काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो एमाले कार्यकर्ताहरूले भरिभराउ थियो । टेन्टमुनि उत्तरतिर फर्काएर बनाइएको मञ्चमा देखिएका अनुहार हेर्दा त्यहाँ नेकपा एमालेको ठूलै कार्यक्रम भइरहेको प्रतीत हुन्थ्यो । उक्त मञ्चमा एमाले नेतृत्वको एउटा पंक्ति खडा भइदिएपछि अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट पंक्तिमा एकखालको उत्साह देखियो ।
मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउन भनेर मदन भण्डारी फाउन्डेशनले काठमाडौं महानगरपालिकाका पूर्वउपप्रमुख विदुर मैनालीको उक्त रातो घर भाडामा लिएको भनिए पनि खासमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक गतिविधिको केन्द्र हुँदैछ ।
रातो घरको आँगनमा उत्तर दिशातर्फ फर्काएर बनाइएको उक्त मञ्च अगाडि एमालेको एउटा पंक्तिले भरिँदा छिमेकको घरको आँगनमा समेत ठूलो भिड थियो ।
भण्डारीलाई साथ दिन जम्मा भएको एमाले कार्यकर्ताहरूको त्यही समूहलाई मदनको ७५ औँ जन्मजयन्ती समारोहका अध्यक्ष एवम् बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले अन्तिममा सम्बोधन गरे। उनले फाउन्डेशन शक्ति प्रदर्शनको केन्द्र नभएको बताउँदै यदि चाहेको भए यस्ता दुई-चार अरू आँगन भर्ने गरी मान्छे उतार्न सकिन्थ्यो भनेर एमाले नेतृत्वलाई चुनौती दिए ।
‘हामी जननेता मदन भण्डारीलाई सम्झिने योजनासहित यहाँ उपस्थित भएका छौँ । हामी उहाँको जन्मजयन्ती भव्य बनाउन चाहन्छौँ’, उनले सभापतिको आशनबाट अन्तिममा सम्बोधन गर्दै भने, ‘हामीले चाहेको भए यस्ता अरू दुईचार आँगन भर्ने गरी मान्छे उतार्न सक्थ्यौँ । तर हामी त्यसो गर्न चाहँदैनौँ । हामी जननेताको जन्मजयन्ती मनाउँदैछौँ । यो कार्यक्रम कसैलाई चुनौती दिन भनेर आयोजना गरिएको पनि होइन । कसैले त्यसरी बुझ्छ भने त्यो गलत हुनेछ ।’
त्यो रातो घरको आँगनलाई नै आधार बनाएर वि.सं. २०४८ सालको आमनिर्वाचनमा जननेता मदन भण्डारी विजयी भएका थिए । विद्याले पनि २०५० सालमा मदनको अप्रत्यासित निधन भएपछि २०५१ सालको निर्वाचन त्यही घरलाई कार्यालय बनाएर चुनावमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले पनि रातोघरलाई चुनावी कार्यालय बनाएर कृष्णप्रसाद भट्टराईलाई हराएकी थिइन् ।
उनी करिब ३१ वर्षपछि बिहीबार त्यही रातो घरमा रिवन काटेर प्रवेश गरिन्। त्यसपछि बारदलीमा चढेर हात हल्लाइन्, जसरी बालकोटको बारदलीबाट केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हात हल्लाएका थिए ।
दुई कार्यकाल राष्ट्रपति भएर बिदा भएकी एमालेकी पूर्वउपाध्यक्ष भण्डारी अध्यक्ष केपी शर्मा ओलीसँग लामो राजनीतिक लिगेसी भएकाले सजिलै पार्टीमा फर्किन सक्ने हिसाब गरेर बसेकी थिइन् । त्यहीअनुसार उनले २०८१ वैशाखमा एमालेको सदस्यता नवीकरण पनि गरिन् । सदस्यता नवीकरण गरेपछि एमालेको यात्रा सुरू भएको ठानेकी उनले गत असार १४ गते राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउन्डेशनकै कार्यक्रममा राजनीतिमा सक्रिय भएको घोषणा गरिन् ।
उनले एकातिर फाउन्डेशनकी अध्यक्ष एवम् पुत्री उषाकिरण र अर्कातिर एमाले अध्यक्ष ओलीलाई राखेर यो घोषणा गरेकी थिइन् । तर उनको उक्त घोषणा उनकै लागि प्रत्युत्पादक बन्यो ।
आफुना प्रतिस्पर्धीलाई एकपछि अर्को गर्दै पाखा लगाएका ओलीले राजनीतिमा फर्किने घोषणा गरेकी भण्डारीको हकमा पनि त्यही कुरा अपनाए । साउन ५-६ गतेको केन्द्रीय कमिटी बैठकबाट ओलीले भण्डारीको नवीकरण भइसकेको सदस्यता खारेज गरिदिए । एमालेले राष्ट्रको सम्मानित व्यक्ति त्यही हैसियत बस्नुपर्ने निर्णय पनि गर्यो ।
तर एमालेको उक्त निर्णयलाई उनले साउन ९ मा पत्रकार सम्मेलन गरेर चुनौती दिइन् । आफ्नो सदस्यता एमालेमा कसैले खोस्न नसक्ने अडानसहित उनले चुप नलाग्ने घोषणा गरिन् । त्यसबीचमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा आएका नेताहरूलाई बोलाउँदै भण्डारीका लागि पार्टीका कुनै पनि मञ्च नदिन कडा निर्देशन दिइसकेका थिए ।
त्यसपछि साउन २३ मा ओलीले आफ्नै राजनीतिक विरासत जोडिएको मदन भण्डारी फाउन्डेशनको विकल्पमा दुई वर्षदेखि निष्क्रय मदन-आश्रित स्मृति प्रतिष्ठान ब्यूँत्याए । उक्त प्रतष्ठान ब्युँत्याउने नाममा आयोजित च्यासलमा आयोजित शपथ कार्यक्रममा ओलीले मदन भण्डारी फाउन्डेशनलाई पाखण्डीको संज्ञा दिँदै विद्या र उनी पुत्री उषाकिरणमाथि गम्भीर आरोप लगाए ।
फाउन्डेशन आफ्नो हातबाट फुत्केर विद्याको पोल्टामा पुगेपछि रिसाएका ओलीले आफूनिकट उपमहासचिव प्रदीप ज्ञवालीलाई प्रतिष्ठानको अध्यक्ष बनाएका छन् ।
ओलीले फाउन्डेशनलाई एमालेले नबनाएको बताउँदै त्यसको अपनत्व लिन अस्वीकार गरेपछि कार्यालय नै खोलेर मैदानमा उत्रिने निर्णय गरेकी विद्याले बिहीबार जवाफ फर्काउनुअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बोले ।
साउनको केन्द्रीय कमिटीअघि असार अन्तिममा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीसँग चर्काचर्की गरेका उनले भण्डारीलाई ढाडस दिए । उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई ‘मौसमी’ भनेर बुझ्न नहुने स्पष्ट पार्दै भने, ‘टोपी लगाउने मात्रै विचारका संवाहक होइनौँ, जबजलाई व्यवहारमा उतार्न सक्षम हुनु पर्दछ ।’
उनले जबज मार्क्सवादको विकासक्रमबाट बनेको विचार भएको भन्दै यसका पक्षमा उभिँदा चुनौती आउनु स्वाभाविक रहेको उल्लेख गरे। ‘चुनौती सधैँ आउँछन्। त्यसको सामना गर्नुबाहेक अर्को विकल्प छैन,’ पोखरेलले भने।
उनले एमालेको तर्फबाट कुरा राख्दै भोग्नुपर्ने अप्ठ्यारा र चुनौतीलाई स्वीकार्दै अघि बढ्न पनि विद्या भण्डारीलाई सुझाव दिए । उनले ढाडस दिँदै भने, ‘चुनौती आए, अबगाल लगाए भनेर मनोबल कमजोर नबनाउनू। हामी चुनौती सामना गरेर नै यहाँसम्म आएका हौँ ।’
उनले यसो भनेर ओलीले च्यासलबाट फाउन्डेशन र पूर्वउपराष्ट्रपतिमाथि लगाएका आरोपको प्रतिवाद प्रयास गरे । पोखरेलले बोल्दै गर्दा मञ्चमा एमालेका एकजना उपाध्यक्ष युवराज ज्ञवाली आइसकेका थिए । पोखरेलको सम्बोधन सकिँदै गर्दा एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि मुस्कुराउँदै टुप्लुक्क आइपुगे ।
खासमा फाउन्डेशन र यो कार्यक्रमका आयोजक ईश्वर पोखरेल मात्रै आउने तर अरू नेता नआउने अनुमान गरेर बसेका थि । तर वरिष्ठसहित तीनजना उपाध्यक्षको उपस्थितिले विद्या पक्षधर उत्साहित देखियो । कार्यक्रमस्थलमा भेटिएका एमाले केन्द्रीय सदस्य भन्दैथिए, ‘हामीले केपी शर्मा ओलीलाई अध्यक्षबाट बिदा हुनुपर्छ भनेकै होइन । विद्या भण्डारीको पार्टी सदस्यता स-सम्मान नवीकरण गरिनुपर्छ भनेको मात्रै हो । बरू हामी त एमालेको नेतृत्व दोस्रो पुस्तामा जानुपर्ने वकालत गरिरहेका छौँ ।’
कार्यक्रममा आधा दर्जनभन्दा बढी एमाले केन्द्रीय सदस्य पुगेका थिए । विद्यालाई सुरुदेखि नै साथ दिएका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र मोरङका पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल त्यहाँ हुने नै भए ।
को को देखिए ?
ईश्वर पोखरेल- वरिष्ठ उपाध्यक्ष, एमाले
सुरेन्द्र पाण्डे- उपाध्यक्ष, एमाले
युवराज ज्ञवाली- उपाध्यक्ष, एमाले
कर्णबहादुर थापा- स्थायी कमिटी सदस्य, एमाले
विनोद ढकाल- पूर्वकेन्द्रीय सदस्य, एमाले
रमेश पौडेल- केन्द्रीय सदस्य, एमाले
सरिता न्यौपाने- केन्द्रीय सदस्य, एमाले
कृष्णप्रसाद दाहाल- केन्द्रीय सदस्य, एमाले
कैलाश ढुंगेल- बागमती प्रदेश, अध्यक्ष
बाबुराम गौतम- केन्द्रीय सदस्य, एमाले
प्रकाश पौडेल- अनेरास्ववियुका पूर्वनेता
सुमन पुरी- युवा संघका पूर्वनेता
राजेश राई- प्रेस चौतारी पूर्वनेता
रोशन बस्नेत- युवासंघ, पूर्वनेता
पुन्य ढकाल, पेशागत महासंघका अध्यक्ष
विकास लम्साल, संविधानसभा सदस्य
कृष्णप्रसाद दाहाल, नेता
सानुकुमार श्रेष्ठ,बागमतीका पूर्वसभामुख
युवराज कार्की, पूर्वमन्त्री एवम् केन्द्रीय सल्लाहकार
विदुर मैनाली, पूर्वउपमेयर, काठमाडौं
नेताहरूको सोचेभन्दा उत्साहपूर्ण सहभागिताले साउन ९ मै आफूलाई एमालेको पूर्वउपाध्यक्षमा फर्किएको घोषणा गरेकी भण्डारी आफ्नो मन्तव्यमा पनि जोशिली देखिइन् । उनले आफ्नो मन्तव्यमार्फत् एकसाथ ओलीदेखि सरकार र अन्य राजनीति दलहरूलाई समेत आक्रमण गर्न भ्याइन् ।

पूर्वराष्ट्रपति भएकाले पनि यसअघि उनी लिखित भाषण गर्थिन् । लिखित भाषणमा उनको प्रस्तुति फितलो र कमजोर हुने गरेको थियो । तर बिहीबार मौखिक भाषण देखिँदा उनमा एमालेकी पूर्वउपाध्यक्षको जोशीलो रूप देखियो । उनले त्यहाँ एमालेको निर्णय, राजनीति दलहरूमा समस्या, बढ्दो भ्रष्टाचार र बिग्रँदो अर्थतन्त्रबारे पनि बोलिन् ।
उनले एमाले नेतृत्वकै सरकार हुँदा पनि खुट्टाले टेकेर हिँड्नुपर्ने अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको कडा टिप्पणी गरिन् । अहिले ओली नेतृत्वको सरकारमा अर्थमन्त्री विष्णु पौडेल छन् । केही समय अघिसम्म भण्डारीकै साथमा रहेका पौडेलले ओलीसँगको वार्तापछि कोल्टे फेरेको चर्चा एमालेजनमाझ बाक्लो छ।
उनले राजनीतिक दलहरू मुलुकमा सुशासन कायम गर्न असफल भएको तिखो टिप्पणी गरिन् । उनले यसो भनिरहँदा दुईतिहाइ बहुमतसहित नेकपा एमाले र नेपाली कांग्रेस सत्ताधारी छन् । भण्डारीले अहिलेको संसद्लाई निरीह बनाइएको भन्दै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीतिर निशाना साँधिन् ।
उनको आक्रोशको अर्को विषय थियो संविधान संशोधन । २०८१ असार १७ गते सात बुँदे सहमतिमार्फत् सत्तारोहण गरेका दुई ठूला दलको मूल एजेन्डा नै संविधान संशोधन थियो । तर आजका दिनसम्म संशोधनको मुद्दामा छलफल नै हुन नसकेको भन्दै भण्डारीले कटाक्ष गरिन् । उनले भ्रष्टाचार मुद्दा र सहकारी ठगीमा निलम्बनमा परेका माधवकुमार नेपाल र रवि लामिछानेलाई सहानुभूति प्रकट गरिन् । भ्रष्टाचार या अन्य आरोप लाग्दैमा जनप्रतिनिधिलाई निलम्बन गर्नुलाई उनले गलत भनिन् ।
एमालेमा जनताको बहुदलीय जनवादको भविष्य अनिश्चित भइरहेका बेला पूर्वराष्ट्रपति भण्डारीले त्यसबारे पनि बोलिन् । एमालेले भदौ तेस्रो साता गर्न लागेको विधान महाधिवेशनका लागि सार्वजनिक पोस्टरमा नेकपाका संस्थापक नेताहरूको तस्बिर गायब छ । पुष्पलाल, मनमोहन र मदन भण्डारीको फोटो गायब बनाएर ओलीको मात्रै राखिएको छ । यसलाई लिएर एमालेले जबज छाड्ने अड्कलबाजीबीच उनले मार्गदर्शन सिद्धान्तको रूपमा जबजको मर्म र भावनाअनुरुप काम गर्नुपर्ने बताइन् ।
भण्डारीले नवीकरण गरिसकेको आफ्नो संगठित सदस्यतामाथि नै च्यासलले प्रश्न उठाएको भन्दै आक्रोश पोखिन् । साउन ५-६ को केन्द्रीय कमिटी बैठकले उनको संगठित सदस्यता खोसिदिएको थियो । तर उनले २०३७ सालमा लिएको सदस्यता कसैले खोस्न नसक्ने बताइन् । एमालेले सदस्यता नदिए पनि पार्टी कार्यकर्ताका रुपमा आफूलाई सक्रिय हुन कसैले नरोक्ने सन्देश थापागाउँबाट च्यासललाई दिइन् । लामो समयदेखि एमालेमा सक्रिय रहेको बताएकी उनले पार्टीकै निर्देशनमा राष्ट्रपति बनेकाले अब घर फर्किन खोज्दा रोक्न खोजिएकोमा आपत्ति जनाइन् ।
उनले आफूलाई जिम्मेवारी दिए पनि नदिए पनि संघर्ष सुरू गरिसकेको बताइन् । उनले सदस्यता रोक्ने कदमविरुद्ध रोष प्रकट गर्दै ओलीविरुद्ध आफ्नो संघर्ष सुरू भइसकेको संकेत पनि त्यही मञ्चबाट गरिन् ।
भण्डारीले पूर्वी जिल्लाबाट एमालेको वीजारोपण भएको बताउँदै ४५ वर्ष लामो इतिहास कसैले मेट्न नसक्ने जिकिर गरिन् । ‘म राजनीतिक दलसँग आबद्ध हुँदा नेकपा एमाले जन्मिसकेको थिएन’,उनले भनिन्, ‘म भोजपुरमा जन्मिएँ, धनकुटामा रातो झण्डा भन्ने एउटा समूह थियो, हामी त्यसको सम्पर्कबाट अघि बढेका हौँ, पछि कोर्डिनेशन केन्द्र जन्मियो, त्यो विस्तारै त्यो माले भयो, राष्ट्रपति हुँदा ३५ वर्ष भएको थियो, अहिले ४५ वर्ष बितेछ।’
उनले आफू नमर्दासम्म एमालेकै कार्यकर्ता रहने अठोट सुनाइन् । ‘हुन त मेरो सदस्यताबारे प्रश्न उठेको छ, नेता साथीहरू भन्छन्, मेरो संगठित सदस्यतामै प्रश्न उठायो च्यासलले’, उनले भनिन्, ‘यसबारे म के भन्न चाहन्छु भने एमाले अहिले भयो, तर मैले मालेकालदेखि नै सदस्यता लिएँ, ०३७ सालमै लिएको आज ४५ वर्ष भएछ, राष्ट्रपतिको शपथ खाँदा ३५ वर्ष भएको थियो।’
च्यासललाई मोरङबाट चुनौती
खासमा पूर्वराष्ट्रपति भण्डारीको यो तहको उत्साह मोरङ पुगेपछि देखिएको हो । राष्ट्रपतिबाट बिदा भएपछि सोमबार चौथो पटक कोशी प्रदेशको राजधानी टेक्दा उनलाई एमालेकै नेता कार्यकर्ताले लर्को लागेर विमानस्थलमा स्वागत गरे।
एमालेले साउन १२ गते जारी गरेको अन्तर पार्टी निर्देशनमा यदि भण्डारीलाई कहीँ कतै स्थान दिइए कारबाही हुने चेतावनी दिइएको थियो । तर एमालेमा ओली संकटमा पर्दा साथ दिएको मोरङ भण्डारीका लागि पनि दाहिने भएर उभिएको छ।
ओलीकै कुनै बेलाका प्रिय पात्र बिनोद ढकालको कमान्डमा रहेको मोरङले भण्डारीका लागि टेक्ने र समात्ने दुवै ठाउँ एकसाथ दियो । ओली पक्षले सारा शक्ति लगाएर रोक्न खोज्दा पनि उनी मंगलबार दिउँसो एमाले मोरङको कार्यालयमा पुगिन् । जहाँ उनलाई नेता ढकाल, एमाले मोरङका अध्यक्ष अजम्बर राईसहितले स्वागत गरे। भण्डारी २०७२ यता पहिलो पटक एमाले मोरङको कार्यालय छिर्दा एमाले कार्यकर्ताले भरिभराउ थियो ।
रोचक त के छ भने ढकाल नेतृत्वको समूहले देशभर हाबी भएको ओली पक्षलाई किनारामा पारिदिएको छ । प्रदेश अध्यक्ष घनश्याम खतिवडा र विराटनगर महानगर इन्चार्ज परशुराम बस्नेतले सारा शक्ति लगाएर रोक्न खोज्दा पनि मोरङ एमालेको कार्यालय छिरेकी भण्डारी त्यहीँको उत्साह लिएर बिहीबार थापा गाउँमा आक्रमक रुपमा प्रस्तुत भइन् ।
त्यसै पनि मोरङ जननेता मदन भण्डारीको राजनीतिक विरासत जोडिएको जिल्ला हो । ताप्लेजुङमा जन्मिएका मदनको परिवार २०२४ सालमा मोरङको इटहरा झरेको थियो । उनको राजनीतिक विरासत जोडिएको मोरङबाटै विद्याले पनि शक्ति आर्जनको कोसिस गरिन् ।
मोरङमा उनको प्रवेशले अब एमालेका अन्य कार्यालय र कार्यक्रममा पनि सहभागी हुने ढोका खोलिदिएको छ ।अर्थात्, साउन ६ गते च्यासलले बन्द गरिदिएको ढोका मोरङमा पुगेर खोल्न सफल भएपछि विद्यामा उत्साह देखिएको छ। उनले त्यही उत्साहलाई थापागाउँबाट प्रकट गर्दै एमाले कार्यकर्ताका रुपमा ओलीविरुद्ध दुई लाइन संघर्ष चर्काउने घोषणा गरिन् ।

मोरङ उनका लागि कसरी अनुकुल भयो भने अध्यक्ष ओली नेतृत्वको गुट त्यहाँ नराम्ररी पछारिएको छ । मोरङ जिल्ला अधिवेशन र विराटनगर महानगरको अधिवेशनमा पनि ओली पक्ष अल्पमतमा छ ।
एमाले मोरङको दशौँ महाधिवेशनमा विजयी नेता ढकालको प्यानलले संस्थापनको कुरा नसुनी विद्याला साथ दियो । कुनै समय गोकुल बास्कोटा र ढकाल ओलीका प्रिय पात्र थिए । ओली संकटमा हुँदा साथ दिने यी दुवै नेता जिल्ला अध्यक्ष थिए । तर अहिले ढकाल भण्डारीतिर खुलेको लामो समय भएको छ भने बास्कोटा पनि ओलीको साथमा छैनन् ।
उनै ढकालले एमाले कोशीको अध्यक्षमा पराजित भएपछि मोरङमा आफ्नो गुट बनाए । जुन गुटबाट मोरङ अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा र सचिवमा सोमराज थापासहित अधिकांश पदाधिकारी निर्वाचित भए । विराटनगर महानगर कमिटी पनि यही समूहले कब्जा गर्यो । मोरङ त्यस्तो स्थान हो, जहाँ कोशीका अधिकांश जिल्लाको जमघट हुन्छ । धेरैवटा निर्वाचन क्षेत्र भएको मोरङको चुनावी परिणामले देशभर असर गर्ने क्षमता राख्छ ।
साउन ९ गते बबरमहलमा पूर्वराष्ट्रपतिले पत्रकार सम्मेलन गर्दा पनि देखिएका नेता ढकाल बिहीबार थापागाउँमा पनि देखिए । मोरङले भण्डारीलाई उत्साहित बनाउनुको अर्को कारण हो कोशी प्रदेशका मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीसँगको भेट । उनलाई सोमबार राति कार्कीसहित एमालेका सबै मन्त्रीले बिग होटलमा पुगेर भेटे । ओलीकै गृहजिल्ला झापाका कार्कीले क्याबिनेटका सदस्यसहित करिब ३ घण्टासम्म पूर्वराष्ट्रपतिलाई भेटेर कुरा गरेका थिए ।
मुख्यमन्त्री कार्कीले भण्डारीलाई भेटेपछि एमालेमा नयाँ तरंग ल्याएको छ । मुख्यमन्त्री कार्कीसहित आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सामाजिक विकासमन्त्री पाँचकर्ण राई पुगेका थिए । उनीहरू सबै एमालेकै प्रदेश सांसद हुन् । सुरूमा पाँचजनाले सामूहिक रुपमा भेटेपछि मुख्यमन्त्री कार्कीले एक घण्टा एक्लै संवाद गरे ।
उक्त भेटमा पूर्वराष्ट्रपति भण्डारीले ओलीले आफूलाई अपमानित गरेको गुनासो गरिन् । पार्टी सदस्यता लिएको ४५ वर्षको राजनीतिक यात्रामा लामो समय ओलीलाई नै साथ दिँदा पनि अहिले आएर आफूलाई अपमानित गरेको गुनासो उनले त्यहाँ राखेकी थिइन् । उनले त्यही कुरा थापागाउँमा पनि दोहोर्याइन् । संगठित सदस्यता रोकिए पनि आफ्नो राजनीतिक यात्रालाई कसैले रोक्न नसक्ने उनको उद्घोष थियो ।
भण्डारीलाई छेक्न ओलीले सबै उपाय अपनाएका छन् । तर थापा गाउँमा एमालेका झन्डै दुई दर्जन नेताहरूको उपस्थितिले ओलीले चाहे जस्तो सजिलो नरहेको संकेत गरेको छ। ओलीको कदमप्रति उनकै निकट नेताहरूसँग असन्तुष्टि पोखेर एमालेभित्र खेल्न खोजेकी भण्डारीले थापा गाउँमा कार्यालय खोलेर चुप नबस्ने घोषणा भण्डारीले गरिन् । ओलीले छेक्ने हरसम्भव कोसिस गरे पनि विस्तारै एमालेमा दुई लाइन संघर्ष बढ्ने कुराको थप पुष्टि बिहीबारको थापा गाउँको दृश्यले गरेको छ।

मंगलबार विराटनगरस्थित मोरङ एमालेको कार्यालयमा भण्डारीको प्रवेशलाई नरूचाएको संस्थापन पक्षका लागि खासमा बिहीबारदेखि मुख्य चुनौती थपिएको छ। ओलीकै पूर्वप्रिय विनोद ढकालले भण्डारीको शक्ति संघर्षमा थप मलजल गरिदिए । मोरङका मुख्य दुवै कमिटीमा पकड जमाएका नेता ढकालले च्यासलमा बन्द गरिएको ढोका पूर्वराष्ट्रपतिका लागि मोरङमा खोलिदिए । ओलीले च्यासलको ढोका बन्द गरेर रातो झण्डा देखाएको अवस्थामा भण्डारीले काठमाडौंको थापाथलीमा सम्पर्क कार्यालय खोलेर दुई लाइन संघर्षलाई चर्काउने बताएकी छन् ।
भण्डारी राजनीतिक उचाइमा आउँदासम्म ओलीकै निकट रहेर बसिन् । उनलाई दुई पटक राष्ट्रपति पदमा लैजाने निर्णय पनि ओलीले नै गरेका थिए । जबकि झलनाथ खनालले इच्छा देखाउँदा पनि ओली निर्मम बनेर भण्डारीलाई दोहोर्याए । तर आफ्नै लागि दुई कार्यकालको प्रावधान र ७० वर्षे उमेर हदसमेत हटाएका ओलीले भण्डारीले दिएको चुनौतीलाई सुरूमै पाखा लगाउने गरी सदस्यता नवीकरण रोकिदिए ।
तर नवौँ महाधिवेशनमा एकै प्यानलबाट निर्वाचित दुईजनाबीचको सम्बन्ध अब दुई लाइन संघर्षणमा परिणत भएको छ । त्यही दुई लाइन संघर्षको बाछिटा मोरङ पार्टी कार्यालयमा पोखियो । उक्त बाछिटालाई ठूलो स्वरुपमा थापा गाउँबाट संस्थागत गरिएको छ ।
प्रतिक्रिया