काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिँदै विश्राम लिने निर्णय गरिसकेका छन् । आगामी १५ औँ महाधिवेशनमा आफू नउठ्ने निर्णयसहित देउवाले खड्कालाई कार्यवाहक दिएका छन् । यही मंसिरमा महाधिवेशन गरेर नयाँ नेतृत्व छान्ने तयारीमा कांग्रेस लागेको छ । भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमै नराम्रोसँग कुटिएका देउवाले अब उपचार गर्न सिंगापुर जाने निर्णय गरिसकेका छन् । यो अवस्थामा अब खड्काको नेतृत्वमा कांग्रेस महाधिवेशनमा जाने छ। कांग्रेसमा देउवाले नयाँ नेतृत्वको ढोका खोलेको अवस्थामा सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिना नियमित महाधिवेशनबाट सबै कुराको छिनोफानो हुने बताउँछिन् । उनी आगामी महाधिवेशनमा कार्यसम्पादन समितिबाटै नयाँ नेतृत्व आउने दाबी गर्छिन् । उपाध्यायको बुझाइमा देउवाले विश्राम लिएकाले अब डा. आरजु राणा सभापति हुने सम्भावना छैन । बरू उनी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सम्भावना रहेको सङ्केत गर्छिन् । डिना आगामी महाधिवेशनबाट युवा पुस्ताको भावना समेटेर कांग्रेस अगाडि बढ्ने कुरामा ढुक्क छिन । उनैसँग जेन-जी आन्दोलनपछिको उथलपुथल र कांग्रेसको भावी रणनीतिबारेमा खबरहबले कुराकानी गरेको छ ।
सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक किन दिनुभयो ? जेन-जी आन्दोनपछि फेरिएको परिस्थितिको दबाब या स्वास्थ्यमा समस्याले ?
खास त उहाँ अस्वास्थ्य भएर पनि हो । अर्को कुरा, उहाँ पार्टीको हित चाहने र त्यसको पक्षमा उभिने मान्छे हो । उहाँले छाड्नुमा यी दुवै कुराको संयोग पनि हो ।
कार्यवाहक दिएपछि अहिले कांग्रेसमा महाधिवेशन नै नहुने चिन्ता देखिएको छ नि ?
महाधिवेशन गर्नकै लागि कार्यवाहक दिएको हो । महाधिवेशन गरेर निर्वाचनमा जान सकियोस् भन्ने सबैको चाहना छ । महाधिवेशन हुन्छ, ढुक्क हुँदा हुन्छ । एउटा कोर्स सकिएको छ, अब हामी दोस्रो कोर्समा अगाडि बढेका छौँ । महाधिवेशन सम्भव छ । फास्ट ट्रयाकमा जाने तयारीमा छौँ । बैठक गरेको गर्यै छौँ । कसरी छिटो बाटोमा जाने भन्ने छ । महाधिवेशन त स्वभाविकै हो । यसको वातावरण हामी बनाउँछौँ ।
निर्वाचन अगाडि नै महाधिवेशन हुने भए त कार्यवाहक जरुरी थियो र ?
सभापतिज्यूले स्वास्थ्यको कारण भन्नुभएको छ । उहाँ थप कमजोर हुनुभएको छ । त्यति धेरै खट्न सक्ने अवस्थामा हुनुहुन्न ।
उहाँमा पुरानै स्वास्थ्य समस्या हो कि आन्दोलनमा घाइते हुनु भएपछिको हो ?
आन्दोलनले थप समस्या निम्त्याएको रहेछ । टाउकोमा चोट लागेकाले कमजोर हुनुभएको छ । अहिलेको अवस्थाले समस्या भयो । उहाँ निकै कमजोर हुनुभएको पायौँ हामीले ।
उहाँ स्वास्थ्य उपचारमा बाहिर जाँदै हुनुहुन्छ रे हो ?
मैले पनि बाहिर सुनेको हो । उहाँसँग कुरा गर्दा त्यस्तो भन्नुभएन । हुन पनि सक्छ तर मलाई सबै कुरा थाहा भएन । उहाँले उपचारमा बाहिर जानेबारे औपचारिक रूपमा बोल्नुभएका छैन ।

उसो भए कांग्रेस महाधिवेशन हुन्छ भनेर ढुक्क हुँदा भयो ?
ढुक्क भए भयो । महाधिवेशन हुन्छ । त्यो पनि फागुन २१ गते तोकिएको मध्यावधि निर्वाचन अगाडि नै हुन्छ ।
बिहीबारको केन्द्रीय कार्यसमिति बैठकले मिति टुङ्गो लगाउँछ ?
केन्द्रीय कार्यसमिति बैठकमा सबै नेताहरू बोल्न पाउनुपर्छ । महाधिवेशनको बैठकमा एजेन्डा जान्छ । तर कहिले कसरी कहाँ गर्ने भन्ने कुरामा उहाँहरूको भावना सुन्नुपर्छ । एकैचोटी हामीले मात्रै पास गर्न मिल्दैन । केन्द्रीय कार्यसमितिमा सदस्यहरूले बोल्न पाउनुपर्छ । त्यसपछि महाधिवेशन गर्ने एजेन्डा भइहाल्यो । अर्को कुरा, हामीले कसरी निर्वाचनमा भाग लिने ? निर्वाचन सरकारले गराउनुपर्छ । निर्वाचनलाई कांग्रेसले साथ दिन्छ । निर्वाचन भयरहित होस्, निष्पक्ष होस भन्ने कुरामा कांग्रेसले गम्भीर चासो लिएको छ । अहिलेको जेन-जी आन्दोलनको विषयमा गम्भीर समीक्षा गर्नु जरुरी छ । यी विषयमा छलफल गरेपछि मात्रै मिति तय हुन्छ ।
महाधिवेशन चाहिँ विशेष हुन्छ कि नियमित ?
हामीले कहिलेसम्म गर्न सक्छौँ । वैधानिक रूपले विधानअनुसार नियमित अधिवेशनको जाने भनिरहेका छौँ। तर सबैको विचार सुनेर मात्रै फाइनल हुन्छ । हुन चाहिँ नियमित महाधिवेशन नै हुन्छ । विशेष महाधिवेशन गर्न हस्ताक्षर अभियान चलेको देख्छु । तर यसको अर्थ के छ र ? काम पनि छैन त्यसको ।
देउवाले अब उठ्दिनँ भनिसक्नुभएको छ, अब कंग्रेसको नेतृत्व कसले गर्ला ?
सबैले इच्छा जाहेर गर्नुभएको छ । महाधिवेशनमा निर्वाचन हुने वातावरण हुन्छ, को चुनिनुहुन्छ हेर्न बाँकी छ ।
नयाँ अनुहार आउला कि पदाधिकारीबाटै आउँछन् ?
बाहिरको अनुहार आउँदैन । भित्रकै हुन्छ । एक्कासि बाहिरको त कहाँ आउँछ र ? कार्यसम्पादन भित्रबाटै नयाँ नेतृत्व आउँछ ।
उसो भए कार्यवाहक सभापति खड्का नै सभापति भएर आउने सङ्केत गर्नुभयो त यहाँले ?
उहाँ आउन पनि सक्नुहुन्छ, राम्रो काम गर्नुभयो भने सम्भावना छ ।

यसो हुँदा त संस्थापन इतर डा. शेखर कोइरालाको योजना सफल नहोला ?
होइन, निर्वाचनमा सबैभन्दा बढी मत जसले ल्याउँछ उसले जित्ने हो । उहाँ पनि आउन सक्नुहोला । त्यो त महाधिवेशन प्रतिनिधिले रुचाउने कुरा हो । उहाँ दाबेदार नै हो ।
एक पटक त डा. आरजु राणा देउवा पनि अबको सभापति भन्ने थियो ?
त्यो हुँदैन । सम्भावना पनि छैन । हामीले त्यो कुरा सुनेका छैनौँ । उहाँले पनि भन्नुभएको छैन । हल्ला मात्रै हो ।
उसो भए अब कांग्रेस कसरी अगाडि बढ्छ ?
नीति सिद्धान्तमा कटिबद्ध भएर नयाँ योजना र युवाको भावना समेटेर अगाडि बढ्छ । सबै विचार समेटेर अहिलेको फर्स्टेसन र नयाँ विचारलाई पनि समेटेर अगाडि बढ्छ । अहिलेका समस्या समाधान गरेर अगाडि बढ्छ । एकताबद्ध भएर अगाडि बढ्छ ।
तर कांग्रेसको गुट-उपगुटले एकताबद्ध हुन देला त ?
यो त सबै पार्टीमा छ । कांग्रेसमा मात्रै होइन । निर्वाचन विचारको प्रतिस्पर्धामा गुट-उपगुट भइहाल्छ नि । लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्ने सबै पार्टीमा यस्तो हुन्छ । कांग्रेस त लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी हो । प्रतिस्पर्धाको लागि टिम बनाउनुपर्छ । यसलाई नकारात्मक धारमा लिनु हुँदैन ।
महाधिवेशनमा दुई तीन प्यानल भएमा प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ । अहिलेबाटै अस्वस्थ राजनीति भए समस्या हुन्छ । प्रतिस्पर्धा गरेपछि जितेर आएको नेतृत्वलाई नस्वीकार्ने जुन परिस्थिति आयो, त्यसले गर्दा समस्या भएको छ । प्रतिस्पर्धा त बीपी कोइरालाका पालामा पनि भएको हो नि ।
पार्टीहरूमा अलिकति अस्वस्थ प्रतिस्पर्धा देखिको छ । तर नेपाली कांग्रेसको धारणा र विचार सही छ । भोलिको पार्टी सभापतिले सबैलाई समेटेर जानुपर्छ । जो प्रतिस्पर्धामा सेकेन्ड र थर्ड हुन्छ, उसले साथ दिएर हिँड्नुपर्छ ।
अर्को महत्त्वपूर्ण कुरा के हो भने पार्टीभित्र मत विभाजन भए पनि बाहिर एकै मत भएर आउँछ । अहिलेसम्मको अभ्यास त्यही छ । कांग्रेस बैठकभन्दा अगाडि धेरै मतभेद हुन्छन् तर केन्द्रीय समिति बैठकपछि एउटै विचार र मतले अगाडि बढेको अवस्था छ ।
प्रतिक्रिया