अर्थसंक्षेप : तातोपानी र रसुवा नाकाबाट बढ्दै आयात, दोहोरो अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : तातोपानी र रसुवा नाकाबाट बढ्दै आयात, दोहोरो अंकले बढ्यो नेप्से


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो पाँच वर्षको तथ्यांकले तातोपानी र रसुवा नाकाबाट आयात निरन्तर वृद्धि हुँदै आएको छ । आज नेप्से दोहोरो अंकले बढ्यो । एक करोडदेखि एक अर्बसम्म चुक्ता पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख बढी पुगेको छ।

गभर्नर महाप्रसाद अधिकारी अवकास हुन अब केही समय मात्र बाँकी छ, तर उनीसँग सम्बन्धित मुद्दामा पेशी चढ्ने मात्रै काम भएको छ । कुच्चिएका ग्यास सिलिण्डर प्रयोग गर्न नहुने नेपाल गुणस्तर तथा नापतौल विभाका प्रवक्ताले बताएका छन् ।

आजका आर्थिक समाचार :

‘कुच्चिएको ग्यास सिलिण्डर भेटिए प्रयोग नगर्नुस्, सरकारी निकायमा उजुरी गर्नुस्’

काठमाडौंको कमलपोखरीस्थित शानदार म:म: रेस्टुरेन्टमा गत माघ २४ गते भएको खाना पकाउने सिलिण्डर विस्फोटमा ज्यान गुमाउनेको संख्या चार पुगिसकेको छ । जीवनमा केही गर्न सपनाको सहर काठमाडौं छिरेका लक्का जवान युवाहरूले ग्यास विस्फोटमा जलेर ज्यान गुमाउनु परेको छ ।

ग्यास विस्फोट हुँदा उक्त रेस्टुरेन्टमा काम गर्ने ११ जना युवा घाइते भएका थिए । जसमध्ये ४ जनाले प्राण त्यागिसकेका छन् ।

दुई लाख नाघे एक करोडदेखि एक अर्बसम्मका कम्पनी

एक करोडदेखि एक अर्बसम्म चुक्ता पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख बढी पुगेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले दिएको तथ्याङ्क अनुसार एक करोडदेखि एक अर्बसम्म पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख ६ हजार ६९१ वटा पुगेको हो ।

जसमा एक करोडदेखि १० करोडसम्म १ लाख ७९ हजार १३१ वटा, १० करोड देखि २० करोडसम्म चुक्ता पुँजी भएका १२ हजार १६८ वटा, २० करोड रुपैयाँ देखि ३० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका ५ हजार ६९४ वटा, ३० करोड रुपैयाँ देखि ४० करोड रुपैयाँसम्मका १ हजार ८३३ वटा र ४० करोड रुपैयाँ देखि ५० करोड रुपैयाँसम्मको ४ हजार ३५२ वटा कम्पनी हरेको छ ।

दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

सोमबार पनि शेयर बजारमा हरियाली छाएको छ । आज बजार करिब ३० अंकले बढेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेको छ । नेप्से १.१० प्रतिशतले बढ्दा कारोबार १० अर्ब बढी पुगेको छ । १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०२ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ८६१ पटका शेयर किनबेच भएको छ ।

रसुवा र तातोपानीबाट आयात बढ्यो

नेपालमा वस्तु आयात तथा निर्यातका लागि सञ्चालनमा रहेका २ दर्जन बढी भन्सार नाकामध्ये अधिकांश नाकाको योगदान १ प्रतिशत भन्दा न्यून देखिएको छ । पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार सञ्चालनमा रहेका २९ वटा भन्सार नाकामध्ये १ दर्जन कम नाकाबाट मात्रै परिमाणका आधारमा १ प्रतिशत भन्दा बढी आयात हुने गर्छ ।

वीरगञ्ज भन्सार नाकाबाट मात्रै नेपाल आयात हुने कुल वस्तुको एक तिहाइ वस्तु आयात हुने गरेको छ । अन्य २८ वटा नाकाहरूबाट बाँकी वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको नाम ‘सर्टलिस्ट’मा

नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पादका लागि पाँच जनाको नाम सर्टलिस्टमा परेको छ । अर्थ मन्त्रालयले आज सार्टलिस्टमा पर्ने पाँच जनाको नाम सार्वजनिक गरेको हो ।

सर्टलिस्टमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा परेका छन् । आइतबार पाँच जनाको नाम सर्टलिस्टमा राख्ने निर्णय गरेको सार्वजनिक सूचनामा भनिएको छ ।

सौर्यजहाज दुर्घटना सम्बन्धमा संसद्को चासो, छानबिन समिति गठन

सौर्य जहाज दुर्घटनाका विषयमा छानबिन गर्न संसद्ले चासो देखाएको छ । संसद्को राज्यव्यवस्था र सुशासन समितिले उक्त दुर्घटना परेको निवेदन उपर छानबिन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरी विशेष चासो देखाएको हो ।

आइतबार गठित उपसमितिका सांसद सदस्यहरूमा सरिता प्रसाईँ, चन्दा कार्की, दुर्गा राई र मेनका कुमारी पोखरेल रहेको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

गभर्नर अधिकारीसँग सम्बन्धित मुद्दामा १७ वटा तारेख, आज पनि भएन सुनुवाइ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार विरुद्ध दायर गरेको र उनी विरुद्ध दायर भएको मुद्दाको सुनुवाइ आज पनि हुन सकेन । आज सर्वोच्चका न्यायाधीश द्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको इजलासमा रहेको अधिकारी सम्बन्धित मुद्दा पेशी तारेखमा सरेको हो ।

गभर्नर अधिकारीलाई तत्कालीन सरकारले निलम्बन गरेपछि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध ०७९ वैशाख ५ गते सर्वोच्च पुगेका थिए ।

लेखा समितिको निर्देशनविरुद्ध कांग्रेस सचेतकलाई गुहार्‍यो इप्पानले

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक लेखा समितिको निर्देशनविरुद्ध नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ ।

लेखा समितिले नेपाल धितो पत्र बोर्डलाई कम्पनीको नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएको कम्पनीलाई सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) जारी नगर्ने निर्देशन दिएको थियो । सोही निर्णय गलत भएको र १८ महिनादेखि आईपीओ रोकिएको भन्दै कांग्रैस संसदीय दलको ध्यानाकर्षण गराएको हो ।

पेट्रोलियम पाइपलाइनबाट आयात सुरु

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।

पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र केही दिनदेखि पाइपलाइनबाटै नियमित रुपमा पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको नेपाल आयल निगम मधेस प्रदेश कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए।

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।

जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । बजारमा मुखद्धार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताए । २१ मुखे मुखद्वार एउटा दाना २० लाखदेखि ६० लाखसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ । उनले मुखद्धार बाहेकका दानाको भने मूल्य कम रहेको बताए ।

सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारत सरकारसँग सहमति भएको बताएका छन् ।

इनर्जी इन्फर्मेसन सेन्टर प्रालिद्वारा प्रकाशित ऊर्जा खबर पत्रिकाको सातौँ अंक विमोचन गर्दै आज उनले ऊर्जा विकास मार्गचित्र, २०८१ को लक्ष्य पूरा गर्न दुई देशका सचिव स्तरीय बैठकले उक्त सहमति गरेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ५५ बजे

तारकेश्वरको सार्वजनिक जग्गाबारे संसद्‍मा दोहोरी, रास्वपाको आरोपपछि विरोधमा उत्रिए कांग्रेस सांसद

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

घर जान लागेका गर्भनरलाई गालीको वर्षा !

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे

मस्कको स्टारलिंक भारतीय बजारमा प्रवेश, एयरटेलसँग सम्झौता

काठमाडौं– एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिंक भारतीय बजारमा प्रवेश गरेको

‘लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ’

 इटहरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूपदार्थ दुर्व्यसनीविरुद्ध तीनै तहका

तोरन्ल पर्वमा रमाउँदै थकाली समुदाय (तस्बिरहरू)

काठमाडौं- थकाली समुदायले बुधबार तोरन्ल (फागु पूर्णिमा) पर्व मनाएका छन्