पाल्पा– सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा लाभ उठाउने कार्य भइरहेको छ । व्यक्तिगत प्रयोजनका लागि सार्वजनिक जग्गा हडपेर भोगचलन गर्ने कार्य कायमै छ । उद्यान, चौतारी, सडक, धार्मिकस्थल, ताल, पर्यटन विकासलगायतका विकास नागरिक हितका हुन् । यस्ता कार्यमा चासो र चिन्तन भने कमै हुने गरेको छ ।
तर रामपुर नगरपालिकाले नागरिक हित र नगरको विकासका लागि व्यक्तिले वर्षौँदेखि भोगचलन गर्दै आएका सार्वजनिक जग्गा छुट्याएर विभिन्न संरचना निर्माणमा जोड दिएको छ । सार्वजनिक जग्गा संरक्षणका लागि नगर सरकार तदारुकताका साथ लागेको छ ।
नगरपालिकाले १० वटै वडामा रहेका सार्वजनिक जग्गा छुट्याउने कार्य गरिरहेको छ । हाललाई सबैभन्दा ठूलो मानव बस्ती रहेको वडा नम्बर ५ मा मिचिएका सार्वजनिक जग्गा नाप नक्साङ्कन गरेर छुट्याइएको छ ।
रामपुर–५ भित्र पर्ने मटेरी ठूलोटार, इलाका प्रहरी कार्यालय, सानीअमराई क्षेत्र, बहखोला, भम्बक आर्मिक्याम्प, सिमलघारी बसपार्क, नहरअफिस, आयुर्वेद अस्पताल क्षेत्रमा रहेका सार्वजनिक जग्गा छुट्याउने कार्य भएको छ । यी क्षेत्रलाई व्यवस्थित बनाउँदै लगिएको छ । व्यक्तिले सार्वजनिक जग्गा मिचेर भोगचलन गर्दै आएका जग्गा छुट्टयाएर पिल्लर गाड्ने, वृक्षरोपण, सडक, उद्यान निर्माण, सौन्दर्यकरणजस्ता काम भइरहेको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए ।
मटेरी ठूलोटार क्षेत्रमा चारैतिर ३८ वटा पिलर गाडेर सार्वजनिक जग्गा छुट्याइएको छ । इलाका प्रहरी कार्यालय, रामतुलसी नमूना माविको खेलमैदान र व्यक्तिको विवादित बनेको जग्गा छुट्याएर वर्षौँदेखि समस्या समाधानका लागि पिलर गाडेर राखिएको छ ।
इलाका प्रहरी कार्यालयको पश्चिम क्षेत्रमा रहेको भान्साघर परिसरसम्म सार्वजनिक जग्गा रहेको पाइएपछि अब सो क्षेत्रमा नयाँ स्थायी संरचना बनाउन नपाउनेगरी पिलर गाडेर जग्गा छुट्याउने काम सकिएको वडाध्यक्ष पोखरेलले बताए ।
व्यक्तिले अतिक्रमण गरेर प्रयोग गरेका सार्वजनिक जग्गालाई नाप नक्साङ्कन गरेर सो क्षेत्रमा अहिले मनोरञ्जन उद्यान, व्यायामशाला, सडक निर्माण तथा विस्तार, वृक्षरोपणजस्ता कार्य हुन थालेपछि रामपुरको स्वरुप फेरिँदै गएको छ ।
रामपुर नगरपालिकाले २०८० सालदेखि सार्वजनिक जग्गा संरक्षण अभियान थालेको हो । नगरपालिकाले बजेट नै विनियोजन गरेर यो कार्य गरिरहेको छ । नगरपालिकाले पहिलो र दोस्रो वर्ष पाँच–पाँच लाख, वडा नम्बर ५ कार्यालयले वडाभित्रका सार्वजनिक जग्गा छुट्याउनका लागि पहिलो वर्ष एक लाख रुपैयाँ रकम विनियोजन गरेर काम गरेको वडाध्यक्ष पोखरेलले बताए ।
नगरले राष्ट्रिय गौरवका योजनाबाट सार्वजनिक जग्गा छुट्याउने कार्य थालनी गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए । नगर गौरवका योजना चलेका स्थानमा व्यक्तिले हडपेका सार्वजनिक जग्गामा बनेका संरचना हटाएर पर्यटन विकास, बालउद्यान, खेलमैदान स्तरोन्नति गर्दै सौन्दर्यकरण गर्दै लैजाने नगरप्रमुख थापाको भनाइ छ ।
‘कसैले पनि व्यक्तिगत रूपमा आफूलाई लाभ लिने उद्देश्यले सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन, त्यस्ता जग्गा पहिचान गरेर नगरपालिकाको हित हुने र सर्वसाधारण, समुदायले प्रत्यक्ष लाभ लिने खालका पूर्वाधार विकास गर्दै जान्छौँ, सार्वजनिक जग्गा छुट्याउने कार्यलाई नगरले जोड दिएको छ’, नगरप्रमुख थापाले भने ।
रामपुरभित्र रहेका सार्वजनिक र निजी जग्गा छुट्याउनुपर्ने र त्यसलाई वर्गीकरण गरी सार्वजनिक जग्गा संरक्षण गरिनुपर्ने नगरवासीको मागअनुसार काम भइरहेको छ । सार्वजनिक जग्गा संरक्षण अभियानमा नगरवासीले साथ दिएका छन् । पहिले नै गर्नुपर्ने काम नगर्दा अहिलेको अवस्थामा सार्वजनिक जग्गा संरक्षण गर्न अप्ठ्यारो परेको छ । रामपुरमा तत्कालीन गाउँ पञ्चायत र गाउँ विकास समितिले जग्गा बिक्री गर्न थालेपछि सार्वजनिक जग्गा व्यवस्थापनमा चुनौती थपिँदै आएको थियो ।
प्रतिक्रिया