काठमाडौँ- जेन-जी आन्दोलनका घाइतेहरूले अहिले दिनहुँजसो सिंहदरबार घेर्न थालेका छन् । शुक्रबार सिंहरदरबारको दक्षिण गेटमा धर्ना दिएका जेन-जीले आइतबार पनि विरोध र नाराबाजी जारी राखे ।
आइतबार दक्षिण गेटबाट छिर्न नपाएपछि जेन-जीको समूह त्यहीँ धर्ना बस्यो । भदौ २३ र २४ गतेको आन्दोलनको घाउ निको नहुँदै पुगेका जेन-जी कसैले रिपोर्ट बोकेका थिए भने कोही बैशाखीमा थिए ।
उनीहरू आइतबार दिउँसो सिंहदरबार दक्षिण गेटमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न चाहेका थिए ।
गृहमन्त्रालयमा मन्त्रीसँग भेट भएपछि जेन-जीहरू बाहिरिने क्रममा नाराबाजी गरेका देखिए । उनीहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई मागपत्र बुझाए । जेन-जीहरूले प्रधानमन्त्री कार्यालयबाट निस्किँदासमेत नाराबाी गरे । उनीहरूले हामी नेपालीका संयोजक सुजन गुरुङलाई असवरवादीको संज्ञा दिँदै नाराबाजी गरे ।
जेन-जी आन्दोलनमा घाइतेहरू छटपटिइरहेका बेला सुदनसहितका अवसरबादी र नक्कली जेन-जीले मौकाको फाइदा उठाएको आरोप उनीहरूले लगाए । सुदनसहितलाई नक्कली आन्दोलनकारीका रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा जथाभावी गर्दै अधिकार खोज्न लागेको गुनासो गरे।
आन्दोलनमा गोली खाएकी एकजना जेन-जीले खास त्याग गर्नेहरूलाई पाखा लगाएर अवसरवादीको इशारामा सरकार चलेको भन्दै आपत्ति जनाइन् । ती युवतीले सुदनका कारण जेन-जीको नाम बदनाम भइरहेको बताइन् ।
गोली लागेर आफूहरू उपचारमा रहेका बेला नक्कली जेन-जीहरू आएर आन्दोलनको जश लिन खोजेको बताए । उनीहरूलाई नक्कली आन्दोलनकारीको संज्ञा दिँदै घाइतेहरूले नाराबाजी गरे । त्यसपछि प्रहरीले भ्यानमा राखेर बाहिर पठायो ।
नाराबाजीबीच प्रधानमन्त्री कार्कीसँग भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घाइते जेन–जीको एक समूहले भेटेर कुरा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा डेढ घण्टा लामो छलफलमा घाइतेहरू सुशीला गौतम, रुबिना खड्का, आदित्य रावल, सुरेश एडी, गोकर्ण विष्ट, प्रकाश दाहाल, लोकेन्द्र खड्का, चम्पा लामा, भुवन दाहाल, अनिल दास र बादल राईसहिले आफ्ना कुरा राखेका थिए ।
उनीहरूलाई गृहबाट प्रहरीको गाडीमा राखेर प्रधानमन्त्री कार्यालय लगिएको थियो। उनीहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई कारबाही गर्नुपर्ने माग राखे ।
त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा जलेको पैसाको स्रोत खोजबिन हुनुपर्ने, सबै घाइतेहरूको निःशुल्क उपचार तथा क्षतिपूर्ति पाउनुपर्ने र नेपालको संविधान २०७२ खारेज गर्नुपर्ने माग उनीहरुले गरे । गृहमन्त्रीले जवाफ नदिएपछि उनीहरूले प्रधानमन्त्री भेट्न पाउनुपर्ने माग राखे ।
घाइतेहरूसँगको भेटपछि साढे ४ बजेदेखि प्रधानमन्त्री कार्यालयमा क्याबिनेट बैठक बसेको छ । प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकमा तीनजना मन्त्री र मुख्य सचिव उपस्थित भएका छन् ।
क्याबिने चल्दै गर्दा जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका सुदन गुरुङसहित प्रधानमन्त्रीको कार्यालयमा छिरेका छन् ।
प्रधानमन्त्रीले थप सातजना मन्त्री नियुक्तिको तयारी गरेसँगै सुदन सिंहदरबार छिरेका हुन् । केहीबेरअघि उनकैविरुद्ध जेन-जीले नाराबाजी गरेका थिए ।
जेन-जीको आन्दोलनका दिन माइती घरमा हामी नेपालीका तर्फबाट स्वयम् सेवकका रुपमा खटिएका सुदन अहिले सरकार निर्माण र मन्त्री चयनमा खेलाडी भएका छन् । उनले आन्दोलन हाइज्याक गरेको आरोपसहित जेन-जीले निरन्तर विरोध गरिरहेका छन् ।
प्रतिक्रिया