देउवाको घरमा ‘जलेका नोट’ भेटिएकोबारे कांग्रेस बैठकमै उठ्यो प्रश्न | Khabarhub Khabarhub

देउवाको घरमा ‘जलेका नोट’ भेटिएकोबारे कांग्रेस बैठकमै उठ्यो प्रश्न

विश्वप्रकाश भन्छन्- यसबारे स्पष्ट गर्ने दायित्व घरवालाकै हो


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा भेटिएका भनिएका नेपाली नोट र अमेरिकी डलरबारे नेपाली कांग्रेसभित्र प्रश्न उठ्न थालेको छ।

गत भदौ २४ गते जेन-जीका नाममा गम्भीर कुटपिट भएपछि हाल सभापति देउवा र पत्नी आरजु देउवा दुवै जना अस्पतालमा उपचाररत रहेका बेला कांग्रेसको भर्चुअल बैटकमा दुईजना जिल्ला सभापतिले प्रश्न उठाएका हुन् ।

जेन-जीको आन्दोलनपछि उथलपुथल भएको राजनीतिक परिस्थितिबीच जिल्ला सभापतिहरूसहित भएको भर्चुअल बैठकमा दुईजना जिल्ला सभापतिहरूले देउवा र खड्काको घरमा ठूलो परिमाणमा नोट भेटिएकोबारेमा जवाफ मागेका थि‌ए ।

जिल्ला सभापतिहरूसँग कांग्रेस नेतृत्वले राखेको उक्त भर्चुअल बैठकमा पाल्पाका सभापति हिमाल श्रेष्ठ र इलामका सभापति डम्बर खड्काले देउवा र तत्कालीन ऊर्जामन्त्रीको घरमा ठूलो मात्रामा नोट भेट्टाएकोबारे जवाफमा मागेका थिए ।

तर गत असोज २ गते देउवाको सचिवालयले बूढानीलकण्ठस्थित निवासमा पैसाको सुरूङ भेटिएको भनी सामाजिक सञ्जालमा गरिएको प्रचारलाई झूटो भन्दै खण्डन गरेको थियो । देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति नै निकालेर उक्त प्रस्टीकरण दिएका थिए ।

देउवा निवासमा ‘अत्यधिक पैसा भेटिएको’, ‘जलेका नोटका अंशहरू निवास परिसरमा जताततै फेला परेको’ र ‘पैसाको सुरूङ नै रहेको’ जस्ता कपोलकल्पित समाचार सम्प्रेषण भइरहेको भन्दै सचिवालयले भनेको थियो, ‘सामाजिक सञ्जालमा देखाइएका दृश्य कपोलकल्पित, अतिरञ्जित र दूषित मनसायले पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार हुन्।’

देउवाको सचिवालय यसो भने पनि नोट भेटिएकोबारेमा पार्टी बैठकमै कुरा उठेको कुरा सोमबार विराटनगरस्थित कोइराला निवासमा बोल्ने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले खुलाएका छन् ।

‘यस विषयमा जिल्ला सभापतिहरूको बैठक जुममा हुँदै गर्दा पाल्पाका सभापति हिमाल श्रेष्ठले र इलामका सभापति डम्बर खड्काले कुरा उठाउनु भएएको थियो’, शर्माले भने, ‘यसलाई स्पष्ट गर्ने दायित्व घरवालाकै हो । त्यसलाई स्पष्ट गराउन मैले फोन गरेर पनि भनिसकेको छु।’

महामन्त्री शर्माले यसबारेमा राज्यका निकायले पनि अनुसन्धान अघि बढाउनुपर्ने कुरा कोइराला निवासमा पत्रकारहरूसँग बताएका छन् । ‘यसलाई राज्यले पनि अनुसन्धान गर्नुपर्छ । सम्पत्ति शुद्धिकरण विभागको टिमले पनि यसबारेमा हेरिरहेको छ’, उनले भने, ‘हामी र हाम्रो नेतृत्वमा जे जति देशभर प्रश्न उठेका छन्, ती सबै विषयमा राज्यका निकायबाट उचित अनुसन्धान हुनुपर्छ ।’

अनुसन्धान

महामन्त्री शर्माले भने जस्तै सम्पत्ति शुद्धिकरण विभागले बूढानीलकण्ठस्थित देउवा निवास र कांग्रेस नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा पुगेर अनुसन्धानसमेत थालेको छ । उक्त अनुसन्धानबारेमा महामन्त्री शर्माले पनि सोमबार विराटनगरमा खुलासा गरेका छन् ।

स्रोतका अनुसार ललितपुरको हरिहर भवनस्थित विभागका प्रहरी उपरीक्षक नवरत्न पौडेलसहितको टोलीले आइतबार दुवैजना नेताहरूको घरमा पुगेर अनुसन्धान गरेको थियो ।

उक्त टोलीले दुवैजना नेताहरूको घरमा मुचुल्का उठाएर फर्किएको थियो । गत भदौ २४ गते देउवाको घरमा आगजनी गर्ने क्रममा सुरुङमा नोटको थुप्रो रहेको भन्दै फोटो र भिडियो भाइरल भएको थियो । उत खड्काको घरमा पनि अमेरिकी डलर उडाएको भिडियो भाइरल भएको थियो । यी दुवै घरमा रहेका नोटबारे सम्पत्ति शुद्धिकरण र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो पनि अनुसन्धानमा जुटेका छन् ।

जेन-जी आन्दोलनका क्रममा यी दुवै नेताको घर प्रदर्शनकारीले जलाएर ध्वस्त बनाएका थिए । देउवाको निवासमा अमेरिकी डलर र नेपाली ५ सय र हजारका नोटका बिटा जलेका अवस्थामा भेटिएका थिए । पैसा राख्ने सुरुङ भेटिएको दाबी गरिए पनि यसलाई देउवाको सचिवालयले खण्डन गरिसकेको छ।

पूर्वऊर्जामन्त्री खड्काको घरमा रहेको भनिएको अमेरिकी डलर उडाएको भिडियो पनि भदौ २४ गते भाइरल भएको थियो । अहिले सरकारका दुवै संयन्त्रले यी दुई नेताको जलेको घरभित्र पुगेर मुचुल्का उठाएर लगेका छन् । घर जलाइएको डेढ सातापछि सरकारी संयन्त्र सक्रिय भएर अनुसन्धान थालेपछि कांग्रेसभित्र पनि यसबारे बहस सुरू भएको हो ।

विश्वप्रकाशले के भने ?

बदलिँदो परिस्थिति हेरेर यसबीचमा हामीले सातै प्रदेशका सभापतिहरूसँग छलफल गर्यौँ। केन्द्रीय कार्यसम्पादन समितिमा प्रदेश सभापति, मुख्मन्यती र संसदीय दलका नेतासमेत राखेर छलफल गरेका छौँ ।

एउटा संकटको बेलामा पार्टीलाई उठाएर लैजान जति जरुरी छ, सभापतिको स्वास्थ्यमा पनि हामी गम्भीर हुनुपर्ने आवश्यकता छ । सभापतिको स्वास्थ्य लाभ भएका बेला कांग्रेसको पनि स्वास्थ्य लाभ हुनुपर्छ भन्ने हाम्रो मत छ ।

सभापतिलाई सहमति गराएरै पार्टीलाई अघि बढाउनुपर्ने जिम्मेवारी हामीमाझ छ । यस विषयमा जिल्ला सभापतिहरूको बैठक जुममा हुँदै गर्दा पाल्पाका सभापति हिमाल श्रेष्ठ र इलामका सभापति डम्बर खड्काले सभापति देउवाको घरमा नोट भेटिएको कुरा उठाउनु भएको थियो । यसलाई स्पष्ट गर्ने दायित्व सम्बन्धित घरवालाकै हो । त्यसलाई स्पष्ट गराउन मैले फोन गरेर पनि भनिसकेको छु। यसबारेमा राज्यले पनि अनुसन्धान गर्नुपर्छ । सम्पत्ति शुद्धिकरण विभागको टिमले पनि हेरिरहेको छ ।

जे जति प्रश्नहरू देशभर उठेका छन्, ती सबै विषयमा अनुसन्धान हुनुपर्छ भन्ने हाम्रो मत हो । हामीले सफाइ दिएर हिँड्नु भन्दा प्रश्न उठेपछि राज्यले नै छानबिन गर्नुपर्छ । अनुसन्धानमा प्रवेश गरेको विषयमा हामीले धेरै बोलुनु हुँदैन ।

काग्रेसको १५ औँ महाधिवेशन मंसिर मसान्तसम्म गर्नुपर्नेछ । क्रियाशील सदस्यता वितरणमा ढिला भयो भने पुरानै महाधिवेशन प्रतिनिधि कायम राखेर जान सकिन्छ । यसमा दुई खालका धारणालाई हामीले एउटै बनाउनुपर्छ । समाजका सबै विमत्तिलाई एकै डालोमा हालेर जानुपर्छ । महाधिवेशन र निर्वाचनबारेमा देखिएका फरक विचारलाई एक ठाउँ राखेर जानुपर्छ ।

अहिले हामीले उपचारमा रहनु भएका सभापति देउवालाई भेट्न जाने कुरा भएन । रिकभर भएपछि भौतिक रुपमा भेट्छौँ । उपसभापति पूर्णबहादुर खड्काले भेट्नु भएको छ। पार्टीलाई कसरी अघि बढाउने सल्लाह त गरौँ सभापतिले के गर्नु हुन्छ ? हामी सबैले सल्लाह गरेर धारणा बनाएर पार्टीलाई गति दिने छौँ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ७ : २६ बजे

केपी ओली सत्ताबाट हटेसँगै विद्या भण्डारीसँग शेरधनको ‘साउती’

काठमाडौँ– जेन–जीहरूले चलाएको आन्दोलनबाट दुई दिनमै सत्ताच्युत भएका नेकपा एमालेका

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

वासिङ्टन – बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको

मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला

मुस्ताङ – यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

जुम्ला – कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु

भक्तपुर – घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्ति पीठहरुमा