काठमाडौं – ललितपुरको राजबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि सुरू नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पहिलो दिन ५० जना नेता बेलेका छन् ।
बुधबार बोल्ने अधिकांश नेताहरूमा पार्टीमा अध्यक्ष केपी शर्मा ओलीनिकट छन् । त्यसबाहेक ओलीले बिदा हुनुपर्ने पक्षका नेताले पनि बोलेका छन्। बैठकको पहिलो दिन बोल्नेहरूले ओलीसँगै अन्य नेताहरू पनि सुध्रिनुपर्ने धारणा राखे ।
उनीहरूले ओलीको बचाउ गर्दै जटिल परिस्थितिमा अध्यक्षलाई एक्ल्याउन नहुने तर्क गरे । अन्य केही नेताले भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जस्तै राजनीतिक निर्णय गरेर बिदा हुन पनि ओलीलाई आग्रह गरे ।
बुधबार बोलेका ६ जना नेताले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुनुपर्नेबारे बोले । अध्यक्ष ओलीले गत साउन ५ र ६ गतेको नवौँ केन्द्रीय कमिटी बैठकबाट भण्डारीको नवीकरण भइसकेको सदस्यतासमेत रोकिदिएका थिए । एमालेले दशौँ केन्द्रीय कमिटी बैठकमा बोल्न हरेक नेतालाई तीन मिनेट दिएको छ ।
तर अध्यक्ष ओलीले बैठकको सुरूमै आफूविरुद्ध सामाजिक सञ्जाल र सचिवालय बैठकमा खनिने नेताहरूको मुख बन्द गराउने कोसिस गरेका थिए । उनले भने, ‘ ‘केपी ओली बिग्रेको भए पो सप्रिनू । पार्टीमा कुरा नगर्ने, बाहिर विरोधीको लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चाहिँ सप्रिनु पर्ने छ। म बिग्रेको छैन । बिग्रेको देख्नेहरू पहिले आफैं सप्रियुन् ।’
दुई दिने जेन-जी आन्दोलनको बलमा गत भदौ २४ गते दुईतिहाइको सत्ता गुमाएका ओलीले अझै पनि आफ्नो कुनै गल्ती नभएको जिकिर गरिरहेका छन् । उनले जेन-जीको आन्दोलनमा स्वदेशी र विदेशी शक्तिको घुसपैठ भएर ठूलो हताहती र विध्वंस भएको विवरणसहितको राजनीतिक प्रतिवेदन सुनाए ।
६ पृष्ठ लामो प्रतिवेदनमा ओलीले आफ्नो गल्ती कहीँ औँल्याएका छैनन् । भदौ २३ गते गोली चल्दा काठमाडौं र इटहरीमा १९ जनाको मृत्यु भएको कुरामा उनले दु:ख व्यक्त गरेका छन् । तर त्यसबेला प्रधानमन्त्रीको भूमिकामा रहेका उनले त्यसको नैतिक जिम्मेवारी लिन अझै तयार नभएको कुरा प्रतिवेदनमा छ । उनले जेन-जी आन्दोलन हुनुमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित स्वदेशी र विदेशी शक्तिलाई दोषी देखाएका छन् ।
दुईतिहाइको शक्तिशाली सरकार गुमाएको र देशले ठूलो विध्वंश र हताहतीको सामना गरेको अवस्थामा पनि ओलीले गल्ती नस्वीकारेको राजनीतिक प्रतिवेदन पढिसकेपछि केन्द्रीय सदसहरूलाई बोल्न दिइएको थियो ।

विद्या भट्टराईले भनिन् : कांग्रेसले जस्तो राजनीतिक निर्णय गर्न सक्नुपर्छ
बैठकमा बोलेकी केन्द्रीय सदस्य एवम पूर्वशिक्षा मन्त्री विद्या भट्टराईले देशको विकसित परिस्थितिको पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने बताएकी छन् ।
पार्टी नेतृत्वले आफ्ना गल्ती कमजोरी स्वीकारेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । बैठकमा सहभागी एकजना नेताका अनुसार उनले भनिन्, ‘कांग्रेसले गरेको जस्तो राजनीतिक निर्णय गरेको छ हामीले पनि त्यही स्तरको गर्न सक्नुपर्छ । यो कुरालाई नेतृत्वले व्यक्तिगत आग्रहका रूपमा लिनु भएन । ममाथि मात्र प्रहार भयो, एमालेमाथि प्रहार भयो भनेर लिनुभएन । सिङ्गो सरकार र देशमाथि नै किन यसरी प्रहार भयो भनेर समीक्षा गर्न सक्नुपर्छ ।’
विद्याले औंल्याएका कुरा
१. समावेशी लोकतन्त्रमा एमालेको स्पष्ट धारणा हुनुपर्ने ।
२. मौलिक हकको कार्यान्वयन जुन खालको पहलकदमी हुनुपर्ने, त्यो हुन नसकेको ।
३. कार्यकर्ता उत्साहित बनाउने मात्रै भनियो तर जनतासँग जोडिन के गर्नुपर्छ भन्ने कुरा केही नभएको ।
४. एकल निर्णय नगरौँ ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीमाथि भौतिक आक्रमण हुँदा पनि कांग्रेसले राजनीति निर्णयसहित अघि बढेको बताइन् ।
‘तर हामी हरेक कुरा मलाई आफ्नोबाहेक अरूको कुरा स्वीकार भएन । म मात्रै सर्वेसर्वा भनेर आत्माकेन्द्रित कुरा नगरौँ’, उनले भनिन्, ‘अहिलेको अवस्थाको कारण हाम्रै सरकारमाथिको अविश्वास हो । सिङ्गो सरकारले जनताका कुरा सम्बोधन गर्न नसकेका कारण आएको परिणाम भनेर स्वीकार गर्न सक्नुपर्छ ।’

अन्यले के भने ?
विद्यापछि बोलेका अन्य केही नेताले अध्यक्ष ओलीलाई हटाउन नहुने तर्क गरे । बुधबार बोल्ने अधिकांश बक्ता ओलीको बचाउमा उत्रिए । महासचिव शंकर पोखरेलले बैठकको सुरू दिनमा संस्थापन पक्षीय आवाज बलियो हुने गरी बोल्ने व्यवस्था मिलाएका थिए । पहिलो दिन नै ओलीको पक्षमा माहोल बनाउन सके अन्तिममा सहज रुपमा निर्णय गराउन सक्ने दाउमा ओली छन् ।
पूर्वसांसद सूर्य ढकालले बैठकमा बोल्दै वाम आन्दोलन र एमालेमाथि प्रहार भएकाले एकजना मात्र नभएर, सबै नेता सँच्चिनुपर्ने तर्क गरे । ‘अध्यक्ष मात्रै होइन, सबै सँच्चिनुपर्छ । सबैतिर हमला भएको छ । सबैले आफूमा समीक्षा गरेर काम गर्नुपर्छ’, उनले भने ।
बैठकमा पूर्वसांसद लालबाहुदर थापाले पनि सबै सँच्चिनुपर्ने धारणा राखे । नेतृ सूर्यकुमारी बोटेले पनि बीचमा उभिएर कुरा गरिन् । यस्तै पूर्व सांसद सरिता भुसालले अध्यक्ष ओलीलाई हमला गर्नु नहुने तर्क गरेकी थिइन् ।
अध्यक्ष ओलीले राम्रो काम गर्दा पनि आफ्नो पार्टीका नेताहरूले साथ नदिएको दाबी गरिन् । भुसालले ओलीको खुलेर बचाउ गरिन् । उनले अध्यक्ष ओली संविधान र पार्टी एकताको पक्षमा रहेकाले एक्ल्याउन नहुने उल्लेख गरिन् ।
अन्य नेताले पनि अध्यक्ष परिवर्तन गर्ने भए सबै सचिवालय सदस्य पनि महाधिवेशन अगाडि फेरिनुपर्ने कुरा राखेका थिए । ओलीको राजीनामा माग्ने नेताहरूले पहिला आफूले राजीनामा दिएर देखाउन पनि उनीहरूले चुनौती दिए ।
बैठकमा बोलेका अरू नेताले नेतृत्वको छिनोफानो महाधिवेशनबाटै गर्दा उचित हुने बताएका थिए ।
बैठकमा जटिल अवस्थामा पार्टी एक ढिक्का भएर जानुपर्ने कुरा पनि राखियो । एमालेलाई मात्रै अहिले प्रहार भएकाले नेतृत्व परिवर्तन भए पनि आक्रमण नरोकिने धारणा नेताहरूको थियो ।
‘जो अध्यक्ष भए पनि प्रहार हुन्छ । हामीले नेतृत्व परिवर्तनको कुरा गर्ने होइन । महाधिवेशन गरौँ ,पार्टी एक भएर जाऊँ’, बैठकमा पूर्वसांसद भुसालले भनेकी थिइन, ‘के कारण अध्यक्षबाट केपी ओलीले राजीनामा दिने ? ओलीले दिनुपर्छ भने म केन्द्रीय सदस्यले पनि त राजीनामा गर्नुपर्छ । अध्यक्षको दोष हुने तर सदस्यको नहुने हुन्छ र ?’

भण्डारीको पक्षमा ६ नेता
बुधबारको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने पक्षमा खुलेका केन्द्रीय सदस्यहरू पनि बोलेका थिए । उनीहरूले भण्डारीलाई यहि केन्द्रीय कमिटी बैठकबाट पार्टी राजनीतिमा फर्काउनुपर्ने माग गरे । बैठकमा भण्डारीको पक्षमा सरिता न्यौपाने, शर्मिला कार्कीसहितले बोलेका थिए ।
यस्तै, विद्यासुन्दर शाक्य, लक्षुमण ज्ञवाली र विजय सुवेदीले पनि भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने कुरा उठाए । उनीहरूले साँच्चिकै एमाले सँच्चिएर जाने भए भण्डारीको सदस्यता नवीकरणमा आनाकानी गर्न नहुने बताए ।
उनीहरूले केन्द्रीय कमिटी बैठकले यसअघिको निर्णय सुधारेर कार्यकर्तामा ऊर्जा भन्नुपर्ने उल्लेख गरे । उनीहरूले मदन भण्डारीको योगदानबारे पनि कुरा गरे । त्यसैले मदनको परिवारलाई एमालेले अपमान गर्न नहुने उनीहरूको मत थियो ।
काठमाडौंका पूर्वमेयरसमेत रहेका शाक्यले पार्टीमा आउन चाहनेलाई बाटो खुल्ला गर्नुपर्ने बताए । उनले बाटो रोकेर एमाले बलियो र ठूलो पार्टी नहुने तर्क गरे ।
बैठकमा छोटो समयमा बोल्न नपाएका कुरा लिखित रूपमा राख्ने अवसर पनि दिइएको छ । पहिलो दिन बोल्ने केही नेताले लिखित पत्र बुझाउने पनि तयारी गरेका छन् । एमालेमा ३ सय १ जना केन्द्रीय कमिटी सदस्य छन् । अबको दुई दिनमा ती सबैजनाले धारणा राख्ने छन् ।
प्रतिक्रिया