भीम रावललाई निकालेपछि गरिँदै एमाले अछामको अधिवेशन, धेरै आकांक्षी हुँदा सहमति जुटाउन सकस | Khabarhub Khabarhub

भीम रावललाई निकालेपछि गरिँदै एमाले अछामको अधिवेशन, धेरै आकांक्षी हुँदा सहमति जुटाउन सकस


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

धनगढी- विशेष परिस्थिति भनेर करिब एक वर्षदेखि रोकिएको नेकपा (एमाले) अछाम जिल्ला कमिटीको अधिवेशन वैशाख १३ गते हुने निश्चित भएको छ ।

नवौँ जिल्ला अधिवेशनका लागि वैशाख १३–१५ गतेको मिति यसअघि नै तय भइसकेको छ । अछाम अधिवेशनलाई जिल्लाभित्र र बाहिरबाट पनि विशेष चासोसाथ हेरिएको छ । 

अधिवेशनका लागि जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि छनोट भइसकेका छन् । अधिवेशनमा आयोजक जिल्ला कमिटीसहित करिब ५ सय प्रतिनिधि सहभागी हुने अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिए । अछाम अधिवेशनको चर्चा नयाँ नेतृत्व चयनले मात्रै महत्व राख्ने छैन । अछाम एमालेको इतिहासमा पहिलो पटक डा. भीम रावलबिनै अधिवेशन हुन लागेको छ ।

एमालेका पूर्व केन्द्रीय उपाध्यक्ष रावल यतिबेला मातृभूमि जागरण अभियानमा सक्रिय छन् । उनलाई २०८१ पुस १० गते बसेको एमाले सचिवालय बैठकले निष्कासन गरेको थियो । त्यसपछि पुस १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले मातृभूमि जागरण अभियान घोषणा गरेका थिए ।

एमाले केन्द्रीय सचिवालय बैठकले रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । लगत्तै रावलले आफ्नो नेतृत्वमा मातृभूमि जागरण अभियान थालेका थिए । केही हप्तादेखि त्यो अभियान पनि सुस्ताएको छ । उनले अहिलेसम्म नयाँ पार्टी निर्माणलाई पनि मूर्तरुप दिन सकिरहेका छैनन् ।

यता प्रतिनिधि व्यवस्थापनदेखि अधिवेशन उद्घाटनको तयारीमा अछाम एमाले लागिरहेको छ । हुने-नहुने दोधारमै रहेको जिल्ला अधिवेशनका लागि केन्द्रीय सर्कुलरबाट मिति तोकिएको थियो । रावललाई एमालेले कारबाही गरेपछि नारा जुलुसदेखि विरोधसम्मका गतिविधि हुने र कार्यक्रम बिथोलिने परिस्थितिको आँकलन गरेर केही समय स्थगित गरिएको थियो ।

सुदूरपश्चिमका आठ जिल्लामा यसअघि नै अधिवेशन भइसकेको छ । अछाममा पनि अधिवेशनको माहोल बनेको अध्यक्ष बोहोराले बताएका छन् । ‘बाहिर हल्ला गरिएजस्तो कुनै परिस्थिति छैन । मूलधार छोडेर जाने, पार्टी नेतृत्व र विचारविरुद्ध विद्रोह गर्ने अवस्था नरहने वातावरण बनाउन लागिरहेका छौँ’, उनले भने ।

केही सङ्ख्यामा थपघट हुनु, नारा जुलुस गरिनु, सामाजिक सञ्जालमा आक्रोश देखिनुबाहेक कुनै प्रभाव नदेखिएको उनले बताए । अधिवेशन लागेपछि माहोल झनै सुधार भएर गएको एमाले अछामको निष्कर्ष छ ।

सातजना बढीले नयाँ अध्यक्षमा मात्रै उम्मेदवारी दाबी गर्नु, १० जना बढीले सचिव र अन्य पदाधिकारीका इच्छुको संख्या देखेर नै अछाम एमालेमा नयाँ रौनक आएको बोहोरा बताउँछन् ।

रावललाई कारबाहीपछिको पहिलो जिल्ला अधिवेशन भएकाले यसको चर्चा केन्द्रसम्मै छ । पार्टी अध्यक्ष केपीशर्मा ओलीलाई नै अछाम जिल्ला कमिटीले आमन्त्रण गरेको छ । तर उनी नआउने भएपछि अन्य पदाधिकारीबाटै उद्घाटन गराउने आन्तरिक योजना अछाम एमालेको छ ।

उद्घाटन समारोहलाई भव्य बनाउने तयारीमा जुटिरहेको अछाम एमालेका सचिव भीम रावल कालोटोपीले बताएका छन् । नयाँ जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष बोहोरा र उपाध्यक्ष रावल दुवै बलिया उम्मेदवार हुन् । दुवैले आकांक्षा देखाएका छन् ।

तीबाहेक पूर्व प्रदेश कमिटी सदस्य शिवप्रसाद उपाध्याय, बमबहादुर बीसी, हिरण्ड भट्टराई, डीबी साउद, शिक्षकबाट राजीनामा दिएका जिल्ला कमिटी सदस्य तिलक कुँवर पनि आकांक्षी छन् । सातजनाको दाबेदारी अध्यक्षमा देखिँदा उपाध्यक्ष, सचिव र उपसचिवमा पनि आकांक्षीको संख्या दोब्बर छ ।

सबै नेताहरु आफूले नै नेतृत्व पाउनुपर्ने गरि केन्द्रीय नेतासँगको लविइङमा छन् । अहिलेको परिस्थितिमा चुनाव नगरि सर्वसम्मत गर्न केन्द्रीय नेताहरूको सुझाव छ । तर सहज वातावरण देखिँदैन । वर्तमान अध्यक्षसहित सचिवहरूले नै सहमति र चुनाव दुवै स्वीकार गर्नुपर्ने मनस्थिति बनाएका छन् । अध्यक्ष दोहोरिँदा अहिलेकै सेटमा सामान्य फेरबदल गरेर घोषणा गरिनुपर्ने पक्षमा पनि एउटा समूह देखिएको छ । 

नेतृत्व फेरिनु पर्ने दाबी एकातिर भइरहँदा अर्कोतर्फ अफ्ठ्यरो र संकटमा पार्टीका लागि मरिमेट्नेलाई बिदाइ गरेर अरुलाई सहजै अवसर दिन नसकिने तर्क अर्कोपक्षले गरिरहेको छ । नेतृत्व सर्वसम्मत हुनुपर्ने तर्कसहित, भेग, भूगोल र योग्यता क्षमतालाई पनि सम्बोधन हुने गरि ल्याउँदा राम्रो हुने सुझाव एमाले अछामकी नेतृ एवम् बान्नीगढी गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले दिएकी छन् । रावल आफैँ उपसचिवकी दाबेदार हुन् ।

अछाममा दुई निर्वाचन क्षेत्र छन् । भूगोलले पनि दुई भागमा बाँडिदिएको छ । पदीय भागबण्डा पनि त्यसैअनुरुप गर्नुपर्नेमा धेरै नेताहरूको जोड छ । विभाजनको अवस्थामा सबै एक भएर जानु पर्ने सुझाव अध्यक्षका उम्मेदवारसमेत रहेका एमाले नेता हिरण्ड भट्टराईको छ । सर्वसम्मत नेतृत्व चयनमा आफू मात्रै बाधक नबन्ने तर सबैलाई न्याय र अवसर दिनु पर्ने मान्यतामा भट्टराई देखिन्छन् । 

नयाँ युवा नेताहरूले पनि अछामको निराशा माथि उकास्ने गरि जिम्मेवारी दिनुपर्ने र नेतृत्व छनोट गरिनुपर्ने सुझाव दिइरहेका छन् । अधिवेशन आउन हप्तादिन मात्रै छ । नेताहरू आ-आफ्नै लबिइङमा छन् । भीम रावलतिर जोडिएका नेता कार्यकर्तालाई ल्याउने आन्तरिक रणनीतिमा पनि एमाले देखिन्छ । तर त्यो तत्काल सम्भावना भने देखिँदैन । 

अधिवेशनकै मुखमा आइतबार मात्रै ७७ जना बढी सक्रिय कार्यकर्ताले एमाले परित्याग गरेर रावलको मातृभूमि जागरण अभियानमा जोडिएका गरेका छन् । अधिवेशनका लागि अछाम एमालेमा उत्साह भने छ । जिल्ला बाहिरका सबै नेता कार्यकर्ता यतिबेला अछाम केन्द्रित बनेका छन् । 

५१ वर्ष एमालेको सक्रिय राजनीति गरेर अछामसहित सिंगो सुदूरपश्चिम आफ्नो पकडमा राखेका डा. रावलबिना नै अछाम एमाले अधिवेशनमा जुटेपछि पार्टीभित्र र बाहिर दुवैतिरबाट विशेष चासो देखिन्छ । 

कारबाहीमा परेपछि रावल माघ ३ गते गृहप्रदेश धनगढी पुगेका थिए । विमानस्थलबाटै उनी अछाम आए । माघ ४ गते बिहान गृहजिल्लाको गृहपालिका साँफेबगरमा पहिलो कोण सभा गरे । त्यसपछि करिब महिना रावलले अछाममै बिताए ।

राजनीतिक भेटघाट गरे । साँफेबगर, मेल्लेख र चौरपाटीका वडाहरुमा संगठनका वटा र पालिका कमिटी पनि गठन गरे । तर त्यो खासै प्रभावकारी हुन सकेको छैन ।

२०७८ पुसमा एमाले अछामको अधिवेशन भएको थियो । त्यसबेला पनि सहमति हुन सकेन । सिंगो कमिटीका लागि चुनाव भयो । १ सय ५ सदस्यीय जिल्ला कमिटी बन्यो । त्यसमा भीम रावल पक्षबाट ४६ जना निर्वाचित भए । उपाध्यक्ष, सचिव र एक उपसचिव पनि रावल पक्षबाटै जिते । त्यो निर्वाचित कमिटी अहिले पनि छ । ती १ सय ५ जना मध्ये १० जना मात्रै रावलको पक्षमा देखिएका छन् । 

जिल्ला कमिटी अछामको विश्वस्त श्रोतका अनुसार १० जना मध्ये ९ जना साँफेबगर नगरपालिकाका छन् । जो रावलको गृह पालिका हो । एकजना बाहिरका छन् । पदाधिकारी कोही पनि रावलको पक्षमा उभिएनन् । भेटघाट गरे, समर्थन मागे । घरमै बोलाए, तर कोही टसमस भएनन् । त्यसकारण रावल नहुँदा पनि अछाम एमालेमा व्यापक माहोल देखिएको नेताहरू बताउँछन् ।

अहिलेको अवस्था हेर्दा समग्र अछाममा १० देखि १५ प्रतिशत र रावलको गृहपालिकामा ४० प्रतिशत एमालेभित्र समर्थन रावलको पक्षमा देखिन्छ । त्यो पनि सुरुमा जस्तो अहिले छैन । रावलबिनाकै माहोल लोभलाग्दो अवस्थामा पुगेको नेताहरूको तर्क छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  २ : ४८ बजे

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै