देउडा गुञ्जिने सांस्कृतिक थलो र पर्यटनको संगम बन्यो ‘वीरेखोला झरना’ « Khabarhub

देउडा गुञ्जिने सांस्कृतिक थलो र पर्यटनको संगम बन्यो ‘वीरेखोला झरना’


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

धनगढी– असारको काम सकिएपछि यहाँका अधिकांश स्थानीय गाउँ माथिको लेक चढ्छन् । कोही गाईगोरु भैँसी लिएर, कोही भेडाबाख्रा लिएर बर्षातको बास गोठ छानामै बस्ने गर्छन् ।

करिब दुई महिना साउन-भदौ उतै बिताउँछन् । पशुपालनका लागि चरिचरन र घाँसपातमा सहज हुने र गाउँमा काम नहुने भएपछि अधिकांशको बसाइ नै लेकमा बनाइएका गोठ छानामा हुने गर्छ । 

दुई महिना यहाँका गाउँहरू सुनसान हुन्छन् । खाली जस्तै देखिन्छन् । त्यो समय स्थानीयले एकअर्कासँग सहज भेटघाट र बसाइ गर्न पाउँदैनन् । सबै आ-आफ्नै काम र दैनिकीमा व्यस्त हुन्छन् । जुन समय मेलापर्व र चाडहरू पनि कमै हुन्छन्, भए पनि भेट्न मेलोमेसो मिल्दैन । 

त्यो समय ‘वीरेखोला झरना’ को आँगमा आयोजित लाइभ देउडा कार्यक्रममा खेलाडीले मीठो शैलीमा व्यक्त गरे । 

यति राम्रो झरना बनाइ धन्य वीरेखोला

भयाले गौड्या भेट होला यसैभेट कहाँ होला

देउडा खेलाडीले गीतमार्फत् अभिव्यक्त गरेपछि एकैछिन माहोल पनि प्रेमिल र भावुक बन्यो । सबैले गीतका शब्दमा ध्यान दिए । खेलमा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायादेखि बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा कुमारी थापासम्म लागेका थिए । साउने संक्रान्ति यहाँका स्थानीय बडो उत्सवका रुपमा मनाउने पर्व हो । 

असार सकिएपछि आफन्तसँगै बसेर मिठो मसिनो खाने र रमाइलो गर्ने अनि असोज नलागेसम्म लेकबेंशी बस्नेहरूबीचको आपसी सल्लाह गर्ने दिनका रुपमा लिन्छन् ।

कोही युवाहरू साउने संक्रान्ति खाएर कमाइका लागि भारत जाने गरेको देखिन्छ । त्यही दिनको अवसर पारी बडीमालिका नगरपालिकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘वीरेखोला झरना’ मा लाइभ देउडा खेल आयोजना गर्यो ।

बडीमालिका सामुदायिक विकास समाजको आयोजनामा लाइभ देउडा आयोजना गरिएको हो । 

‘वीरेखोला झरना’ पछिल्लो केही वर्षयता जिल्लाकै चर्चित पर्यटकीय गन्तव्य बनेको छ । असारदेखि कार्तिकसम्म ‘वीरेखोला झरना’ मा दैनिक सयाैँको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् ।

पालिकाले नै महत्व दिएर कार्यक्रम पहिलो पटक गरिएको हो । जसमा बडीमालिका सामुदायिक विकास संस्थाले कार्यक्रमको संयोजन गरेको छ । यस अघि सुदूर साहित्य प्रतिष्ठानले गजल वाचन कार्यक्रम आयोजना गरेको थियो ।

त्यसबाहेक घुमफिर र टिकटक, रिल र फोटाका लागि र झरनाको शितला प्राप्तीका लागि ‘वीरेखोला झरना’लाई प्रयोग गर्ने गरिएको थियो ।

तर यस पटकको साउन १ बाजुराकै लागि ‘वीरेखोला झरना’ विशेष बन्यो । यहाँका स्थानीयको प्रमुख सँस्कृति देउडा खेलाका लागि मेला जस्तै भयो भन्छन्, देउडा खेलाडी सुना विक । सुना चार दशकदेखि जिल्लाकै नामी लाइभ देउडा खेलाडी हुन् । लाइभ देउडाका लागि चर्चित खेलाडी शंकर मल्ल, विस्ना विष्ट, सुना विक सहीत दर्जन बढी खेलाडी कार्यक्रमस्थल पुगे । 

प्रमुख जिल्ला अधिकारी मेघराज पाध्यायदेखि जनप्रतिनिधी, सरकारी तथा गैर सरकारी निकायका कर्मचारी पनि त्यही कार्यक्रमको भीडमा भेटिएका थिए ।

स्थानीय पर्यटन प्रवर्द्धन गर्न र यहाँको भाषा सँस्कृतिको जगेर्ना गर्न लाइभ देउडा आयोजना गरिएको र सोचेको भन्दा भव्य बनेको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताईन् । थापा पनि स्थानीय पहिरन सहीत लाइभ देउडामा सहभागी थिइन् ।

बृहत देउडा कार्यक्रममा बाजुरा सहीत बझाग र अछामबाट पनि दर्शक पर्यटन ‘वीरेखोला झरना’ पुगेका थिए । ३ हजार बढीको सङ्ख्यामा स्थानीयले प्रत्यक्ष सहभागिता जनाएको आयोजक संस्थाका अध्यक्ष अम्मर बहादुर विश्वकर्माले जानकारी दिए ।

गर्मी छल्नेहरूका लागि शीतला, प्रकृतिमा रमाउनेका लागि आनन्द र सन्तुष्टि अनि जोडी यात्राका लागि रमाइलो गन्तव्य बनिरहेको ‘वीरेखोला झरना’ मा पर्यटकहरुको बाक्लो उपस्थितिले थप प्रचार भएको देखिन्छ । 

बडीमालिका नगरपालिकाले नै वीरेखोला झरनालाई आन्तरिक पर्यटन विकासको प्रमुख गन्तव्यकै सूचीमा राखेको छ । देउडा सँस्कृतिको विकास र विस्तारमा सहयोग पनि पुग्ने विश्वास गरिएको छ । भेटघाट पनि भयो, सँस्कृतिको प्रवद्र्धनमा सहयोग पनि पुग्यो, घुमफिर र रमाइलो पनि महशुस गरिएकोमा पुगेकाहरु सन्तुष्ट छन् । 

‘वीरेखोला झरना’ बाजुराको बडीमालिका नगरपालिका ८ र ६ को सीमा क्षेत्रमा पर्छ । बाजुरा सदरमुकाम मार्तडीबाट मात्रै ६ किलोमिटरको दूरीमा छ । भने छिमेकी जिल्ला अछामबाट ५० किलोमिटरको यात्रा पछि पुगिन्छ ।  

त्यही वीरेखोला झरना केही वर्षयता आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । जो कोहीका लागि सहज आउने र रमाउने माध्यम नै हो, वीरेखोला झरना । बडीमालिका ६ का लागि आम्दानीको श्रोत हो, भने आन्तरिक पर्यटकका लागि घुमफिरको प्रमुख गन्तव्य । असार देखि कात्तिकसम्मका लागि वीरेखोला झरना बालकदेखि वृद्धिसम्मका लागि घुम्ने प्रमुख केन्द्र नै हो । 

वर्षायाम सुरु भएसँगै आन्तरिक पर्यटनको आकर्षण नै भन्ने गरि कार्यक्रम आयोजना गरिएको प्रति बडीमालिका ६ का वडा सदस्य परे बडुवालले खुसी व्यक्त गरे ।  

प्रतिदिन घुम्न आउने पर्यटकका लागि वडाले २० रुपैयाँ टिकट समेत दिने गरेको छ । शनिबार र शुक्रबार धेरै हुने र बाँकी दिन पनि कार्तिकसम्म घुम्न आउनेको संख्या उल्लेख्य हुन्थ्यो। यस पटक साउन १ को कार्यक्रमले यसको महिमा नै बढाएको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताए । 

एक सिजनमा लाख बढीले अवलोकन गर्ने गरेको रेकर्ड छ । झरनासम्म अवलोकन तथा रमाउन जाने त छँदैछन् तर गाडीमा आवतजावत गर्ने जो कोहीले पनि जान नछुटाएर, फोटो खिच्न भए पनि त्यहाँ पुग्ने गरेको पाइन्छ ।

झरना सय मिटर लामो उचाइबाट झर्छ । साँफे-मार्तडी सकडकको छेउमै पर्ने भएकोले सबैजसोको नजरमा पर्दा बढी महत्व पाएको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम माझी बताउँछन् । 

सामान्यतः जिल्लाभित्रका अधिकांस मानिस झरनामा फोटो खिच्नका लागि भए पनि पुग्ने गर्दछन् । करिब पाँच वर्षयता यो झरनाले समाजिक सञ्जाल लगायतमा चर्चा छ । एकनासले छल्कँदै बग्ने झरनामा इद्रेणी पर्ने गर्दछ ।

पर्यटकहरू छल्किएको पानीमा नुहाएर रमाउने, कोही टिकटक बनाउने त कोही फोटो खिच्ने बढी हुन्छन् । गत वर्षयता झरनासम्म बडीमालिका नगरपालिकाले झरनासम्म पुग्ने फराकिलो बाटो झरनामा प्रवेश गर्ने गटे र झरनाको तल काठको पुल र रेलिङड, बस्नको लागी टिनको छाप्रा निर्माण गरेको छ । यसले पर्यकहरुको मन झनै लोभ्याउने गरेको छ । 

माथि डाँडाबाट आएको चिसो पानीमा नुहाउँदा आनन्दको महसुस हुने गरेको पुग्नेहरुले बताउने गरेका छन् । गर्मी छल्न र मन बहलाउनका लागि उक्त झरना पर्यटकीय गन्तव्य बन्न सक्ने र यसले आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटकलाई समेत लोभ्याउन सक्ने संभावना रहेको देखिन्छ । 

पुग्नेले एकपटक स्वर्गीय आनन्द महशुस गर्ने गरेका छन् । जो पुग्छन्, घण्टा बिताएर मात्रै फर्किन्छन् । फोटोखिच्छे, रिल टिकटक बनाउने, पौडी खेल्ने, पानीको फहरामा रमाउने गरेका छन् । विद्यालयले आन्तरिक भ्रमण कार्यक्रम राखेरै पुर्याउने गरेको देखिन्छ । 

आह लाग्ने यो, वीरे खोला झरनाले पर्यटकीय प्रर्वद्धनमा निकै भूमिका खेलेपनि भौतिक पुर्वधार लगायतका विकासमा केही कमी हुँदा झरनाबाट लिनु पर्ने लाभ स्थानीय तहले लिन सकेको छैनन् । निजी क्षेत्रसंग सहकार्य गर्दै पर्यटकीय क्षेत्र यो झरनालाई पूर्वाधारयुक्त बनाउन सके आर्थिक विकासमा मदत पुग्ने देखिन्छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ८ : ०७ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर