काठमाडौँ– जेन–जीहरूले चलाएको आन्दोलनबाट दुई दिनमै सत्ताच्युत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला भक्तपुरको गुन्डूमा बसेर शक्ति फर्काउने जोड घटाउ गरिहेका छन् ।
भदौ २४ गते दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिमागेर बालुवाटार छाडेका ओली असोज २ गते गुन्डूमा उत्रिए । अहिले उनी एकपछि अर्को सचिवालयका सदस्यहरूलाई भेट्दै आफूतिर तान्ने कोसिमा छन् ।
जेन–जीका आन्दोलनले किनाराकृत भएका ठानिएका ओलीले साउन ५ र ६ गतेको नवौँ केन्द्रीय कमिटी बैठकबाट सदस्यतासमेत नवीकरण रोकिदिएपछि बिलखबन्दमा परेकी पूर्वराष्ट्रपति विद्या भण्डारी पनि सक्रिय हुन थालेकी छन् ।
जेन–जीका नाममा भंगालस्थित निवास जलाइएपछि अहिले छोरीको घरमा बस्दै आएकी भण्डारी सोमबार नयाँबानेश्वरस्थित एभरेष्ट होटल पछाडि रहेको टिम्मुर थकाली रेस्टुरेन्टमा झुल्किइन् ।
गुन्डूमा बसेर ओलीले सचिवालयमा बहुमत जुटाउने गरी शक्ति फर्काउने कोसिस गरिरहँदा भण्डारीले पनि बानेश्वरमा एमालेका केही नेतासँग लामो छलफल गरिन् ।
यो छलफल खासमा एमालेकै स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईको पहलमा भएको स्रोतले उल्लेख गरेको छ । उक्त छलफलको आयोजना संघीय सरकारको सञ्चार मन्त्री हुँदाका स्वकीय सचिव पारुहाङ राई र भोजपुरका अर्का कार्यकर्ता वीरेन्द्र श्रेष्ठको आयोजनामा भएको हो ।
यद्यपि यो कार्यक्रम भोजपुरे समाजका नाममा गरिएको उनीहरूको भनाइ छ । एमालेको भोजपुर–काठमाडौं मञ्चमा कृपाशुर शेर्पा र शरण राईहरूको पकड छ । यस्तो अवस्थामा भण्डारीका लागि फोरम बनाउने काम भोजपुरे समाजका नाममा गरिएको हो ।
भोजपुर र कोशीका अन्य जिल्लाका आफूनिकट नेताहरूलाई भण्डारीको पक्षमा बोल्न लगाउँदै आएका राई भने अध्यक्ष ओलीले गरेको सदस्यता नवीकरण रोक्ने निर्णयकै पक्षमा थिए ।
उनले यसअघि धनकुटाको हिलेमा भएको एमाले कोशी प्रदेश कमिटीको बैठकमा अहिलेलाई भण्डारीको च्याप्टर क्लोज भएको बताएका थिए । त्यस्तै उनैले भोजपुर जिल्ला कमिटीको बैठकमा पनि भण्डारीको सदस्यता रोक्ने केन्द्रको निर्णय अक्षरस कार्यान्वयन गरेर जानुपर्ने बताउँदै यसमा अब प्रश्न उठाउनुको अर्थ नरहेको बताएका थिए ।
तर, भदौ २४ गते ओली नेतृत्वको सरकार अप्रत्यासित रुपमा पल्टिएपछि फेरिएको परिस्थितिमा शेरधन आफैंले भण्डारीसँग फेरि सम्बन्ध सुधारको प्रयास थालेका हुन् । साउनमा सदस्यता नवीकरण रोक्ने निर्णयपछि भंगाल पुगेर एक पटक संवाद गरेका उनी सार्वजनिक मञ्चमा भने पार्टी निर्णय कार्यान्वयनको पक्षमा थिए ।

शेरधन यो बाध्यता पर्नुको कारण भनेको उनी अहिले एमाले कोशीका इन्चार्ज पनि हुन् । एमालेका नवौँ केन्द्रीय कमिटीमा आफ्नो भूगोलका सबै नेतालाई सदस्यता रोक्ने पक्षमा उभ्याएका उनै अहिले विद्या भण्डारीसँग पनि संवादमा जुटेका हुन् ।
ओली सत्ताच्युत भएपछि शेरधनलाई पूर्वराष्ट्रपतिसँग निकटता बढाउन सहज भएको छ । ओली सत्ता हुँदा दबाब महसुस गरेका उनले आफूनिकटहरूको आयोजनामा कार्यक्रम राखेर सोमबार पूर्वराष्ट्रपतिसँग लामो संवाद गरे ।
टिम्मुर थकालीको उक्त संवादमा पूर्वराष्ट्रपतिको स्वागतमा शेरधन आफैँ खटिएका थिए । त्यहाँ उनीसँग एमाले नेता विनोद ढकाल, हेमराज राई र परशुराम अधिकारी पनि थिए । उनीहरू सबै विद्या भण्डारीको माइती जिल्ला भोजपुरसँग सम्बन्ध भएका नेताहरू हुन् ।
उनीहरूबीच भएको कुराकानीबारे केही पनि खुलेको छैन । तर, शेरधनले एमालेको राजनीतिमा उचाइ लिने क्रममा कहिल्यै पनि संस्थापन लाइनबाहिर गएको रेकर्ड छै्रन । २०५४ मा एमाले फुट्दा पनि उनी संस्थापनमै बसेकाले २६ वर्षको उमेरमै सांसद हुन सफल भएका थिए ।
जेन–जीको आन्दोलनले बदलिएको परिस्थितिमा ओलीमाथि नेतृत्व छाड्ने दबाब बढिरहँदा उनीनिकट नेताहरू तितरबितर हुने अवस्था आएको छ । त्यसकै एउटा संकेतका रुपमा टिम्बुर थकालीको छलफललाई लिइएको छ ।
एमालेमा अहिले एउटा तप्काले विशेष महाधिवेशनको आवाज उठाइरहेको छ। तर महासचिव शंकर पोखरेलले गत आइतबार गरेको भर्चुअल बैठकमा अहिले ओलीको नेतृत्व खोज्ने बेला नभएको स्पष्टीकरण दिइसकेका छन् । एमाले सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टसहितले पार्टी पुनःनिर्माणको प्रस्ताव गरिसकेका छन् । सचिवालयकै अन्य कयौँ नेता अझै मुख नखोली बसेका छन् ।
यस्तोमा एमालेकै पूर्वउपाध्यक्ष भण्डारी पनि ओलीले जस्तै शक्ति आर्जनका लागि घनिभूत छलफलमा सक्रिय भएकी छन् । भंगालको घर जलाइएकाले उनी अहिले डेराकोसमेत खोजीमा छिन् । डेरा सरिसकेपछि उनले एमालेभित्र ओलीमाथि दबाब बढाउने योजनासहित सक्रिय हुने तयारी गरिरहेकी छन् ।
प्रतिक्रिया