अदालतको आदेश : रवि र छविलाई जानकारी दिनू, बाँकीको पेसी हेर्दाहेर्दैमा राख्नू | Khabarhub Khabarhub

अदालतको आदेश : रवि र छविलाई जानकारी दिनू, बाँकीको पेसी हेर्दाहेर्दैमा राख्नू


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी ठगी मुद्दामा अहिले रुपन्देही कारागारमा छन् । जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न आदेश दिए पनि उच्च अदालते थुनामै राख्न आदेश गरेपछि लामिछाने कारागार चलान भएका हुन् । रुपन्देहीमा भन्दा पहिला उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

८४ दिन थुनामा रहेका रहेका लामिछानेसमेतलाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते आदेश दियो । त्यही आदेशले लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाई, मिना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ रिहा भएका थिए ।

जिल्लाको आदेश चित्त नबुझेको भन्दै सरकारी वकिल कार्यालयले उच्च अदालत पोखरामा निवेदन दियो । रवि लामिछाने उता रुपन्देही कारागारमा चलान भएको विषय उच्च अदालत पोखरालाई लिखित रुपमा जानकारी भएन । निवेदन परेपछि पेसीमा चढ्ने नै भयो अनि प्रक्रियामा जाने भयो । एउटा मुद्दामा सामान्यतया विशेष परिस्थिति परेमा २ पटकसम्म पेसी सार्न सकिने प्रावधान छ ।

तर रविको यो मुद्दामा ४ पटकसम्म पेसी सारियो । निवेदक सरकारी वकिल र विपक्षी अन्यका कानुन व्यवसायीको सहमतिमा जेठ १ गतेका लागि पेसी तोकिएर बहस पनि भयो । तर बहसमा रवि लामिछानेतर्फका कानुन व्यवसायी उपस्थित भएनन् । जेठ १ गते बिहीबार बहस नसकिएपछि मुद्दा हेर्दाहेदैमा पर्‍यो ।

मुद्दाको सुनुवाइ मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मीलनकुमार राईको इजलाशमा भएको थियो । शुक्रबार रवि पक्षका वकिल अदालतमा उपस्थित त भए, तर उनीहरुले पेसीका बारेमा जानकारी नै नदिइ सुनुवाइ गरिएको भन्दै आपत्ति जनाए । आपत्ति जनाउनेमा वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ र सुशीलकुमार पन्त थिए ।

उनीहरुले आफ्ना क्लाइन्टको सहमति वा जानकारीबिना पेसी सारेर सुनुवाइ गरेको भन्दै इजलासमै विरोध जनाए । उनीहरुले रवि अर्को अदालतको आदेशबाट पक्राउ परेर रुपन्देही कारागारमा रहेकाले सुनुवाइका बारेमा जानकारी गराउन इजलाससँग आग्रह समेत गरे । कानुन व्यवसायीको आग्रहपछि इजलाशले थुनामा रहेका लामिछाने र जोशीमाथि अदालतमा सुनुवाइ भइरहेको जानकारी सम्बन्धित कारागार कार्यालयमार्फत् उनीहरुले पाउने गरी पठाउन आदेश दिएको छ ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मीलनकुमार राईको संयुक्त इजलासले सो आदेश दिएको हो । मिति २०८२ जेठ १ गते प्रारम्भ भएको सुनुवाइको क्रममा प्रतिवादी रवि लामिछाने र छविलाल जोशी अन्य मुद्दाको सन्दर्भमा हाल रुपन्देहीस्थित कारागार कार्यालयमा थुनामा रहेको जानकारी वरिष्ठ कानुन व्यवसायीमार्फत् अदालतमा प्रस्तुत गरिएको थियो ।

त्यसका आधारमा इजलासले थुनामा रहेका दुई प्रतिवादीलाई सुनुवाइबारे जानकारी छिटो पठाउन निर्देशन दिएको आदेशमा उल्लेख छ । उक्त मुद्दामा निवेदक/वादी पक्षबाट उपन्यायाधिवक्ताद्वय सुरेन्द्रराज काफ्ले र दशरथ पंगेनीले बहस गरिसकेका छन् । बाँकी प्रतिवादीहरू आरती गुरुङ, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाई र कृष्णबहादुर गुरुङका सम्बन्धमा भने सुनुवाइलाई निरन्तरता दिँदै जेठ ४ गतेका लागि हेर्दाहेर्दैको पेसी तोकिएको छ ।

अदालतका कर्मचारीले भने रवि पक्षका कानुन व्यवसायीले दाबी गरेजस्तो एकतर्फीरुपमा पेसी सारिएको कुरा गलत रहेको बताए । उनका अनुसार सबै प्रतिवादीका वकिलकै सहमतिमा बिहीबारका लागि पेसी तोकिएको हो । उनीहरूले पेसी सार्ने कागजमा रवि पक्षका कानुन व्यवसायीले नै हस्ताक्षर गरेको दाबी उच्चकै एक कर्मचारीले गरेका छन् ।

त्यसबारे जानकारी नभएको भन्दै वरिष्ठ अधिवक्ताहरुले इजलासमै विवाद उठाएपछि न्यायाधीशहरु पनि एक कदम पछि हटेका हुन् । अदालतका अनुसार रवि लामिछाने पक्षले वैशाख ११ गते तोकिएको पेशी सार्न निवेदन दिएपछि वैशाख २५ गतेका लागि नयाँ मिति तय गरिएको थियो । त्यसपछि पूर्वडीआईजी छविलाल जोशीका कानुन व्यवसायीले पनि पेसी सार्न माग गरेपछि अन्ततः बिहीबार सुनुवाइ हुने तय गरिएको थियो ।

उच्च अदालत पोखराका सूचना अधिकारी उपरजिष्ट्रार नीलप्रसाद पनेरुले विशेष परिस्थिति परे बढीमा दुई पटक मात्रै पेशी सार्न मिल्ने व्यवस्था रहेको बताए । तर लामिछानेसमेतको मुद्दामा भने हालसम्म चार पटक पेशी सारिएको छ। पहिलो पटक चैत २१ गते तोकिएको पेशी सरकारी वकिलको मागमा स्थगित भएको थियो ।

दोस्रो पटक वैशाख ४ गते नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामप्रसाद खनाल तर्फबाट स्थगित गरियो । तेस्रो पटक लामिछाने पक्षले वैशाख ११ को पेसी सार्न निवेदन दिए भने चौथो पटक जोशी पक्षले पेशी सार्न माग गरेपछि बिहीबारका लागि अन्तिम मिति तय गरिएको हो । सूचना अधिकारी पनेरुका अनुसार, कुनै व्यक्ति एक अदालतको आदेशमा कारागार चलान भएमा, त्यसबारे मुद्दा चलिरहेको अदालतमा जानकारी दिनुपर्ने व्यवस्था छ ।

रवि लामिछाने चैत २२ गते उच्च अदालत बुटवलको आदेशले कारागार चलान भएका थिए । तर उक्त जानकारी समयमै उच्च अदालत पोखरामा नआएका कारण अदालतले बुटवल कारागारमा पत्राचार गर्न सकेन । उक्त मुद्दाको सुनुवाइ उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको संयुक्त इजलासमा भइरहेको छ । सरकारी वकिल र सहकारी पीडित पक्षका वकिलहरूले रवि लामिछानेसहित ७ जना प्रतिवादीलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामा पठाउन माग गरेका छन् ।

तर प्रतिवादीका वकिलहरूले उनीहरूलाई साधारण तारेखमा छोड्नुपर्ने माग गर्दै बहस गरेका छन् । यसअघि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते रवि लामिछाने, पूर्वडीआईजी जोशी, खनाल, लिला पछाई, मिना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलगायतलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रिहा गर्दा लामिछानेलाई ६५ लाख, जोशीलाई ८८ लाख, खनाललाई १५ लाख, पछाईलाई ३७ लाख, आरती र मिनालाई ५/५ लाख, र कृष्णलाई १ लाख धरौटी तोकिएको थियो । सरकारी वकिलले जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेशमा आपत्ति जनाउँदै उच्च अदालत गएको हो ।

सरकारी वकिलको भनाइमा अदालतले माग गरिएको बिगोभन्दा निकै कम धरौटीमा प्रतिवादीलाई रिहा गरेको छ । त्यसपछि प्रतिवादीहरू पनि धरौटी बढी मागिएको भन्दै साधारण तारेखमा छुट मागेर उच्च अदालत पुगेका थिए । यो मुद्दामा हालसम्म सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेल, पूर्व उपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, संचालक प्रमोद भट्टराई लगायत व्यक्तिहरू पूर्पक्षका लागि थुनामा छन् ।

तर, मुख्य योजनाकार मानिएका पूर्व अध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, थानबहादुर बुढा र धीरजकुमार दास भने फरार छन् ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ५ : २९ बजे

डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

अमरगढी– डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । छ

रविको पक्षमा उभिँदै बाबुरामले पुराना दललाई तुलना गरे कंशसँग 

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूलाई महाभारतका पात्र

प्रज्ञा, चेतना र सिर्जनाको लालमोहर ‘चोमोलुङमा’

सन् २०१६ मा हङकङ आएका रोशन यक्सो  स्तरीय कविता लेख्ने

चुरेका नाङ्गा डाँडामा हरियाली अभियान

सिरहा– जिल्लास्थित चुरे क्षेत्रका नाङ्गा डाँडाहरू हरियालीमा बदलिने भएका छन्

पूर्वराष्ट्रपतिको कुरै नसुनी ओलीले भने – तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली