ब्रेनडेथपछिको अंगदान : भन्न सजिलो, गर्न अप्ठ्यारो | Khabarhub Khabarhub

ब्रेनडेथपछिको अंगदान : भन्न सजिलो, गर्न अप्ठ्यारो

एक दशकमा ५ जनाले मात्र गरे दान


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

ब्रेनडेथ अर्थात् मस्तिष्क मृत्युपछिको अंगदान भन्न जति सजिलो छ, व्यवहारमा लागू गर्न त्यति नै कठिन छ । यो नेपालको मात्रै होइन, विश्वव्यापी समस्या हो ।

अहिलेको प्राविधिक युगमा वर्षेनी हजारौँको संख्यामा मानिसको ब्रेनडेथ हुन्छ। नेपालको तुलनामा विभिन्न विकसित देशमा ब्रेनडेथ अंगदान प्रभावकारी भएको मानिन्छ । तर जुन हिसाबले हुनुपर्ने हो, त्यो हुन नसकेको चिकित्सक बताउँछन् । 

ब्रेन मरेपछि फर्केर आउँदैन । औषधी अक्सिजन र भेन्टिलेटरको सहायताले अन्य अंग बाँचिरहेका हुन्छन् । ती जीवित अंग झिकेर आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गरी जीवन दान दिन सकिन्छ । भेन्टिलेटर प्रविधिको सुरुवातसँगै ब्रेनडेथ अंगदानको प्रावधान विश्वमा भित्रिएको पाइन्छ । 

मस्तिष्क मृत्यु अर्थात् ब्रेनडेथपछि शरीरका विभिन्न अंग दान गर्न मिल्छ । फोक्सो, मिर्गौला, कलेजो, पाठेघर, सानो आन्द्रा, छाला–आँखाको नानी दान प्रत्यारोपण गर्न मिल्छ । नेपालमा भने मस्तिष्क मृत्युपछि मिर्गौला, कलेजो र आँखा मात्रै अरू मानिसमा प्रत्यारोपण गर्ने अभ्यास छ । 

शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरका अनुसार नेपालमा अहिलेसम्म मस्तिष्क मृत्यु भएपछि अंगदान गर्न दुई हजार ६ सय चार जनाले केन्द्रमा नाम सूचीकृत गराएका छन् । मस्तिष्कघातका कारण मस्तिष्क मृत्यु हुन्छ । यो हिसाबले नेपालमा प्रतिवर्ष मस्तिष्क मृत्यु हुनेको संख्या धेरै छ । तर त्यसको अनुपातमा अंगदान गर्नेको संख्या एकदमै थोरै रहेको केन्द्रको भनाइ छ । 

ब्रेनडेथ अंग प्रत्यारोपणबारे के भन्छ कानुन ? 

नेपालमा अङ्ग प्रत्यारोपण गर्न सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को पहिलो संशोधन २०७२ तथा नियमावली २०७३ ले गरेको छ ।

जसमा मस्तिष्क मृत्यु हुने जीवित व्यक्तिले आफू जीवितै हुँदा मृत्यु पश्चात अङ्ग दान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्यु भएपछि निजको शरीरबाट अङ्ग दान गर्न मञ्जुरी दिएको अवस्थामा मात्र प्रत्यारोपण गर्न सकिने व्यवस्था छ ।

सरकारले मस्तिष्क मृत्युपछि अङ्ग दानबाट गरिने प्रत्यारोपणका लागि शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई समन्वय एकाइ तोकेको छ । मस्तिष्क मृत्युपछि अङ्ग दान गर्ने व्यवस्था कानूनी रुपमा भएपनि यसमा विभिन्न जटिलता रहेको प्रत्यारोपण केन्द्रका मिर्गौला प्रत्यारोपण सर्जन डा.दीपेश श्रेष्ठ बताउँछन् ।

यही कारण कानून बनेको करिब १ दशकमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा जम्मा ५ जना बिरामीको मात्रै अंगदान भएको पाइएको छ । १० जनामा मिर्गौला र तीन जनामा कलेजो प्रत्यारोपण गरेर १३ जनाले जीवनदान पाएका छन् । 

केन्द्रले २०७४ साल २८ वैशाखमा पहिलो पटक ब्रेनडेथ भएका व्यक्तिबाट लिएको मिर्गौला प्रत्यारोपण गरेको थियो । सुनसरीका ५१ वर्षीय पुरुष र काठमाडौंका १५ वर्षीय बालक गरी दुई जनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि २०७५ साल १२ कात्तिकमा पोखराका ५६ वर्षीय र स्याङ्जाका ३० वर्षीय पुरुष गरी थप दुई जनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

२०७५ माघ ३ मा इलामका ४३ वर्षीय र ओखलढुंगाका ३१ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ  ।

२०७९ असार २३ मा मोरङका ५० वर्षीय पुरुष र काठमाडौंका २४ वर्षीया महिला तथा १४ फागुन २०७९ मा रुपन्देहीका ४३ वर्षीय र सिरहाका ३२ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । यसबाहेक ब्रेनडेथ भएका व्यक्तिबाट लिइएको कलेजो तीन जनामा प्रत्यारोपण गरिएको छ । २०७६, २०७८ र २०७९ मा कलेजो प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । 

मिर्गौला प्राप्तिका लागि १ हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाइसकेका छन् । अहिलेको कानुनी व्यवस्था अनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मस्तिष्क मृत्युपश्चात् दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ । मस्तिष्क मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरु जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ ।

हाल भक्तपुरको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले वर्षेनी दुई सय मिर्गौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अंग प्रत्यारोपणको झन्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अंग प्रत्यारोपण गर्दै आइरहेका छन् ।

नेपालमा वार्षिक ब्रेनडेथ कति ? 

सडक दुर्घटना भएर वा अन्य कुनै कारण लडेर टाउकोमा चोट लागेका व्यक्तिको ब्रेनडेथ हुन्छ । प्रहरीका अनुसार बिगत १० वर्षको अवधिमा सवारी दुर्घटनामा परी २४ हजारको मृत्यु भएको छ । ती मध्ये आधा भन्दा धेरैको ब्रेनडेथ हुने गर्दछ ।

यो तथ्यांकअनुसार नेपालमा वर्षेनी २ हजार बढीको ब्रेन डेथ हुने गरेको आंकलन छ । काठमाडौं उपत्यकामा मात्रै एक हजार बढीको ब्रेन डेथ हुने गर्छ । ब्रेनडेथ भएका सबैको अंग प्रत्यारोपण गर्न मिल्दैन । 

तर ब्रेनडेथ भएका ५० प्रतिशत मानिसको अंगको उपयोग गर्न सके मात्रै पनि १ हजार जनाको अंगबाट दुई हजार मिर्गौला र एक हजार जनाले कलेजो पाएर जीवनदान पाउने चिकित्सक बताउँछन् । 

ब्रेनडेथ अंगदान प्रभावकारी बनाउन के छ प्रयास ?

ब्रेनडेथ अंगदानलाई प्रभावकारी बनाउन सरकारले विभिन्न प्रयास गरिरहेको छ । २०८१ मंसिर ९ मा मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग प्रत्यारोपणका लागि उपलब्ध गराउने परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्‍यो । 

यसअघि मृत्युपछि अंगदान गर्ने परिवारलाई भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले किरिया खर्च भन्दै त्यस्ता परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रत्यारोपण केन्द्रले दिने गरेको एक लाख रुपियाँमा मन्त्रालयबाट पनि एक लाख रुपियाँ थपेर दिने निर्णय गरेका हुन् । 

मन्त्रालयले यो पैसा आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी अर्थ मन्त्रालयबाट स्वीकृति लिएको बताइएको छ । मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलको भनाइ छ । 

यस्तै मस्तिष्क मृत्यु अंगदानका लागि सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजारलाई बढाएर ७५ हजार पुर्‍याइएको छ । केन्द्रले पहिले ५० हजार दिँदै आएको थियो । मन्त्रीले त्यसमा मन्त्रालयले थप २५ हजार रुपियाँ थपेर ७५ हजार रुपियाँ पुर्‍याउने घोषणा गरेका छन् । 

‘आफ्नो मृत्युपछि अरूको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौँ । एउटाको जीवनपछि अरूको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौँ’, मन्त्री पौडेलले भनेका छन् ।

त्यस्तै अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने व्यवस्था सरकारले गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अघिल्लो महिना शुभारम्भ गरेका थिए। 

अनलाइनमार्फत अंगदान गर्ने जोकोहीले दर्ता गराउन सकिने तथा लिन चाहनेले जानकारीसमेत पाउने उनले बताए । मस्तिष्क मृत्युपश्चात् तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपण कुरिरहेका बिरामी उपचाररत अस्पतालले समेत तत्काल अङ्ग प्रत्यारोपण गर्न जानकारी प्राप्त गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । दाता तथा बिरामीले केन्द्रको वेबसाइट एसडीएनटीसी डट जिओभी डट एनपीमार्फत जानकारी लिन सक्नेछन् ।

त्यस्तै अर्को हो सवारी चालक अनुमति पत्रमा पनि अंगदानको व्यवस्था गर्नुपर्ने नियम छ । तर यो लागू भएको छैन । यसको लागि यातायात ऐनमै संशोधन आवश्यक छ । त्यो संशोधनमा जान सम्बन्धित निकायले प्रक्रियामा त लगेका छन् । तर त्यो क्याबिनेट, विषयगत समिति हुँदै संसदमा गएर पास भएर आउन समय लाग्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । 

ब्रेनडेथ अंगदानका चुनौती

आम नेपालीमा सचेतना पुग्न नसक्नु नै यसको मुख्य चुनौती रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी बताउँछन्। 

‘मरिसकेपछि जलाएर खरानी बनाउने वा गाडेर माटो बनाउने चिजलाई जिउँदो दोस्रो मान्छेले पाएको खण्डमा उसको जीवन सफल हुन्थ्यो । त्यो नै ठूलो पुण्य हो, धर्म हो भन्ने कुरा आम मानिस, समाज, विभिन्न समुदायका धर्म गुरुमा चेतना फैलाउन सक्नुपर्‍यो’ उनले भने । 

त्यसका साथसाथै स्वास्थ्यकर्मी र चिकित्सकले पनि त्यसअनुसार विभिन्न स्वास्थ्य शिविरका नाममा, जनचेतनाका नाममा चेतना बाँड्नुपर्‍यो ।

उनी भन्छन्, ‘घरपरिवारका मान्छेलाई एकै पटक तपाईँको मान्छेको ब्रेनडेथ भयो,  उहाँको कलेजो, मिर्गौला अर्को मान्छेलाई दिन सक्नुहुन्छ भन्दा उनीहरू मान्दैनन् । जिउँदो हुँदा नै म अंगदान गर्छु भनेर घोषणा गरेको व्यक्तिको परिवारले त अंगदान गर्न मान्दैनन् भने नगरेको व्यक्तिको अंग पाउन अझ कठिन छ ।’ यसका लागि पुरोहित, धर्मगुरु सचेतनाको भरपर्दो माध्यम हुने प्रवक्ता बुढाथोकीको ठम्याई छ ।’ 

के भन्छन् चिकित्सक ? 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र एचओटिसी भक्तपुरका डा. श्रेष्ठ ब्रेनडेथ अंगदानमा चेतनाको कमी त छँदै छ अस्पतालहरूले खबर नै नगर्ने प्रवृत्तिले झन् धेरे कठिनाइ भइरहेको बताउँछन् । 

अंगदान घोषणा गरेका वा नगरेका व्यक्ति कसैको पनि ब्रेनडेथ भएपछि अनिवार्य रूपमा सरकारले बनाएको समन्वय इकाईमा खबर हुनुपर्‍यो । अस्पतालहरूले अनिवार्य रूपमा खबर गर्नुपर्ने भन्ने नियम सरकारले बनाएको छ । तर खबर नै नहुने गरेको उनले गुनासो गरे । 

समन्वय एकाइले समय समयमा विभिन्न अस्पतालमा गएर यस विषयमा तालिम दिने, जनचेतना फैलाउने जस्ता कार्यक्रम गरिरहेको भए पनि जुन हिसाबमा ब्रेनडेथको खबर आउनुपर्ने हो त्यो नआउने उनले बताए । 

ब्रेनडेथको खवर एकाइसम्म सजिलै आओस् भन्नका लागि सरकारले चाह्यो भने ब्रेनडेथको केश धेरै आउने अस्पतालमा समन्वय एकाइबाटै जनशक्ति पठाउन सकिन्छ । उनीहरूका माध्यमबाट बिरामीको आफन्तलाई काउन्सिलिङ गरेर समन्वयमा खबर गर्ने व्यवस्था गर्न सकियो भने प्रभावकारी हुने उनको भनाइ छ । 

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १२ : १४ बजे

स्थानीय तहमा कृषि एम्बुलेन्स, किसानलाई राहत

बलेवा– किसानको घरबारीसम्म पुगेर कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन जैमिनी नगरपालिकाले

अधिक तरलताको लाभ लिइहालौँ, अब ब्याजदर बढ्छ

जलविद्युत, पर्यटन र कृषि क्षेत्रका सरोकारवालाहरूले उठाउनुभएका विषयलाई म केही

किएभमा रुसी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी – युक्रेनको राजधानी किएभमा शनिबार भएको रुसी आक्रमणमा परी

‘पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्य योजना तयार हुँदै’

मलेखु– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन क्षेत्रबाट

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई