास, हिस्ट्री बताइदिन्छु । खतरा मान्छे हो भनेर, एकदम मर्यादा पुरुषोत्तम बनेर तपाईको घरमा छिर्नु अगाडि क–कसको म्यासेज डिलिट गर्नुभएको छ, जसले मलाई चरित्रहीन बनाउनुभएको छ, एक–एकको हिसाब लंगौटी उत्रिने गरी देखाइदिने मान्छेको नाम रवि लामिछाने हो ।

नचलाउनू मलाई । प्लिज, लिभ मी एलोन । लेट मी वर्क । छोड्दिनोस् मलाई । सक्नुहुन्न यार । सक्नुहुन्न त । सक्दै त सक्नुहुन्न । कहिलेसम्म सक्नुहुन्न भने जहिलेसम्म मैले इमान गुमाउदिनँ । इमान गुमाएका दिन तपाई चाहिँदैन, एउटा भुसुनाले ढाल्दिन्छ मलाई । मसँग भएको चिज इमान हो । तपाईले नदेखे पनि त्यत्ति एउटा इमानको बलमा म अगाडि बढेको छु ।

सार्वजनिक माफी

रवि लामिछानेले मिडियामाथि गरेको निन्दाको अन्तर्य के थियो ? यसबारे विश्लेषण गर्नुअघि लामिछाने स्वयंले एक वर्षपछि रास्वपाको पार्टी कार्यालयमा अर्को पत्रकार सम्मेलन गर्दै कसरी क्षमा मागे, उनकै शब्दमा –

कतिपय साथीहरु हेडलाइन पाइने भइयो, गज्जप टीआरपी बढ्ने भयो भनेर पनि आउनुभएको होला, योपालि तपाईहरुलाई घाटा लाग्ने भो ।

अघिल्लो प्रेसमिटमा मैले कतिपय साथीहरुलाई अलिकति आवेशवस पर्सनल एट्याक पनि गरेको छु । त्यसका लागि म क्षमा चाहन्छु । मेरो चाहना त्यस्तो पनि होइन ।

अब डा. रामेश कोइरालाजस्तो साथीलाई अलिकति पर्सनल एट्याक पनि हुन गयो । क्षमा गर्नु होला । धर्म भुसालजीलाई पनि पर्सनल एट्याक हुन गयो । सम्भव सिरोहियाजीलाई पनि पर्सनल एट्याक हुन गयो । कतिपय साथीहरुलाई मैले पर्सनल… त्यो हुन गएको चिज हो । त्यसरी प्रस्तुत नभइदिएको भए हुन्थ्यो… ।’

रविले किन गाली गरे मिडियालाई ?

रविले आम सञ्चार माध्यमलाई किन गाली गरे ? मिडियाबारे उनको बुझाइ के हो ? मिडियाबाट उनी के चाहन्छन् ? यी प्रश्नमाथिको विश्लेषण यसकारण पनि आवश्यक छ कि उनी देशमा वैकल्पिक राजनीतिक शक्ति बनाउने र आफू भविश्यमा देशको प्रधानमन्त्री बन्ने भनेर राजनीतिमा होमिएका नेता हुन् ।

अब, रवि लामिछानेले सिर्जना गरेको ‘१२ भाइ’को भाष्य र त्यसपछिको परिस्थितिबारे बुँदागत विश्लेषण गरौं ।

१– रवि ‘होस्टाइल’ भए तर….

रवि लामिछानेले सम्भव सिरोहिया र धर्मराज भुसालको नामै लिएर सार्वजनिकरुपमै माफी मागिसकेका छन् । त्यसबाट स्वतः प्रमाणित हुन्छ कि उनले लगाएका आरोपहरु सही थिएनन् । रविले आफैं माफी मागिसकेपछि उनले बोलेका कुराहरुको खण्डन गरिराख्न जरुरी नै छैन । यो विषयलाई यहीँनेर ‘च्याप्टर क्लोज’ गरिदिँदा पनि हुन्छ ।

तर, रविले दुई वर्षअघि मूलधारका मिडिया र त्यहाँ कार्यरत सम्पादकहरुमाथि जुन किसिमले घृणात्मक अभिव्यक्ति दिए, त्यसले अहिलेसम्म पनि आम जनमानसमा मिडियामाथिको जनविश्वास धुमिल बनाउन छाडेको छैन । यसअर्थमा दुई वर्षअघिको रविले गरेको कार्यको समीक्षा जरुरी छ ।

अहिले कांग्रेस–एमाले नेतृत्वको सरकारले मिडियामाथि जसरी अंकुश लगाउँदै गइरहेको छ, यसको मैदान तयार पारिदिने काम रवि लामिछानेबाटै भएको हो । रविले मिडियालाई आम जनतामाझ बदनाम बनाइदिए, अहिले त्यसैको जगमा टेकेर ओली–आरजू सरकारले पत्रकारहरुलाई मुद्दामा फसाउने कार्य गरिरहेको छ । रविले गरेको क्षमायाचना ‘गोली चलिसकेपछिको माफी’ जस्तै बन्न पुगेको छ ।

रविले मिडियालाई कमजोर बनाएपछि अहिले स्वयं राष्ट्रिय स्वतन्त्र पार्टी र उनै लामिछानेलाई समेत क्षति पुगिरहेको छ । कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टीहरुको बेतिथिविरुद्ध आवाज उठाउँदै आएको मिडिया क्षेत्र कमजोर हुँदा रास्वपाजस्तो नयाँ वैकल्पिक राजनीतिक शक्ति बलियो हुनै सक्दैन ।

२. नेताले चलाउने ‘प्रालि’ होइन देश

रविको ‘१२ भाइ’वाला भाषण सुन्दा उनमा आम सञ्चारप्रतिको बुझाइमै खोट देखिन्छ । उनको लोकतन्त्रप्रतिको बुझाइमा समेत आशंका जन्मन्छ ।

रवि आफूलाई भावी प्रधानमन्त्री ठान्दछन् र उनको दल रास्वपाले भविष्यमा देशको नेतृत्व गर्ने दाबीसमेत गर्दछन् । त्यस्तो व्यक्तिले ‘नेताले देश चलाउँछ, मिडियाले देश चलाउने भए चुनाव लड्न आऊ’ भन्न मिल्छ ?

देश चुनाव जितेको नेताले मात्रै चलाउँदैन । चुनाव जितेका नेताले त सांसद र सरकारको भूमिका मात्र निभाउने हो । सेना, प्रहरीले चुनाव लडेका हुँदैनन्, देश उनीहरुले पनि चलाउँछन् । न्यायाधीश चुनाव लडेका हुँदैनन्, देशको एउटा अंग उनीहरुले पनि चलाउँछन् । निजामति कर्मचारी पनि लोकसेवाबाट आउने हुन्, चितवनबाट चुनाव लडेर आउने होइनन् । देश चलाउने कर्मचारीले पनि हो । देश त सबैले मिलेर पुस्तौं पुस्तासम्म चलाउने चिज हो । आवधिक चुनाव लड्ने नेताहरुको भूमिका ‘म्यादी’ मात्र हो ।

देश समग्रताको नाम हो, नेताको पर्यायवाची होइन । देश कुनै अमूक नेताको प्राइभेट लिमिटेड कम्पनी होइन । देश सबैको साझा हो । देशमा किसान, मजदुर, मतदाता, नागरिक समाज, सामाजिक अभियन्ता, खेलाडी, कलाकार, पत्रकार, विश्लेषक, शिक्षक, प्राध्यापक सबै–सबै हुन्छन् । देशमा एक जाति र वर्गमात्रै होइन, विविध जातजाति बसोबास गर्छन् । उनीहरु सबै ‘चितवनबाट चुनाव लडेर आएका’ हुँदैनन् ।

आफूलाई भावी प्रधानमन्त्री वा वैकल्पिक शक्तिको नेता हुँ भन्नेले लुई चौंधौंको पारामा ‘चुनाव जितेको नेताले देश चलाउँछ, तिमीहरु चुप लागेर बस’ भन्दै अरुलाई लल्कार्न मिल्छ ? ‘म नै राज्य हुँ’ भनेर घमण्ड गर्न मिल्छ ?

‘नेताले देश चलाउँछ, तिमीहरुले होइन’ भनेर रविले जसरी मिडियालाई लल्कार्ने काम गरे, यसले उनीभित्र रहेको तानाशाही एवं फासीवादी चरित्रलाई बाहिर ल्याइदिएको छ । उनमा लोकतान्त्रिक संस्कार छ या ‘ओलीगार्की’ ? उनकै अभिव्यक्तिले प्रश्न जन्माएको छ । सारतः रविको त्यो प्रस्तुति सामान्य कमजोरी मात्रै नभएर सैद्धान्तिक–वैचारिकरुपमै त्रुटिपूर्ण हो कि ? यसबारे छलफल आवश्यक छ ।

स्वाभावजन्य हिसाबले पनि रवि आलोचना नसहने एवं आत्मप्रशंसाको भोको व्यक्ति हुन् भन्ने उनको अभिव्यक्तिले देखाएको छ । यो कुनै पूर्वाग्रहपूर्ण आरोप होइन, दुई वर्षअघिको भिडियो सुनेर जो–कोहीले रविबारे निष्पक्ष विश्लेषण गर्न सक्छन् ।

विसं ०७४ को चुनाव जितेपछि केपी शर्मा ओली माओवादीसँग एकता गरेर झण्डै दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बनेका थिए । उनलाई त्यसबेला लागेको थियो, देश त मैले चलाउने हो । मैले चुनाव जितेर बहुमत ल्याएको छु, अब मैले जे गर्दा पनि हुन्छ । तर, त्यही मूर्खताका कारण ओलीले सत्ताच्युत हुनुपर्‍यो । नेता वा दलले चुनाव जिते पनि आखिर देश त संविधानले चलाउँदो रहेछ र देशमा स्वतन्त्र न्यायालय पनि रहेछ भन्ने तथ्य ओलीले ढीलो बुझे । चुनावी जित भनेको मनपरी गर्ने लाइसेन्स होइन । ०६४ मा माओवादीभित्र पनि यस्तै चुनावी जितको घमण्ड थियो, ०७० मा त्यो तोडियो ।

हुन सक्छ, कांग्रेस–एमालेसँग जनतामा चरम वितृष्णा बढेका कारण भोलि ०८४ को चुनावमा रवि लामिछानेको पार्टी, रास्वपाले बहुमत ल्याउन सक्ला । ०६५ मा प्रचण्ड सत्तामा गएजस्तै रास्वपाले पनि सरकार बनाउला, रवि लामिछाने प्रधानमन्त्री पनि बन्लान् । तर, देश चलाउने कसरी ? ‘आउनोस् भाउजू, लंगौटी उतारेर देखाइदिन्छु’ भन्ने पाराको सांस्कृतिक स्तरले देश चलाउन सकिन्छ ?

देश चलाउन संस्कार, सभ्यता, सहनशीलता र बुद्धि चाहिन्छ । चुनाव त नानीमैया दाहालले पनि ६५ हजार मत ल्याएर जितेकै हुन् । बबन सिंहले पनि चुनाव जितेकै हुन् । अफताव आलमले पनि चुनाव जितेकै हुन् । पुराना र भ्रष्ट नेताहरु सधैं चुनाव जितेका जित्यै छन् ।

आखिर देश कसले चलाउँछ ? कसरी चलाउनुपर्छ ? अदालत, प्रेस, नागरिक समाज र वौद्धिक समाज र आलोचकहरुप्रति राज्यबाट कस्तो व्यवहार गरिनुपर्छ ? पुराना नेताकै जस्तो व्यवहार गर्ने हो भने नयाँ किन चाहियो ? यो गम्भीर सैद्धान्तिक, राजनीतिक, नैतिक एवं मनोवैज्ञानिक प्रश्न रवितर्फ सोझिएको छ । उनको दल रास्वपातर्फ सोझिएको छ । न्यायालयले रविलाई दोषी ठहर गर्दै जाने, कार्यकर्ताले रविलाई बोकिरहने, यो स्थिति निकै विरोधाभाषपूर्ण देखिन्छ । देश चलाउन चाहने रास्वपाले अदालतको निर्णयलाई कसरी लिन्छ ? यो प्रश्न अहम छ ।

३– पत्रकारिताको ‘रवि ब्राण्ड’

रविले पत्रकार सम्मेलनमा पत्रकारिता र आचारसंहिताको पाठसमेत पठाउन खोजेका थिए । तर, ग्यालेक्सी टेलिभिजनबाट जीबी राईको साथ छाडेर राजनीतिमा हाम्फाल्नुअघि रविले गरेको पत्रकारिता कति सन्तुलित, व्यवसायिक र मर्यादित थियो ? यो प्रश्नको सकारात्मक उत्तर आउँदैन ।

रवि टेलिभिजनमा ‘ठोक्ने’ र बोक्ने नीतिबाट परिचालित थिए । ‘नाकको डाँडी भाँचिने गरी दिन मन लाग्छ’ भन्ने पत्रकार आचारसंहिताविरोधी वाक्य १२ भाइले आफ्नो मिडियामा प्रयोग गरेनन्, तर रविले कडा स्वरमा प्रयोग गरे । के यो पत्रकारिताको मर्यादा र आचारसंहिता अनुरुप थियो ? संसारको कुन पत्रकारितामा ‘नाकको डाँडी भाँचिने गरी दिन मन लाग्छ’ भन्ने वाक्य प्रयोग गर्न मिल्छ ? यसको जवाफ ‘पत्रकार रवि लामिछाने’सँग शायदै होला ।

सात भाइ वा १२ भाइ पत्रकारहरु आपसमा भेला हुन्छन्, रक्सी खान्छन् र कसलाई ठोकौं भनेर सल्लाह गरेर समाचार लेख्छन् भन्ने रविको आरोप हास्यास्पद छ । भिन्नाभिन्नै मिडियाका सम्पादकहरुले सल्लाह गरेर समाचार लेख्दैनन् । रविले कान्तिपुरलाई गाली गर्दै गर्दा त्यसको प्रधान सम्पादक सुधीर शर्मा र सम्पादक उमेश चौहान थिए । उनीहरुले रक्सी आएर ‘ठोक्ने’ सल्लाह गरेर समाचार लेख्छन् भन्नु हास्यास्पद कुरा हो ।

के रविले टेलिभिजनमा हुँदा रक्सी खाएर ठोक्ने गरेका थिए ? के उनले कसैको समाचार रोकेर पैसा लिने गरेका थिए ? उनीमाथि लाग्ने गरेका त्यस्ता आरोपहरु सही थिए ? यसको जवाफ कसैसँग छैन, स्वयं रविसँग मात्र छ ।

पत्रकारको काम समाचार सम्प्रेषण गर्ने हो । दोषीलाइर्ए कारवाही गर्छु भन्दै मुद्दा मिलाउने वा अभियान चलाउने काम व्यवसायिक पत्रकारको होइन । तर, रविले टेलिभिजनमा काम गर्दा दीपक मनाङ्गेले जस्तो ‘मुद्दा मिलाउने’ भूमिका पनि खेलेका थिए । त्यही भएर उनी ‘लोकप्रिय’समेत बने ।

व्यवसायिक पत्रकारहरु लोकप्रिय नहुन सक्छन् । तर, रवि लामिछाने आफ्नो ‘अभियन्तारुपी ब्राण्ड’ को वकालत गर्दै भन्छन्, ‘आज दुःख पर्‍यो भने जनताहरु युवराज कँडेललाई खोज्दै हिँड्छन् । वीरेन्द्र जैरुलाई खोज्दै हिँड्छन् । रमेश प्रसाईलाई खोज्दै हिँड्छन् । तपाईलाई खोज्दै हिँड्दैनन् ।’

रवि ब्राण्डको पत्रकारिता खासमा पत्रकारिता थियो या अभियानकारिता र ठोकठाककारिता ? जबकि लामिछानेले ऊबेला ‘प्रेस काउन्सिललाई मान्नुभन्दा जुत्ता पालिस गरेर सडकमा बस्छु’ भन्ने लाइन लिएका थिए ।

निचोडमा भन्नुपर्दा– रवि लामिछानेले गरेको पत्रकारिता खासमा कस्तो पत्रकारिता हो ? विश्वविद्यालयमा पत्रकारिताका विद्यार्थीमाझ यसबारे रौंचिरा विश्लेषण जरुरी छ ।

४– कतिपय गुनासा जायज हुन सक्छन् तर…

रविले पत्रकार सम्मेलनमा मिडियालाई गाली गर्नुका पछाडि उनका केही जायज गुनासाहरु पनि हुन सक्छन् । कतिपय मिडियाले उनीमाथि अनावश्यक पूर्वाग्रह राखेको पनि हुन सक्छ ।

नेपालको मूलधारको मिडियामा कार्यरत धेरै पत्रकारहरु कांग्रेस, एमाले, माओवादी लगायतका दलसँग आवद्ध छन् । उनीहरुले नयाँलाई रुचाउँदैनन् । र, यसको मार रवि लामिछाने र रस्वापामाथि पनि परेको हुन सक्छ । रविमाथि पुरानो सोच भएका पत्रकारबाट बढ्ता प्रहार भएको पनि हुन सक्छ । यो यथार्थताप्रति आम पत्रकारहरु गम्भीर बन्न जरुरी छ ।

तर, आफूप्रति कतिपय मिडियाको भूमिका पूर्वाग्रही भएको हो भने देशै चलाउँछु भन्ने नेताले त्यसको उपचार सभ्य र लोकतान्त्रिक तरिकाले खोज्नुपर्दैन ? मिडियाको कार्यालय घेर्न आउँछु भनेर धम्की दिन सुहाउँछ ?

कुन मिडियाको कुनचाहिँ समाचारमा चित्त नबुझेको हो ? त्यसको खण्डन गर्ने विधि र प्रक्रिया रविजस्तो नेतालाई थाहा हुनुपर्छ । एउटा मिडियाले गलत गरेको रहेछ भने १२ ‘भाइ खत्तम, युवराज कँडेल महान’ भन्न मिल्दैन । सबै मिडियालाई एउटै डालोमा हालेर गाली गर्नुको साटो मिडियामा कमी कमजोरी देखिएको भए सच्याउन लगाउने, प्रेस काउन्सिल जाने या अदालत जाने विधि अपनाउनुपर्छ । तर, रवि ‘मण्डले’ शैलीमा भन्छन्– ‘अब कान्तिपुरको अफिस घेर्न जान्छु ।’

के रविको यो तरिका सही छ त ? यस्तो गुण्डागर्दी शैलीले रास्वपा र आम सञ्चारमाध्यमको सम्बन्ध राम्रो हुन सक्छ त ? यो विचारणीय प्रश्न हो । रास्वपाका नेताहरुले आत्मसमीक्षा गर्नुपर्ने प्रश्न हो यो ।

तर, नेपालको मिडिया रविले भनेजस्तो गएगुज्रेको अवस्थामा पनि छैन । हो, यहाँभित्र कयौं समस्या छन् । असन्तुलनको समस्या छ । कतिपयमा विकृति पनि मौलाएको होला । तर, नेपालको मिडिया व्यवसायिक छ । सन्तुलित छ । सरकार र नेताहरुबाट हुने भ्रष्टाचार र बेतिथिविरुद्ध मिडियाले निरन्तर प्रहार गर्दै आएको गौरवमय इतिहास छ । सत्ता, भ्रष्टाचार र निरंकुशताविरुद्ध उभिँदै आएको नेपालको मिडिया रास्वपाका लागि शत्रु हो कि मित्र ? यो छुट्याउने जिम्मा रास्पवा नेताहरुको हो ।

मिडियाले जीबी राईका बारेमा पहिल्यैदेखि लेखेको रविले स्वीकारेका छन्, जतिबेला उनी जीवी राईसँग सहकार्य गरिरहेका थिए । यहाँनेर आफू ठीक, मिडिया गलत भन्न मिल्छ ?

५– भाउजूलाई देखाइदिने कुरो !

‘अनलाइनखबरले रवि लामिछानेका चारवटी श्रीमती छन् भनेर लेखिदियो र मलाई चरित्रहीन देखायो’ भन्ने आरोप लगाउँदै रविले ‘सम्पादकनी भाउजूलाई बोलाएर लंगौटी उतारिदिने’ चेतावनी दिए ।

अनलाइनखबरमा रवि लामिछानेका विषयमा अमेरिकामा रहेकी उनकै पूर्वपत्नीको लेख (कुराकानीमा आधारित) प्रकाशित भएको थियो । उक्त लेखमा रविपत्नीले उनको पछिल्लो घरबारको सफलताको कामना गरेकी थिइन् । त्यसमा रविले आफ्नै पूर्वपत्नीलाई जवाफ दिनुपर्ने थियो, दिएका पनि थिए । तर, विचार छापिएकै आधारमा ‘भावी प्रधानमन्त्री’ले मिडिया प्लेटफर्मविरुद्ध नै विषवमन गर्न मिल्छ ? उक्त पुरानो लेख हेरेपछि पाठकले आफैं मूल्यांकन गर्न सक्ने खुल्ला विषय हो यो । जबकि रविले गतसाल धर्मराज भुसालसँग क्षमा पनि मागिसकेका छन् ।

हेर्नुहोस् अनलाइनखबरमा प्रकाशित सामग्री

रवि लामिछानेलाई चौथो सम्बन्धका लागि शुभकामना !

रवि लामिछानेको वयानः वर्षौंसम्म सोफामा सुतेँ, रोएर रात काटेँ

रोचक त के छ भने अनलाइनखबरलाई गाली गर्दा गर्दै रविले पत्रकार सम्मेलनमा आफ्नो ‘बिग्रिएको घरबार’ बारे स्वीकारोक्ति दिएका छन् । जेठी श्रीमतीसँग सम्बन्धविच्छेद नहुँदै अर्को विबाहेत्तर सम्बन्ध राखेर भुल गरेको रविले स्वीकार्दै आएका छन् ।

नेपाली समाजले कुनै पनि पुरुषको ‘नैतिकता’ को जाँच दुईवटा आधारमा लिन्छ, एक– आर्थिक मामिलामा त्यो पुरुष कति पारदर्शी, स्वच्छ र सादगी छ ? दुई– उसको सांस्कृतिक स्तर कस्तो छ ? अर्थात्, नारीलाई हेर्ने उसको दृष्टिकोण कस्तो छ ? यौनको मामिलामा ऊ कति सभ्य छ ? परिवारजनमाति कति न्याय गरेको छ ?

आर्थिक अनुशासन र यौन अनुशासन, यिनै दुईवटा आधारमा नेपाली समाजले व्यक्तिको नैतिकता जाँच्ने गरेको पाइन्छ । अझ नेता हुँ भन्ने मान्छे त झनै आर्थिकरुपमा पारदर्शी र सांस्कृतिक रुपमा आदर्शवान् हुनुपर्छ भन्ने नेपाली समाजको अपेक्षा देखिन्छ ।

यी दुईवटै परीक्षामा रवि लामिछाने कहाँनेर छन् ? जीवी राईसँग उनको नाता कसरी जोडियो ? पटक–पटक घरबार असफल हुनुमा श्रीमतीहरुको दोष थियो या उनको आफ्नै ? प्रश्नै प्रश्नले बनेको सिसाको घरभित्र छन् उनी । तर, उनी यसको जवाफ नदिई सम्पादककी श्रीमतीलाई भेट्न बोलाउँछन् र तपाईका लोग्नेको लंगौटी उतारिदिन्छु, उसले ह्वाटस्एपको म्यासेज डिलिट गरेको मलाई थाहा छ भन्छन् । के यो भावी प्रधानमन्त्री बन्ने क्षमताको प्रदर्शनी हो ? अथवा, निकृष्टताको पराकाष्टा ? जवाफ दिने जिम्मा रविकै हो ।

६. यौन र नैतिकता

पुरातन रुढिवादी समाजले जेसुकै ठानोस्, मानिसको एउटा घरबार बिग्रनु, सम्बन्धविच्छेद हुनु अनि दोस्रो वा तेस्रोसँग सम्बन्धबाट सन्तान उत्पादन गर्नु अनि फेरि त्यसलाई छाडेर अर्र्कै बिहे गर्नु जस्ता कार्यहरुकै आधारमा कुनै पनि पुरुषलाई फटाहा करार गर्न मिल्दैन ।

तर, यो मामिलामा कुनै महिला वा बालबच्चामाथि अन्याय भएको छ र उनीहरु पीडित बनेका छन् या घरेलु हिंसा र विभेद भएको छ भने त्यस्तोमा सार्वजनिक प्रश्न उठ्न सक्छ । यसमा नैतिक मात्रै होइन, कानूनी प्रश्न पनि उठ्न सक्छ । सार्वजनिक व्यक्ति वा नेतामाथि त झनै प्रश्न उठ्छ । दृष्टान्तका लागि अहिले रवि लामिछानेको ठाउँमा शेरबहादुर देउवा, केपी ओली वा प्रचण्डले तेस्रो घरबार गरेको स्थिति हुन्थ्यो भने रास्वपाका कार्यकर्ताले उनीहरुलाई बाँकी राख्थे ? सबै नेतालाई प्रश्नको झटारो बर्साउने थिए ।

रवि लामिछानेको हकमा स्वयं उनकै प्रथम पत्नीले प्रश्न उठाएकी थिइन् । त्यसमा उनको विचारलाई स्थान दिने मिडिया कसरी दोषी ठहरिन सक्छ ? यसको जवाफ पनि पूर्वपत्रकार लामिछानेसँगै खोज्नुपर्ने हुन्छ । आफूमाथि प्रश्न उठेको विषयमा मिडिया (माध्यम) लाई दोष दिएर उम्कन मिल्दैन । जुन घरमा नारी खुशी हुँदिनन्, त्यो घर नर्क समान हुन्छ ।

केही समय पहिले नेपाल कानून समाजका कृष्णमान प्रधानको नाम संवैधानिक परिषदले निर्वाचन आयुक्तका लागि सिफरिस गरेर संसदीय सुनुवाइमा पठाएको थियो । प्रधानसँग जोडिएकी एक महिलाले समितिमा उजुरी हालिन् । सांसदहरुले नैतिकताको प्रश्न उठाएपछि प्रधानले आफ्नो नाम फिर्ता लिए । प्रधान निर्वाचन आयोग चलाउनका लागि अयोग्य ठहरिएका होइनन्, यौन नैतिकताको दृष्टिकोणले मात्रै विवादमा तानिएका हुन् ।

नेपालको संविधानले संवैधानिक आयोगका पदाधिकारीहरुको योग्यता तोकेको छ । जसमा ‘उच्च नैतिक चरित्र भएको’ हुनुपर्ने भनिएको छ । संसदीय सुनुवाई समितिमा ‘यौन नैतिकता’लाई आधार मान्दै प्रधानमा ‘उच्च नैतिक चरित्र नभएको’ तर्क आयो ।

उच्च नैतिक चरित्र केलाई मान्ने ? बहुनिष्ट यौन सम्बन्धलाई नै यसको आधार मान्न मिल्छ ? यसबारे कानूनले केही भनेको छैन । तर, तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको मुद्दामा सर्वोच्च अदालतले ‘उच्च नैतिक चरित्र’को परिभाषा गरेको छ । अदालतले भनेको छ– मानिसका नैतिक चरित्र दुई किसिमका हुन्छन्, एउटा– उच्च नैतिक चरित्र, अर्को– सामान्य नैतिक चरित्र ।

संवैधानिक आयोगमा नियुक्त हुने पदाधिकारीमा उच्च नैतिक चरित्र हुनुपर्ने संविधानले बताए पनि चुनाव लडेर संसद र सरकारमा पुग्ने नेताहरुका लागि भने नैतिक बन्धन रहने गरेको छैन । यस्तो अवस्थामा नैतिकता नै नभएको मान्छे पनि संसद र सरकारमा पुग्ने ढोका खुल्ला छ । ‘चुनाव जितेर देश चलाउने’ ठाउँमा ‘नैतिक हराम’ मानिस पनि पुग्न सक्छ ।

सर्वोच्च अदालतबाट सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले स्वयं रवि लामिछानेको पनि नैतिकता जाँच गरिसकेको छ । तर, यौनमा हैन, आर्थिक प्रश्नमा ।

सहकारी ठगीमा प्रश्न उठिसकेपछि गृहमन्त्री पदबाट रविले राजीनामा दिनुपर्छ या पर्दैन भन्नेबारे सर्वोच्चले गरेको व्याख्या तलको लिंकमा पढ्न सक्नुहुनेछ ।

रविको आन्तरिक शक्ति, मिडियाबारे उनको बुझाइ र ‘बिग्रेको घरबार’ र नैतिकताबारे लामो बखान गरिसकेपछि अब ‘१२ भाइ प्रकरण’लाई यहीँनेर विश्राम गरौं ।

खासमा, रवि लामिछानेबारे यति लामो बखान किन गरिएको हो भने मिडियामाथि रविले जुन–जुन आरोप लगाएका थिए, त्यसमा उनको आफ्नै कमजोरी र अदुरदर्शिताले मुख्य काम गरेको थियो र उनले यसमा माफीसमेत मागिसकेको तथ्य स्मरण गर्न जरुरी छ ।

त्यसर्थ, रवि लामिछानेबारे मिडियाले टिप्पणी वा विश्लेषण गर्दा उनका समर्थकहरुले अब ठोस विषयवस्तुमाथि बहस गर्नु उपयुक्त हुन्छ, ‘१२ भाइ, १२ भाइ’ भनिरहन जरुरी छैन । अब मिडियाले रवि लामिछाने वा रास्वपालाई दिएको रचनात्मक सुझावलाई ‘पूर्वाग्रह’को ट्याग लगाउन बन्द गरियोस् र आलोचनाहरु सुन्ने उन्नत लोकतान्त्रिक संस्कृतिको विकास होस् भन्नका लागि यो लामो व्याख्यात्मक टिप्पणी गर्नुपरेको हो ।

रवि लामिछाने प्रकरण : न्यायिक कि राजनीतिक ?

उच्च शिक्षा अध्ययन गर्न छाडेर एउटा युवक भिजिट भिसामा वा त्यस्तै कागजात मिलाएर अमेरिका भासियो । त्यहीँको नागरिकता लियो । नेपाली नागरिकता नै त्याग्यो । उतैको पासपोर्ट बनायो । श्रीमतीसँग झगडा गर्‍यो, अर्कै प्रेमिका खोज्यो र बच्चासमेत जन्मायो । यी सबै कर्मका अब बाबजुद अब देशभित्रै केही गर्छु भनेर स्वदेश फर्कियो । यहाँसम्म रवि लामिछानेलाई हामी सबैले सकारात्मक नै मानौं ।

नेपालमा आएपछि उसले सबैलाई हप्काउन थाल्यो । प्रेस काउन्सिललाई मान्दिनँ भन्यो । पत्रकारिताका नाममा ठोकठाककारिता चलायो । नाकको डाँडी भाँचिदिन्छु भन्दै व्यवसायिक पत्रकारिताको धज्जी उडायो । पीडितको पक्षमा टेलिभिजन कार्यक्रम चलाउँछु भन्दै सामाजिक अभियान नै चलायो । कतिपय पीडितलाई न्याय दिलायो, कतिपय निर्दोषलाई डाम्यो । कसैले त उनको नाम लिए रुँदै आत्महत्यासमेत गरे । कसैले रविलाई भगवान् नै देख्न थाले । रविले पत्रकारिताकै क्रममा अपार्टमेन्ट किने । ह्वात्तै आर्थिक उपार्जन गरे । ग्यालेक्सीसम्म पुग्दा करोडौं कमाए । महंगो गाडठी किनेर चढे । एकछिनलाई यो पनि उनले आफ्नो पौरखले कमाएको मानौं, उनीमाथि आर्थिकरुपमा पनि प्श्न नउठाऊँ ।

उनी एकाएक पुराना दलको विकल्पमा राजनीतिमा होमिए । संगठन गरे । चुनावमा ११ लाख भोट ल्याएर २० सिट जिते । पुरानाको विकल्प दिन एक ढंगले सफल भए । राजनीतिमा आएपछि लोकप्रियता झन् बढ्यो । गृहमन्त्री र उपप्रधानमन्त्रीसम्म बने । यसमा पनि रवि लामिछानेलाई सबैले हाई–हाई नै भनौं ।

तर, अहिले जेलसम्म पुग्ने परिस्थिति कसरी आयो ? जीबी राईसँग मिलेर सहकारीमा उनले ठगी गरेका हुन् या होइनन् ? जिल्लादेखि सर्वोच्चसम्मको अदालतले ‘रवि दोषी होइनन् भन्ने अवस्था नदेखिएको भनिरहँदा’ अब न्यायालयलाई पत्याउने कि रविलाई ? अदालतमाथि विश्वास गर्ने कि रास्वपाका कार्यकर्तामा माथि ? यसको अन्तिम परीक्षा हुन बाँकी छ ।

अदालतमा विचाराधाधीन विषय भएकाले यसबारे पत्रकारले ठीक–बेठीक छुट्याउन मिल्दैन । यसमा अदालतको अन्तिम निर्णय पर्खनैपर्छ । हामीले लोकतनत्रमा विश्वास गर्ने हो भने अदालतलाई विश्वास गर्नुको विकल्प छैन ।

रवि कास्की जिल्ला अदालतबाट सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटीमा रिहा भए । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनी काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भए । सहारा सहकारी ठगी मुद्दामा उनी चितवन जिल्ला अदालतबाट ५४ लाख धरौटी बुझाएर रिहा भए । सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतमा रविले एक करोड धरौटी बुझाए । चारवटा जिल्ला अदालतमा उनले २ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् ।

यसरी चार–चारवटा अदालतले गरेको निर्णयलाई ‘ओली सरकारले राखेको पूर्वाग्रह’ भन्दै हस्ताक्षर अभियान चलाउन मिल्छ ? रास्वपा नेताहरुमाथि प्रश्न तेर्सिएको छ ।

रुपन्देही जिल्ला अदालतले ०८१ माघ १३ मा रवि लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने खादेश दिएको थियो । यो आदेशविरुद्ध उनीसमेत उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा निवदेन दिएकोमा उच्च अदालतले जिल्लाको फैसला उल्ट्याउँदै ०८१ चैत २२ गते रविलाई कारगार पठाउने निर्णय गर्‍यो । त्यसपछि उनलाई भैरहवा कारागारमा थुनियो ।

आफूलाई गैरकानूनीरुपमा थुनामा राखिएको भन्दै रविले कारागारबाटै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण समेतको निवेदन दिए । सर्वोच्चले ०८२ जेठ ९ गते रविलाई कारागार पठाउने उच्च अदालतको आदेशलाई सदर गरिदियो ।

सर्वोच्च अदालतले रविबारे कडा शब्दमा भन्यो, ‘प्रतिवादी आरोपित कसूरका कसूरदार रहेनछन् भनी विश्वास गर्न सकिने मनासिव आधार देखिन आएन ।’

सर्वोच्च अदालतबाट थुना मुक्त हुन नसकेपछि रवि लामिछानेले अर्को उपाय निकाले, रुपन्देही जिल्ला अदालतमै बैंक जमानत लिई थुनामुक्त गरीपाउँ भनेर अर्को निवेदन दिने ।

तर, यो निवेदनमा पनि अदालतले रविकै विपक्षमा निर्णय सुनायो । रुपन्देही जिल्ला अदालतले ०८२ साउन २६ मा गरेको आदेशमा भनिएको छ,‘तहगत अदालत हुँदै सम्मानित सर्वोच्च अदालतबाट समेत बदर भैसकेको अवस्थामा पुनः सोही दफामा यस अदालत प्रवेश गर्न मिल्ने देखिएन ।’

यसरी, जिल्ला अदालतका पाँचवटा, उच्चको एउटा र सर्वोच्च अदालतको एउटा आदेशबाट निर्दोष सावित हुन नसकेका रवि लामिछानेलाई अदालत बाहिरैबाट निर्दोष र दोषी किटानी गर्न उपयुक्त हुँदैन । अदालतको अन्तिम निर्णयपछि मात्रै भन्न सकिने छ कि रवि लामिछाने निर्दोष या दोषी छन् ।

हो, रवि लामिछानेमाथि ओली सरकारले पूर्वाग्रह साँधेको हुन सक्छ । तर, उनीमाथि लागेको सहकारी ठगीको आरोप अब न्यायिक निरुपणको विषय बनिसकेको छ । अब यो राजनीतिक विषय रहेन । यसो भनिरहँदा रवि लामिछानेमाथि पूर्वाग्रह साँधेको आरोप कसैले लगाउँछ भने त्यो निराधार एवं अलोकतान्त्रिक लाञ्छना मात्र ठहरिने छ ।

रास्वपामाथि नैतिक संकट

रवि लामिछानेको नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान नै चलाइरहेको छ । अदालतले पटक–पटक निर्दोष नदेखिएको भन्दै कारागारमा पठाएको अवस्थामा अदालतको निर्णयलाई सम्मान गर्ने कि रविको पक्षमा अभियान चलाइरहने ? यहाँनेर सिंगो रास्वपा पार्टी नैतिक संकटमा फसेको देखिन्छ ।

रविपत्नी निकिता र उनी निकट नेताहरु अदालतको आलोचना गर्दै रविको पक्षमा वकालत गरिरहेका छन् । अदालतविरुद्ध आन्दोलन गर्नुहुँदैन र न्यायालयको निर्णय पर्खनुपर्छ भन्ने मत रास्वपामा झिनो सुनिएको छ ।

आगामी ०८४ को चुनावमा कांग्रेस–एमालेको अलोकप्रियताबाट फाइदा उठाउँदै शक्ति आर्जन गर्न खोजिरहेको रास्पवाले अब विवादित रवि लामिछानेलाई बोकेर हिँड्ने कि छोडेर हिँड्ने ? यसैमा रास्वपाको भविष्य भर पर्ने देखिन्छ ।

यो ‘१२ भाइको पूर्वाग्रह’ होइन, नयाँ वैकल्पिक शक्तिप्रतिको चिन्ता हो । किनभने, पुराना पार्टीबाट जनता आजित भैसकेका छन् । ०८४ को चुनावमा नयाँ शक्ति आओस् भन्ने जनताको चाहना छ ।

राइटिङ खन द वाल ! बेलैमा नेताहरुको चेतना खुलोस् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ८ : ४२ बजे

वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र