ओलीलाई प्रदेश अध्यक्ष ढुंगेलले सोधे- अन्त गएकालाई बोलाइरहँदा घरभित्रकै विद्या भण्डारीलाई कहिलेसम्म रोकिरहने ? « Khabarhub

ओलीलाई प्रदेश अध्यक्ष ढुंगेलले सोधे- अन्त गएकालाई बोलाइरहँदा घरभित्रकै विद्या भण्डारीलाई कहिलेसम्म रोकिरहने ?

संसद् पुनर्स्थापना र चुनावमध्ये एक रोज्न सुझाव


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका एकजना प्रदेश कमिटी अध्यक्ष खुलेर पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा उभिएका छन् ।

तीन दिनदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले एमालेको दायरा फराकिलो बनाउने भए भण्डारीलाई स-सम्मान फर्काउनुपर्ने बताएका हुन् ।

ढुंगेलले यस पटकको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमै एमाले छाडेर गएकाहरूलाई घर फर्किन भनिसकेको स्मरण गराएका छन् ।

‘अध्यक्ष कमरेडले नै प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विचार र आदर्श मिल्नेहरूलाई मिलेर अघि बढ्न, एकतामा आउन भनिसकेको अवस्था छ’, उनले बैठकमा भने, ‘एमालेले आफ्नो घेरो फराकिलो र विपक्षीको घेरो साँघुरो बनाउने भए पूर्वराष्ट्रपति त घरकै मान्छे हुनु हुन्छ । सदस्यता नवीकरण गरेर उहाँलाई स-सम्मान पार्टी फर्काउँदै काम दिनुपर्छ । उहाँलाई काममा लगाएर पार्टीलाई बलियो बनाउनेतिर जानुपर्छ ।’

अध्यक्ष ओलीले घर छाडेर टाढा गएकालाई समेत फर्किन भनेको अवस्थामा भण्डारीलाई रोक्नु अब राम्रो नहुने बताए । ‘पार्टी छाडेर टाढा गएकालाई फर्किन अध्यक्षले आह्वान गरिरहँदा घरमै रहेकालाई रोक्नु ठीक होइन’, उनले भने, ‘अब एमालेमा अधिकांश मान्छेलाई ल्याउनुपर्छ । भण्डारीलाई पनि ल्याउँदा राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति पनि पार्टीको पक्षमा अनुकुल हुन्छ ।’

उनले भण्डारीको सदस्यता नवीकरणसँगै अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा आफ्ना भनाइ राख्दै जेन-जी आन्दोलनमा भएका घटनामा उनीहरूको मात्रै हात नरहेको टिप्पणी गरे ।

‘आन्दोलनका क्रममा जे जस्ता घटना भए, जेन-जीका माग र उद्देश्य त्यस्तो थिएन । जेन-जीका मागहरू हाम्रा घोषणापत्र भन्दा फरक छैनन् । जेन-जीका मागमा भ्रष्टाचार अन्त्य र सुशासनका कुरा उस्तै छन्’, उनले भने, ‘उक्त आन्दोलनमा कसले पर्दापछाडि हिंसात्मक परिस्थिति सिर्जना गर्‍यो, त्यसको खोजी गर्नुपर्छ ।’

उनले आन्दोलनका नाममा व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामा आक्रमण भएको बताउँदै लोकतान्त्रिक गणतन्त्रको संरचना नै ध्वस्त बनाउने कोसिस भएको पनि स्मरण गराए ।

‘त्यसको आन्तरिक कारण नै मुख्य होला । तर विदेशीले पनि खेलेको कुरा नकार्न सकिँदैन’, उनले भने, ‘त्यो घटनाबारेमा हामीले गहिरोसँग अध्ययन र विश्लेषण गर्नुपरछ भन्ने कुरा हो । अब हाम्रो आगामी बाटो के हो भन्ने हामीले छलफल गर्न आवश्यक छ।’

ढुंगेलले भदौ २७ गते विघटित संसद् पुर्नस्थापना गर्ने दिशातिर जाने या फागुन २१ को निर्वाचन गर्नेतिर जाने भन्नेमा पार्टी नेतृत्व प्रष्ट हुनु आवश्यक रहेको बताए ।

‘यो सरकार विधि र प्रक्रियाले स्वभाविक ढंगबाट आएको छैन । सुरक्षा अंगमा अहिले पनि कोलाहल छ । बन्दुक लुटिएका छन्, चौकी जलाइएको छ। प्रहरीको मनोबल पूरै खस्किएको छ’, उनले भने, ‘अर्कातिर नेता र उम्मेदवार सुरक्षित हुने अवस्था छैन । यो अवस्थामा चुनाव हुने सम्भावना कमजोर देखिन्छ ।’

उनले अब एमाले जनताबीचमा जाने गरी कार्यक्रम तय गर्नुपर्ने पनि बताए । ढुंगेलले देश जटिल अवस्थामा रहेकाले गणतन्त्रात्मक पक्षधरलाई एकजुट बनाएर अघि बढ्नुपर्ने सुझाव पनि नेतृत्वलाई दिए ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  २ : ३३ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले