जसको दिल शैलुङको सय थुम्कामा बस्यो | Khabarhub Khabarhub

जसको दिल शैलुङको सय थुम्कामा बस्यो



काठमाडौं– कुनैबेला महेन्द्ररत्न क्याम्पसमा उम्दा विद्यार्थी नेता थिए– भरत दुलाल । हिक्मत कार्की, राजेन्द्र राई, यज्ञराज सुनुवार उनका समकालीन साथीहरू थिए । राजेन्द्र राई र हिक्मत कार्की नजिक रहेर राजनीति गर्थेँ । प्रजातन्त्रका खातिर भएका हरेक आन्दोलनमा दुलालले अग्रमोर्चामा रहेर काम गरे । उनका साथीहरू कोही मुख्यमन्त्री, कोही संघीय मन्त्री त कोही पटक पटक सांसद भए । दुलालको कथा भने फरक छ । 

रामायणका भरत झैँ उनले आफ्नै विरासतमा रमाउने निधो गरे । राजनीतिबाट प्राप्त फाइदा, बेफाइदाको जोड घटाउमा लागेनन् । राजधानीमा कमाएको नाम गाउँ फर्केर नखुम्च्याउन घरपरिवार, इष्टमित्रले दिएको सल्लाह विनम्रतापूर्वक इन्कार गर्दै आफ्नै माटोमा फर्किए । अनि जिल्लाको धुनीफुनी राजनीतिमा रमाउन थाले । 

शैलुङको फेदीमा जन्मिएका उनी यो ठाउँको श्रीवृद्धि र उन्नयन कसरी गर्न सकिन्छ भनेर सोच्न थाले । सपना, जपना र कल्पना नै उनका लागि शैलुङ बन्यो । संयोगले उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी एमालेले उनैलाई यसअघिको कार्यकालका लागि शैलुङ गाउँपालिकाको अध्यक्षको प्रत्याशी बनाइदियो । चुनाव जितेर गाउँपालिकाको नेतृत्व लिएर तोकिएको कार्यकाल पूरा गरे ।

एकातिर जनताका नाना, खाना र छानाका विषय बग्रेल्ती एजेण्डा थिए । विकासको पूर्वाधारमा उत्तिकै धनराशी चाहिन्थ्यो । कृषि उपजका विषय त्यति नै संवेदनशील थियो । थोरै साधन, धेरै सपनाबीच शैलुङलाई पर्यटकीय गन्तव्य बनाउने अभियान आफैँमा जटिल थियो । 

काठमाडौं उपत्यका वरपरका सामान्यभन्दा सामान्य ठाउँ पर्यटकीय गन्तव्य बनिरहँदा सांस्कृतिक, प्राकृतिक र जैविक दृष्टिले त्रिवेणी शैलुङ ओझेलमा परेको विषय उनका लागि सह्य थिएन । चीन भ्रमण जाँदा उनले ग्रेटवाल देखेका थिए । पर्यटक आकर्षित गर्न केही न केही नौलो मसला चाहिने नै थियो । आफैँले आफैँसँग प्रश्न गरे– शैलुङमा मिनी ग्रेटवाल किन नबनाउने ?

साथीभाइसँग सरसल्लाह हुँदा सबैले हरियो बत्ती बाले । उनीभित्र त्यो अवधारणा आउनु र सरकारले सय पर्यटकीय क्षेत्रको छनोट गर्नु अनौठो संयोग थियो । शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुङ्गा ९ सय ५० मिटरसम्म निर्माणको डिपिआर तयार भए पनि अहिले ५ सय मिटर मात्र ग्रेटवाल बनेको छ । 

ग्रेटवाल निर्माणको लागि सङ्घीय सरकारको ७० प्रतिशत र सैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट प्रदान गरेको छ । प्रारम्भिक चरणमा ५ सय मिटर ग्रेटवाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४ सय १८ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो ।

मिनी ग्रेटवालमा अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । पर्यटकका लागि पूर्वाधार बन्ने क्रम उत्तिकै छ । दोलखाबाट बाहिरिएकाहरू पनि शैलुङको रौनक आएसँगै गाउँ फर्किन थालेका छन् । भरतलाई यी दृश्यले थामी नसक्नुको खुसी दिएको छ । अहिले उनी सार्वजनिक भूमिकामा त छैनन्, तर पनि त्यही शैलुङको एजेण्डामा कुदिरहन्छन् । आफूपछि आउने गाउँपालिकाको नेतृत्वले शैलुङको एजेण्डालाई छायाँमा चित्त काटिएको अनुभूति गरेका छन् । शैलुङको महत्त्व दर्साउँदै उनले लेखेको कविताको पंक्ति यस्तो छ–

प्रथम बुद्ध साङ्गे महा्र्माेर्चेको पहिलो प्रवचन स्थल ।

पाचौं बुद्ध गरु रेम्पोचे याने पद्म संभको तपोक्षेत्र ।।

सातौं बुद्ध शाक्यमुनि गौतम बुद्धको ज्ञानधाम ।

देवाधिदेव शैलुङ्गेश्वर महादेवको गुप्त स्थान ।

अघोरी ऋषि श्रृङ्ग ऋषिको तपस्या भूमि ।।

ग्रेटवाल सपना कसरी पूरा भयो ? शैलुङको पर्यटन प्रवर्द्धन, भावी लक्ष्य, योजना र कार्यान्वयनका चुनौती विषयमा शैलुङ गाउँपालिका पूर्व अध्यक्ष भरतप्रसाद दुलालसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश : 

शैलुङमा मिनी ग्रेटवाल बनाउनु पर्छ भन्ने धारणा कसरी आयो ?

शैलुङ आफैँमा पर्यटकीय स्थल हो । त्यसको प्राकृतिक संरचना जस्ताको तस्तै राख्ने र त्यसको साइजमा थप राम्रो र व्यवस्थित बनाउनु पर्छ भन्ने हाम्रो मान्यता थियो । त्यही अनुरूप पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर सोच्न थाल्यौँ । चाइनाको ग्रेटवाल त हामीले देखेका थियौँ । त्यस्तै ठूलो त बनाउन सक्दैनौँ । पहिला त त्यहाँ सानो गोरेटो बाटो मात्र थियो । त्यसमा सिँढी हाल्यौँ ढुंगामाटोको, त्यो त चौँरीहरू ओहोरदोहोर गर्दा खुरले भत्काउने भयो । 

त्यसलाई अब बलियो र राम्रो पनि होस् भन्ने भएर मिनि ग्रेटवालको अवधारणामा अघि बढाऊँ भनेर सोचेर संघीय सरकारको पर्यटन मन्त्रालयले त्यति बेला नेपालका सयवटा गन्तव्यका रूपमा राखिएको थियो । हामीले थप विकासका लागि सहयोग माग्यौँ र साझेदारीमा काम गर्ने भन्ने भयो । 

त्यसपछि गाउँपालिकाले प्रस्ताव तयार गर्‍यो । ७० प्रतिशत संघीय सरकार र ३० प्रतिशत सैलुङ गाउँपालिका मिलेर काम गर्ने भनेर डिपिआर गरायौँ । डिपिआरले झण्डै ११ सय मिटरको भएको थियो । र पछि त्यसको मापदण्ड  ५ प्रतिशतभन्दा माथिको स्टीमेट नगर्ने भन्ने रहेछ योजनाहरू । र त्यसलाई हामीले ५ करोडमा बनाउने भनेर लाग्यौँ । पछि त्यसको ७ करोड जतिको लागत आयो । पछि मन्त्रालयले ७० प्रतिशत भन्दा माथि दिन नसक्ने भन्यो । बाँकी गाउँपालिकाबाट हाल्छौँ भन्यौँ । पछि केन्द्रबाट टेन्डर स्वीकृत हुँदा ४ करोडमा पास छ । र बाँकी गाउँपालिकाले लगानी गर्‍यौँ । 

हामीले जे सोचेर यो कदम अगाडि बढाएका थियौँ, त्यसमा सकारात्मक प्रभाव देखिएको छ । शैलुङ आफैँमा एक त सुन्दर छ, त्यसमा पनि मिनि ग्रेटवालले थप पर्यटन भित्र्याउन मद्दत गरेको छ । मान्छेहरू आएर फोटो खिच्ने, टिकटक बनाउने भिडियो खिच्ने गर्दा थप राम्रो प्रचार भएको छ । 

ग्रेटवाल बनेपछि सैलुङको पर्यटन प्रवर्द्धनमा तपाईँले सोचेजस्तो परिवर्तन आयो ? यसको पूर्णता यति नै हो कि अझै बनाउन बाँकी छ ?

हालको संरचना भनेको आधा हो । अहिले १२ सय मिटर बनेको छ । अरु १२ सय मिटर जति बनाउन बाँकी नै छ । माथि डाँफे ढुङ्गासम्म बनाउनु पर्ने छ । थुम्कासम्म पुरै संरचना बिगार्नु हुँदैन । बिगार्दैनौँ जंगलसम्म बनाउने भन्ने हाम्रो मान्यता थियो । तर हाम्रो कार्यकाल सकियो  ।अहिलेका साथीहरूलाई त्यति बनाउनु पर्छ भनेर हामीले भनेका छौँ । तर उहाँहरूले गर्न सक्नु भएको छैन । त्यसलाई माथिसम्म बनाउनु पर्छ । 

श्रोत व्यवस्थापन कसरी गर्नुभयो ? 

हामीले अझ बाहिरतिर कटिङ गरेको ढुंगा लगाएका छौँ । भित्र पनि त्यस्तै राख्ने धोको थियो तर उहाँहरूले त्यो महँगो पर्ने भयो नटाँसौँ भन्नु भयो । अलि विशेष तरिकाबाट प्लास्टर जसरी ढुङ्गाले कभर गर्ने हो भने अझ त्यसले आकर्षण थप्ने थियो । पहिला हामी त्यहाँ जाने बेला त कुनै राम्रो बाटो पनि थिएन । होटलहरु पनि थिएनन् । पानी, बत्ती पनि थिएन । त्यसमा क्रमशः सडकबाट सुरु भएको पूर्वाधार विकास बिजुली, पानी, होटल र इन्टरनेटको व्यवस्थापनमा विस्तार गर्‍यौं । 

कुलघर बनायौँ । तल गुप्तेश्वर महादेवको मूर्ति छ । माथि डिलमा पनि शिवलिंग त्रिशूलहरू राखिएको छ । यति हुँदाहुँदै पनि सबै काम हाम्रो कार्यकालमा पूरा गर्न सकिएन । अब त्यसमा सजावटको काम सम्पन्न गर्ने हो भने अझ पर्यटकहरू बढ्छन् । मलाई लाग्छ– ग्रेटवाल पर्यटक प्रवर्द्धनमा कोसेढुंगा प्रमाणित भएको छ । 

स्थानीय र बाहिरबाट आउने पर्यटकबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ? 

जति पनि शैलुङ आउनु भयो, उहाँहरू चीनमा देखिएको दृश्य आफ्नै ठाउँमा देख्न पाउँदा प्रफुल्ल हुनुहुन्छ । आफ्नो गाउँ ठाउँमा नौलो संरचना बन्दा स्थानीय खुसी नहुने कुरै भएन ।  त्यसलाई थप व्यवस्थापन गर्नुपर्ने सुझाव उहाँहरूले दिने गर्नुभएको छ । कम्तीमा अझ ४÷५ सय मिटर थप्न पाए हुन्थ्यो भन्ने धेरैको सल्लाह छ । स्वाभाविक रूपमा स्थानीय र प्रदेश सरकारलाई हामीले  अनुरोध गरेका छौँ । आशा छ, आगामी दिनमा पक्कै पूर्वाधार विस्तार हुँदै जानेछ । 

तपाईँ पछि आएको स्थानीय तहको राजनीतिक नेतृत्व तपाईँले खनेको बाटोमा हिँड्न कति इच्छुक पाउनु भएको छ ? 

पदमा पुग्नु मात्र ठूलो हैन, पदमा पुग्ने बित्तिकै सबै हुने भन्ने पनि हैन । त्यहाँ काम गर्ने इच्छाशक्ति चाहिन्छ । धेरै मेहनत गर्नु पर्छ । लगानीमा म गर्छु भन्ने हुटहुटी र संकल्प दुवै हुनुपर्छ । वर्तमान नेतृत्वले त्यसरी बुझ्नु भएको छैन । हामीले सल्लाह सुझाव दिइरहेका छौँ । धेरै इच्छाशक्ति देखाइराख्नु भएको छैन । अहिले हामीपछि तेस्रो वर्षमा उहाँहरू हुनु हुन्छ । तेस्रो वर्षमा त हामीले धेरै काम गरिसकेका थियौँ । उहाँहरूको गति उत्साहजनक छैन । गति बढाउनु पर्छ । 

छोटकरीमा भन्दा शैलुङ किन आउने ? 

शैलुङको आफ्नै धार्मिक महत्त्व छ । बुद्धिष्टहरुको एकदमै पवित्र भूमि मानिन्छ । जस्तो प्रथम बुद्ध साङ्गे महामोर्चे नामक स्वर्गबाट झरेर त्यहाँ पहिलो पटक प्रवचन ज्ञान दिनु भएको थियो । 

त्यसकारण पहिले त्यसलाई सांगेलुङ भनिन्थ्यो रे, पछि अपभ्रंश हुँदै शैलुङ रहन गयो भन्ने किंवदन्ती छ । त्यस्तै पाँचौँ बुद्ध गुरु रेम्पोचे याने पद्म संभ फर्पिङबाट नमोबुद्ध हुँदै शैलुङ आएर लामो समय तपस्या गरेको भन्ने अर्को मान्यता छ । सातौँ गौतम बुद्ध पनि शैलुङ आएर केही समय तपस्या गरेर हलेसी हुँदै तराइ झरेको भन्ने छ ।  

यसरी तीन वटा बुद्धले तपस्या गरेको ठाउँ संसारमा शायदै होला । त्यसैले त्यहाँ आफ्नो पिता पुर्खाको अस्तु सेलाउन पायो भने एकदमै त्यसलाई  पुण्य प्राप्ति हुन्छ भन्ने धारणा बुद्धधर्मावलम्बीहरुको रहेको छ ।  

यो पनि पढ्नुहोस् : शैलुङमा सम्मोहित ७८ वर्षीय वृद्ध – ‘यतै बसौँ झैँ लाग्यो’

त्यस्तै त्यहाँ हिन्दुहरूको शैलुङ्गेश्वर महादेव जहाँ महादेवको तपोस्थल मानिन्छ । त्यसैगरी शैलुङ्गेश्वरी देवीको मन्दिर छ । जुलेश्वर महादेवको मन्दिर छ । दुप्चेश्वर महादेवको मन्दिर छ । धर्मद्वार छ । श्रींघऋषिले त्यहाँ बसेर तपस्या गर्नु हुन्थ्यो रे ! परापूर्वक कालमा त्यहाँ सय बढी ऋषिमुनिहरु तपस्या गरेर बस्थे र कलियुग सुरु भएपछि कलियुगमा पाप हुन्छ यो नहेर्ने भनेर त्यहाँ विलीन हुनु भयो र उहाँहरू विलीन भएको प्रत्येक ठाउँमा थुम्काहरू निस्किएको भन्ने भनाइ छ । 

हिन्दुहरूको पनि धार्मिक आस्थाको केन्द्र, देवी देवताको तपस्या गर्ने ठाउँ भएकोले धार्मिक हिसाबले पनि यो गरिमामय छ । सँगै प्राकृतिक हिसाबले पनि शैलुङमा गएर ३६० डिग्री नै घुमेर नेपालको ७० प्रतिशत जति हिमालको अवलोकन गर्न सकिन्छ । डाँडाकाँडाहरुको अवलोकन गर्न सकिन्छ । 

जैविक विविधताको हिसाबले पनि १०० भन्दा बढी जडीबुटीहरू पाइन्छन् भन्ने अनुमान छ । त्यहाँ वर्षा याममा धेरै फूलहरू फुल्छन् । चौरी भेडा बाख्राहरू चितुवाहरू डाँफे पाइन्छन् ।  र त्यो क्षेत्र महाभारत शृङ्खलाको अग्लो डाँडा भएको कारण अहिले भ्याली काठमाडौं उपत्यका पनि देखिन्छ भन्ने छ । 

त्यसैगरी भिमसेनको तरबार जो दोलखा हुँदै काठमाडौँ जाँदा उहाँको तरबार त्यहाँ छुटेको थियो । त्यसकारण त्यहाँ भिमसेनको तरबार छ । त्यहाँ बुद्धको पाइला छ । अरु धेरै कुराहरू जो धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण छ । 

अझ ध्यान तपस्या गर्नेहरूका लागि पनि यो उपयुक्त स्थान हो ।  धार्मिक गुरुहरू त्यहाँ बसेर ध्यान गर्दा एकदमै छुट्टै स्फूर्ति आउने अनुभव सुनाउँछन् । राजधानीबाट नजिक पनि छ । 

यो पनि पढ्नुहोस् :

अध्यात्म र प्रकृतिको संगम शैलुङ (तस्बिरहरू)

वसन्त फक्रिएको शैलुङ !

शैलुङ त चौरी चराउने डाँडा भनेर त्यत्रो गीतमै व्यापकता पाएको छ । तर चौरीको चिनोवानो देखिएन ?

शैलुङ एक पटक जाँदा पुरै थाहा पाइँदैन । हिउँदमा जाँदा सुख्खा देखिन्छ । अलि पछि जाँदा हिउँ परेर सेताम्मे देखिन्छ । चैत्र वैशाखमा विभिन्न थरिका गुराँस फूलहरूले शोभायमान बनाएको देखिन्छ । असार, साउन, भदौमा हरियाली हुन्छ । त्यो बेला चौरी, भेडा र घोडाहरू धेरै हुन्छन् । अहिले चौरी तल झरेका छन् । 

होटल, होमस्टेको अवस्था त त्यति सन्तोषजनक देखिएन नि ? 

पहिला त झन् एउटा पनि थिएनन् । अहिलेका त त्यहीँका स्थानीयहरूले सुरु गर्नु भएको छ । होमस्टेका लागि हामी हुँदा नै तालिम पनि दियौँ । अहिले ५,६ वटा होटलहरु छन् । अहिले त्यहीँका स्थानीयले गरेका कारण उहाँहरूमा व्यावसायिक अनुभव छैन । बिस्तारै केही मान्छेहरू बाहिरबाट आएर वा व्यावसायिक मान्छेहरू आउनु हुन्छ र होटलहरु बन्छन् । स्थानीय सरकारले होटलको हस्पिटालिटी तालिम पनि दिन जरुरी छ । उहाँहरूलाई अतिथिको स्वागत सत्कारबारे सिकाउन जरुरी छ ।  

शान्तिसुरक्षाका लागि त्यहाँ प्रहरी चौकी स्थापना भइसकेको छ । हिजो शून्यबाट सुरु भएको शैलुङ अब कालिञ्चोक भन्दा कम हुँदैन । 

सैलुङ कस्ता पर्यटक आउने गरेका छन् ? मध्यमवर्गीय, बाह्य पर्यटक तान्न के गर्नुपर्छ ? 

उनीहरूलाई आवश्यक पर्ने खालको बसोबासको व्यवस्था हुनु पर्छ । राम्रा होटलहरु चाहिन्छ , त्यो हुँदै छ । त्यहाँ संसारकै थोरै मात्र ठाउँमा भएको तेक्वान्दोको उच्च उचाइ तालिम तथा अनुसन्धान केन्द्र त्यो हाम्रै पालामा स्थापना भएको थियो । पछि सरकारले बजेट काटिदियो । अहिले फेरि २ करोड बजेट परेको छ । त्यो कामले फेरि निरन्तरता पाएको छ ।  खेलाडी धेरै जिल्लाबाट आउने जाने हुनाले  शन्ति सुरक्षामा ध्यान दिन आवश्यक छ ।  खाने बस्ने ठाउँ र सुरक्षाको स्थिति राम्रो भएपछि स्वाभाविक रूपमा त्यहाँ बाह्य पर्यटकहरू पनि आउन सुरु हुन्छ । 

विकासवादी नेताको हैसियतले अहिले पाथीभरामा केबलकार बनाउने विषय राष्ट्रिय मुद्दा बनेको छ । कालिन्चोकमा पनि केबलकार सञ्चालनमा छ । त्यहाँका जनप्रतिनिधिले त हामीले फोहोर मात्र पायौँ भनेर हामीसँगै भन्नुभयो । धार्मिक र प्राकृतिक सम्पदालाई केबलकारले जोड्नु कति उचित रहेछ ? 

केबलकार व्यापारीले आफ्नो हिसाबले बनाउने भन्दा पनि त्यहाँका स्थानीय सरकारले आफ्नो भूगोल र आफ्ना नागरिकलाई र धार्मिक महत्वलाई सुहाउँदो गरी बनाउनु पर्छ । केबुलकार बनाउँदै हुँदैन भन्ने पनि हैन । तर त्यहाँको बस्ती परिस्थिति अनुकूल बनाउनु पर्छ । पाथीभराको कुरा त्यहाँको जनताको कुरा हो । गोरखाको मनकामना केबुलकारले राम्रो काम गरेको छ । जनताको फाइदा र सहमतिमा मात्र बनाउनु पर्छ । 

शैलुङमा चाहिँ केबुलकार लानु हुँदैन भन्ने पक्षमा छु म । मेरो पालामा केही मान्छेहरू शैलुङमा केबुलकारको प्रस्ताव लिएर आउनु भएको थियो । कालापानी सम्म हामीले सडक बनाएका छौँ । त्यहाँबाट माथि ग्रेटवाल बनेको छ बरु छेउछेउमा जिपलाईन बनाउन सकिन्छ तर केबलकार बनाउनु हुँदैन भन्यौँ हामीले । 

यो पनि पढ्नुहोस् :

पाथीभरालाई कालिञ्चोकबाट सुझाव – मन्दिरछेउ केबलकार राम्रो नहुने रहेछ !

केबलकार हुँदा कालिञ्चोकमा सिधै मान्छे आउने सरर केबुलकार चढ्ने, पूजा गरेर फर्किने भयो । त्यसैले मान्छेलाई अलिकति घुमफिर गर्ने पैदल हिँड्ने ठाउँ पनि राख्नु पर्छ भनेर हामी लागेका छौँ । 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : ११ बजे

सरकारले केबलकार निर्माण रोकेर आन्दोलनरत पक्षलाई वार्तामा बोलायो 

काठमाडौं– ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकारबारे सिर्जित विवाद समाधान

ठमेलमा दुई प्रहरीमाथि कुटपिट- पक्राउ परेका अनेरास्ववियुका पाँच नेता धरौटीमा छुटे

काठमाडौं- ठमेलमा दुईजना प्रहरीलाई कुटपिट अभियोगमा पक्राउ परेका नेकपा (एमाले)

सपनामा सर्प देख्नु शुभ कि अशुभ ?

काठमाडौं– मानिसहरू निदाएपछि सपना देख्छन् । कहिले राम्रो त कहिले डरलाग्दो

प्रधानमन्त्री पत्नीलाई ‘प्रथम महिला’ सम्बोधनले उठाएको प्रश्न– राष्ट्रपति पत्नीको चिनारी के हो ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले लेखेको पुस्तक

मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणमा आठ जनाको मृत्यु

एजेनसी– मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध