पछिल्लो समय विश्व फुटबलमा महत्त्वपूर्ण उपस्थिति जनाएको जापान लगातार आठौँ पटक विश्वकपमा प्रवेश गर्न सफल भएको छ। सन् १९९८ मा पहिलो पटक विश्वकप फुटबलमा प्रवेश पाएको जापानले त्यस यताका सबै विश्वकपमा आफूलाई उभ्याउन सफल भएको छ। सन् २०२६ मा हुने विश्वकपमा आयोजक देश अमेरिका, मेक्सिको र क्यानडापछि सहभागिता निश्चित गर्ने देश जापान नै बनेको छ।
अहिले एसियाली राष्ट्रको तेस्रो चरणको छनोट जारी छ। चौथो चरणमा जापान समूह ‘सी’मा छ। शीर्ष स्थानमा रहेको जापानको १९ अङ्क छ। सो समूहमा दोस्रो स्थानमा अस्ट्रेलिया छ। अस्ट्रेलियाको १० अङ्क छ। तेस्रो स्थानमा रहेको साउदी अरेबियाको ९ तथा चौथो स्थानमा रहेको इन्डोनेसियाको ६ अङ्क छ।
बहराइन र चीनको ६ अङ्क छ। हरेक समूहबाट शीर्ष दुई स्थान पाउने टोली सिधै विश्वकपमा छनोट हुनेछन्। एक समूहमा रहेका ६ टोलीको बीचमा होम एन्ड अवेको आधारमा १० खेल हुने छन्। अहिलेसम्म सात खेल सकिएका छन्। तीन खेल बाँकी रहँदा शीर्ष स्थानको जापान र साउदी अरेबियाबीचको भिन्नता १० अङ्क भइसकेको छ। समूहमा दोस्रो स्थानका लागि भने तीव्र प्रतिस्पर्धा छ।
यसैगरी बलियो स्थानमा रहेको टोली इरान हो। समूहका सात खेलको समाप्तिमा इरान १९ अङ्क सहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको उज्बेकिस्तानको १६ तथा तेस्रो स्थानको संयुक्त अरब इमिरेट्सको १० अङ्क छ। कतारको पनि १० अङ्क छ भने किर्गिस्तानको ३ तथा उत्तर कोरियाको २ अङ्क छ। मंगलबार इरानले उज्बेकिस्तानसँग खेल्ने छ। सो खेलमा कमसेकम बराबरीले पनि इरानको विश्वकप प्रवेश निश्चित गराउने छ। अहिले छनोट हुने सम्भावना सबै भन्दा प्रबल भएको देश नै इरान हो।

‘ए’ र ‘सी’ भन्दा समूह ‘बी’ प्रतिस्पर्धात्मक छ। समूह ‘बी’मा दक्षिण कोरिया १५ अङ्कसहित शीर्ष स्थानमा छ भने जोर्डन र इराकको १२ अङ्क छ। सो समूहमा ओमानको ७, कुवेतको ५ तथा प्यालेस्टाइनको तीन अंक छ।
पहिलो पटक विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता रहने छ। एसियाबाट ८ टोलीले प्रवेश पाउने छन्। नवौँ हुने टोलीले इन्टर कन्फरडेसन प्ले अफमा प्रतिस्पर्धा गर्ने छ।
विगतमा सहभागी भएका धेरै देशको सहभागिता फेरि पनि बलियो छ। अहिलेसम्म सबै भन्दा धेरै पटक विश्वकप फुटबलमा सहभागिता जनाएको दक्षिण कोरिया यस पटक पनि विश्वकपमा प्रवेश पाउने सम्भावना प्रबल छ। हालसम्म दक्षिण कोरियाले ११ पटक विश्वकप फुटबलका प्रतिस्पर्धा गरिसकेको छ।
यसैगरी, अस्ट्रेलिया, इरान र साउदी अरेबियाले विश्वकपमा ६ पटक सहभागिता जनाइसकेका छन्। उत्तर कोरियाले दुई पटक सहभागिता जनाएको छ।
इन्डोनेसिया, इजरायल, कुवेत, इराक, संयुक्त अरब इमिरेट्स, चीन र कतारले एक पटक विश्वकप सहभागिता जनाएका छन्। सबै भन्दा माथिल्लो उपलब्धिको रूपमा सन् २००२ को विश्वकपमा दक्षिण कोरियाले सेमिफाइनलको यात्रा तय गरेको थियो।
कसरी बन्यो जापान उत्कृष्ट ?
पछिल्लो समय जापान एसियाली राष्ट्रमा उत्कृष्ट रहेको कुरामा कुनै विवाद हुन सक्दैन। सन् १९९८ यता विश्व फुटबलमा जापानको बेजोड उपस्थिति समय समयमा देखिएको छ। सन् २०२२ को विश्वकपमा जापानले स्पेन र जर्मनीलाई हराएर आफ्नो क्षमता पुष्टि गरिसकेको छ। त्यसको एक वर्षपछि न्युजिल्यान्ड र अस्ट्रेलियामा भएको विश्वकपमा महिला टोलीले पनि त्यत्तिकै बेजोड प्रदर्शन गरेको थियो। सन् २०११ मा त जापानले उपाधि नै जितेको थियो।

सन् १९९३ मा जे लिगको रूपमा व्यवसायिक फुटबलमा प्रवेश पाएको थियो। यसका बाबजुद विभिन्न स्कुल, कलेज र तल्लो समुदायमा एमच्योर तहको फुटबल गतिविधि भने जारी नै थियो।
विद्यालय तहमा फुटबलले लोकप्रियता पाइरहेको जापानमा विश्वविद्यालय तहमा पनि फुटबल लोकप्रिय खेलको रूपमा स्थापित छ। ब्रिङटनमा प्रवेश पाएका काउरु मिटोमा र सेल्टिकमा सफल उपस्थिति जनाएका क्योयुगु फुरुहासी पनि विश्वविद्यालय फुटबलका उत्पादन हुन्। त्यसो त सन् २०२२ मा कतार विश्वकपमा सहभागिता जनाएको टोली नै शैक्षिक प्रतिस्थानको प्रभाव मानिन्छ।
विश्वविद्यालयले नै फुटबललाई यसरी सन्तुलनमा राखेका छन् कि सँगै फुटबल र अध्ययनलाई अगाडि बढाउने कुरामा जापानमा कुनै कठिनाइ हुँदैन।
जापानको सफलता
एसियाबाट लगातार ८ पटक विश्वकपमा छनोट जापान चार पटक एसियाली च्याम्पियन समेत भएको छ। सन् १९९० को दशक भन्दा अघि जापान फुटबलमा उत्कृष्ट देशको रूपमा थिएन। जापान पहिलो पटक एसियाली च्याम्पियन भएको हो। यसपछि सन् २०००, २००४ र २०११ मा जापान एसियाली च्याम्पियन भइसकेको छ।

जापानका स्टार खेलाडी
करिब तीन दशकमा जापानको यो सफलतामा केही खेलाडीको भूमिका महत्त्वपूर्ण मानिएको छ। जापानका हिदेतोसी नाकातालाई अहिलेसम्मकै उत्कृष्ट खेलाडी मानिन्छ। उनले इटालियन सिरिए क्लब एएस रोमा, पेरुजिया, फियारेन्टिना र पर्माबाट खेल्दै सिरिए लगायत प्रतियोगितामा उनले आफ्नो टोलीलाई सफलता दिलाएका छन्।
बोरुसिया डर्टमन्ड र म्यानचेस्टर युनाइटेडबाट समेत अवसर पाएका सिन्जी काजावा जापानका अर्का स्टार हुन्। बुन्डेसलिगा र एक पटक प्रिमियरसिपमा सानदार प्रदर्शन गरेका उनमा एक पटकको एसियन कपको अनुभव पनि छ।
कुनिसिगे कानामाटोले यानमार डेसाइबाट फुटबल खेलेका हुन्। उनी सात पटक जापनिज फुटबलर अफ द इयर भइसकेका छन्। उनले लिसेस्टर सिटी र बुन्डेसलिगा क्लबबाट व्यावसायिक फुटबल खेलेका छन्।
यासुहितो हिन्डो, काइसुके होल्डा, माकोतो हेसेबे र युटा नागामोतो लगायत स्टार खेलाडीले जापानको फुटबल सुसज्जित छ।

जापान फुटबल महासङ्घको नीति र सरकारको सहयोगका साथै शिक्षा र खेलकुदलाई सँगै लैजाने विश्वविद्यालयको नवीन सोचको असर पछिल्लो तीन दशकमा जापानमा राम्रोसँग देखिएको छ। स्रोतः फिफा, एएफसी र स्पोर्ट्स दुनियाँ
प्रतिक्रिया