१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत | Khabarhub Khabarhub

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

सचिवालय भन्छ : जेनजी र अन्य थपिनुहुन्छ



काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि अहिलेसम्म सकेको छैन । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे पटक–पटक प्रधानमन्त्रीले मातहतका निकायसँग छलफल गरेपनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएको हो ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने सन्दर्भमा अहिले पनि बैठकहरू बसिरहेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल बताउँछन् ।

खानालका अनुसार अबको एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको छ । ‘तिहारअगाडि मन्त्र‍िपरिषद्लाई पूर्णता दिन पनि सकिन्छ । बिदा भएपनि कर्मचारीहरूलाई बोलाएर भएपनि गर्न सकिन्छ ।’ उनले भने, ‘लगभग तयारी भएको छ । सल्लाह गरिरहेका छौँ । एकै पटकमा पूर्णता दिनका लागि समय कुरेको हो ।’

उनले आएका व्यक्तिहरुको नामबाट ‘सर्टलिस्ट’ तयार गरेर मन्त्रपरिषदमा सदस्य थप्ने तयारी गरिरहेको बताए ।

प्रधानमन्त्रीले आगामी ४ गते मङ्गलबार सात शीर्ष दलसँग निर्वाचनबारे छलफल गर्ने कार्यसूची छ । त्यस कारण तिहार अगाडि मन्त्रिपरिषद् विस्तार गर्न उनलाई सकस देखिन्छ ।

यता, प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ लगायतका व्यक्तिलाई मन्त्री छान्ने जिम्मेवारी दिइएको छ । उनीहरूले नै मन्त्रीको नाम छलफल गरेर टुङ्ग्याउने कसरत गरिरहेका छन् ।

१५ जनाभन्दा बढी नबनाउने तयारीमा सरकार

प्रधानमन्त्री सुशीला कार्कीले केही समयअगाडि १०-१२ जनाभन्दा बढीको मन्त्रिपरिषद् नबन्ने उद्घोष गरेकी थिइन् । तर अहिले प्रधानमन्त्री १५ जनासम्मको मन्त्रिमण्डल बनाउने योजनामा रहेको उनी निकट स्रोत बताउँछ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार १० जना बनाएर मन्त्रालयको काम तीव्र गतिमा नहुने भन्दै १५ जनासम्मको मन्त्रिपरिषद् बनाउन लागिएको हो ।

‘सबैलाई समेट्नुपर्ने र मन्त्रालयको कामलाई पनि तीव्रता दिनुपर्ने भएका कारण १५ जना जतिको क्याबिनेट बन्ला ।’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘१५ भन्दा बढी त बनाउने तयारी छैन । सबैको नामबारे प्रधानमन्त्री छलफलमा हुनुहुन्छ । नाम फाइनल गर्न कुरा मिलेको छैन ।’

प्रधानमन्त्रीले गत आइतबार नै मन्त्रिपरिषदमा केही सदस्य थप गर्न खोजेकी थिइन् । तर एकैपटक सबैलाई समेट्ने भन्दै त्यो तयारी रोकिएको थियो ।

यसबारे खनालले भने, ‘लगभग तयारी भएको छ । केही कुरा मिलाउँदै छौँ । विवाद रहित व्यक्ति मन्त्रालयमा आउनुहुन्छ ।’

जेनजी र अन्य पनि थपिने

प्रधानमन्त्रीले समावेशी तरिकाले मन्त्रिपरिषद् विस्तार गर्न लागेको खनालको दाबी छ । उनी जेनजी र अन्य केही व्यक्ति पनि मन्त्रिपरिषदमा समावेश हुने बताउँछन् ।

‘यो सरकार जेनजीले बनाएको हो । उहाँहरूलाई पाखा लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी हाम्रो छैन । सम्बन्धित विषयमा पोख्त र अनुभवी व्यक्तिहरूलाई नै मन्त्रिपरिषदमा समावेश गर्ने योजना छ ।’ खनालले खबरहबलाई भने, ‘यति कुरा के हो भने समावेशी तरिकाको मन्त्रिपरिषद् बन्छ । सर्टलिस्टमा भएका मान्छेहरूसँग पनि कुराकानी गरिरहेका छौँ ।’

प्रधानमन्त्री निकट स्रोतका अनुसार नयाँ अनुहारलाई मन्त्रालयमा प्राथमिकता दिइने छ । यसका लागि छलफल भइरहेको छ ।
हाल मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित ८ जना छन् । त्यसमा जेनजी उमेर समूहका कुनै पनि व्यक्ति छैनन् । गत भदौ २३ र २४ गते जेनजीले आन्दोलन गरेका कारण कांग्रेस र एमालेको तत्कालीन सरकार ढलेको थियो । त्यस बेला राज्यका थुप्रै संरचनाहरू ध्वस्त भएका छन् ।

हरेक दिन छलफल

प्रधानमन्त्री मन्त्रिपरिषदलाई पूर्णता दिनका लागि हरेक दिन लामो समय छलफल गर्ने गरेको उनी निकट स्रोत बताउँछ । ‘एक साताबाट निरन्तर प्रयास भएको छ । फाइनल भएको छैन । हरेक दिनजसो लामो समय छलफल भइरहेको छ ।’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘सर्टलिस्टबारे अध्ययन भइरहेको छ । तयारी पूरा भएको छैन । जेनजीहरुसँग पनि छलफल भइरहेको छ ।’

सोमबार पनि मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ ।

कहाँ अड्कियो हलो ?

निकट व्यक्तिहरूकाअनुसार जेनजीहरु विभाजित हुँदा पनि मन्त्रिपरिषद् विस्तार हुन पाएको छैन । जेनजी समूहबीच विवाद उत्पन्न हुँदा मन्त्रिपरिषद् विस्तारमा गाँठो आइलागेको छ ।

‘एउटाको नाम फाइनल भयो भने उसको नाममा विवाद निकालिन्छ । अर्कोको फाइनल गर्‍यो, त्यसमा पनि विवाद निकाल्छन् । यसै कारण पूर्णता हुन सकेन ।’ स्रोतले भन्यो, ‘जेनजी प्रतिनिधिहरूमा एकरूपता नहुँदा पनि समस्या भएको छ । उहाँहरूले आफ्ना प्रतिनिधि छाने छिटो काम हुन्छ । र, सरकारले पनि काम गर्न पाउँछ ।

यता प्रधानमन्त्री कार्की पनि मन्त्रीपरिषद् पूरा नभएर पफर्मेन्स दिन नसक्दा चिन्तित भएको उनी निकट बताउँछ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ७ : १२ बजे

चौतारीका दुवै गणेशले भने : एमालेमा केपी ओलीको विकल्प छैन

काठमाडौं– प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) का

ओलीलाई पोखरेलको चुनौती : भदौ २३ पछि देशको परिस्थिति फेरियो, महाधिवेशनमा नयाँ बहस हुनुपर्छ

काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३

विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

काठमाडौं– अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको

भोजपुर–काठमाडौं हवाई उडान थपिँदा बिरामीलाई सहज

भोजपुर– नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौं हवाई उडान थप गरेपछि जिल्ला

अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल–  पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्फोटक