काठमाडौं– सरोकारवालाहरूले अटोमोबाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो– २०२५’ मा बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरूले कर्जा प्रवाह गर्न सबैभन्दा सुरक्षित क्षेत्र अटोमोबाइल क्षेत्र रहेको बताए । साथै, यस क्षेत्रको थप विकासका लागि स्थिर कर्जा नीति आवश्यक रहेको उनीहरूको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक तथा नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपालका पूर्व अध्यक्ष कृष्ण दुलालले स्थिर कर्जा नीति आवश्यक रहेको बताए । नाफिजकी अध्यक्ष मेनुका कार्कीले यो छलफलले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा रहेको बताइन् ।
हामीले अटोमोबाइललाई अनुत्पादक भनेका छैनौँ : निर्देशक पौडेल
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताए । बैंक तथा वित्तिय संस्थाले मात्रै नभई हायर पर्चेज कम्पनीहरूले पनि यस क्षेत्रमा लगानी गर्ने गरेको उनको भनाइ छ ।
‘हामीले यो क्षेत्रलाई अनुत्पादक भनेका छैनौ । हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिनुले पनि अटोमोबाईल्स क्षेत्रलाई प्राथमिकतामा राखेको पुष्टी गर्छ,’ उनले भने ।
उनले २०७० यता हायर पर्चेज कम्पनी मार्फत अटो क्षेत्रमा कर्जा प्रवाह गरिरहेको उल्लेख गरे । १० वटा हायर प्रचेज कम्पनीले २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको उनको भनाइ रहेको छ ।
‘अटो क्षेत्र अनुत्पादक क्षेत्र होइन । सरकारले अनुत्पादक क्षेत्र मानेको भए विशिष्टीकृत कम्पनी स्थापना गर्दैनथ्यो । कुनैपनि व्यक्तिले गाडी खरिद गर्दा ४० प्रतिशत नगद बुझाउँछ र ६० प्रतिशत ऋण पाउँछन् । विदेशमा समेत ६० देखी ८० प्रतिशतसम्म लोन टु पर्चेज (एलटिपी) रेसियो लगाएका छन्,’ उनले भने, ‘नेपालमा व्यक्तिगत र व्यवसयीक गाडीमा फरक एलटिपी लगाउन सकिन्छ । व्यक्तिगत गाडी खरिद गर्न जाँदा ब्याजदर कम छ । तर, सार्वजनिक यातायातमा बढी जोखिम रहेको हुन्छ । त्यसैले बैंकहरुले निजी गाडीको तुलनामा सार्वजनिक यातायातमा बढी व्याज लगाउँछन् ।’
नेपालमा ०४१-०४२ अघि अर्थात् निजी बैंक स्थापना नहुँदासम्म अटो कर्जा प्रवाह हुने अवस्था नरहेको उनले स्मरण गरे ।
‘गाडी खरिद गर्नको लागि त ऋण लिनै हुँदैन भन्ने थियो । अहिले त्यसको उल्टो भएको छ । गाडी किन्न पुरै नगद दिने होइन, किस्ताबन्दीमा दिनुपर्छ भन्ने मान्यता स्थापित भएको छ । कनेक्टीभिटी आावश्यकता नै छ भनेर बैंकहहरुलाई कर्जा प्रवाहमा सहज बनाएको छ,’ उनले भने, ‘अहिलेको मौद्रिक नीतिमा हायरपर्चेज कर्जा सहज बनाउने उल्लेख गरेको छ । हायरपर्चेज कर्जा दिने कम्पनीको विषयमा अध्ययन गरेर व्यवस्थित र प्रोत्साहन गर्छ । राष्ट्र बैंकले अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्र भनेको छैन ।’
नेपालमा उत्पादन गर्ने उद्योगहरुलाई बैंकहरुले सहजरुपमा कर्जा दिने गरेको उनले बताए । उत्पादनमुलक उद्योगले २ करोड रूपैेयाँसम्म कर्जा लिदाँ आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम थपेर व्याजदर लिने गरेको उनको भनाइ छ ।
उनले भने, ‘व्यवसायीले व्याजदर नबढाए हुन्थ्यो भन्ने जिज्ञासा देखिएको छ । नेपालमा फिक्स्ड र परिवर्तन हुने कर्जा रहेका छन् ।’
अटोमोवाईल्स क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या कम छ : सिईओ गुरुङ
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताए । अन्तरक्रियामा सिइओ गुरुङले बैंकको ऋण विविधिकरण गरिरहेको बताए । अटोमोबाईल्स क्षेत्रमा पनि कर्जा प्रवाह गर्दै आएको बताउँदै उनले गत वर्षको नाडा अटो शोमा स्टल समेत राखेको बताए ।
उनले अटोमोवाईल्स क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या पनि कम भएको बताए ।
‘अन्य क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या छ । त्यसमा खराव कर्जा पनि बढ्ने गरेको छ । तर, अटोमोबाइल्स क्षेत्रमा खराब कर्जा कम रहेको छ,’ उनले भने ।
बैंकहरुले कुनै पनि सवारी साधनको ब्रान्डलाई कर्जा प्रवाह गर्दा ग्राहकको गाडीप्रतिको सोच कस्तो छ भनेर पनि हेर्ने गरेको उनको भनाइ छ । ‘व्यवसायीक गाडीमा लगानीगर्दा बढी चुनौती छन् । निजी गाडीमा कर्जा दिदाँ व्यक्तिको सम्पत्ति पनि धितो राख्ने गरेको छौं,’ उनले भने ।
उनले ‘लोन टु भ्यालू रेसियो’ देशअनुसार फरक फरक हुने गरेको बताए । व्यावसायीक र निजी गाडीमा पनि ‘लोन टु भ्यालू रेसियो’ फरक फरक हुने उनको भनाइ छ ।
विद्युतीय गाडीको माग बढी भएसँगै कर्जाको माग पनि बढी छ : सिइओ शर्मा
भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरुबाट अटोमोवाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताए ।
काठमाडौँमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर कर्जा प्रवाह गरेको उनको भनाइ छ ।
उनले हायर पर्चेज कम्पनीहरूलाई कर्जा प्रवाहमा सहजिकरण गरिदिन आग्रह पनि गरे । नेपालमा स्थापित कम्पनीले विक्री गर्ने गाडीमा ऋण दिदाँ समस्या कम आउने गरेको पनि उनले बताए । अहिले विद्युतीय गाडीको माग बढी भएकाले त्यसका लागि कर्जाको माग बढी हुने गरेको उनको भनाइ छ ।
अटो क्षेत्रमा कर्जा प्रवाह गर्दा विक्री पछिको सेवा र नेपालमा भएको सर्भिस लगायतका बिषयलाई पनि केन्द्रमा राखिने उनले बताए । यसैगरि हायर पर्चेज क्षेत्रमा खराज कर्जाको समस्या न्यून रहेको उनको भनाइ छ ।
अटो क्षेत्रको भविष्य उज्जवल छ पूर्व अध्यक्ष : दुलाल
नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले अटो क्षेत्रको भविष्य उज्जवल रहेको बताए । नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका दुलालले यस क्षेत्रमा लगानी गरेपछि चिन्ता लिनुनपर्ने बताए ।
अटो क्षेत्रमा लगानी गर्ने व्यक्तिले पछाडी फर्किनु नपर्ने उनको दावी छ । अटोमोबाइल क्षेत्र सुरक्षित र स्वस्थ व्यवसाय भएको उनले बताए । यस्तै, कुनै पनि कर्मचारीहरूलाई गाडी किन्नको लागि लामो अवधीका लागि कर्जा प्रवाह गर्नुपर्ने उनको माग छ ।
उनले भने, ‘कर्मचारीहरूलाई बाइक तथा गाडी किन्न २० वर्षको लागि ऋण दिनुपर्ने व्यवस्था गर्नुपर्छ । त्यस्तो व्यवस्था गर्न सकेमा अधिकांशले गाडी किन्न सक्छन् । यसमा सरकारको ध्यान जान आवश्यक छ । यो व्यवस्था गर्न सकियो भने धेरै राम्रो हुन्छ ।’
प्रतिक्रिया