बढ्दै गइरहेको नेपाल-चीनको सम्बन्ध | Khabarhub Khabarhub

बढ्दै गइरहेको नेपाल-चीनको सम्बन्ध


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राध्यापक हुआङ झेङ डुओ चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका निर्देशक हुन् । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय स्कूल अफ एडभान्स्ड इन्टरनेशनल स्टडिजमा समेत अध्ययन गरेका डुओ चीन र दक्षिण एसियाली देशहरूबीचको सम्बन्धबारे अध्ययन अनुसन्धानकर्ताका रूपमा सक्रिय छन् । उनका तीन पुस्तकहरू र दर्जनौँ अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् । 

प्रस्तुत छ, चीन–नेपाल सम्बन्धको ७०औँ वर्षको अवसर पारेर भइरहेका विभिन्न कार्यक्रममा सहभागिता जनाउन काठमाडौँ आएका निर्देशक डुओसँग नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा केन्द्रित रही गरिएको अन्तरवार्ता :

नेपाल घुम्न आइहुनुहुन्छ ? के कुराले यहाँ आइरहन मन लाग्ने बनाउँछ ?
 
नेपाल मेरो दोस्रो घर हो भन्दा पनि हुन्छ । अहिलेसम्म लगभग २० पटकभन्दा बढी नेपाल आएको छु । अध्ययन अनुसन्धान गर्ने कामदेखि विभिन्न शैक्षिक गोष्ठी, सम्मेलन तथा कार्यक्रमहरूमा सहभागी भइरहेको हुन्छु । त्योभन्दा पनि नेपालको प्राकृतिक सौन्दर्यले मलाई पटक पटक तानिरहन्छ । मैले नेपालका विभिन्न स्थानहरू घुमेको छु ।

काठमाडौँ बाहिर जनकपुर, चितवन, लुम्बिनी, पोखरा, मनाङ लगायताका ठाउँहरूमा पुगेको छु । सबैको आ–आफ्नै विशेषताहरू छन् । तथापि लुम्बिनी मेरो मन पर्ने ठाउँमध्ये पर्दछ । यो भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले पनि महत्त्वपूर्ण छ । बौद्ध धर्मसँगको नाता धेरै पुरानो हो चीनको । त्यहाँ गएर केही समय बिताउँदा मन शान्त हुन्छ । 

नेपाल घुम्न आउने पर्यटकमध्ये चिनियाँ पर्यटकको सङ्ख्या ठूलो छ । पर्यटन क्षेत्रमा नेपालले के–कस्ता सुधार गर्न सके चिनियाँ पर्यटकको आकर्षण बढाउन सकिएला ?  

नेपाल प्राकृतिक रूपमा सुन्दर त छँदै छ । त्यसबाहेक विश्व सम्पदा सूचीमा रहेका विभिन्न दरबार क्षेत्रहरू, विश्वकै सर्वोच्च शिखर सगरमाथा, विभिन्न राष्ट्रिय निकुञ्जहरू, अनि यहाँको संस्कृति आफैँमा बेजोड छ ।

खास गरी लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले चिनियाँ नागरिकहरूको आकर्षणको केन्द्र बनेको छ । मैले घुमफिरका क्रममा देखेको लुम्बिनी भौतिक संरचनामा ठिकै छ तर त्यहाँको सांस्कृतिक भावना आदानप्रदान गर्ने विषयमा पर्यटक लक्षित अझै हुन सकेको छैन ।

उदाहरणका लागि, एक पटक मेरा एक साथीलाई लिएर लुम्बिनी घुम्न गएका थियौँ । उनले फर्किने बेलामा लुम्बिनीको आध्यात्मिक र मौलिक उपहार के लैजाने ? भनेर बजार घुम्दा केही नयाँ चिज पाइएन । र अन्तिममा लुम्बिनीमा रहेको पिपलको रुखबाट खसेका केही पातहरू बटुलेर चिनोको रूपमा लिएर गए ।

नेपालले पर्यटकलाई मौलिक उपहार के दिएर फर्काउन सकिएला ? भन्ने तिर सोच्न सके व्यापार व्यवसाय पनि वृद्धि हुने र पर्यटक पनि खुसी हुने थिए । त्यस्तै, नेपाल भ्रमणमा पर्यटकले अन्य देशको तुलनामा निकै महँगोमा टिकट किन्नुपर्छ । टिकटमा सहुलियत हुन सके नेपाल भ्रमणमा आउने चिनियाँ नागरिकको सङ्ख्या निकै नै बढ्ने सम्भावना देख्छु । 

पछिल्लो समय दुई देशबीच उच्चस्तरीय भ्रमणहरू बाक्लिँदै गएका छन् । यसले कूटनीतिक सम्बन्धमा कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ? 

कुनै पनि मुलुकको सम्बन्ध प्रगाढ बनाउन भेटघाट र निरन्तर संवाद हुनु जरुरी छ । यसले एक अर्काको भावनात्मक सम्बन्धलाई अझै बढी मजबुत बनाउन मद्दत गर्छ । कूटनीतिक रूपमा उच्चस्तरीय तहमा सरकार प्रमुखहरू वा राज्य प्रमुखहरूका बीच समयसमयमा भेटघाट हुनु त स्वाभाविक नै छ । 

त्यसबाहेक, नागरिकहरुबीचको सम्बन्ध पनि बाक्लिँदै गएको छ । यसले एक अर्कालाई राम्ररी बुझ्नका लागि मद्दत गर्दछ । चिनियाँ समाजलाई बुझ्नका लागि दुवै देशका विद्यार्थीहरूको आवतजावतले सहयोग गरिरहेको छ । पश्चिमा मुलुकका सञ्चारमाध्यमले चीनका बारेमा जुन प्रकारले व्याख्या गरिरहेका छन्, त्यो बुझाई गलत हो भन्ने कुरामा उनीहरू विश्वस्त हुँदै गएका छन् । 

नेपाल–चीनको कूटनीतिक सम्बन्ध विस्तार भएको ७० वर्ष पुग्यो । अब नेपाल र चीनको सम्बन्ध कुन दिर्शातर्फ अग्रसर भएको देख्नुहुन्छ ?
 
नेपाल र चीन कूटनीतिक सम्बन्ध सन् १९५५ अगस्ट १ देखि सुरु भएको हो । विगतदेखि नै यी दुई देशबीच सहअस्तित्व, सहकार्य, सम्मानपूर्ण र मैत्रीपूर्ण सम्बन्ध विस्तार हुँदै आएको छ । अहिले अगस्ट महिनाभरि नेपाल र चीनले कूटनीतिक सम्बन्ध विस्तार गरेको ७० वर्षको उत्सव मनाइरहेका छौँ । 

अब आगामी वर्षलाई अझै कसरी स्वर्णिम र प्रगाढ बनाउने विषय महत्त्वपूर्ण हो । मेरो विचारमा नेपाल र चीनको सम्बन्ध दीर्घकालीन र परिणाममुखी बनाउन नेपालको राजनीति स्थायी हुन जरुरी हुन्छ । यहाँको विकासले मूर्तरूप लिनका लागि स्थायी नेतृत्व आवश्यक छ । त्यस्तै, यहाँको जलविद्युत् परियोजनाहरूमा सहकार्य गर्न सकिन्छ । 

त्यस्तै, अबको समय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को भएकाले डिजिटल साझेदारीमा पनि नेपालले सम्बन्ध अर्थपूर्ण बनाउने अर्को आधार देखेको छु । नेपालले भर्खरै एआई नीति ल्याएको छ, जुन सकारात्मक छ । चीनले यस क्षेत्रमा निकै नै प्रगति हासिल गरिसकेकाले नेपालले पनि चीनबाट प्रविधि सिक्न सक्छ । 

नेपाल–चीनको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न आधारहरूमध्ये कुन आधार बढी प्रभावकारी देख्नुहुन्छ ? 

तपाईँले भनेजस्तो राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिकलगायत सबै आधारहरूले नै दुई देशको कूटनीतिक सम्बन्ध बलियो बनाउँछन् । यी सबै बुँदा एक अर्कासँग अन्तर सम्बन्धित छन् । यद्यपि, मेरो विचारमा आर्थिक विकासको साझेदारीले अरु क्षेत्रको समृद्धिमा समेत टेवा पुर्‍याउन सक्छ । आर्थिक विकास र गरिबी न्यूनीकरणका सन्दर्भमा चीन आफूले जानेको कुराहरू नेपाललाई बाँड्न चाहन्छ । 

नेपालमा निकै चासोका साथ चीनको बेल्ड एण्ड रोड(बिआरआई) परियोजनालाई लिने गरिएको छ । यसबारे तपाईँको धारणा के छ ? 

नेपाल भू–परिवेष्ठित देश भएकाले यहाँ बाहिरी कनेक्टीभिटी विस्तार गर्न अति महत्त्वपूर्ण छ । चीनको बेल्ड एण्ड रोड इनिसिएटिभ(बिआरआई) परियोजनाले वास्तवमा कनेक्टिभिटी विस्तार र यहाँको विकास सहयोगी बन्न सक्छ । तर बिआरआईका परियोजनाहरू जुन रूपमा अगाडि बढ्नुपर्ने हो, त्यो रूपमा बढ्न नसक्नुको पछाडि यस क्षेत्रमा बढ्दै गएको भू–राजनीतिक अवस्था पनि एउटा कारण हुन सक्छ । विकासका सन्दर्भमा सबै राजनीतिक दलहरू एक ठाउँमा आउन जरुरी छ । 

नेपाल दुई शक्तिशाली छिमेकी देशबीच रहेको तुलनात्मक रूपमा सानो देश हो । यी ठूला राष्ट्रहरुबीचको सन्तुलन कायम गर्न नेपालले के–कस्ता रणनीति अपनाउनुपर्ला ? 

तपाईँले भने जस्तै नेपाल दुई शक्तिशाली देशबीचको भौगोलिक हिसाबले सानो देश हो । तर, यसको आफ्नै अस्तित्व, सार्वभौमसत्ता र अलग्गै पहिचान छ । चीन र भारतबीचको छिमेकी सम्बन्ध सन्तुलन गर्न केही चुनौती नेपालले महसुस गरेको हुनसक्छ । मेरो विचारमा नेपालले छिमेकी मुलुकहरुबीच सदाचार र सहकार्यको भावना राखे खासै ठूलो समस्या होइन । सहकार्य गर्नका लागि सन्तुलन कायम गर्नुपर्ने समस्या हो जस्तो लाग्दैन । यस्तो कूटनीतिक अभ्यास नेपालले गर्दै आइरहेको पनि देखिन्छ ।  

नेपाली विद्यार्थीहरू चीनमा अध्ययन गर्न जाने क्रम बढ्दो छ । ती विद्यार्थीहरूले दुई देशको सम्बन्ध जोड्न कस्तो भूमिका खेल्न सक्छन् ?

पछिल्लो समय चीनमा नेपाली विद्यार्थीहरू अध्ययन गर्ने क्रम बढ्दो छ । यो हाम्रा लागि सुखद पक्ष हो । विभिन्न तालिम, सेमिनार र छलफलमा भाग लिने युवा जमात तीव्र छ । विद्यार्थीहरू ज्ञान र संस्कृति आदानप्रदान गर्ने महत्त्वपूर्ण स्रोत भएकाले शैक्षिक विकासले दुवै देशको सम्बन्ध जोड्न मद्दत गर्छ । एक अर्कालाई बुझ्न पनि यस्तो खालको गतिविधिहरू आवश्यक छ । 

अन्त्यमा, नेपालको कुन पक्ष तपाईँलाई सुन्दर लाग्छ ? 

नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक हिसाबले सुन्दर छ । यससँगै अर्को रोचक पक्ष यहाँको बहुआयामिक समाज हो । यहाँको समाजमा खुला रूपमा गरिने वैचारिक बहस, छलफल र अन्तरक्रियात्मक संस्कृति मलाई राम्रो लाग्छ । रासस

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १ : २८ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न