काठमाडौं– नेपाली कांग्रेसका नेताहरूमाथि लामो समयदेखि लाग्ने आरोपमध्येमा पर्छ– घरमै कार्यकर्ता भेट्छन्, पार्टी कार्यालय जाँदैनन् । सभापतिले मात्रै नभएर पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूले आ–आफ्नै घरमा नेता–कार्यकर्ताहरूसँग भेटघाट गर्नु कांग्रेसको परम्पराजस्तै मानिन्छ ।
नेताहरूले घर–घरमै ‘सम्पर्क कार्यालय’ खोलेर जिल्लाबाट आएकादेखि उपत्यकामै रहेका नेता–कार्यकर्ताहरूसँग छलफल, भेटघाट गर्दा केन्द्रीय कार्यालय अधिकांश समय सुनसानजस्तै हुन्छ ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जिल्लाबाट बेलाबेला आइपुग्ने कार्यकर्ता र कर्मचारीबाहेक नेता–कार्यकर्ताहरू बिरलै झुल्किने गर्दथे ।
लामो समयको अन्तरालमा बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठक र पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनबाहेक नेताहरू सानेपा पुग्नुलाई आश्चर्य मान्नु पर्ने अवस्था थियो ।
यहाँसम्म कि सभापति शेरबहादुर देउवाले ०८१ माघ ३ गते संसदीय दल कार्यसमिति सदस्य र मन्त्रीहरू (पार्टीबाट सरकारमा सहभागी) को संयुक्त बैठक डाकेर साताको दुई दिन केन्द्रीय कार्यालयमा जनताका गुनासा सुन्न मन्त्रीहरूलाई दिएको निर्देशनसमेत कार्यान्वयन भएन ।
बूढानीलकण्ठमा बसेको बैठकपछि प्रमुख सचेतक श्यामकुमार घिमिरेले भनेका थिए, ‘मन्त्रीहरूलाई पार्टी अफिसमा गएर हप्तामा दुई दिन कार्यकर्ता साथीहरूसँग भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी ५ दिन मन्त्रालयको काममा केन्द्रित हुने निर्देशन दिइएको छ ।’
तर, पार्टीका तर्फबाट संघीय सरकारमा सहभागी कुनै पनि मन्त्रीले सभापति देउवाको निर्देशन पालना गरेनन् । मन्त्रीहरू कसैले पनि साताको दुई दिन सानेपा पुगेर कार्यकर्तासँग भेटघाट गर्न र जनताका गुनासो सुन्न इच्छा देखाएनन् ।
तर, विगत लामो समयदेखि सुनसान देखिने कांग्रेस केन्द्रीय कार्यालय पछिल्लो समय गुलजार देखिन्छ । सानेपामा यतिबेला कांग्रेस सभापति देउवादेखि पदाधिकारीहरूसम्म र केन्द्रीय सदस्यहरूदेखि जिल्लाबाट आइपुगेका नेता–कार्यकर्ताहरूको दिनानुदिन चहलपहल छ ।
पार्टीले केही निर्णय गर्नुपर्दा बूढानीलकण्ठस्थित निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीदेखि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउँदै आएका सभापति देउवा पछिल्लो समय दिन बिराएर सानेपा पुग्ने गरेका छन् ।
पार्टीका विभागहरूले एकपछि अर्कोगरी प्रतिस्पर्धात्मक ढंगले कार्यक्रम आयोजना गर्न थालेपछि देउवाको सानेपा आवत–जावत बाक्लो हुन गएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भन्छन्, ‘धेरै साथीहरू आउने कारणले चहलपहल बढेको छ । स्वयम् सभापति पनि प्रायः हरेक दिन पार्टी कार्यालय आउने अवसर जुटिराखेको छ ।’

पछिल्लो समय सभापतिमात्रै नभएर उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठ पार्टी कार्यालयमै भेटिने गरेका छन् ।
‘उपसभापतिहरू पनि आउनुहुन्छ । महामन्त्रीहरू पनि रेगुलर आइरहनुभएको छ । कोषाध्यक्ष त झन् नियमित आउनुहुन्छ,’ विश्वकर्माले भने, ‘प्रचार विभाग प्रमुखको हैसियतमा मेरो त मूल कार्यालय १०–५ जस्तो भएको छ ।’ उनले पछिल्लो समय पार्टी कार्यालय र पार्टीका कार्यक्रमहरू अत्यन्तै चलायमान बनेको बताए ।
सभापति देउवा शुक्रबार (भदौ ६) मात्रै पार्टीको आदिवासी जनजाति विभागद्वारा आयोजित नेपाली कांग्रेसका ‘आदिवासी जनजाति योद्धाहरू’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्न सानेपा पुगेका थिए ।
भदौ २ गते शुभेच्छुक संस्था समन्वय विभागले गरेको अन्तरक्रिया तथा तिजको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन पार्टी कार्यालयमा उपस्थित थिए । गत साउन ३ गते सभापति देउवाले पार्टी कार्यालयमा आयोजित नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए ।

जनताले पटक–पटक परीक्षण गरेर स्वीकार गरेको पार्टी भएकाले कांग्रेसले सबै मुद्दा बोक्नु पर्छ भन्ने जिम्मेवारी बोध गरेर कार्यक्रमहरू आयोजना भइराखेका प्रचार विभागको भनाइ छ । प्रचार विभागले पार्टीको एकीकृत धारणा बनाउन र सबैलाई जोड्ने लक्ष्य राखेर पछिल्लो समय सानेपामै कार्यक्रमहरू भइराखेको पनि बताएको छ ।
‘कार्यक्रमहरू पार्टी कार्यालय बाहिर गर्दा पनि हुन्थ्यो । बाहिर गर्दा कार्यक्रम छरिने, विभिन्न ढंगबाट सन्देश जाने हुन्छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘पार्टीको एकीकृत धारणा बनाऔँ र पार्टीसँग सबैलाई जोडौँ भन्ने हाम्रो लक्ष्य हो । पार्टीसँग सबै क्षेत्रका मानिसहरूलाई समावेश गरेर सबै विषयलाई समेटेर कार्यक्रमहरू गरिराखेका छौँ ।’
कांग्रेसको विधानले ४८ वटा विभागको परिकल्पना गरेको छ । तर, पछिल्लो समय कांग्रेसले ७० वटा विभाग प्रस्ताव गरेको छ । जसमध्ये ५९ वटा विभाग गठन भएका छन् ।

गठन भएका ५९ विभागमध्ये ५० वटा विभागले पूर्णता पाइसकेका छन् । जसमध्ये ३५ वटा विभागमा सदस्य सचिव नै तोकेर कार्यालयकै रूपमा काम गरिरहेका छन् । कांग्रेसले सदस्य सचिव तोकेका ३५ विभागमध्ये २० वटा विभागले पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रमहरू सम्पन्न गरिसकेका छन् ।
पार्टीको विधानले प्रत्येक विभागमा बढीमा ५१ जना रहने प्रावधान गरेको छ । विधानअनुसार केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यहरूको नियुक्ति गर्दछन् । विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन कांग्रेसको क्रियाशील सदस्य हुनु पर्ने बाध्यात्मक व्यवस्था विधानले गरेको छ ।
कांग्रेसले विभागहरूलाई कार्यक्रम आयोजना गर्दा पार्टीको प्रचार विभागसँग समन्वय गर्नुपर्ने निर्देशिका बनाएको छ । निर्देशिकाअनुसार कार्यक्रमका लागि समन्वय गर्न आउने विभागहरूको लाम (लाइन) रहेको विश्वकर्माको भनाइ छ ।

‘निर्देशिकामा विभागले कार्यक्रम गर्दा प्रचार विभागसँग समन्वय गर्नुपर्ने भनिएको छ । त्यसो भएका कारण हाम्रो विभागमा सल्लाह गर्न आउने साथीहरूको पनि लाइन छ,’ उनले कार्यक्रमहरू तय गरिने शैलीबारे जानकारी दिँदै भने, ‘कस्तो कार्यक्रम गरौँ, कसरी गरौँ, कहिले गर्दा राम्रो होला भनेर सोध्न आउनुहुन्छ । हामीले यसरी जाने भनेर उहाँहरूको चाहनालाई आकारमा बदलिदिन्छौँ ।’
पछिल्लो समय कांग्रेसका विभागहरूमा कसले प्रभावकारी कार्यक्रम आयोजना गरेर बढीभन्दा बढी नेता–कार्यकर्ता र सहभागी उपस्थित गराउने प्रतिस्पर्धा नै चलेको देखिन्छ । ‘पछि विभागहरू सबै बनिसकेपछि विभाग प्रमुखहरू क्रियाशील हुनुहुन्छ । उत्साही हुनुहुन्छ । आफ्नो विभागले राम्रो कार्यक्रम गरोस् भन्ने चाहना त सबैको हुन्छ नै,’ विश्वकर्माले भने ।
मुलुकको राजनीतिक क्षेत्रमा देखिएको विचलन, विचलनबाट देखिएका अप्ठ्याराहरू, पार्टी सामु आएका चुनौतीहरूको सबैले सामुहिक रूपमा सामना गर्नुपर्छ भनेर विभागहरूले आ–आफ्नो क्षेत्रबाट पार्टीको लक्ष्यसँग आफूलाई एकाकार गरेर कार्यक्रमआयोजना गर्ने गरेको उनको भनाइ छ ।
साउन महिनामा कहिले–कहिले सानेपा पुगे देउवा
साउन २ – नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमिति २८औँ स्थापना दिवसमा ।
साउन ५ – नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजितसम्मान पत्र वितरण कार्यक्रममा ।
साउन ६ – वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमको प्रमाणपत्र वितरण समारोहमा।
साउन ११ – विज्ञान तथा सूचना प्रविधि विभागद्वारा आयोजित ‘आर्टिफिसियल इन्टेलिजेन्ट फर नेपालस् डेभलपमेन्ट’ समग्र दृष्टिकोण विषयक अन्तरक्रियामा
साउन १३ – वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित ‘वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति’ विषयक कार्यक्रममा ।
साउन १६ – ‘वर्तमान अवस्थामा थारुहरुको सामाजिक, आर्थिक, राजनैतिक अवस्था, अवसर र चुनौती’ विषय विचार गोष्ठीमा।
साउन २५ – ‘लैङ्गिक संवेदनशिलता’सम्बन्धी कार्यशाला गोष्ठीमा ।
साउन ३० – नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन उद्घाटन समारोहमा ।

कांग्रेसले आफूलाई मुलुकको मूल पार्टी भएको मान्यतालाई पुनर्स्थापित गर्ने गरी अवधारणा बनाएर विभिन्न विभागहरू गठन गरेको छ । राष्ट्रमा बासेबास गर्ने सबै लिङ्ग, वर्ग, समुदायका सझा सवाललाई कांग्रेस एक्लैले वितमा बोकेको, अहिले बोकिरहेको र आगामी दिनमा बोक्न सक्छ भन्ने सन्देश दिने मूलध्येय रहेको कांग्रेसका नेताहरू बताउँछन् ।
‘नेपाली कांग्रेस राष्ट्रिय पार्टी हो भन्ने एउटा मान्यतालाई पुनःस्थापित गर्ने गरी केही साथीहरू बसेर ‘कन्सेप्ट डिजाइनिङ’ गरेका हौँ । राष्ट्रिय पार्टी भनेको संख्याको आधारमा होइन कि राष्ट्रमा बासेबास गर्ने सबै लिङ्ग, वर्ग, समुदायका सझा सवाललाई कांग्रेस एक्लैले बोक्दै आएको हो, बोकिरहेको छ र बोक्न सक्छ भन्ने सन्देश दिने मूल ध्येय हो,’ विश्वकर्मा भन्छन्, ‘त्यसैअनुसार नेपाली कांग्रेसले विभागहरू बनाएको छ । कांग्रेसले सबै जनताका आकांक्षाहरूलाई प्रतिनिधित्व गरेर समाजमा देखिने गरी प्रतिबिम्बत गर्नुपर्छ भन्ने हो । प्रतिबिम्बित पनि गरिरहेका छौँ ।’
भ्रातृ संस्था र विभागहरूले पालैपालो दिनहुँजसो कार्यक्रम गरिरहँदा कांग्रेसका प्रति जनता आशावादी बनेका, उनीहरूमा उत्साह थपिएको र पार्टीका कार्यकर्ताहरूमा जोश–जाँगर थपिएको महसुस पार्टीले गरेको विश्वकर्माको भनाइ छ ।
उनी थप्छन्– ‘यस्तो खालको उत्साहमा सभापतिज्यूले सदैव आफ्नो समयसँगसँगै चिन्तन पनि दिनुभएको छ । सबै विषयमा उहाँले आफ्नो धारणा पनि दिइरहनुभएको छ । उहाँले भाषणका लागि मात्रै भाषण गरिराख्नुभएको छैन ।’

प्रतिक्रिया