चाडपर्व नजिकिँदै गर्दा आन्दोलन र प्रकोपको चपेटामा सडक संरचना | Khabarhub Khabarhub

चाडपर्व नजिकिँदै गर्दा आन्दोलन र प्रकोपको चपेटामा सडक संरचना

दर्जनबढी संरचना र २०० सवारीसाधन जलेर क्षतिग्रस्त



काठमाडौँ – नेपालीका ठूला चाड दशैँ, तिहार र छठ नजिकिँदै छ । यो समयमा देशबाट मात्रै होइन, लामो समयदेखि विदेशिएका नागरिक पनि गाउँ फर्किने गर्छन् । तर, चाडबाडको मुखमा देशले अनेकन चुनौती सामना गरिरहेको छ ।

एकातिर जलवायु परिवर्तनका कारण मौसम प्रतिकूल बन्दा परिरहेको निरन्तर वर्षाले देशका मुख्य राजमार्ग पहिरो र बाढीका कारण अवरुद्ध भइरहन्छन् । अर्कातिर जेन-जी आन्दोलनका कारण सडकका अवरोध व्यवस्थापन गर्ने दर्जनबढी सडक विभागका संरचना जलेर क्षतिग्रस्त छन् ।

आन्दोलन क्रममा भएको तोडफोड र आगजनीका कारण बबरमहलस्थित सडक विभागका नौवटा महाशाखा र डेढ सय बढी सवारीसाधन पूर्ण रूपमा क्षतिग्रष्त बनेको सडक विभागका उपमहानिर्देशक प्रभात कुमार झाले बताएका छन्‌ ।

‘बबरमहलको कार्यालयमा आगलागी हुँदा महानिर्देशकको कार्यकक्ष, पुल महाशाखा, वैदेशिक सहायता समन्वय महाशाखा , यान्त्रिक महाशाखा, सम्भार महाशाखा र प्रशासन शाखा, उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना र आर्थिक प्रशासन शाखा तथा यी शाखा अन्तर्गतका सबै उपशाखा पुनःनिर्माण नै गर्नुपर्ने अवस्थामा छन, सडक विभागमा ७५-८० वटा दुई पाङ्ग्रे र चार पाङ्ग्रे ६५-७० वटा सवारीसाधन पनि जलेर नष्ट भएको छ’, उनले बताए ।

भूकम्पले क्षतिग्रस्त बनेको संरचना पुनःनिर्माणपछि नयाँ भवनमा बबरमहल सरेको सडक विभागमा अहिले फेरि अपूरणीय क्षति पुगेको हो ।

ललितपुरको चाकुपातबाट विभाग दुई वर्ष पहिलेमात्रै बबरमहलमा सरेको थियो । तर, अहिले त्यहाँबाट काम गर्नसक्ने अवस्था नै नरहेकाले विभाग पुरानै कार्यालयबाट सुचारु भएको सडक विभागका उपमहानिर्देशक प्रभात कुमार झाले बताएका छन्‌ ।

विभागको मुख्यालय मात्रै होइन, मातहतको सडक डिभिजन कार्यालय भक्तपुर, दाङ, चन्द्रपुर, महेन्द्रनगरको धनगढीमा रहेको डिभिजन कार्यालय र हुलाकी आयोजनाको साइट अफिस पूर्ण रूपमा जलेको उनले बताए ।

उनका अनुसार पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, नागढुङ्गा सुरुङ्गमार्ग आयोजना, हुलाकी राजमार्ग योजना निर्देशनालय र अन्तर्गतका शाखाहरू, कानुन तथा विवाद व्यव्स्थापन शाखा र सडक सुधार तथा विकास योजना कार्यालयमा भने आंशिक क्षति पुगेको छ ।

‘यी कार्यालय सरसफाई र सामान्य मर्मत सम्भारपछि सञ्चालन गर्न सकिनेछ, संरचनासंगै त्यहाँका पनि करिब १२ वटा दुई पाङ्ग्रे र २५-३० वटा चारपाङ्ग्रे सवारीसाधन पूर्ण रूपमा जलेका छन, अझै पनि पूर्ण क्षतिको विवरण निकाल्न सकिएको छैन, प्रयास गर्दैछौँ,’ उनले थपे ।

सडक विभागका महानिर्देशक केशव जैसीका अनुसार कार्यालय खडा गर्ने स्थान पाएपछि विभागको काममा खासै रोकावट नरहेको बताए ।

‘अहिले विभागको दैनिकी सामान्य बनिसकेको छ, बबरमहस्थित कार्यालयमा भएको क्षति र लामोसमयसम्म आगो निभाउन नसक्दा फाइलहरू जोगाउने क्रममा कति साथीहरू घाइते पनि हुनुभएको छ, तर मन्त्री पाइसकेका छौँ, कार्यालय खडा गरिसक्यौँ, देशभरको छरिएका हाम्रा शाखाहरूले काम गरिराखेका छन्‌’, उनले भने ।

उनका अनुसार अहिले मुख्य समस्या कोशी करिडोर, तातोपानी र रसुवागढी नाका जोड्ने सडकखण्डमा छ । ‘भोटेकोशी गाउँपालिका-२, कोदारी इकुमा पहिरो जाँदा तातोपानी नाका जोड्ने अरनिको राजमार्ग साउनदेखि अवरुद्ध छ, घरिघरि खोल्न सकियो, सडक माथिबाट खसेको सो पहिरोका कारण वस्ती समेत जोखिममा छ, निरन्तर परिरहेको वर्षा र स्थानीयको अवरोध नहुने हो भने २र४ दिनमै सडक सडक संचालनमा ल्याउन सकिन्छ अन्य ठाउँमा समस्या छैन’, जैसी बताउँछन् ।

उनले थपे, ‘भोटेकोशीमा आएको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडखण्डको १६ किलोमिटर पनि अविरल वर्षापछिको बाढी पहिरोका कारण ठप्प छ, यता मितेरी पुलमा बाढीले बेलिब्रिज राख्न सक्ने अवस्था बन्नै सकेको छैन, ती बाहेक अन्य ठाउँमा समस्या हुन दिदैनौं त्यहा पनि हाम्रो टिम खटिरहेको छ ।’

उनले दाबी गरिरहे पनि गतवर्ष असोजमा आएको बाढीका कारण सडकको आधार समेत नरहने गरी बगेको धुलिखेल-बर्दीबास जोड्ने बिपी राजमार्गको विकल्पमा प्रयोग भइरहेको सडक, नारायणघाट-मुग्लिन सडखण्ड, पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-दुम्कीबास सडखण्ड, विस्तार भइरहेको पृथ्वी राजमार्ग लगायत अन्य राजमार्गमा यात्रा गर्दै गर्दा यात्रुले विशेष ध्यान पुर्‍याउनुपर्ने अवस्था छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १२ : ३३ बजे

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको