काठमाडौं – गत वर्षको फागुनको कुरा हो– तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबारेको किताब ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ विमोचन कार्यक्रममा उपस्थित गायक प्रकाश सपुत आलोचित बन्नुपर्यो । सामाजिक सञ्जालमा उनलाई बहिस्कार गर्ने ट्रेन्ड चल्यो ।
कार्यक्रममा गएको निहुँमै उनीविरुद्ध बहिस्कारसम्म ट्रेन्ड चलेको नभएर प्रधानमन्त्री ओलीको प्रशंसा गरेर हो ।
प्रशंसा गर्दै उनले ‘ओलीको जीवन प्रेरणादायी’ रहेको जीकिर गरे । उनले ओलीकाे प्रशंसामा राम्रै शब्द खर्चिए, समय भने झन्डै १० मिनेट ।
‘बाघ कराउनु र बाख्रा हराउनु एकै’ भएको हो कि के हो ? हिट सिर्जना दिइरहेका प्रकाशको फ्लप यात्रा त्यहीँबाट सुरु भयो ।
त्यसको एक महिनापछि प्रदर्शनमा आएका उनको डेब्यू लेखन र निर्देशन रहेको फिल्म ‘वसन्त’ फ्लप भयो । प्रकाशकै ‘गलबन्दी प्रोडक्सन’को ब्यानरमा बनेको उक्त फिल्म उनको ड्रिम प्रोजेक्ट थियो ।

बहिस्कारको ट्रेण्ड चलेयता उनका सबै सिर्जना फ्लप छन् । फ्लप बन्नुको कारण मध्येको एक ‘ओलीकै प्रशंसा’ मान्ने पनि छन् ।
त्यसयता प्रकाशको गीत ‘नाइँ भनेसी नाइँ’, तीन फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘सोल्टिनी’ फ्लप भए ।
यति धेरै फ्लप सामना गरेपछि यसको दोष प्रकाशले ओलीको प्रशंसा गर्नुलाई थुपारिदिए । उनले ओलीको प्रशंसा गर्नु गल्ती भएको स्वीकारसमेत गरिसके । दर्शकले बहिस्कार गर्दा आफ्ना कामहरु व्यवसायिक रुपमा फ्लप भएको उनको बुझाइ छ ।
अब सिर्जना कमजोर हो कि ओलीको प्रशंसाले बहिस्कारमा परेर फ्लप सहनुपर्यो ? प्रकाशले समीक्षा गर्ने बेला भने पक्कै आएको छ । यति धेरै फ्लप सामान्य विषय होइन ।
जे होस्, प्रकाश अहिले राजनीतिदेखि डराएका छन् । प्रकाश जसरी अरु कलाकारहरु राजनीतिबाट डराएका पाइँदैन । कुनै पार्टी वा विचारमा खुलेरै झुकाव राख्ने कलाकार नेपाली रङ्गक्षेत्रमा मनग्य संख्यामा छन् ।
केही पार्टीलाई भित्रभित्रै सहयोग गरेर बाहिर ‘स्वतन्त्र हुँ’ भन्दै चोख्खिने पनि छन् । किनकि उनीहरुलाई थाहा छ– कलाकार सबैको हो, निश्चित विचार र सिद्धान्तलाई पछ्याउँदा दर्शकलाई सिर्जनामार्फत् अन्याय गर्ने जोखिम उच्च हुन्छ । पार्टीको झण्डा नबोक्दा नै कलाकारको नैतिकता उच्च हुन्छ ।
यद्यपि पार्टीमा लाग्नु कलाकारको व्यक्तिगत स्वतन्त्रता हो भन्ने तर्क पनि उस्तै मजबुत ढंगले प्रस्तुत हुने गर्छ । गर्नु पनि के ? चलचित्र क्षेत्रलाई नियमन गर्ने सरकारी निकाय चलचित्र विकास बोर्डको अध्यक्ष बन्न नै पार्टीका नेताको निगाह चाहिन्छ ।
पछिल्ला दुई अध्यक्षहरुकै कुरा गरौँ । नायक भुवन केसी कांग्रेसको आशीर्वादले बोर्डको अध्यक्ष बने ।

०८१ सालमा ओली प्रधानमन्त्री बनेपछि दिनेश डीसीको बालुवाटारको दौडधुप निकै बाक्लियो । बदलामा ओलीले उनलाई बोर्डको अध्यक्ष बनाइदिए ।
अब भुवन र दिनेश कुन पार्टी निकट होलान् ? त्यो किटान गर्न आवश्यक भएन । कुरा प्रष्टै छ ।
राजनीतिक नियुक्तिमा पाउने यस्ता पद सरकारको नेतृत्व गरेका दलकै निटकले पाउँछन् । यी दुईको हकमा त्यो लागू भएन कसरी भन्ने ? उनीहरु आफैँले पनि खण्डन गरेका छैनन् ।
विगतका अन्य बोर्डका अध्यक्षले ‘यो मान्छे यो दलको कार्यकर्ता’ भन्ने आरोप नखेपेका भने होइनन् ।
जो सक्रिय राजनीतिमा छन्
कलाकारितामा स्थापित भएका र अहिले राजनीतिमा सक्रिय रहेका दुई नाम हुन्– गायिका कोमल वली र नायिका रेखा थापा ।
राजदरबार निकट मानिने कोमलले ०७३ सालबाट सक्रिय राजनीति सुरु गरेकी हुन् । उनले त्यसबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीति गर्ने घोषणा गदै गर्दा ‘कोमल दरबार निटक व्यक्ति हुन्’भनेर दाबी गर्नेले ‘देख्यौ त’सम्म भन्न भ्याएका थिए ।
तर, कोमलको मन राप्रपामा एक वर्ष पनि टिक्न सकेन । ०७३ साल मंसिरमा राप्रपा प्रवेश गरेकी उनी ०७४ असोजमै नेकपा एमालेमा प्रवेश गरिन् ।
त्यसयता उनी एमालेमै सक्रिय छिन् । उनी एमालेबाट ०७५ असारमा राष्ट्रिय सभा सदस्य बनिन् । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी दाङ–३ बाट एमालेको टिकटमा उठेर पराजित भइन् ।
अहिले पार्टीमा उनको हैसियत पूर्वराष्ट्रिय सभा सदस्य र केन्द्रीय सदस्य छ । गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनमा कोमलको लगानी रहेको दाङस्थित रेस्टुराँ आगलागी भएको थियो ।
कलाकारिताबाट आएर राजनीतिमा देखिने गरी स्थान बनाउने कोमल मात्रै हुन् ।

कलाकारिताबाट ओझलमा पर्दै गएपछि रेखा २०७० साल जेठमा नेकपा (माओवादी केन्द्र) प्रवेश गरिन् । माओवादीसँग उनी तीन वर्षमै अघाइन् । ०७३ मंसिरमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् ।
माओवादीले चुनावमा टिकट नदिएको र चलचित्र विकास बोर्डको अध्यक्ष बनाउन नसकेको असन्तुष्टिले उनले पार्टी परित्याग गरेको त्यसबेला निकै चर्चा थियो ।
राप्रपा प्रवेश गरेपछि ०७८ सालमा रेखा पार्टीको महिला महामन्त्रीमा पदमा पराजित भइन् । उनको पराजित पार्टीमा मात्रै सीमित भएन । ०७९ प्रतिनिधिसभा चुनावमा उनी मोरङ–३ बाट पराजित भइन् ।
अन्य बेला चुपचाप बसेको देखिए पनि पार्टीको चुनाव वा आम निर्वाचनमा रेखाको राजनीतिक सक्रियता देखिन्छ ।
तर, रेखाले राजनीतिमा आफ्नो स्थान बनाउन भने सकेकी छैनन् ।
अर्का कलाकार हिमेश पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रिय राजनीतिमा छन् । कलाकारितालाई पनि उनले निरन्तरता दिइरहेका छन् ।
०७९ को निर्वाचन ताका बनेको स्वतन्त्र उम्मेदवार प्रतिको महोलको रापतापमा खोलिएको पार्टीबाट हिमेश राजनीतिमा लागेका हुन् ।
उनले धादिङबाट चुनाव लडे तर जितेनन् । अहिले न उनको राजनीतिले गति लिएको छ, न कलाकारिता यात्राले । तथापि उनी दुई डुङ्गामा खुट्टा हालिरहेका छन् । यसरी कता पुग्लान् हिमेश ?
करिश्मालाई जेन–जीले छुटायो
डा. बाबुराम भट्टराईले माओवादी छाडेर ‘नयाँ शक्ति’ पार्टी घोषणा गरेदेखि नै नायिका करिश्मा मानन्धर राजनीतिमा प्रवेश गरेकी हुन् । त्यसबेला करिश्मा पार्टीमा सक्रिय भएरै लागिन् । तर, उनले आफ्नो राजनीतिक स्थान बनाउन भने सकिनन् ।
०७८ सालमा करिश्माको मन फेरियो । त्यस वर्षको चैतमा उनी एमाले प्रवेश गरिन् । ०७९ सालको प्रतिनिधि सभामा उनले टिकट पाउने चर्चा एकदमै चलेको थियो तर, पाइनन् ।
करिश्माको एमालेमा पनि धेरै मन अडिएन । ०८२ सालको भदौ अन्तिममा उनले पार्टी परित्याग गरिन् ।
भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलमा प्रदर्शनकारीले ज्यान गुमाएपछि सरकारमा रहेको आफ्नो पार्टीबाट राजीनामा दिएको उनले घोषणा गरिन् ।
अब उनी राजनीतिमा नलाग्ने अडानमा छिन् । करिश्मा राजनीतिमा जस्तो हात गएको त्यस्तै फर्किइन् । सिधा भन्दा खाली गएर रित्तै फर्किइन् ।
जेन–जीको भेलमा छिर्नेहरु
नेपालमा हरेक १० वर्षमा ठूलो राजनीतिक परिवर्तन भएको पाइन्छ । पछिल्ला दशकमा कलाकारहरुमा राजनीति अस्थिरता र देशको परिस्थितिबारे आम जनता जस्तै फ्रस्टेट नै भएको पाइन्छ । विकसित राष्ट्रमा कलाकारको पलायनको मुख्य कारण पनि यही हो ।
जसरी आम जनता राजनीतिक परिवर्तनमा उदायका शक्तिसँग आशा राख्छन् र झुकाव लिन्छन्, त्यही कुरा कलाकारमा पनि देखिन्छ ।
०६२/०६३ को परिवर्तनपछि कलाकारहरुले माओवादी पार्टीमा आशा राखे । धेरैले खुलेरै माओवादीको समर्थन गरे । केही त पार्टी प्रवेश नै गरे ।
अरुका कुरा नगरौँ त्यस समय कलाकारितामा उचाइ बनाएका नीर शाह पनि माओवादी बनेको चर्चा चल्यो । उनले स्वतन्त्ररुपमा आफू माओवादी गएको भने पुष्टि गरेनन् ।
तर, ०७० दोस्रो संविधान सभा चुनावमा उनले नेपाली कांग्रेस नेता प्रकाशमान श्रेष्ठलाई भोट मागेका थिए । अहिले उनी कांग्रेस निकट छन् ।
नायिका रेखा थापा माओवादी नै प्रवेश गरिन् । त्यस समय माओवादीसँग समर्थन भाव राख्नेहरुको सूची लामो छ ।
०७९ वैशाखमा स्थानीय तहको चुनाव भयो । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको रुपमा र्यापर बालेन्द्र शाह उठे । स्वतन्त्र उम्मेद्वार बालेन्द्रले राम्रै चुनावी माहोल बनाए ।
त्यसबेला उनको समर्थनमा कलाकार खुलेरै लागे । निर्देशक निश्चिल बस्नेत, कलाकार दीपकराज गिरी, गायिका इन्दिरा जोशीलगायत बालेन्द्रको पक्षमा खुलेरै लागे । यो सूचीमा अन्य कलाकारहरु पनि छन् । यहाँ उचाइ लिएका कलाकारहरुको मात्रै नाम लिइएको हो ।
यही स्वतन्त्रको लहर छोप्न रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोले । ०७९ को प्रतिनिधि सभा लक्षित गरी खुलेको यही पार्टीबाट युवा कमेडियनका रुपमा उदायका हिमेश पन्त उम्मेद्वार बने ।
खुलेरै भोट नमागे पनि कलाकारहरुले यो पार्टीमा सहानुभूति राखेको पाइन्छ । सहकारी ठगीमा कारागारमा रहेका रविलाई निकाल्ने उद्देश्यले पार्टीले थालेको हस्ताक्षर अभियानमा कलाकारको सहभागीता यसको बलियो उदाहरण हो ।
नायक विपीन कार्की, गायक खेम सेञ्चुरी, राजाराम पौडेल, खगेन्द्र लामिछाने, नायक रमेश उप्रेतीलगातका कलाकार उक्त अभियानमा सहभागी भएका थिए ।
भदौ २३ र २४ को जेन–जी आन्दोलनले नयाँ राजनीतिक कोर्स लियो । यो आन्दोलनमा निर्देशक निश्चल बस्नेत, रिमा विश्वकर्मा, पल शाह, नायक पारस बम ‘कुल ब्वाइ’, साजन श्रेष्ठ, रचना रिमाल, रवीन्द्रसिंह बनियाँलगातका दर्जनौं कलाकार फिल्डमा नै उत्रिएका थिए । सामाजिक सञ्जालबाट आन्दोलनको समर्थन नगर्ने कलाकार एकदमै कम छन् ।
यो आन्दोलनले सडकबाट दुई दिनमै एमाले–कांग्रेस नेतृत्वको बलियो गठबन्धन सरकार ढल्यो । संविधान बाहिरबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको प्रधानमन्त्री बनिन् । प्रतिनिधिसभा विघटन भयो ।
सुशीला नेतृत्वको अन्तरिम सरकाले फागुन २१ मा प्रतिनिधिसभा चुनाव गराउने घोषणा गरेसँगै नयाँ दल दर्ता गर्ने क्रम बढ्दो छ ।
अहिले तीन नायिकाहरु दल दर्ताको कार्यक्रममा सहभागी भएका कारण चर्चामा छन् । अर्थात्, उनीहरु जेन–जीको ‘नयाँ अनुहारलाई राजनीतिमा स्थान’ भन्ने भावलाई क्यास गर्न तम्सिएका छन् । ती नायिकाहरु हुन्– निशा अधिकारी, रिमा विश्वकर्मा र एलिजा गौतम ।

फिल्म क्षेत्रमा जम्न नसके पनि एलिजा चर्चित छिन् । विभिन्न फन्डाले भाइरल भइरहने पत्रकार ऋषि धमलाकी श्रीमती भएर पनि उनी चर्चामा छिन् ।
जेन–जी आन्दोलनपछि गठन प्रक्रिया सुरु भएको नयाँ पार्टी ‘जनादेश पार्टी’को एलिजा उपाध्यक्ष बनेकी छन् । यस पार्टीको अध्यक्ष अधिवक्ता रमणकुमार कर्ण हुन् ।
एलिजा ०७९ माघबाट राजनीतिमा प्रवेश गरेकी हुन् । उनी त्यस समय नागरिक उन्मुक्ति पार्टीमा भित्रिइन् । प्रवेश गरको ८ महिनैमा अर्थात् ०८० भदौमा उनले पार्टी परित्याग गरिन् ।
त्यस्तै, अर्की नायिका रिमा विश्वकर्मा हालका ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल पार्टी’बाट राजनीतिमा प्रवेश गरेकी छिन् । उनलाई पार्टीको केन्द्रीय सदस्यको पद दिइएको छ ।
नायिका निशा अधिकारी पनि राजनीतिमा होमिएकी छिन् । उनले बुद्ध एयरका मालिक वीरेन्द्रबहादुरको बस्नेतको पार्टी ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’बाट राजनीति यात्रा सुरु गर्ने भएकी छिन् । उनलाई पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।
कलाकारहरु राजनीतिक भेलमा हाम फाल्दै आएको उदाहरणले जेन-जी आन्दोलनपछिको विकसित नयाँ कोर्शमा पनि निरन्तरता पाएको छ । हेरौँ– यी नायिकाहरुले आफू राजनीतिमा कत्तिको स्थापित गर्न सक्छन् !













प्रतिक्रिया