तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग | Khabarhub Khabarhub

जेन-जीको उथलपुथल

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

विशेष महाधिवेशनको स्वर बढ्दा छाड्न तयार छैनन् शीर्ष नेता



काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सैनिक ब्यारेकबाटै पार्टी चलाए ।

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली बिहीबार सैनिक ब्यारेकबाट निस्किएका छन् भने आन्दोलनमा घाइते भएका कांग्रेस सभापति देउवाको उपचार भइरहेको छ । जेन-जी आन्दोलनपछि सेनाको सुरक्षा घेरामा रहेका भनिएका यी दुई नेताले सुरक्षा घेरामै रहेर फोनमार्फत् पार्टी चलाए ।

तर अहिलेसम्म पार्टीको बैठक राख्न दुवै नेताले चाहेका छैनन् । सक्रिय राजनीतिमा फर्किन नसक्दा पनि अहिलेसम्म यी दुई नेताले कार्यवाहक जिम्मेवारी कसैलाई दिन सकेका छैनन् । ‘एमालेको अहिले कुनै पनि बैठक बस्न सकेको छैन । अवस्था सामान्य भएपछि बैठक पक्कै बस्नेछ’, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, ’अहिले के गर्ने भन्ने बारे हामीले सोचिसकेका छैनौँ ।’

यता कांग्रेस सहमहामन्त्री जीवन परियार पनि सभापतिबिना औपचारिक बैठक बस्न नसकेको बताउँछन् । उनीसहित महामन्त्री गगन थापाहरू पनि सभापतिलाई पार्टी नेतृत्व हस्तान्तरण गर्न दबाब दिइरहेका छन् ।

एमाले नेताहरू विशेष महाधिवेशनको पक्षमा 

एमालेका केही नेताहरू विशेष महाधिवेशनको पक्षमा छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव गोकर्ण विष्ट, उपाध्यक्ष रामबहादुर थापा बादललगायत नेताहरू विशेष महाधिवेशनको पक्षमा छन् । ओलीनिकट मानिने उपाध्यक्ष रामबहादुर थापा बादलले मुखै नफोरे पनि पोखरेल र विष्ट विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । तर एमालेका बागमती अध्यक्ष कैलाश ढुंगेल नेतृत्व फेरबदलका लागि अर्ली महाधिवेशन हुन सक्ने बताउँछन् ।

यससँगै एमालेमा पदम गिरी, सचिवद्वय योगेश भट्टराई र पद्मा अर्याललगायत नेताहरू पनि पार्टीको विशेष महाधिवेशन हुनुपर्ने मागमा छन् । तर, उनीहरूले पार्टीमा यो बहस चलाउन सकेका छैनन् । यति मात्रै होइन, उनीहरूले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प पनि सार्न सकेका छैनन् । बाहिर नेतृत्व हस्तान्तरणबारे मुख खोल्न सकेका छैनन् ।

तर, उनीहरूमा उकुसमुकुस देखिन्छ । यसबारे प्रश्न गर्दा नेता पदम गिरीले खबरहबलाई भने, ‘यो आन्दोलनले पार्टीलाई केही न केही पाठ सिकाएको छ । तर नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्ने विषय यहाँ भन्ने कुरा भएन । पार्टीको अर्ली वा विशेष महाधिवेशनमार्फत् यो सम्भव छ । यसबारे संवाद हुँदै जाला तर युवाको भावना समेटेर हामी अगाडि बढ्छौँ ।’ 

यता वरिष्ठ उपाध्यक्ष पोखरेल पनि पार्टी रूपान्तरण हुनुपर्ने बताउँदै पुरानै नेतृत्वमा एमाले आगामी निर्वाचनमा गए एमाले संकटमा पर्ने दाबी गर्छन् ।

कांग्रेसमा पनि विशेष महाधिवेशन माग

नेपाली कांग्रेसका डा. शेखर कोइरालानिकट नेताहरू अहिले विशेष महाधिवेशन माग गर्ने तयारीमा छन् । यसबारे उनीहरू भित्रभित्रै छलफलमा रहेपनि देउवासँग यो प्रस्ताव राख्न सकेका छैनन् ।

डा. कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले पार्टीमा पुनर्गठन र पुस्तान्तरणको विषय उठाइरहेका छन् ।

यतिमात्र होइन, उनीहरूले विशेष महाधिवेशनको समेत माग गरिरहेको बताइन्छ । तर, देउवा सैनिक सुरक्षामा रहेका कारण उनीहरूले यो विषय छलफल गर्न नपाएको केन्द्रीय सदस्य पौडेल बताउँछन् ।

‘पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय तत्कालै सम्भव नभएका कारणले हामीले विशेष महाधिवेशन माग गर्ने तयारी गरेका छौँ,’ उनले खबरहबसँग भने, ‘केही नेताहरू यस विषयमा छलफल गर्ने तयारीमा छौँ । अहिले सभापति नभएकाले यसमा छलफल हुन पाएको छैन । आगामी केन्द्रीय कमिटी र पदाधिकारी बैठकमा यो छलफल हुन्छ ।’

हुन त कांग्रेसका केही नेताहरूले सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने छलफल चलाएका थिए । तर, यो विषयमा दोस्रो तहका अधिकांश नेता तयार नभएको देखिन्छ । 

यसबारे प्रश्न गर्दा पौडेलले भने, ‘कार्यभार, जिम्मेवारी दिँदा पार्टीमा कुनै ऊर्जा थपिँदैन, हामी त विशेष महाधिवेशन माग गर्ने तयारीमा छौँ ।’

यता पार्टी सहमहामन्त्री परियार पनि कांग्रेस पुनर्गठन सहित आगामी निर्वाचनमा भाग लिने बताउँछन् । उनले खबरहबलाई भने, ‘विशेष महाधिवेशन गरेर भए पनि पार्टी पुनर्गठन हुन्छ । निर्वाचनअगाडि नै विशेष महाधिवेशन गर्नुपर्छ भनेर आवाज उठाइरहेका छौँ ।’ 

माओवादीमा पनि उस्तै स्वर 

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले पटक पटक प्रचण्डको विकल्प खोज्नभन्दै सार्वजनिक रूपमै अभिव्यक्ति दिइरहेका छन् । हुन त अहिले प्रचण्ड सैनिक सुरक्षाभित्र छैनन् । उनीले सैनिक सुरक्षाबाट निस्केपछि पेरिसडाँडास्थित पार्टी कार्यालयको पनि अवलोकन गरिसकेका छन् ।

अवलोकनपछि उनले पार्टी कार्यालय भव्य निर्माण गर्ने प्रतिबद्धता जनाएपनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा भने केही बोलेनन् ।

एमाले र कांग्रेसमा जस्तै माओवादीमा पनि प्रचण्डको विकल्प तत्काल नखोज्ने अवस्था देखिन्छ । तर अब पनि माओवादीले नेतृत्व हस्तान्तरण नगरे पार्टी सखाप भएर जाने शर्माले बताउँदै आएका छन् ।

माओवादीमा अब नेतृत्व पुस्तान्तरण होला ? भन्ने प्रश्नमा माओवादी महासचिव देव गुरुङले खबरहबलाई भने, ‘नेतृत्व महाधिवेशनबाट चुनिएर आएको हो । त्यस कारण आन्दोलनको रापतापले गर्दा नेतृत्व परिवर्तनको विषय अहिले महत्त्वपूर्ण होइन । महत्त्वपूर्ण विषय के हो भने पार्टीले युवाको भावना समेटेर अगाडि बढ्नुपर्छ । देशव्यापी रूपमा पार्टी विस्तार गरेर जानुपर्छ । अहिले नेतृत्व हस्तान्तरण पुस्तान्तरण नयाँ मान्छे ल्याउने विषयमा कुनै छलफल भएको छैन ।’ 

उनका अनुसार माओवादीमा पनि औपचारिक रूपमा पार्टी पदाधिकारी र स्थायी कमिटी बैठक बस्न सकेको छैन ।

यता माओवादीका नेता माधव सापकोटा जेनजी आन्दोलनले पार्टीमा नयाँ पुस्ताको भावना व्यापक रूपमा समेटेर जानुपर्छ भन्ने म्यासेज दिएको बताउँछन् ।

उनले युवाको भावना नसमेटे थुप्रै राजनीतिक दुर्घटनाहरू हुने बताउँदै आगामी पार्टी बैठकहरूले यसबारे सोच्नुपर्ने बताउँछन् । ‘पार्टीमा अहिले नेतृत्व हस्तान्तरणका लागि कि महाधिवेशन र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ । विशेष महाधिवेशन गर्ने कि भन्ने विषयमा हाम्रो पार्टीमा छलफल भइरहेको मैले बुझेको छु’, सापकोटाले अगाडि भने, ‘युवाको भावना नसमेटी पार्टी अगाडि बढ्न सक्दैन । हामी विशेष महाधिवेशनको माग पनि गर्न सक्छौँ तर यसबारे छलफल भएको छैन ।’ 

निर्वाचनअघि महाधिवेशन गर्ने रास्वपाको तयारी 

अहिले देशको चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन गर्ने विषयमा छलफल गरिरहेको छ । रास्वपाको पहिलो महाधिवेशन फागुन ७, ८ र ९ गते चितवनमा हुने मिति घोषणा भइसकेको थियो । 

तर फागुन २१ गते निर्वाचन हुने घोषणा भएपछि माघमै महाधिवेशन गर्ने विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता मनिष झा बताउँछन् । 

‘अहिले महाधिवेशन एक महिनाअगाडि सार्ने कि भन्ने विषयमा छलफल भइरहेको छ तर पार्टी सचिवालय र केन्द्रीय कमिटी बैठकले यो विषय पास गर्नुपर्ने हुन्छ। प्रवक्ता झाले भने, ‘हामी जसरी पनि निर्वाचन अगाडि नै महाधिवेशन गर्ने तयारीमा छौँ।’

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अहिले नख्खु कारागारमा छन् । तर सभापति जहाँ भए पनि महाधिवेशन गरेरै छोड्ने पार्टी सहमहामन्त्री विराजभक्त श्रेष्ठ बताउँछन् । 

ऊर्जा भर्न विशेष महाधिवेशन : विश्लेषक श्रेष्ठ 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ दलका संगठनमा नयाँ ऊर्जा भर्नका लागि विशेष महाधिवेशन गर्नुपर्ने बताउँछन् । उनी पुराना नेताहरूले विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव दिन्छन् ।

‘जेन-जी आन्दोलनको म्यासेज अब पुराना नेताहरूको भविष्य सकियो भन्ने हो । उहाँहरू नेतृत्वमा बसेर पार्टीमा कुनै किसिमको ऊर्जा भर्न सक्नुहुन्न’, केही समयअगाडि खबरहबसँगको कुराकानीमा श्रेष्ठले भनेका थिए, ‘जेन-जी आन्दोलनले भ्रष्टाचाररहित र सुशासनसहितको जनसहभागिता चाहेको हो । पुराना नेताहरू साइड लागेको राम्रो ।’

उनी अब पनि पुराना दल र नेताहरू नसच्चिए निर्वाचनमा जनताले राम्रैसँग ठेगान लगाउने बताउँछन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : ४४ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’