सारसको सङ्ख्या बर्सेनि घट्दो | Khabarhub Khabarhub

सारसको सङ्ख्या बर्सेनि घट्दो


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सारस चराको सङ्ख्या कञ्चनपुर–कैलालीमा बर्सेनि घट्दो क्रममा रहेको छ । सिमसार क्षेत्रमा देखापर्ने सारस हाल देख्नै मुस्किल हुन थालेको छ ।

सिमसार क्षेत्र मासेर खेती गरिन थालेपछि सारसको बासस्थान खुम्चिँदै जान थालेको छ । त्यसले यस चरालाई आहाराको अभाव भएको छ । नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार खेतीका लागि किसानले रासायनिक मलसँगै कीटनाशकको अत्यधिक प्रयोग गर्न थालेपछि यस चराको अस्तित्व नै सङ्कटमा परेको छ । सारसको सिकार गर्ने, अण्डा चोरी गर्ने कार्यसँगै जलवायु परिवर्तन, वातावरण प्रदूषणलगायतले थप जोखिम सृजना गरेको छ ।

चराविज्ञ डगौराले कैलालीमा पाँच र कञ्चनपुरमा २२ वटासम्म सारस अभिलेख गरिएका छन् । त्यो सङ्ख्या पछिल्ला वर्षहरूमा घट्दै गएको छ । कञ्चनपुरमा यस चराको सङ्ख्या करिब १० देखि १५ रहेको अनुमान गरिएको उनले बताए ।

अग्लो खुट्टा र लामो घाँटी हुने सारसको शरीर सेतो, घाँटी खैरो र टाउको रातो हुने गर्दछ । सारसको उचाइ पाँचदेखि छ फिटसम्म हुने गर्दछ । जीवनभर एउटै जोडीमा रहने सारसको तौल ६ देखि १२ किलोसम्म हुने गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालिकिच ताल, बेलडाँडी गाउँपालिकाको सिमसार क्षेत्रमा सारस देखापर्ने गरेका छन् । यहाँ कहिलेकाहीँ बर्सातका बेला अन्य क्षेत्रका धान खेत तथा कैलालीको घोडाघोडी रामसार क्षेत्रमा मा आहारा खोज्दै गरेको अवस्थामा सारस देखापर्ने गरेका छन् ।

‘कीरा, फट्याङ्ग्रासँगै सारसले आहाराका रूपमा शङ्खेकीरा, सर्पलगायत खाने गर्दछ’, चराविज्ञ डगौराले भने, ‘बालीनालीका हानिकारक मानिएका कीराहरू सारसले खाने भएकाले कृषक सहयोगी चराका रूपमा यसलाई लिन सकिन्छ । कीरा–फट्याङ्ग्रा नियन्त्रण हुँदा किसानले अन्नको उत्पादन बढी लिन सक्छन् तर पछिल्लो समय यो चरा आफैँ सङ्कटमा परेको देखियो ।’

हिंस्रक जनावर बाघ, चितुवा, स्याल, ब्वाँसोलगायत नजिक आउन थाले यस चराले ठूलो आवाजले कराएर जानकारी दिने गर्दछ । त्यसैले सारसलाई मानवमैत्री चराका रूपमा समेत लिने गरिन्छ । आहारा र गुँड बनाउनका लागि यो चरा धानखेत र सिमसारमा निर्भर हुने गरेको चराविज्ञ डगौरा बताउछन् । ‘पछिल्लो समय यहाँ मुस्किलले यो चरा देख्न पाइन्छ । यसर्थ सिमसार क्षेत्र जोगाउनका लागि पालिका र स्थानीय समुदायले विशेष ध्यान दिन आवश्यक छ । यस चराको महत्वसँगै आनीबानी, व्यवहार र बासस्थानबारे जनचेना जगाई स्थानीय बासिन्दालाई संरक्षणको क्षेत्रमा सहभागी गराउनुपर्छ’, उनले भने ।

कृषिमा रासायनिक मल र विषादीको प्रयोगलाई निरुत्साहित गर्दै जैविक मल र जैविक विषादीको प्रयोगलाई बढावा दिन किसानलाई उत्प्रेरित गराउन आवश्यक रहेको जानकारहरू बताउँछन् । ‘दुई दशक अघिसम्म सारस चरा सहजै रूपमा धानका खेतमा आहारा खोज्दै गरेको अवस्थामा देखिने गरेका थिए, हिउँदमा मटरका दाना खान खेतमा आउँथे’, शुक्लाफाँटा नगरपालिका–३ का थारु अगुवा दानसिंह दहित भन्छन्, ‘रासायनिक मल र विषादीको प्रयोगमा व्यापकता आएपछि सारस देखिन छाडेका छन्, फाटफुट रूपमा पनि अरू चराजस्तो देखिएका छैनन् ।’

सारसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पन्छीका रूपमा राखिएको छ भने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई संवेदनशील चराको सूचीमा राखेको छ । तथ्याङ्कअनुसार रुपन्देही, कपिलवस्तु र नवलपरासीमा मात्रै सारसको सङ्ख्या छ सय बढी रहेको छ । दक्षिण एसियामा भने यस चराको सङ्ख्या १० हजार जति रहेको अनुमान गरिएको छ । (सारस)

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : ५५ बजे

रसुवामा धामी-झाँक्रीभन्दा अस्पतालतर्फ विश्वास बढ्दै

रसुवा– जिल्ला अस्पताल धुन्चेमा सेवाको विविधतासहित दक्ष स्वास्थ्यकर्मीको व्यवस्था भएसँगै

‘जलजला’ को सन्दर्भ : बृहत्तर बौद्ध पुरातात्विक सहर

जलजला उपन्यासमा लेखिएको छ ‘जलजलालाई खोज्ने क्रममा आफ्नै साथी विद्या

पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय

१० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको १० महिनामा साढे तीन करोड

राजस्थान पुगेर मोदीले भने- भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो

जयपुर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राजस्थानको बीकानेरमा आयोजित एक