पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय | Khabarhub Khabarhub

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ का रेशम बादी पुर्ख्यौली पेसा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका छन् । पछिल्ला केही वर्षयता परम्परागत पेसाले मात्रै घर खर्चको जोहो गर्न मुस्किल भएपछि उनले अहिले उक्त पेसाको विकल्प खोज्न थालेका छन् । वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थ पाउन कठिन भएपछि पेसा नै सङ्कटमा पर्न थालेको बादी बताउँछन् ।

‘मेरो बुबाबाजेले मादल, दमाहालगायत वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभएको हो, त्यहीँ पेसालाई मैले पनि निरन्तरता दिएको थिएँ’, बादीले भने, ‘अहिले यो पेसाबाट घरखर्च जोहो गर्नसमेत मुस्किल पर्छ ।’ वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थका रूपमा छाला र (खमारी) काठ आवश्यक पर्ने भए पनि अहिले सहज रुपमा पाउन मुस्किल छ । यसकारण पनि यो समुदायले पुर्ख्यौली पेसाबाट जीविकोपार्जन गर्न चुनौती थपिएको हो ।

‘केही वर्षअघिसम्म तीजको बेला र दसैँतिहारमा मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो’, बादीले भने, ‘अहिले तीजमा डिजेमा नाच्दछन् मादलको माग आउन छाड्यो, दसैँका बेलामा थारू समुदायले मादल बनाउन धेरै माग गर्छन् ।’ उनले थारू समुदायमा दसैँको समयमा सखिया नाच नाच्ने भएकाले यो सिजनमा मादल बनाएर मात्र ३० हजारदेखि ४० हजारसम्म आम्दानी हुने गरेको बताए ।

अहिले पनि थारू समुदायबाट मादल बनाउन धेरै माग आएको छ । ‘अहिले मादल बनाउन न छाला पाइन्छ त (खमारी) काठ पाइन्छ, मादलमा बाख्राका छालाको प्रयोग हुन्छ’, उनले भने, ‘भारतीय छिमेकी सहरमा छाला पाइन्छ, नाकामा सुरक्षाकर्मीले ल्याउन दिँदैनन् ।’ दसैँका समयमा मादल बनाएको सानो र ठूलोको दुई हजारदेखि १२ हजारसम्म लिने गरेको बादीले बताए ।

छाला र (खमारी) काठ नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने गरेको उनको भनाइ छ । यही समस्याका कारण पेसा नै सङ्कटमा परेपछि विकल्पका रूपमा जुत्ताको घरेलु उद्योग सञ्चालन गरेको बादी बताउँछन् । ‘जतिबेलासम्म छाला र (खमारी) काठ सहज रूपमा पाइन्थ्यो यसबाट राम्रो आम्दानी हुन्थ्यो ।’ वादीले भने, ‘अहिले जङ्गलबाट (खमारी) काठ ल्याउन मिल्दैन, छाला सहज रूपमा पाइँदैन, यी दुई मुख्य कुरा नभएपछि वाद्यवादनका सामग्री बनाउन सकिँदैन ।’

दमाहा बाजा बनाउनका लागि छाला पाउन मुस्किल हुने गरेको छ । उनका अनुसार भारतीय बजारमा एउटा छालाको एक हजारसम्म खरिद गर्न पाइन्छ । ‘यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छालामात्र पाउँदैन’, बादीले भने, ‘भारतीय सहरहरूमा पाइन्छ, सीमानाकामा ल्याउन पाइँदैन ।’

अहिले जुत्ता उद्योगबाट घरखर्चको जोहो गरिरहेको बताउँदै उनले सिजनमा भने मादल बनाउने गरेको बताए । ‘अहिले सिजनमा माग आएका बेलामात्र यो पेसा गर्छु, जीविकोपार्जनका लागि घरेलु जुत्ता पसल सञ्चालन गरेको छु’, बादीले भने, ‘पाँच छोराछोरीसहित परिवारको जोहो त्यसैबाट भएको छ ।’ बादी समुदायको पुर्ख्यौली पेसा जोगाउनका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दमाहा बनाएर बिक्री गर्ने हो । विभिन्न पर्व विशेषमा समेत नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदाय बढ्दो आधुनिकतासँगै सङ्कटमा पर्दै गएको छ । (रासस)

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ५९ बजे

पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक खसेको पहिरोका कारण रातभर अलपत्र

पालमुनि यसरी हुँदैछ सर्वोच्चमा बहस (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन

वर्षमानले भने- जेन–जी विद्रोहको पहिलो कारण कांग्रेस-एमाले गठजोड, दोश्रो भू-राजनीति  

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले गत वर्षको

कांग्रेसका ६ भाइ फेरि जुटे चाक्सीबारीमा

काठमाडौँ- नेपाली कांग्रेसका ६ शीर्ष नेताहरू संवादका लागि फेरि सक्रिय

नवरात्र नजिकिएसँगै सिँगारिँदै उपत्यकाका शक्तिपीठ

काठमाडौं– नवरात्र नजिकिएसँगै काठमाडौं उपत्यकाका शक्तिपीठ सिँगार्न थालिएको छ ।