काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा गम्भीर विवाद देखिएको छ।
खासगरी महासचिव पदलाई लिएर ओली समूहमा गम्भीर विवाद र संकट देखिएको हो ।
चितवनमा भएको दशौँ महाधिवेशनबाट अध्यक्ष ओलीको इच्छामा महासचिव बनाइएका शंकर पोखरेलले दोहोरिन खोजेपछि दुई दिनदेखि गुन्डुमा भएको छलफल निष्कर्षविहीन भएको हो ।
शनिबारैदेखि ओलीले महासचिव पदमा कुरा मिलाउन खोजेका थिए । तर महासचिवका आकांक्षी पृथ्वी सुब्बा गुरुङ, पोखरेल र ज्ञवालीबीच कुरा मिल्न नसकेको हो ।
महासचिवमा बलियो दाबेदारी पेश गरेका उपमहासचिव ज्ञवालीले अडान नछाडेपछि गुण्डु बैठकले कुनै निचोड दिन नसकेको हो । ओली अहिले पनि पोखरेललाई निरन्तरता दिने पक्षमा छन् ।
तर उपाध्यक्ष विष्णुप्रसाद पौडेलले महासचिवमा प्रदीप ज्ञवालीलाई लैजाने पक्षमा आफूलाई उभ्याएका छन् । सुरूमा पृथ्बी सुब्बालाई महासचिव बनाउन खोजे पनि अन्त्यमा उनले ज्ञवालीलाई महासचिवमा लान चाहेका थिए ।
ज्ञवालीले सुरूदेखि नै महासचिवमा दाबी गरेका थिए । तर ओलीले उनलाई उपमहासचिवमै निरन्तरता दिन खोजे । चार दिनअघि नै उपमहासचिव ज्ञवालीले महासचिवमा जान नपाएमा आफू केन्द्रीय सदस्यमा मात्रै उठ्ने जनाउ दिएका थिए ।
त्यसपछि सोमबार गुण्डुमा भएको बैठकमा कुरा नमिलेपछि ज्ञवाली उठेर हिँडेका छन् । ओलीले पोखरेललाई महासचिव प्रस्ताव गरेसँगै ज्ञवालीले गुण्डुको बैठकस्थल छाडेर हिँडेका हुन् ।
पोखरेललाई महासचिव दोहोर्याउन अर्का उपमहासचिव विष्णु रिमाल पनि लागेका छन् ।
गौतम पनि बाहिरिए
उता एमाले प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतम पनि गुण्डु छाडेर हिँडेका छन् । उनले आफूलाई सचिव पदमा लैजानुपर्ने माग ओलीसमक्ष राखेका थिए ।
तर ओलीले गौतमलाई सचिव पदमा लैजान नसकिने बताएपछि उनी गुण्डुबाट बाहिरिएका हुन् । ओली समूहबाट सचिवहरूमा लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, शेरधन राई, माधव ढुंगेल, महेश बस्नेत, विशाल भट्टराई र यमलाल कडेँलको सम्भावना । अझै भट्टले उपमहासचिवमा दाबी गरिरहेका छन् ।













प्रतिक्रिया