काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको शान्ति सुरक्षाको पछिल्लो अवस्थाबारे चिन्ता जनाएका छन् ।
आइतबार भक्तपुरको गुण्डुमा पार्टीनिकट प्रेस चौतारी नेपालका नेताहरूसँगको छलफलमा उनले अहिले देशलाई शान्ति सुरक्षाको खाँचो रहेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री ओलीलेले देशमा अहिले विधिको शासन नरहेको पनि उल्लेख गरेका छन् ।
‘समृद्धिका कुरा पछि गरौँला, अहिले यो देशलाई शान्ति सुरक्षा चाहिएको छ,’ उनले अगाडि भने । ओलीले एमाले चुनावबाट नभाग्ने पनि बताएका छन् ।
एमाले देशको सबैभन्दा ठूलो र बलियो पार्टी रहेको बताउँदै उनले निर्वाचनबाट भाग्दैनौँ, डराउँदैनौँ भनेर लुते कुरा गरिरहनु जरुरी नभएको पनि उल्लेख गरे ।
अहिलेको अवस्थामा चुनाव हुनै नसक्ने ओलीको तर्क छ । प्रहरीबाट लुटिएका हातहतियार बाहिरै रहेको र कारागारबाट फारर भएका अपराधीलाईसमेत सरकारले नियन्त्रणमा लिन नसकेको अवस्थामा चुनाव गर्न नसकिने उनले बताए ।
‘देशको सबभन्दा ठूलो र सबभन्दा बलियो पार्टी चुनावबाट भाग्दैनौँ, डराउँदैनौँ भनेर लुते कुरा गरिरहनु पर्छ र ? चुनाव हुने अवस्था भए हामी जान तयार छौँ,’ उनले भने ।
ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई असंवैधानिक भने । यसलाई चुनाव गराउने हक नरहेको पनि उनले बताए ।
गत भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने उनले बताए । तर उनले सयौँ हतियार र अपराधी बाहिरै रहेका बेला चुनाव हुन नसक्ने जिकिर गरे ।













प्रतिक्रिया