किसानलाई हरेक वर्ष मलकै अभाव « Khabarhub

किसानलाई हरेक वर्ष मलकै अभाव


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

देवदह– हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता र सङ्घर्ष छ । गहुँको बीउ छर्न मल अभावले किसान चिन्तित छन् । अर्कोतर्फ बेमौसमी वर्षाका कारण पानीमा डुबेर नष्ट भएको धानबाली निकाल्नै कठिन छ । कृषि पेसामा आत्मनिर्भर बन्ने सपना बोकेका किसानको दैनिकी भागदौड, चिन्ता र निराशाले भरिएको छ ।

अहिले धानबाली भित्र्याउने बेला हिउँदे बाली लगाउन किसान चटारोमा छन् । कोही मल नपाएर बीउ खेतमा छर्न सकिरहेका छैनन् भने कोही धानबाली नै निकाल्न नसकेर चिन्तित छन् । कृषि कर्मको प्राण नै मल–बीउ भएको ठान्ने किसानका लागि यतिबेला सबैभन्दा ठूलो चुनौती मल–बीउ नै भइरहेको छ । 

रूपन्देहीको मर्चवारी गाउँपालिका–२ का सुमेर यादव यतिबेला गहुँ र दलहनको खेती तयारीमै व्यस्त छन् । तर, मल–बीउ ल्याउन नपाए खेतीपाती नै अधुरो हुने उनलाई चिन्ता छ । 

यादवले भने, ‘सरकारले समयमा  पर्याप्त मल–बीउ उपलब्ध गराउन सकेको छैन । मलका लागि छिमेकी मुलुक भारतकै भर पर्नुपर्छ । कहिले मल सहजै ल्याउन पाइन्छ । तर, बेलाबखत सुरक्षाकर्मीको गाली खानुपर्छ । किसान भएकै कारण हामीलाई धेरै पीडा सहनुपरेको छ ।’

कोटहीमाई गाउँपालिका–७ का दिनेश लोधको समस्या पनि उस्तै छ । सहकारी संस्थामा मल आएको खबर सुन्नासाथ बिहान सबेरै दौडनु, लाइनमा बस्नु र नपाए फर्केर फेरि भारतीय बजार धाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

‘सहकारीमा बिहानै लाइन बसिएन भने मल पाइँदैन । त्यहाँ नपाए सीमावर्ती भारतीय बजार धाउनुपर्छ’, उनले भने, ‘मल बिना खेती गर्न सकिन्न ।’

सम्मरीमाई गाउँपालिका–७ का साहुल हरिजनको पीडा भने भिन्न छ । बेमौसमी वर्षाले डुबानमा परेको खेतबाट धानबाली निकाल्न चुनौती रहेको उनी बताउँछन् । हरिजनका अनुसार पानीको उचित निकास नहुँदा धेरैजसो धानबाली खेतमै नष्ट भइसकेको छ । बचेका बोट–बिरुवा उठाएर सुकाउने काममै उनी व्यस्त छन्।

‘हाम्रो खेतमा बर्सेनि पानी जमेर बाली नष्ट हुन्छ । कुलो–नाला व्यवस्था भए हामी जोगिन सक्थ्यौँ । किसानको पीडा बुझ्ने समय कहिले आउँला ?’ उनले प्रश्न गरे। यी समस्या केवल रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको मात्र होइनन्, तराई–मधेसका किसान बर्सेनि मल–बीउको अभाव, उचित बजार मूल्य नपाउनु, मल पाउन सास्ती र बेमौसमी वर्षाबाट धानबालीमा क्षतिलगायतका समस्या झेलिरहेका छन् । 

खेतमा पसिनै बगाएर आफ्नो र परिवारको गुजारा चलाउने आफूहरुको पीडा कसैले गम्भीर रूपमा नलिएसम्म कृषिबाट समृद्धिको सपना केवल कागजमै सीमित हुने किसान बताउँछन् । कोटहीमाई गाउँपालिकामा रहेका १८ सहकारीमार्फत मल वितरण भइरहे पनि किसानले आफ्नो आवश्यकताअनुसार भने पाउन सकेका छैनन् ।

रुपन्देहीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रादेशिक कार्यालय भैरहवामार्फत मल वितरण भइरहेका छ । तर मागअनुसार र समयमा मल नपाउँदा किसान मर्कामा पर्दै आएका छन् ।
 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १२ : ५६ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा