नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन | Khabarhub Khabarhub

एसिया

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन



काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि लिपुलेक पासको प्रयोग गर्ने सम्झौता गरेपछि नेपालमा तरङ्ग निम्त्याएको छ ।

भारत भ्रमणका क्रममा वाङले लिपुलेकसहित तीनवटा परम्परागत नाकालाई व्यापारिक प्रयोजनका लागि सञ्चालनमा ल्याउने सहमति गरेका छन्‌ ।

दुई देशको सहमतिलाई कतिपय विश्लेषकले दुई ठूला छिमेकीको बलमिच्याइँ र हेपाहा प्रवृत्ति मानेका छन् । कतिपयले चाहिँ यसलाई नेपालको कूटनीतिक असफलताको परिणामका रूपमा अर्थ्याएका छन् ।

उत्तरी र दक्षिणी छिमेकीले नेपाललाई थाहै नदिइ नेपालको भूमिलाई प्रयोग गर्ने सम्झौता गरेपछि नेपालमा जनस्तरमै चर्को आक्रोश पैदा भएको छ । यस विषयमा नेपालका राजनीतिक दलहरू पनि एकैठाउँमा उभिएका छन् ।

लिपुलेकबारे दुई छिमेकीको सम्झौताबारे नेपाली सञ्चार माध्यमले निकै ठूलो महत्व दिएका छन् । यसले मूलधारका मिडिया र सामाजिक सञ्जालमा पनि ठूलो हल्लाखल्ला मच्चिएको छ । यसबाट नेपालको राजनीतिक नेतृत्वलाई पनि दबाब पैदा भइरहेको विश्लेषण गरिएको छ ।

परराष्ट्र मन्त्रालयले लिपुलेकको प्रयोगबारे चीन र भारतबीच भएको सम्झौताको विरोध जनाइसकेको छ । भारतीय विदेशमन्त्रालयले चाहिँ नेपाली पक्षको भनाइ खण्डन गरेको छ ।

नेपालको एउटा उग्रराष्ट्रवादी खेमाले लिपुलेक विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन र भारत भ्रमण रद्द गर्नुपर्ने तर्क गरिरहेको छ । यद्यपि कतिपयले चाहिँ प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणका क्रममा यस विषयमा कुरा राख्नुपर्ने धारणा राखेका छन् ।

वाङ यीको भारत भ्रमणका क्रममा दुई देशले सीमा विवाद समाधान गर्न विशेषज्ञ समिति गठन गर्ने निर्णय पनि गरेका छन् । यो समितिले सकेसम्म चाँडो सीमाङ्कनको स्थायी समाधान खोज्ने अपेक्षा गरिएको छ । तर, दुई एशियाली शक्तिका लागि यो विषय ज्यादै पेचिलो भएकाले छोटो समयमा स्थायी समाधान निस्किनेमा भने आशङ्का छ ।

त्यसैगरी, लामो समयदेखि परम्परागत प्रतिस्पर्धीका रूपमा रहेका देशबीच स्थायी सीमा समाधानको विषयले मुलुकको आन्तरिक राजनीतिमा पनि प्रभाव पार्ने भएकाले यसका लागि ठूलो राजनीतिक इच्छाशक्ति आवश्यक पर्ने बताइएको छ ।

भारत र चीनबीच लामो समयदेखि चल्दै आएको सीमा विवाद दक्षिण एशियाको भूराजनीतिक परिदृश्यमा एक जटिल र संवेदनशील मुद्दा बनेको हो । भारत र चीनबीच स्थायी सीमाङ्कन कायम छैन । त्यसमाथि ऐतिहासिक सन्धि र नक्साको अस्पष्टताले यो मुद्दालाई थप पेचिलो बनाएको छ ।

यतिसम्म कि एक अर्कासँग कति लम्बाइको सीमा जोडिन्छ भन्ने बारे पनि दुई देशबीच फरक फरक आँकडा छ । भारतले दुई देशबीचको सीमा करिब तीन हजार ४८८ किलोमिटर लामो रहेको दाबी गर्दै आएको छ । चीनचाहिँ भारतसँग दुई हजार किलोमिटरमात्रै सीमा रहेको बताउने गर्छ ।

यी दुईबीच सबैभन्दा धेरै विवाद भएका भूमिचाहिँ पश्चिमी क्षेत्रमा रहेका छन् । चीन, भारत र पाकिस्तानबीच कायम त्रिदेशीय सीमामा भारत र चीनबीच सबैभन्दा धेरै सीमा विवाद रहँदै आएको छ । त्यस क्षेत्रमा अवस्थित अक्साई चीन, गलवान, पाङ्गोङ ताल, सक्सगम उपत्यकाजस्ता भूमि यीदुई देशबीच विवादको केन्द्रमा रहँदै आएका छन् ।

त्यसबाहेक सिक्किमनजिकै भुटानको सार्वभौमिकता रहेको डोक्लम उपत्यकामा पनि यीदुई देशबीच अस्पष्टता र विवाद छ । सुदूर पूर्वीभारतको अरुणाचल प्रदेशमा पनि चीन र भारतबीच सार्वभौमिकताको विवाद छ । चीनले बारम्बार अरुणाचल प्रदेश आफ्नो सार्वभौमिकतामा पर्ने दाबीगर्दै नक्सा जारी गर्दै आएको छ ।

भारत र चीनबीच कहाँकहाँ छ सीमाविवाद ?

१. अक्साई चीन
अक्साई चीन–भारत र चीनबीच विवादमा रहेको सबैभन्दा ठूलो भूखण्ड हो । भारतले यसलाई आफ्नो लद्दाख क्षेत्रको एक हिस्सा मान्दै आएको छ । अर्कोतर्फ, चीनले यसलाई आफ्नो सिन्जियाङ र सिजाङ (तिब्बत) मा रहेको दाबी गर्छ । ३८ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो क्षेत्र चीनको नियन्त्रणमा रहेको छ ।

सन् १९६२ मा भएको चीन र भारतबीचको युद्धपछि यो भूमिमा चीनले आफ्नो नियन्त्रणलाई थप मजबुत बनाएको थियो  । चीनको सिन्जियाङ र सिजाङ (तिब्बत) जोड्ने जी–२१९ राजमार्ग पनि यही भूमि भएर जान्छ ।

हाल चीनले सिन्जियाङ र सिजाङ जोड्ने रेलमार्ग निर्माण गर्ने योजना अघि बढाएको छ । उक्त रेलमार्ग पनि यही भूमि भएर जानसक्ने जनाइएको छ ।

२. गलवान
गलवान क्षेत्र अक्साई चीन र लद्दाखमा रहेको विवादित भूमि श्रृङ्खलाको अर्को क्षेत्र हो । यो पनि अक्साई चीन नजिकै पर्छ । सन् २०२० मा यही क्षेत्रमा दुई देशका सुरक्षाकर्मीबीच घातक झडप भएको थियो ।

उक्त झडपमा परी भारतका २० सैनिकले ज्यान गुमाएका थिए । त्यस घटनामा चीनतर्फ पनि हताहती भएको थियो । यद्यपि चीनले आफ्नोतर्फ भएको हताहतीको सङ्ख्या खुलाएको छैन ।

३. पाङगोङताल
पाङगोङ ताल पनि अक्साई चीन र लद्दाखकै विवादित भूमिहरूको श्रृङ्खलाको अर्को क्षेत्र हो । यस क्षेत्रमा रहेको विशालपाङगोङ ताल आसपास दुई देशबीच तनाव छ ।

हाल चीनले यो तालको दुई तिहाइ भागमा आफ्नो प्रभाव कायम गरेको छ भने बाँकी एक तिहाई भागमा मात्रै भारतीय नियन्त्रण छ ।

यस क्षेत्रमा पनि सन् २०२० मा दुई देशका सुरक्षाकर्मी र हातहतियारको तैनाथी बढेको थियो । यद्यपि कूटनीतिक वार्तापछि दुबै मुलुकले यस क्षेत्रमा संयमता अपनाएका छन् । तैपनि पूर्ण रूपमा यस क्षेत्रमा शान्ति कायम हुन बाँकी नै छ ।

४. डेप्साङ
डेप्साङ क्षेत्र गलवानभन्दा केही उत्तरतिर पर्छ । उच्च भूमिमा रहेको यो क्षेत्र अन्यत्रभन्दा केही समथर छ । त्यसैले यसको रणनीतिक महत्व पनि उच्च छ । यहाँ पनि सन् २०२० मा दुई देशका सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको थियो ।

यस क्षेत्रमा चीनले आफ्नो सैन्य उपस्थिति र पूर्वाधार निर्माण कार्य बढाइरहेको भन्दै भारतले आरोप लगाउने गरेको छ ।

५. डेमचोक
पाङगोङ तालभन्दा केही दक्षिणतिर डेमचोक अवस्थित छ । सन् २०२० मा यस क्षेत्रमा पनि दुई देशका सुरक्षाकर्मी आमनेसामने भएका थिए । भारतले यस क्षेत्र लद्दाखमा पर्ने दाबी गर्दै आएको छ भने चीनले चाहिँ यस भूभाग सिजाङमा पर्ने दाबी गर्छ ।

६. सक्सगम उपत्यका
चीनको नियन्त्रणमा रहेको सक्सगम उपत्यकामा भारतले आफ्नो सार्वभौमिकता दाबी गर्छ । यो उपत्यका काराकोरम पर्वत श्रृङ्खलामा अवस्थित रहेको छ । खासमा यो क्षेत्र पाकिस्तानले चीनलाई प्रदान गरेको हो । पाकिस्तानले एक सम्झौताअन्तर्गत यो भूभाग सन् १९६३ मा चीनलाई प्रदान गरेको थियो ।

पाकिस्तानले चीनलाई प्रदान गर्नुअघि नै यो भूमि भारत र पाकिस्तानबीच सार्वभौमिकताको विवादमा रहेको थियो । भारतले यो भूमिको आदानप्रदानलाई अस्वीकार गर्दै आएको छ । पश्चिमचीनको सिन्जियाङ प्रान्तलाई अरब सागरसँग जोड्ने चीन–पाकिस्तान आर्थिक कोरिडोरको ट्रान्स काराकोरम राजमार्ग पनि यही भूभाग भएर जाने भएकाले यसको भू–रणनीतिक महत्व पनि उच्च छ ।

७. अरुणाचल प्रदेश
पूर्वी क्षेत्रमा अवस्थित अरुणाचल प्रदेशलाई भारतले आफ्नो अभिन्न अंग मान्दछ, तर चीनले यसलाई दक्षिणी तिब्बत जङनाम दाबी गर्छ । अरुणाचलको तवाङ क्षेत्र दुई देशबीच संवेदनशील मानिन्छ ।

भारतको प्रशासन रहेको अरुणाचलमा चीनले बारम्बार नक्सा जारी गरेर आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । सन् १९६२ को युद्धमा यो क्षेत्रमा पनि ठूलो लडाइँ भएको थियो । हालैका वर्षमा चीनले यहाँ सडक निर्माण र सैन्य गतिविधि बढाएको छ । यसले भारतलाई चिन्तित तुल्याउने गर्छ ।

रोचक कुरा के छ भने अरुणाचलप्रदेशमा बसोबास गर्ने मान्छेलाई चीनले राहदानीमा छाप हानेर भिसा दिँदैन । चीनले अरुणाचलमा बस्ने मान्छेलाई नत्थी गरेर (स्टिचहानेर) स्टेपलभिसा दिने गर्छ । यसबाट भारत क्रुद्धहुँदै आएको छ ।

८. डोकलाम
सिक्किम नजिकै अवस्थित डोकलाम क्षेत्रमा सन् २०१७ मा भारत र चीनबीच ७३ दिन लामो सैन्य गतिरोध उत्पन्न भएको थियो । यो क्षेत्र भारत, चीन र भुटानको त्रिदेशीय क्षेत्रमा पर्छ । चीनले यहाँ सडक निर्माणको प्रयास गरेपछि भारत र भुटानले विरोध गरेका थिए ।

यो विवादमा भुटान र चीन प्रत्यक्ष संलग्न रहेपनि भुटानको पक्ष लिई भारतले सुरक्षाकर्मी परिचालन गरेको थियो । भारतको मुख्यभूमिलाई पूर्वोत्तर क्षेत्रसँग जोड्ने सिलिगुडी करिडोर यस क्षेत्रबाट धेरै नजिक पर्छ । त्यसैले भारतका लागि यो क्षेत्र ज्यादै संवेदनशील छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  १ : ०२ बजे

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट