लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान « Khabarhub

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन् । खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा उनी लागेका छन् ।

दशकअघि देखि गाउँमा आएका कृषि प्राविधिकको सल्लाहमा शून्य खनजोत अर्थात् जिरो टिलेज प्रविधि अपनाउँदै उहाँले बर्सेनि लसुनखेती गरेर आम्दानी गर्दै आएका छन् । 

‘पहिले खेत जोतेर क्यारी बनाएर लसुन रोप्थ्यौँ, उत्पादन थोरै हुन्थ्यो,’ उनले भने, ‘खनजोत नगरी सिधै रोप्दा गानो ठूलो हुन्छ, उत्पादन पनि राम्रो आउँछ ।’

त्यसैले यस प्रविधिमा लसुन रोप्ने कार्यलाई निरन्तरता दिँदै आएको उनले बताए। डगौराले पाँच कट्ठा जग्गामा लसुन रोप्ने गर्नु हुन्छ । जसबाट रु ९० हजार जतिको आम्दानी हुने गरेको छ । उनका अनुसार धान काटिसकेपछि चिस्यान रहेको खेतमा सिधै गाँजको बीचमा कुटोको सहायताले लसुनका पोटी (केस्रा) रोप्ने गरिन्छ । चिस्यान नभएमा सिँचाइ गरी लसुन रोप्ने कार्य हुन्छ । लसुन रोपेपछि त्यसपछि गोठेमल छर्की परालले छोप्ने गरिएको किसान विनोद डगौराले जानकारी दिए ।

पिपलाडीका किसानले  लसुनखेतीलाई नगदे बालीका रुपमा आत्मसात् गर्दै आएका छन् । प्रत्येक परिवारले एकदेखि पाँच कट्ठासम्म जग्गामा जिरो टिलेज प्रविधिबाट लसुनखेती गर्दै आएका छन् । एक कट्ठामा करिब दुई क्विन्टलसम्म उत्पादन हुने र सिजनमा प्रतिकिलो रु तीन सय देखि रु पाँच सय सम्ममा बिक्री हुने गर्दछ ।  जसबाट किसानले प्रतिकट्ठामा रु ३० हजारका दरले आम्दानी गर्दै आएका छन् । 

‘पहिले खानकै लागि पनि लसुन किन्नुपथ्र्यो, अहिले घरको खपतपछि बाँकी बिक्री हुन्छ,’ किसान चामबहादुर डगौराले भने, ‘सिजनमा व्यापारीहरू आफैँ घरमै आइपुग्छन् ।’ 

स्थानीय बजार झलारी र महेन्द्रनगरमा जिरो टिलेजमा उत्पादन भएको लसुनको माग उच्च रहेको चुन्नुलाल डगौराले बताए।

‘धानको गाँजमा बढेको लसुनको गानो ठूलो र खानमा स्वादिलो हुने भएकाले बजारमा चाँडै बिक्री हुन्छ,’ उनले भने।

‘जिरो टिलेज खेती प्रविधिले खेत जोत्नुपर्ने झन्झट र लागत घटाएको छ,’ नगरपालिकाको कृषि शाखाका कृषि विकास अधिकृत विनयराज जोशीले भने, ‘यस प्रविधिमा माटोको संरचना नबिगारी खेतको चिस्यानलाई नै उपयोग गरी बाली लगाइन्छ ।’

उनका अनुसार जिरो टिलेज प्रविधिमा गरिने लसुनखेतीमा थोरै परिश्रममा धेरै आम्दानी हुने भएकाले पिपलाडीसहित नगरपालिकाको अन्य क्षेत्रका किसानको आकर्षण यस खेतीतर्फ बढ्दै गएको छ ।

‘धान काटेको एकदेखि दुई दिनपछि गाँजको ठुटो करिब दुई इन्चमा काटेर त्यसैमा कुटो वा अन्य फलामका औजारको सहायताले  लसुन रोपिन्छ,’ जोशीले भने, ‘त्यसपछि खेतमा १० सेन्टिमिटर बाक्लो पराल, भुस वा खरको छापो दिनुपर्दछ, यसले खेतमा चिस्यान कायम रहनाका साथै झारपात रोक्ने र माटोमा जैविक पदार्थ थप्ने काम गर्छ ।’

 जिरो टिलेज प्रविधिमा लसुन रोप्दा गोडमेलको आवश्यकता नपर्ने उल्लेख गर्नु हुँदै उनले झारपात देखिएमा मात्रै हटाउनुपर्ने बताए। 

‘यस प्रविधिबाट गरिएको लसुनखेतीले समय, श्रम र लागत घटाउनाका साथै जमिनको उर्वरा शक्ति कायम राख्छ,’ अधिकृत जोशीले भने, ‘जलवायु अनुकूलनका दृष्टिबाट पनि यो प्रविधि अत्यन्त प्रभावकारी उपायका रुपमा रहेको छ ।’
 
रोग कीरा व्यवस्थापनका लागि किसानहरूले गाईको गोबर, गहुँत र निमको रसबाट बनेको घरेलु जैविक विषादी प्रयोग गर्दै आएका छन् ।

‘रोपेको लसुन बोटका पातहरू पहेँलिन थालेपछि बाली तयार भएको थाहा हुन्छ,’ स्थानीय किसान चामबहादुर डगौराले भने, ‘त्यसपछि खेतबाट लसुन उखेल्न सुरु गर्छौं, बोटसहित दुई–तीन दिन घाममा सुकाएपछि गानो अलग गरी छायाँमा राख्र्छौं, त्यसपछि बिक्री गर्छौं ।’

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १० : ०२ बजे

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका