काठमाडौं– नेकपा एमालेले २०६५ सालमा महेश बस्नेतको नेतृत्वमा युथ फोर्स नेपाल बनाएको थियो । फेरि १७ वर्षपछि यही पार्टीले शुक्रबार राजधानीमा तामझामसाथ नेशनल भोलेन्टियर फोर्स घोषणा गरेको छ ।
सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएको तात्कालीन नेकपा माओवादीविरुद्ध लड्न एमालले युथ फोर्स गठन गरेको थियो ।
त्यसबेला माओवादी प्रभावशाली र नयाँ विचारसहितको कम्युनिष्ट पार्टीको रूपमा नेपालमा उदाएको थियो । सो विषयलाई एमालेले आफ्नो अस्तित्व रक्षाका रुपमा हेरेको थियो ।
१७ वर्षपछि परम्परागत नेपाली राजनीतिलाई नै चुनौती दिनेगरी जेन–जी पुस्ताले विद्रोह गर्यो । जेन–जी पुस्ताका युवा संगठित नभए पनि उनीहरूले राष्ट्रिय रूपमा नै एजेण्डाका हिसाबले ठूला राजनीतिक दललाई चुनौती दिएका छन् ।
यही बेला एमालेले नेशनल भोलेन्टियर फोर्स निर्माण गरेर जेन–जी पुस्ताको आवाज र शक्तिको सामना गर्ने संकेत गरेको छ ।
परिवर्तनको एजेन्डाविरुद्ध एमालेको फोर्स श्रृङ्खला
विगतमा नेकपा माओवादीले आफ्नो राजनीतिक लक्ष्य प्राप्तिका लागि अङ्गीकार गरेको राजनीतिक कार्यदिशामा नेपाली राजनीतिका सबै पक्ष सहमत छैनन् । विशेषतः शान्तिपूर्ण राजनीतिक कार्यदिशाका पक्षधरहरू सहमत छैनन् ।
तर, १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणको प्रक्रियाबाट भने नेपालको राज्यसत्ताको मूल प्रणाली नै परिवर्तन भएको छ । जुन परिवर्तनका मुख्य विषय तत्कालीन माओवादीको सशस्त्र आन्दोलनसँग सम्बन्धित छन् ।
तर, एमाले भने माओवादी शान्ति प्रक्रियामा आएपछि परिवर्तनकामी शक्ति र उसको अग्रगामी पक्षलाई स्वीकार गर्ने भन्दा पनि कसरी कमजोर बनाउन सकिन्छ भन्ने प्रयत्नतर्फ लाग्यो । सोही क्रममा उसले माओवादीसँग भौतिक रूपमा संघर्ष गर्ने उद्देश्यका साथ युथ फोर्स गठन गरेर देशव्यापी रूपमा आफूलाई आक्रामक ढंगले प्रस्तुत गरेको थियो ।
०७८ सालमा युथ फोर्सको पुनर्गठन र साइबर सेनाको फेरि निर्माण गर्दा एमाले भित्रैबाट समेत अनावश्यक र अलोकतान्त्रिक संगठन संरचना बनाउन लागिएको भनेर विरोध समेत भएको थियो । तर, मूल रूपमा अध्यक्ष ओली किचन समूहमा रहेको नेतृत्व समूहले अन्य आवाजलाई सुन्न र स्वीकार गर्न तयार नभइकन अगाडि बढ्यो ।
भ्रष्टाचारको अन्त्य, प्रत्यक्ष निर्वाचित शासकीय प्रणाली, सुशासनको सुरुवात लगायतका विषय अगाडि सारेर जेन–जी विद्रोह भएको थियो । यद्यपी जेन–जी विद्रोहको दोस्रो दिन भएका आगजनी र तोडफोडका घटनाको विषयमा धेरै पक्षको असहमति छ । तर, जेन–जी विद्रोहले उठाएको मूल प्रश्न भने परम्परागत राजनीतिक दल कांग्रेस–एमाले, माओवादी सहित सबैप्रति चुनौतीको रूपमा लक्षित भएको छ ।
जेन–जी विद्रोह पश्चात कतिपय साना दल विचारको बहस, महाधिवेशन र संगठनको पुनर्गठनतर्फ लागेका छन् । नेपाली कांग्रेस लामो समयदेखि केन्द्रीय कमिटिको बैठकमा केन्द्रित छ, उसले अहिलेसम्म जेन–जी विद्रोहको विषयमा समीक्षात्मक निष्कर्ष र आगामी राजनीतिक निकासबारे स्पष्ट निर्णय गर्न सकेको छैन ।
तर, एमालेले भने जेन–जी विद्रोहले स्थापित गरेको भाष्यको नै प्रतिवाद गर्न सुरु गरेको छ । उसले विघटित भएको संसद पुनर्स्थापनालाई आफ्नो मुख्य एजेण्डा बनाएको छ । एमाले भदौ २३ र २४ मा सरकारको तर्फबाट भएका कमजोरीको समीक्षा गर्न तयार छैन ।
साथै, एमाले मुलुकमा चुलिँदै गएको भ्रष्टाचार, बेथिति, वेरोजगारजस्ता समस्याको समीक्षा गर्न तयार छैन । उसले जेन–जी विद्रोहलाई विदेशी षड्यन्त्रको पगरी गुथाइदिएर फेरि सत्तामा फर्कनको लागि हरेक हत्कण्डा अपनाउन तयार रहेको स्पष्ट सन्देश दिएको छ ।
शक्ति सन्तुलनमा एमालेको भूमिका
२०७९ साल मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मत परिणामअनुसार नेकपा एमाले देशकै ठूलो लोकप्रिय पार्टी हो । त्यतिमात्रै नभएर संगठनात्मक आधारमा पनि एमाले मुलुकको पहिलो वा दोस्रोको निम्ति मुख्य प्रतिस्पर्धी पार्टी हो ।
विगतको संसदीय निर्वाचन, हालको प्रदेश सरकार र स्थानीय सरकारमा सहभागिताको हिसाबले एमाले मुलुकको सत्तापक्षीय मुख्य जिम्मेवारीमा रहेको देखिन्छ । जेन–जी विद्रोहले सबै राजनीतिक दललाई केन्द्रीय सरकारबाट हटाइदिएको भएपनि पैदा भएको सङ्क्रमणकालीन राजनीतिक निकासमा सबै मुख्य दलको सकारात्मक भूमिका हुनुपर्दछ ।
त्यसमा एमालेको थप रचनात्मक भूमिका हुनुपर्दछ । कुनैपनि दल वा नेतृत्वले समन्वयकारी भूमिका निर्वाह गर्न नसकिरहेको वर्तमान अवस्थामा एमालेले अंगिकार गरेको फोर्स निर्माण अभ्यासले मुलुकमा थप राजनीतिक संशय निर्माण गरेको स्पष्ट देखिन्छ ।
केही दिनअगाडि सरकार र राजनीतिक दलका प्रतिनिधिबीचमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले एमालेलाई लक्षित गर्दै संसद पुनर्स्थापना गर्ने अडान राख्दा अर्को विद्रोह हुनसक्ने चेतावनी दिएकी थिइन् । शुक्रबार भोलेन्टियर फोर्सको घोषणा सभामा ओलीले प्रधानमन्त्री कार्कीको प्रतिवाद गर्दै सपना नदेख्न चुनौती दिएका थिए ।













प्रतिक्रिया