मधेशमा खाद्य बालीको भू-भाग घट्यो, उखुदेखि दालको उत्पादनमा कमी | Khabarhub Khabarhub

मधेशमा खाद्य बालीको भू-भाग घट्यो, उखुदेखि दालको उत्पादनमा कमी


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समयमा मधेश प्रदेशभित्र खाद्य तथा अन्य बालीले ओगट्ने क्षेत्रफल घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मधेश प्रदेशमा खाद्य तथा अन्य बालीले ओगटेको भू–भाग ४.५० प्रतिशतले घट्न पुगेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको अर्ध वार्षिक आर्थिक गतिविधि प्रतिवेदन २०२१-८२ (मधेश प्रदेश)अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म मधेश प्रदेशमा खाद्य तथा अन्य बाली लगाएको क्षेत्रफल आठ लाख ८८ हजार हेक्टर रहेको छ ।

प्रतिवेदनअनुसार २०८१ साउनदेखि पुससम्मको अवधिमा कोदोले ओगटेको क्षेत्रफल ७.५२ प्रतिशत, जौले ओगटेको क्षेत्रफल ७८.४० प्रतिशत, उखुले ओगटेको क्षेत्रफल १२.२७ प्रतिशत र आलुले ओगटेको क्षेत्रफल २.०३ प्रतिशतले वृद्धि भएको छ । 

तर, धान बालीले ओगटेको क्षेत्रफल २.३७ प्रतिशतले कमी भई ३ लाख ७४ हजार १ सय १७ हेक्टर, गहुँले ओगटेको क्षेत्रफल २.८८ प्रतिशतले कमी भई १ लाख ९१ हजार १ सय १३ हेक्टर र मकैबालीले ओगटेको क्षेत्रफलमा २.८५ प्रतिशतले कमी भई ५२ हजार ७ सय २५ हेक्टरमा सीमित भएको छ ।

तर, समीक्षा अवधिमा समीक्षा अवधिमा तरकारी तथा बागवानीले ढाकेको भू–क्षेत्रमा ८.८८ प्रतिशतले वृद्धि भई ६७ हजार १ सय ५६ हेक्टर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा तरकारी तथा बागवानीले ढाकेको भू–क्षेत्रमा १०.३२ प्रतिशतले वृद्धि भई ६१ हजार ६ सय ८० हेक्टरमा खेती भएको थियो । 

 तरकारी तथा बागवानीले ढाकेको भू–क्षेत्रफल महोत्तरी जिल्लामा सबैभन्दा बढी १५ हजार २ सय ५० हेक्टर अर्थात् मधेश प्रदेशको २२.७१ प्रतिशत र रौतहट जिल्लामा सबैभन्दा कम २ सय हेक्टर अर्थात् मधेश प्रदेशको ०.३० प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा फलफूल तथा मसला बालीले ढाकेको भू–क्षेत्रफलमा ९.३३ प्रतिशतले वृद्धि भई ५६ हजार २ सय ७५ हेक्टर पुगेको छ भने प्रदेशको समग्र कृषि बालीहरू (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) को कुल उत्पादनमा १.१७ प्रतिशतले वृद्धि भई ४७ लाख ५५ हजार ९ सय २२ मे.टन उत्पादन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बालीको कुल उत्पादनमा ५.०१ प्रतिशतले कमी आएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा सबैभन्दा बढी बारा जिल्लाको हिस्सा १७.०१ प्रतिशत र सबैभन्दा कम रौतहट जिल्लाको हिस्सा ८.२८ प्रतिशत रहेको छ । तरकारी तथा बागवानीतर्फ सबैभन्दा बढी हिस्सा महोत्तरी जिल्लाको २१.३४ प्रतिशत र सबैभन्दा कम हिस्सा सिरहा जिल्लाको ६.५१ प्रतिशत रहेको छ । 

फलफूल तथा मसालातर्फ सबैभन्दा बढी सप्तरी जिल्लाको हिस्सा ६१.३५ प्रतिशत रहेको छ । समग्रमा, यस प्रदेशमा धान उत्पादन १०.७० प्रतिशत, मकै उत्पादन ३४.८५ प्रतिशत र गहुँ उत्पादन २.२८ प्रतिशतले वृद्धि भएको छ भने उखु उत्पादन १६.८२ प्रतिशत, आलु उत्पादन ७.३० प्रतिशत, सुर्ति उत्पादन १२.५६ प्रतिशत र दलहन उत्पादन ४१.३९ प्रतिशतले कमी आएको छ ।

 दूध र मासुजन्य उत्पादनमा वृद्धि

समीक्षा अवधिमा मधेश प्रदेशमा दूध र मासुजन्य उत्पादनमा भने वृद्धि भएको देखिएको छ । सो अवधिमा मधेश प्रदेशमा दूधको उत्पादन ५.२७ प्रतिशतले वृद्धि भई ३ लाख ९२ हजार ७ सय ३४ लिटर, मासुको उत्पादन १.७१ प्रतिशतले वृद्धि भई ८९ हजार २ सय १८ मे.टन र छालाको उत्पादनमा ०.४८ प्रतिशतले वृद्धि भई ९५ लाख २४ हजार वर्ग मिटर, अण्डाको उत्पादन २.२० प्रतिशतले वृद्धि भई ५ करोड ३७ लाख ८० हजार र ऊन उत्पादनमा ०.९५ प्रतिशतले वृद्धि भई २ हजार ८ सय १७ के.जी. उत्पादन भएको छ । 

गत वर्षको अर्ध–वार्षिक अवधिमा दूधको उत्पादन १०.१३ प्रतिशतले, मासुको उत्पादन ५.४८ प्रतिशतले बढेको थियो भने अण्डाको उत्पादनमा १६.६५ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा कुल दूध उत्पादनमध्ये पर्सा जिल्लाको हिस्सा सबैभन्दा बढी ३१.२६ प्रतिशत रहेको छ भने धनुषा जिल्लाको हिस्सा सबैभन्दा कम ५.२३ प्रतिशत रहेको छ ।

२.४१ प्रतिशतले सिँचाइको क्षेत्रफल वृद्धि

समीक्षा अवधिमा मधेश प्रदेशको कुल सिञ्चित क्षेत्रफल २.४१ प्रतिशतले वृद्धि भई ३ लाख ३३ हजार ५ सय ५१ हेक्टर पुगेको छ । कुल सिञ्चित क्षेत्रफलमध्ये कुलोद्वारा सिञ्चित क्षेत्रफल ४.३१ प्रतिशतले वृद्धि भई १ लाख १३ हजार ६ सय ८३ हेक्टर, नहरद्वारा सिञ्चित क्षेत्रफल १.९३ प्रतिशतले वृद्धि भई १ लाख ६६ हजार ७ सय ३६ हेक्टर र बोरिङद्वारा सिञ्चित क्षेत्रफल ४५ हजार ७ सय हेक्टर पुगेको छ । 

गत वर्षको सोही अवधिमा समग्र सिञ्चित क्षेत्रफल १.१९ प्रतिशतले वृद्धि भएको थियो । सो अवधिमा नहरद्वारा सिञ्चित क्षेत्रफल २.४४ प्रतिशतले वृद्धि भएको थियो ।

 मधेशमा ६४ अर्ब बढी कृषि कर्जा प्रवाह

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा प्रवाहित कृषि कर्जा गत वर्ष सोही अवधिको भन्दा १०.३५ प्रतिशतले वृद्धि भई ६४ अर्ब ६२ रुपैयाँ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ५८ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । 

यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १३.२३ प्रतिशत रहेको छ । मधेश प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सर्लाही जिल्लामा प्रवाह भएको कर्जाको हिस्सा सबैभन्दा बढी अर्थात १६ प्रतिशत र सप्तरी जिल्लामा प्रवाह भएको कर्जाको हिस्सा सबैभन्दा कम अर्थात ८ प्रतिशत रहेको छ ।

साथै, सो प्रदेशमा समीक्षा अवधिसम्म सहुलियतपूर्ण कर्जा १० अर्ब ६४ करोड पुगेको छ । प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी १ अर्ब ८० करोड रुपैयाँ अर्थात् १७ प्रतिशत धनुषा जिल्लामा र सबैभन्दा कम ५८ करोड रुपैयाँ अर्थात् ५ प्रतिशत सप्तरी जिल्लामा रहेको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १० : ०७ बजे

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

जलेश्वर– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख