काठमाडौं– स्याङ्जा कालीगण्डकी गाउँपालिकाकी कविता पाण्डेय विगत चार वर्षदेखि भाटभटेनी सुपरमार्केटमा कार्यरत छन् । पाण्डेयको आम्दानी नै उनको घरको खर्च धान्ने मुख्य स्रोत हो ।
२०७८ भदौबाट कोटेश्वरस्थित भाटभटेनीमा सेल्स संयोजकका रूपमा जोडिएकी उनी अहिले क्यासियरको जिम्मेवारीमा छिन । सोही जिम्मेवारीले नै उनको पाँच परिवारको दैनिकी सहज बनाउँदै आएको छ । तर गत भदौ २४ गते भने उनलाई ठूलो विस्मात् पर्यो ।
विगत चार वर्षदेखि आफ्नो सारथि बन्दै आएको स्टोरमा जेन–जी पुस्ताले आगो लगाइदिएको सूचना पाइन् , उनले टेकेको जमिन भासियो । आगोले आफ्नो गर्जो धान्ने थलो जलेको पिडामा भावुक हुँदै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखिन्– ‘हे भगवान् के गरेको होला यस्तो, दुःख गरेर खानी भाँडो नै रित्याइदियो पापीहरूले’ ।
उनले लेखेको यो स्ट्याटसमा उनको संघर्ष र पीडा झल्किन्छ । जुन देशभरिका भाटभटेनीमा कार्यरत १० हजार बढी कर्मचारीको आवाज पनि हो । यसरी संरचना नै ध्वस्त भएपछि रोजगारी गुम्न सक्ने उनको डर पनि सहजै अनुमान गर्न सकिन्छ ।
तर, उनको यो डर यति बेला गलत साबित भएको छ । उक्त आक्रमणपछि भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले भनेजस्तै संरचना जले पनि उनले जागिर गुमाउनु परेको छैन । पाण्डेयले अहिले भक्तपुस्थित भाटभटेनीमा काम गर्न थालेकी छन् । उनको जीवनयापन पहिले जस्तै सामान्य बनेको छ ।

उनी मात्रै होइन उनकी दिदी गीता पाण्डेय पनि बुटवलस्थित भाटभटेनीमा कार्यरत छन् । ‘काठमाडौंमा आक्रमण भएपछि हामी दिदीबहिनीलाई नै जागिर गुम्ला भन्ने डर भो । मेरो त लगभग पक्कै गुम्छ भन्ने लागेको थियो । देशको यो अवस्थामा अरु के काम पाइएला चिन्तामा थियौँ । त्यस्तो भएन म लगायत सबै साथीहरूलाई भोलिपल्टै बोलाउनु भो ।
त्यसपछि मीनबहादुर सरले कामदार निकाल्दिन, दशैंको बेला तलब जसरी पनि दिन्छु भन्दै दिएको ढाडसले राहत पुगेको छ,’ पाण्डेयले बताइन् । अहिले ढुक्कसँग काम गरिरहेको उनको भनाइ छ ।
नेपालभर भाटभटेनी सुपरस्टोरका जम्मा २७ शाखा छन् । भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण काठमाडौं उपत्यकाका १५ वटा शाखा जलाएर ध्वस्त पारिएको छ । अन्य चार वटा शाखा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको छ ।
क्षतिग्रस्त संरचनाको सरसफाइ पछि यति बेला फुटाउने काम भइरहेको बालुवाटारस्थित ध्वस्त स्टोर पुनः निर्माणमा खटिएका महोत्तरीका प्रमोदकुमार यादव बताउँछन् ।

‘हामीहरू ११ दिनदेखि यहाँ सरसफाइ गरेर फुटाउने काम गर्दै छौँ अनि बनाउने हो,’ उनले बताए । क्षतिग्रस्त बनेका संरचनाको २५ गतेबाट नै पुन निर्माण थालिएको सञ्चालक मीनबहादुर गुरुङले बताएका छन् । यी तोडफोड र आगजनीको विध्वंसबाट मीनबहादुरले कम्तीमा पनि १५ अर्ब रुपैयाँको क्षति व्यहोर्नुपरेको आंकलन गरिएको छ ।
तर, मीनबहादुरले हार मानेका छैनन् । निजी क्षेत्रमा सबैभन्दा ठूलो चोट बोकेका उनले क्षतिग्रस्त संरचना चार महिनाभित्र खडा गर्ने संकल्प लिएका छन् ।
‘हाम्रोमा काम गर्ने हजारौँ कर्मचारीका पछाडि उनीहरूको परिवार छ, यसरी लाखौँको जीवन भाटभटेनीसँग जोडिएको छ,’ उनले भने, ‘म मेरा लागि भन्दा उनीहरूकै लागि गल्न मिल्दैन । बैंकहरूले मलाई विश्वास गरेर ऋण दिइरहनु भएको छ । सहयोग गर्नु भएको छ, अबको मेरो दायित्व कर्मचारी, सहयोगी र बैंकमाथि छ । म अबको चार महिनामा फेरि उठ्छु ।’

निजी व्यावसायिक प्रतिष्ठानमाथि गरिएको यस किसिमको आक्रमणबाट देश अधोगतिमा लाग्ने जोखिम पनि उनले सुनाए ।
‘हामी दुई वटा विश्वयुद्धमा जुधेर आएका गोर्खाली हौँ, अब फेरि यसरी लडेर पनि नेपाल उठ्न सक्छ, उठेको छ भन्ने सन्देश दिनुपर्ने छ, म त्यसका लागि सब थोक गर्छु’, भावुक देखिएका उनले भने ।
कर्मचारीकै सहयोग र मिहिनेतले भाटभटेनी स्थापित भएको बताउँदै उनले जलाइएका सबै शाखा सुचारू गरेका दिन उनीहरूसँगै खुसी साट्ने प्रतिबद्धता व्यक्त गरे । जेन–जीको आन्दोलनले उथलपुथल भएको देशको वर्तमान परिस्थितिमा जीउधनको सुरक्षाका लागि सरकारले आश्वासन दिएको उनले बताए ।
‘प्रधानमन्त्री सुशाीला कार्कीसहित गृह, अर्थ र भौतिक मन्त्रीसँग भेटेर आएको हुँ, उहाँहरूले सुरक्षा दिने वचन दिनु भएको छ । नेपालमा सुरक्षा छ, सुरक्षाको प्रत्याभूति मिल्छ भन्ने ढुक्कसाथ कम गर्नु छ’, उनले भने ।

उनी थप्छन्, ‘नेपालका केही उदण्ड व्यक्तिहरूले यो क्षति पुर्याए, तपाईँहरू जस्तै युवापुस्ताले इमान्दारीसाथ श्रम गर्ने हो भने यो देश अबको १५ वर्षमा संसारकै सुन्दर हुन्छ ।’नागरिक समुदायले देखाएको सहानुभूतिले नै आफू उभिन सकेको उनले बताए ।
देशको अर्थतन्त्रमा ठुलो योगदान गर्दै आएको भाटभटेनी उभ्याउन गुरुङले व्यवसायीबाट पनि साथ पाएका छन् । नेपालमै उत्पादन निर्माण सामग्री फ्याक्ट्री मूल्यमा उपलब्ध गराउन व्यवसायीहरूसँग पहल गर्ने अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले जनाएको छ ।
छड, सिमेन्ट, टायल, रंग–रोगनलगायत निर्माण सामग्री उत्पादन मूल्यमा नै उपलब्ध गराऊ भाटभटेनी लगायतका क्षतिग्रस्त व्यवसाय उठाउन हामी व्यवसायी नै एकताबद्ध भएर लाग्नुपर्ने बेला छ, बैंक तथा बीमा कम्पनीले पनि पुनर्निर्माणका लागि बीमाको सेटलमेन्ट र आवश्यक वित्तीय प्रक्रिया जतिसक्दो छिटो गरिदिएर सहज स्थिति सिर्जना गरौँ’ चेम्बर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आग्रह गरे ।

तीनपटकसम्म देशकै सर्वाधिक करदाता बनेको भाटभटेनी सुपरमार्केट चार दशकदेखि निरन्तर सञ्चालनमा छ । वार्षिक १८ अर्ब रुपैयाँ बढी राजस्व तिर्दै आएको यस संस्थामा झण्डै १० हजार कर्मचारी कार्यरत छन् ।
सुपरमार्केटले टिचिङ अस्पताललाई साढे ९ करोड रुपैयाँ बराबरको भवन, डा. भगवान् कोइरालाको नेतृत्वमा निर्माणाधीन बाल अस्पताललाई ४१ करोड र बाढी–पहिरो पीडितलाई १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको घोषणा गरेको थियो ।
प्रतिक्रिया