कैलाश ढुंगेललाई प्रश्न- एमालेको नेतृत्व कहिले फेर्ने ? « Khabarhub

कैलाश ढुंगेललाई प्रश्न- एमालेको नेतृत्व कहिले फेर्ने ?


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो धक्का नेकपा एमालेले ब्यहोरेको छ । सत्ताको नेतृत्व गरेको दल संसारकै छोटो आन्दोलनबाट अर्धभूमिगत अवस्थामा पुग्नुपरेको छ। एक झट्कामा प्रधानमन्त्रीको कुर्सीबाट शिवपुरी पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अझैसम्म सार्वजनिक हुन सकिरहेका छैनन् ।

सोमबार मात्रै एमाले केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पुगे । जेन-जीका नाममा ध्वस्त पार्टी कार्यालय हेर्दै दुवै नेताले खरानीको थुप्रोबाट पार्टी फेरि उभिने बताए ।

आइतबार साँझ मात्रै एमाले महासचिव शंकर पोखरेलले करिब २ सय नेता सहभागी गराएर जुम मिटिङ आयोजना गरेका थिए । जहाँ एमालेको पुनर्निर्माण र नयाँ नेतृत्वबारे पनि कुरा भएको थियो । उक्त मिटिङमा अहिले नै अध्यक्ष ओलीको विकल्प खोज्ने भन्दा विधि र प्रक्रियाबाटै जानुपर्ने धारणा महासचिव पोखरेलले बताएका थिए । उक्त मिटिङमा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल पनि सहभागी थिए ।

पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका ढुंगेललाई जेन-जीको आन्दोलनपछिको परिस्थितिमा खबरहबले एमालेको नेतृत्व कहिले र कसरी फेर्ने भनेर सोधेको छ।

जेन-जीका नाममा कयौँ सरकारी संरचना ध्वस्त भए, तपाईंहरूकै पार्टी कार्यालय र नेताका घर पनि जलाइए । यसमा के छ तपाईंको धारणा ?

जेन-जीका नाममा कयौँ संरचना ध्वस्त पारिएका छन्, त्यो हामीमाझ छर्लङ्गै छ । अहिले बडो विरक्त लाग्दो अवस्था बनेको छ । हामी अब पुनिर्माणको दिशातर्फ जानुपर्छ भन्ने पक्षमै छौँ। जेन-जीका नाममा गरिएको यो विध्वंशको छानबिन हुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले पनि बताउनु भएको छ । अब हामी पार्टी पंक्तिलाई परिचालन गरेर अगाडि बढ्छौँ ।

अगाडि बढ्ने खाका के हो त ?

हामी आफ्नो काम गर्छौँ । अब कहाँ कहाँ के के जलेको छ, खरानीको थुप्रो कहाँ कहाँ छ ? सरकार बनिसकेकाले पक्कै खोजी गर्ला। एमाले आफ्नो ढंगले अघि बढ्नेछ ।

अब पु:निर्माण कसरी होला त ?

अन्तरिम सकरार बनिसकेको छ, यो काम सरकारको हो, उसले पुननिर्माण अभियानलाई अघि बढाउला नि त ।

तर एमालेका लागि यो अवसर थियो नि, जलेका संरचनाको फोहोर हटाउने अभियान चलाउन सक्थ्यो । झण्डाबिना पनि अभियान थाल्न सक्थ्यो नि ?

होइन, हामी आफ्नो ढंगले काम गर्छौँ । फोहोर कहाँ छ, खरानी कहाँ छ । हिजो आगो कसले लगायो ? तिनीहरूलाई पक्कै पनि सरकारले जिम्मेवार बनाउला । भोलिका दिनमा त्यसको खोजी होला । एमाले आफ्नो ढंगले काममा लागिसकेको छ।

अहिले एमालेको नेतृत्व त भूमिगत जस्तो छ नि ?

एमालेको नेतृत्व भूमिगत अवस्थामा छैन । अहिले देशभर नै असुरक्षा छ, जनता नै भागेर हिँड्नुपर्ने अवस्थामा छ । जनधनको सुरक्षा छैन । समाजका हरेक सदस्य भागेर हिँड्नुपर्ने दृश्य देखिएको छ । समग्र समाजमै अन्योलमा परेको छ । समाज नै एक किसिमको त्रास र आतंक अनि भयमा गुज्रिएको छ । शान्ति सुरक्षा बहाली हुन समय लाग्छ नि ।

एमालेले के गर्छ त अब ?

एमाले अब कार्यकर्ता परिचालन गरेर आफ्नो कामलाई गति दिन्छ ।

अहिलेको जटिल अवस्थामा एमालेको धारणा के हो त ? आन्तरिक समीक्षा भयो होला नि ?

हामीले एक किसिमको धारणा बनाइसकेका छौँ । जेन-जी आन्दोलनपछि विकसित परिस्थितिबारेमा हाम्रो दृष्टिकोण आइसकेको छ । अहिलेका घटना परिघटनाबारे धारणा आइसकेको छ । त्यसैले मैले यसबारे धेरै भनिरहनु आवश्यक परेन ।

एमालेले ठूलो क्षति भोगेको छ, अब कसरी अगाडि बढ्ने ?

हाम्रो पार्टी पंक्ति माथिदेखि तलैसम्म परिचालन हुन्छ । विगतको भन्दा उन्नत र एकतावद्ध बनाएर पार्टी पंक्ति पुनर्निर्माणमा परिचालन हुन्छ । यो संविधान र व्यवस्थासँग सहकार्य गरेर हामी अघि बढ्छौँ । लोकतान्त्रिक अभ्यासबाट हामी अगाडि जान्छौँ ।

सरकार ढलेपछि एमालेको नेतृत्व फेर्ने दबाब आएको छ, यसमा के हुन्छ ?

हामी एमालेको नेतृत्व लोकतान्त्रिक अभ्यासबाट फेर्ने दिशामा जान्छौँ । अहिले नेतृत्वको फेर्ने कुरा असान्दर्भिक र हतारको विषय हुन सक्छ ।

एमालेको नेतृत्वबारे प्रश्न उठिरहेको छ, पुनर्विचार गर्ने समय भएन ?

अहिलेको पार्टी नेतृत्व एउटा अवस्थामा बनेको हो । अहिलेको नेतृत्व फेर्ने कुरा र व्यवस्थापनको निर्णय पनि महाधिवेशनसहितका वैधानिक फोरमबाट हुन्छ । आजभोलि नै नेतृत्व फेर्ने कुरातिर जानु उचित हुँदैन । विधि विधानमै गएर हामी नेतृत्व फेर्ने कुरा टुंग्याउँछौँ ।

संसद् त विघटन भयो संविधानको भविषय्य के होला ?

हामी सारा एमाले पंक्ति अब संविधान जोगाउने अभियानमा हुन्छौँ । हामी संविधान जोगाउन लागिसकेका छौँ। हामी लोकतन्त्र जोगाउने पक्षमा छौँ । अहिलेको व्यवस्थाको विकल्प खोज्ने पक्षमा हामी छैनौँ । लोकतन्त्रको विकल्प निरंकुशतन्त्र हुन सक्दैन । यस व्यवस्थामा समस्या भए, केही नराम्रा कुरा भए राम्रो बनाउने हो । यसको विकल्पमा अर्को व्यवस्था बदल्ने कुरामा हाम्रो सहमति हुँदैन ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ३ : १२ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा