कर्णालीमा खाद्यान्न उत्पादनमा ह्रास, तरकारी र फलफूलमा वृद्धि « Khabarhub

कर्णालीमा खाद्यान्न उत्पादनमा ह्रास, तरकारी र फलफूलमा वृद्धि


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा खाद्यान्न बालीको उत्पादनमा ह्रास आए पनि तरकारी र फलफूल उत्पादनमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन (आर्थिक वर्ष २०८१/८२) अर्धवार्षिक प्रतिवेदन अनुसार खाद्यान्न बाली उत्पादनमा ह्रास र तरकारी र फलफूल खेतीमा वृद्धि भएको पाइएको हो । 

कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भू–क्षेत्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.११ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा प्रमुख खाद्य बालीमध्ये धान, मकै गहुँ, कोदो र जौले ढाकेको क्षेत्रफलमा क्रमशः ५.११ प्रतिशत, ४.१६ प्रतिशत, ४.८६ प्रतिशत, ११.५२ प्रतिशत र १.३९ प्रतिशतले ह्रास आएको छ भने तरकारी र फलफूल बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ३३.८८ प्रतिशत र ८.१७ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । 

कर्णाली प्रदेशमा समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.०६ प्रतिशतले बढेको छ भने खाद्य, नगदे तथा अन्य बालीको उत्पादन ४.८३ प्रतिशतले घटेको र समीक्षा अवधिमा प्रमुख खाद्य बालीमध्ये धान, गहुँ कोदो र जौको उत्पादन १०.२५ प्रतिशत, १७.३१ प्रतिशत, २२.९२ प्रतिशत, ८.५५ प्रतिशतले घटेको छ भने मकैको उत्पादन ४.२४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

आर्थिक वर्ष २०८१/८२ को प्रथम अर्धवार्षिक अवधिमा तरकारी उत्पादन र फलफूल खेतीको उत्पादन क्रमशः २२.७४ प्रतिशत र ४४.७३ प्रतिशतले बढेको र समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ८.७१ प्रतिशत हिस्सा ओगटेको छ । 

कृषि उपजले ढाकेको भु–क्षेत्र आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफलमा ०.११ प्रतिशतले कमी आई तीन लाख ७३ हजार चार सय १६.२५ हेक्टर कायम भएको छ । गत अवधिमा यस्तो क्षेत्रफल ०.०१ प्रतिशतले वृद्धि भएको अहिले घटेको प्रतिवेदनमा उल्लेख छ ।

खाद्य तथा अन्य बाली आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ३.४१ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म धान र मकै बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ५.११ प्रतिशत र ४.१६ प्रतिशतले कमी आएको छ । त्यसैगरी, गहुँ, कोदो, जौँ र फापर बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ४.८६ प्रतिशत, ११.५२ प्रतिशत, १.३९ प्रतिशत र १२.२० प्रतिशतले कमी आएको छ ।

सबैभन्दा बढी उत्पादनमा जुम्लामा, कम डोल्पामा

कर्णाली प्रदेशमा रहेका १० जिल्लाहरूमध्ये खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफलमा जुम्ला जिल्लाले सबैभन्दा धेरै १९.१७ प्रतिशत र डोल्पा जिल्लाले सबैभन्दा कम २.३१ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा अवधिमा खाद्य तथा अन्य बालीले समग्रमा ८१.२० प्रतिशत हिस्सा ओगटेको छ ।

तरकारी तथा बागवानी समीक्षा अवधिमा बागवानी र तरकारी बालीले ढाकेको क्षेत्रफल क्रमशः १.५७ प्रतिशत र ४६.३२ प्रतिशतले वृद्धि भएको छ । 

आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म तरकारी तथा बागवानी बालीले ढाकेको क्षेत्रफल समग्रमा ३३.८८ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंक सुर्खेतका प्रमुख तथा उप–निर्देशक राजनप्रसाद रेग्मी बताए । 

‘कर्णाली प्रदेशमा रहेका १० जिल्लाहरूमध्ये तरकारी र बागवानी क्षेत्रमा सल्यान जिल्लाले सबैभन्दा धेरै २९.१३ प्रतिशत र मुगु जिल्लाले सबैभन्दा कम १.२६ प्रतिशत हिस्सा ओगटेको छ,’ उनले भने,‘समीक्षा अवधिमा तरकारी तथा बागवानी बालीले समष्टिगत कृषि बालीले ढाकेको कुल क्षेत्रफलको ७.५४ प्रतिशत हिस्सा ओगटेको छ ।’ 

आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म कर्णाली प्रदेशमा फलफूल बालीले ढाकेको क्षेत्रफल ८.१७ प्रतिशतले वृद्धि भई ३६,२७४ हेक्टर पुगेको र कुल फलफूल बालीले ढाकेको क्षेत्रफलमध्ये सबैभन्दा बढी जुम्ला जिल्लाले ५८.३९ प्रतिशत क्षेत्रफल ओगटेको छ भने सबैभन्दा कम रुकुम पश्चिम जिल्लाले ०.७१ प्रतिशत भू–भाग ओगटेको उप–निर्देशक रेग्मीले बताए । 

खाद्य तथा अन्य बाली समीक्षा अवधिमा कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीको उत्पादनमा ४.८३ प्रतिशतले ह्रास आएको छ । समीक्षा अवधिमा प्रमुख कृषि बालीमध्ये मकै बालीको उत्पादन ४.२४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, गत अवधिमा १२.०४ प्रतिशतले वृद्धि भएको धान उत्पादन समीक्षा अवधिमा १०.२५ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा गहुँ , कोदो, जौ र फापरको उत्पादनमा क्रमशः १७.३१ प्रतिशत, १६.७३ प्रतिशत, १८.९८ प्रतिशत र २५.६९ ले कमी आएको छ ।

तरकारी उत्पादनमा वृद्धि

तरकारी तथा बागवानी समीक्षा अवधिमा कर्णाली प्रदेशमा तरकारी तथा बागवानी उत्पादन २२.७४ प्रतिशतले वृद्धि भई दुई लाख ३१ हजार चार सय २८ मेट्रिक टन पुगेको छ । गत अवधिमा यस्तो उत्पादन ६.०८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा तरकारी उत्पादनमा २५.९७ प्रतिशतले वृद्धि भएको छ भने गत अवधिमा तरकारी उत्पादनमा ७.४० प्रतिशतले ह्रास आएको थियो । त्यसैगरी, बागवानी उत्पादनमा १.७७ प्रतिशतले वृद्धि भएको छ । 

फलफूल समीक्षा अवधिमा कर्णाली प्रदेशभित्र फलफूल उत्पादन ४४.७३ प्रतिशतले वृद्धि भई एक लाख छ हजार ३३ मेट्रिक टन पुगेको छ । समीक्षा अवधिमा प्रमुख फलफूलमध्ये सुन्तलाको उत्पादन उल्लेखनीय रूपमा वृद्धि भएको छ । 

त्यसैगरी, आँप, केरा र स्याउ उत्पादन क्रमशः १२.७४ प्रतिशत, ४१.०७ प्रतिशत र २.८० प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा यस प्रदेशको कुल खाद्य तथा अन्य बाली उत्पादनमा सबैभन्दा बढी हिस्सा २२.९० प्रतिशत सल्यान जिल्लाको रहेको छ भने सबैभन्दा कम हिस्सा १.७० प्रतिशत डोल्पा जिल्लाको रहेको छ । 

त्यसैगरी, यस प्रदेशको कुल तरकारी तथा बागवानी उत्पादनको सबैभन्दा बढी हिस्सा सल्यान जिल्लाको(३५.० प्रतिशत) रहेको छ भने मुगु जिल्लाको सबैभन्दा न्यून ०.९० प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, फलफूल उत्पादनमा सबैभन्दा बढी हिस्सा (३०.९४ प्रतिशत) सुर्खेत जिल्लाको रहेको छ भने सबैभन्दा कम जाजरकोट जिल्लाको (२.६९ प्रतिशत) रहेको छ ।

अण्डा उत्पादन बढ्यो, मासु र दूधको उत्पादन घट्यो

कर्णालीमा पशुपन्छी तथा माछा उत्पादन समीक्षा अवधिमा दूध उत्पादनमा ९.०८ प्रतिशतले ह्रास आई ४३,६०२.१३ हजार लिटर कायम भएको छ । गत अवधिमा यो उत्पादन ८.४३ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, समीक्षा अवधिमा मासु उत्पादनमा १.०८ प्रतिशतले ह्रास आएको छ भने गत अवधिमा १७.३१ प्रतिशतले कमी आएको थियो । 

समीक्षा अवधिमा कर्णाली प्रदेशमा अण्डा उत्पादनमा १३.३२ प्रतिशतले वृद्धि भएको छ । गत अवधिमा यो उत्पादनमा २.०५ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा माछा उत्पादन १.१३ प्रतिशतले वृद्धि भई २०९.४६ मेट्रिक टन पुगेको प्रतिवेदनमा उल्लेख छ । 

राष्ट्र बैंकले के छन् कृषि क्षेत्रमा औँल्याएका चुनौती सम्भावना

कर्णाली प्रदेशका पहिचान एवम् निर्यात योग्य रैथाने तथा प्राङ्गारिक उत्पादन जस्तै: मार्सी चामल, चिनो, फापर, कोदो, कागुनो, कुरिलो, जुनेलो, लट्टे, सिमी लगायतका कृषि उपजहरूको संरक्षण र प्रवर्द्धन गर्दै ब्राण्डिङ् गरी बजारीकरण गर्नु चुनौतीपूर्ण रहेको र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नका लागि आवश्यकता अनुरूप नीतिगत, प्रक्रियागत र संस्थागत सुधारहरू गर्नु चुनौतीपूर्ण रहेको उप–निर्देशक रेग्मीले बताए । 

उनका अनुसार कृषि तथा पशुजन्य उत्पादनमा हानिकारक विषादी, रसायन तथा एन्टिबायोटिक्सको प्रयोग कम गरी जनस्वास्थ्यमा पर्न जाने नकारात्मक प्रभाव कम गर्दै लैजानु चुनौतीपूर्ण रहेको र कृषि तथा पशुजन्य वस्तुको उत्पादन, प्रशोधन र बजारीकरणलाई लागत प्रभावकारी बनाउनु कृषि क्षेत्रको व्यापारलाई सन्तुलनमा राख्नु, गुणस्तर र स्वच्छता नियमन कार्य प्रभावकारी तुल्याई नाफामूलक र प्रतिस्पर्धात्मक बनाउनु, कृषि क्षेत्रको उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्नका लागि संघ, प्रदेश र स्थानीय तहको लगानी एवम्सेवालाई थप प्रभावकारी बनाई अन्तर सरकार सहकार्य र समन्वय चुस्त बनाउनु चुनौतीपूर्ण छ ।

कृषि क्षेत्रको सम्भावनामा कृषि उपजको मूल्य निर्धारण व्यावहारिक भई सहज बजारको पहुँच हुन सकेमा यस क्षेत्रमा कृषि उद्यमको विकास गरी रोजगारीको वृद्धि गर्न सकिने उच्च सम्भावना रहेको र स्वदेशमा बढ्दै गरेको कृषि क्षेत्रको प्राविधिक जनशक्तिलाई आधुनिक कृषि प्रणालीसँग आबद्ध गर्दै कृषि उद्यमको विकास गरी रोजगारीको वृद्धि गर्न सकिने उच्च सम्भावना रहेको जनाएको छ ।

कृषि तथा जडीबुटीजन्य कच्चा पदार्थको भण्डार भएकाले कृषि तथा जडीबुटी सम्बन्धी उद्योग सञ्चालन गरी युवाहरूलाई उद्यमी बनाउँदै रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको र यस प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा भेडा, च्याङ्ग्रा र चौरीपालन व्यवसाय प्रवर्द्धन गर्न सकिने उच्च सम्भावना रहेको छ । यस्ता क्षेत्रमा पशुपालन व्यवसाय प्रवर्द्धन भएमा ऊन, दूध, छुर्पी र मासुको उत्पादन समेत वृद्धि हुने देखिन्छ । 

अन्य पहाडी जिल्लाहरूमा व्यावसायिक बाख्रापालन, गाई/भैंसीपालनको सम्भावना रहेको र यस प्रदेशको जुम्ला लगायतका हिमाली जिल्लामा व्यावसायिक स्याउ, ओखर खेती तथा अन्य पहाडी जिल्लाहरू दैलेख, सुर्खेत, कालिकोट, सल्यानमा व्यावसायिक सुन्तला, केरा, आँप खेतीको उच्च सम्भावना रहेको जनाएको छ । 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ८ : ३४ बजे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले