तरकारी खेतीबाट स्वरोजगार महिला, लाखौंको आम्दानी गर्दै « Khabarhub

तरकारी खेतीबाट स्वरोजगार महिला, लाखौंको आम्दानी गर्दै


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

टीकापुर- टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका छन् । दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसमी तरकारीखेती गरेर लाखौँ आम्दानी लिन सफल भएका हुन् ।

आज भोलि कटानपुरका महिलाले बारीमा काक्रा, भिन्डी, लौका, भान्टा, तोरै, चिचिन्डा लटरम्म फलाएका छन् । महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती गरेका छन् । यसबाट हुने आम्दानीले आफूहरु सन्तुष्ट भएको उनीहरुको भनाइ छ ।

समूहका सदस्य देशरानी चौधरी आफूहरु तरकारीखेतीबाट स्वरोजगार बन्नुका साथै आम्दानी लिन सफल भएका र यसले आर्थिक समस्या टार्न सहयोग मिलेको बताउँछिन् । उनीहरुले उत्पादन गरेको तरकारी टीकापुर, लम्की, अत्तरिया बजारदेखि अन्य छिमेकी बजारमा जाने गरेको छ । कतिपय तरकारी बिक्रेताहरू बारीमै तरकारी किन्न पुग्छन् । खेतमा काम समूहका महिलाले मिलेर गर्छन्, खनजोत लगायतका काम गर्न मजदुरी लगाउने गरेका देशरानीको भनाइ छ ।

‘हामीलाई खेती गर्न सहजताका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पावर टिलर, हजारी, क्यारेटलगायत सामग्री उपलब्ध गराएको छ’, देशरानीले भनिन्, ‘उक्त सहयोगले तरकारी खेती गर्न सहयोग मिलेको उनीहरू बताउँछन् ।’

एक वर्षमा तीन बाली सागसब्जी लगाउने उनीहरूले एक याममा प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म आम्दानी लिने गरेका देशरानीले बताइन् ।

धान, गहुँ खेती गर्नुभन्दा तरकारीबाट राम्रो भइरहेको उनीहरु बताउँछन् । समूहका अध्यक्ष मीना चौधरी समूहमा आबद्ध भएका महिलाहरूले तरकारीखेतीसँगै बाख्रापालन पनि गरिरहेको बताउँछिन् । ‘हामी हरेक महिलासँग तीनदेखि सात वटासम्म बाख्रा पनि छन्, तरकारी लगाउँदा घाँसको समस्या हुँदैन’, उनले भनिन्, ‘बाख्रापालनबाट आम्दानी ठीकै भएको छ ।’

यसअघि अधिकांश महिला घर खर्च चलाउन ज्यालादारी गर्थे । परम्परागत रुपमा आफूलाई खानका लागि खेती गर्ने यी महिलालाई सिँचाइ आयोजनाले प्रोत्साहन गरेपछि उनीहरू व्यावसायिक बनेका हुन् ।

‘सन्तानको पढाइ खर्च, घर खर्चका लागि निकै समस्या हुन्थ्यो’, मीनाले भनिन् , ‘आयोजनाले तालिम, प्रविधि, बीउविजन सबै क्षेत्रमा सघाएपछि हामी साजसब्जीबाट राम्रो आम्दानी लिन सफल भएका छौँ ।’

महिलाहरूले साजसब्जी खेती, बाख्रापालन, समूह परिचालनसँगै सामाजिक काम पनि गर्दै आएका छन् । उनीहरू समूहमा हरेक महिनाको छलफलमा समुदायका समस्याबारे छलफल गर्छन् ।

महिलाहरूले हरेक महिना बैठक बस्ने, समूहमा बचत गर्ने, बचत गरेर उठेको रकम सदस्यहरूलाई कृषि क्षेत्रमै खर्च गर्ने गरेको आयोजनाका प्रमुख भरत कँडेल बताउँछन् । ‘महिलाहरूले कृषि र पशुपालनमा राम्रो काम गर्नुभएको छ । आयोजनाको सहयोगलाई सदुपयोग गर्नुभएको छ’, उनले भने, ‘घरका लागि तरकारी, पोषण सुधारलगायत आम्दानी गरिरहनुभएकाले आयोजनाका लागि पनि खुसीको कुरा हो, यसरी उत्पादनशील कार्यमा लाग्नेलाई आयोजनाको निरन्तर सहयोग रहन्छ ।’

सिँचाइ आयोजनाले यी किसान महिलालाई बीउमा ५० प्रतिशत, विषादी तथा शुक्ष्मपोषण तत्वमा ७५ प्रतिशत तथा प्रविधि सहयोग गरेको छ ।

– रासस

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  २ : ०९ बजे

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका

चितवनमा रविले भने : अरू दललाई एक सीट पनि नदिनू, सबैलाई सडकमा पुर्‍याइदिनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गतेको

कुनै हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनलाई

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा (तस्बिरहरू)

काठमाडौं– राजधानी काठमाडौं आज शुक्रबार विश्वको सबैभन्दा प्रदूषित सहरहरू मध्ये