माओवादीलाई फकाउने प्रधानमन्त्री ओलीको इच्छा, प्रचण्ड टारेको टारेकै ! | Khabarhub Khabarhub

माओवादीलाई फकाउने प्रधानमन्त्री ओलीको इच्छा, प्रचण्ड टारेको टारेकै !


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार दिउँसो काठमाडौंमा एउटा ‘र्‍युमर’ फैलियो– ओली र देउवासँग प्रचण्डले संवाद गरे, गणतन्त्रवादीहरू एक हुनुपर्छ र यसका लागि विपक्षीका माग सरकारले पूरा गर्नुपर्छ भन्ने प्रचण्डको माग , आदि–इत्यादि…।

त्यसो त केही दिन अघिदेखि नै ‘माओवादीले राष्ट्रिय सरकार गठन हुनुपर्ने माग गरेको’ हल्लासमेत बजारमा चलिरहेकै थियो । सोही हल्लालाई मलजल पुर्‍याउने गरी तीन नेताबीच संवाद भएको अर्को हल्ला सोमबार बाहिर आएको हो ।  

के माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेकै हुन् त ? के उनले विपक्षीका माग (राष्ट्रिय सरकार गठन ?) पूरा गर्न ओली र देउवालाई प्रस्ताव गरेकै हुन् ? खबरहबले यसबारे गुह्‍य कुरो पत्ता लगाउने प्रयास गरेको छ ।

अग्नि खरेल र प्रचण्डबीच छलफल

स्रोतका अनुसार चार दिनअघि पूर्वकानूनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता अग्नि खरेलले पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । तर, उनी प्रधानमन्त्री ओलीको दूत बनेर खुमलटार गएका थिएनन्, व्यक्तिगत रुपमा प्रचण्डलाई भेट्न पुगेका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता खरेलबीच शान्ति प्रक्रिया र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका सम्बन्धमा लामो छलफल भएको थियो । खरेलले प्रमुख राजनीतिक दलहरूले आपसमा मिलेर शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने सुझाव प्रचण्डलाई दिएका थिए ।

उक्त भेटवार्तामा पूर्वमन्त्री खरेलले राजावादीहरू मोर्चावद्ध भएका बेला गणतन्त्रवादीहरू पनि आपसमा मिल्नुपर्ने प्रचण्डलाई बताएका थिए ।

फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा राजावादीले गरेको प्रदर्शनबाट माओवादी तरंगित बनेको खरेलले गुनासो गरेका थिए । स्रोतका अनुसार उक्त भेटमा खरेलले प्रचण्डलाई भनेका थिए, ‘राजावादीले जुलुस निकाल्दैमा माओवादीले मधेसको अभियान स्थगन गर्न हुँदैनथ्यो । यसो गर्दा गणतन्त्रवादीहरू बढी आत्तिएजस्तो देखियो ।’

त्यसैगरी सिन्धुपाल्चोकमा भाषण गर्दा ज्ञानेन्द्रलाई ‘मूर्तिचोर’ र ‘भाइमारा’ भनेको विषयमा पनि एमाले नेता खरेलले प्रचण्डको आलोचना गरेको स्रोतले खबरहबलाई बतायो । पूर्वप्रधानमन्त्रीले शब्दहरूको प्रयोग गर्दा विचार पुर्‍याउनुपर्ने खरेलको सुझाव थियो ।

उक्त भेटमा गणतन्त्रवादी शक्तिहरु आपसमा मिल्नुपर्ने एमाले नेता खरेलको प्रस्तावप्रति प्रचण्ड सकारात्मक देखिएको स्रोतको दाबी छ ।

खरेल र प्रचण्डबीचको कुराकानीको सन्दर्भमा माओवादीका एक नेता भन्छन्, ‘गणतन्त्रवादी शक्तिहरू आपसमा मिल्नुपर्छ भन्ने खरेलजीको प्रस्ताव सकारात्मक नै छ, तर यसको पहल त प्रधानमन्त्रीबाटै हुनुपर्ने होला नि ?’

गंगा दाहाललाई राजेश शाक्यको फोन

यसैबीच खरेल र प्रचण्डको भेटवार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तर्फबाट राजेश शाक्यले प्रचण्डको सचिवालयमा कार्यरत गंगा दाहाललाई फोन गयो । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच संवाद गराउने शाक्यको चाहना देखिए पनि गंगा राजधानी बाहिर रहेकाले दुई नेताबीच संवाद गराउन सम्भव नभएको स्रोतले खबरहबलाई बतायो ।

माओवादीको उच्च स्रोतले भन्यो, ‘राजेश शाक्यले गंगा दाहाललाई फोन गरेको सत्य हो तर प्रधानमन्त्री ओली र प्रचण्डवीच सम्वाद भएको होइन । शेरबहादुर देउवासँग प्रचण्डको टेलिफोन संवाद भएको भन्ने हल्ला पनि सत्य होइन ।’

यसैबीच प्रचण्डसँग निकट रहेका माओवादीका एक नेताले भने, ‘हामी जोसुकैसँग सम्वादको पक्षमा छौं, तर सरकारसँगको संवाद अहिले हाम्रो प्राथमिकतामा छैन, हामी जनताको बीचमा छौं ।’

उसोभए सरकारले माओवादीसँग संवाद गर्न खोजिरहेको छ, तर प्रचण्ड टारेको टारेकै छन् भन्दा हुन्छ त ? खबरहबको प्रश्नमा ती माओवादी नेता भन्छन्, ‘त्यसो पनि होइन । हामी सम्वादकै पक्षमा छौं । अध्यक्ष प्रचण्डले गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउनुपर्छ भन्दै आउनुभएको छ ।’

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  २ : ५३ बजे

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक

कर्णाली नदीमा खसेर एक जना बेपत्ता

मान्म– ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना

स्वास्थ्य मन्त्रालयका संघीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रम 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय

स्ववियु चुनाव : चर्चित क्याम्पसमै तालाबन्दी (भिडियो)

काठमाडौं– प्रमुख राजनीतिक दलहरूको शक्ति परीक्षण गर्ने मिनी इलेक्सनका रूपमा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लबको पाँचौँ जित

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले