सुशीला कार्कीले जेन-जीकै विश्वास गुमाइसकेको अवस्था छ : सुमन सायमी (अन्तर्वार्ता) « Khabarhub

सुशीला कार्कीले जेन-जीकै विश्वास गुमाइसकेको अवस्था छ : सुमन सायमी (अन्तर्वार्ता)

अबको नेतृत्व काठमाडौंभित्रकै आदिवासीले लिनुपर्छ



काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी ‘विद्रोह’ले मुलुकमा पैदा गरेको राजनीतिक संकटको समाधान गर्दै फागुनमा चुनाव गराउने म्यान्डेट पाएको सुशीला कार्की नेतृत्वको सरकार पछिल्ला दिनमा विवादित बन्दै गएको छ । जेन-जी ‘विद्रोह’ कै जगमा बनेको यो सरकार र जेन-जी आन्दोलनका प्रतिनिधिहरूबीचमै पछिल्लो समयमा अन्तरविरोध बढ्दै गएको देखिन्छ । देशकै ठूलो दलमध्येको नेकपा एमालेले चुनाव नहुने निष्कर्षसहित भदौ २७ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने अडान राख्दै आएको छ । 

बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहबीचको झडपले राजनीतिक दललाई थप सशंकित पनि बनाएको छ । सरकारले पनि संक्रमणको प्रभावकारी नेतृत्व गर्न नसकेको आवाज उठ्न थालेको छ । घुम्न, डुल्न, आफ्ना कुरा राख्न पाउने नेताहरूको नैसर्गिक अधिकारमाथि प्रहार हुन खोजेका दृश्यले पनि चुनावी वातावरणमा थप संशय थपेको छ । 

जेन-जी विद्रोह अघिसम्म राष्ट्रिय मुक्ति पार्टी नेपाल देशव्यापी मुक्ति अभियान सञ्चालन गरिरहेको थियो । त्यस अभियानको नेतृत्व नेता सुमन सायमीले गरिरहन्थे । तर जेन-जीको उथलपुथलपछि उक्त अभियान अहिले सुस्ताएको छ। जेन-जीको उथलपुलपछि देश अनिश्चयतिर गइरहेका बेला उनै सायमीसँग समसामयिक विषयमा कुरा गरेका छौँ । सुमन सायम आफैं पनि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको कार्यशैलीसँग सन्तुष्ट छैनन् । उनले यो सरकार जेन-जीका एजेन्डाहरू सम्बोधनमा चुकिरहेको बताएका छन् । सायमीसँग यही सेरोफेरोमा खबरहबले गरेको कुराकानीको सम्पादित अंश :  

 जेन-जी आन्दोलन अघिसम्म राष्ट्रियस्तरमै अभियान सञ्चालन गरिरहनुभएको थियो । तर भदौ २४ को उथलपुथलले तपाईंहरू सेलाउनु भएको हो ?

जेन-जी आन्दोलनपश्चात देशको वस्तुगत स्थिति धेरै फरक भइसकेको छ । फागुन २१ गते प्रतिनिधिसभाको लागि चुनावको तिथि तय भएको छ । हामी पनि त्यसकै तयारीमा छौँ । हामी निर्वाचनमा जान्छौँ, लोकतन्त्रमा निर्वाचनको विकल्प छैन ।

हाम्रो पार्टी हराएको अवस्था होइन, अभियान चलाइरहेका छौँ । हामीले सम्पूर्ण राष्ट्रिय परिषद् बनाएका छौँ, त्यहाँ सत्ता अभ्यास गर्ने भनेर । हामीले दलहरूलाई माध्यम वा औजारका रूपमा मात्रै लिएका छौँ । अब पुरानै शैलीमा गएर त उपलब्धि हुँदैन । त्यसैले अहिले हामीले नेवा: नेशन काउन्सिलमा आर्थिक, सामाजिक, राजनीतिक लगायत योजनामा काम गरिरहेका छौँ ।

पुरानो विचारले जुन पोलोराइज भएको हो, पहिले त त्यसबाट देशलाई निकाल्नुपर्‍यो । पुँजीवाद र मार्क्सवादको विचारले हामी अघि बढ्न सक्दैनौँ । ती विचारबाट त संसारभर समस्या आएको छ, द्वन्द्वको अवस्था छ । कुनै पनि समाज बनेको देखिरहेका छैनौँ । त्यही भएर हामीले स्वदेशवादको जगमा टेकेर बहुल राष्ट्रिय राज्य र सामुदायिक समाजवादको अवधारणा तयार गरिरहेका छौँ । जेन-जी आन्दोलनले अवस्था परिवर्तन भएका कारण हामीले पनि रणनीति फेर्नुपर्ने अवस्था सिर्जना भयो अहिले ।

 तपाईंको विचारमा जेन-जी आन्दोलनको जनादेश के हो ?

वितृष्णाका कारण जेन-जीहरूमा एक प्रकारको विद्रोही स्वभाव आयो, जुन आउनु पर्ने पनि थियो र आयो । राम्रो पनि भयो । त्यसले केही उपलब्धि भएको छ, एउटा पुस्तान्तरण गर्नुपर्छ है भन्ने भएको छ, उत्तरदायित्वको कुरा पनि आएको छ । साथै, युवाहरूलाई स्थान दिनुपर्ने कुरा पनि आयो ।

यो आन्दोलनले भ्रष्टाचार गरेमा तीनपुस्तासम्म असर पर्छ भन्ने कुरामा पनि सचेत गरायो । त्यो धेरै राम्रो काम भएको थियो । तर, भदौ २४ गतेको घटनाले जुन किसिमको विध्वंस भयो, धेरै युवाको हत्या हुनु दु:खलाग्दो कुरा हो ।

युवाहरूमा पनि राजनीतिक चेतना बढ्यो भन्ने नयाँ कुरा पनि आयो । राजनीतिक रूपमै हाम्रो समस्या समाधान हुन्छ, हुन्छ भन्ने देखिन थालेको छ । तर, अहिलेको घटनाक्रम हेर्दा डरलाग्दो पनि देखिएको छ । घरै जलाइदिने अवस्थाले गृहयुद्ध जस्तै देखिएको छ । यसलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सम्हाल्ने अवस्था देखिएको छैन ।

 पछिल्लो विकसित राजनीतिक शक्ति सन्तुलनमा जेन-जी जनादेश कस्तो अवस्थामा छ ?

जेन-जीको माग अहिले पूरा गर्ने अवस्था नै छैन । जसरी संसद् विघटन गरियो, त्यसपछि संविधान संशोधनको कुरा, कार्यकारीको प्रत्यक्ष निर्वाचनको कुरा, हत्याराहरूलाई कारबाहीका कुरा छन् । अहिले जुन किसिमको सरकार छ, यो आफैँ अनिश्चितता र भ्रमको भासमा फसिरहेको छ ।

रणनीतिक र प्रशासनिक रूपमा पनि फसेको अवस्था छ भने राजनीतिक रूपबाट पनि फसेको अवस्था छ । फागुन २१ गते चुनाव तोकिएको छ, त्यसले परिणाममा देला जस्तो मलाई लाग्दैन । त्यसैले हामीले नयाँ ढंगबाट सोच्नुपर्ने अवस्था देखिएको छ ।

सबैको सह-अस्तित्वको सम्मान गर्दै सर्वपक्षीय हिसाबले छलफलमा लैजानुपर्ने अवस्था छ । सर्वपक्षीयभन्दा नागरिक समाज, दलका प्रतिनिधि, जेन-जी प्रतिनिधि लगायत सबै पक्ष बसेर छलफल गरे समाधान आउला जस्तो लाग्छ । तर, यो सरकारको अवस्था मैले निकै नाजुक देखेको छु ।

तपाईंको भनाइअनुसार यो सरकार जेन-जीको जनादेशअनुसार चलेको छैन ?

छैन । किनकी नीतिगत तहबाट पनि उहाँहरूले निर्देशन दिन सकेको देखिँदैन, प्रशासनिक रूपमा पनि स्पष्ट निर्देशन दिन सकेको छैन । बारास्थित सिमराको घटनाले फेरि द्वन्द्वको अवस्था निम्तिन सक्ने देखिएको छ । अहिले जसरी सुशीला कार्कीले सरकार सञ्चालन गर्नुभएको छ, त्यसरी चलाउन सकिँदैन जस्तो लाग्छ ।

जेन-जी आन्दोल नेतृत्व गरेका प्रतिनिधिहरू र सरकारबीच दूरी बढ्दै गएको देखिएको हो ?

हो, दूरी बढ्दै गएको देखिएको छ नि । जेन-जीका जो प्रतिनिधि छन्, उनीहरूले नै यो सरकार ठिक भएन भनेर बोल्न थालिसकेका छन् । सरकारमा जो बसिराखेका छन्, उनीहरु म्यादीजस्ता देखिए । एउटा म्यान्डेट लिएर गएको छ, तर अन्यत्र र अनावश्यक कुरामा रुचि छ । सरकारमा रहेकाहरू केही गर्न नसक्ने अवस्थामा छन् ।

यो किन भयो भने जुन दलहरू छन्, उनीहरूसँग समन्वय पुगेको छैन, नागरिक समाजसँग समन्वय पुगेको छैन । संविधान संशोधन हुनुपर्छ । आन्दोलनबाट हिजोको दिनमा पनि परिवर्तन भएको थियो । तर, संशोधनका लागि सहमतिमा त ल्याउनु पर्छ । प्रशासनिक रूपबाट काम गर्ने हो भने वैधानिकता पाउँदैन, जनादेशबाट जाने हो भने द्वन्द्व गर्नुपर्ने हुन्छ । त्यसैले यसलाई सर्वपक्षीय छलफलमा लैजानु पर्छ ।

यसमा नेतृत्वको पनि कुरा पनि छ । क्षमता भएको नेतृत्वको कुरा पनि आउँछ । त्यहाँनिर उपत्यकाबासीको तर्फबाट सोच्दा अहिलेसम्म हामीले नेतृत्व पाएका छैनौँ । यसपटक उपत्यकाभित्रबाट आदिवासीको तर्फबाट नेतृत्व दिन सक्यौँ भने केही परिवर्तन आउँछ भन्ने हाम्रो मान्यता छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले जुन किसिमको भूमिका खेल्नुभएको छ, उहाँ एउटा अनुभव छ । उहाँ जस्तो व्यक्तिलाई सर्वपक्षीय रूपमा अगाडि बढाए यो समस्याको समाधान निस्किने अवस्था देखिएको छ ।

भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्छ । संविधानअनुसार काम नै भएको छैन, जनता र राष्ट्रकेन्द्रित काम भएको छैन । अहिले व्यवस्थामा भन्दा नेतृत्वमा खराबी देखिएको हो नि, व्यवस्था त संशोधन गरेर लैजान सकिन्छ । 

 त्यतिबेला राष्ट्रपतिले ‘जुक्ति’ लगाएर राजनीतिक निकास निकालेको भन्नुभएको थियो । कतै सरकार जेन-जी आन्दोलनको जनादेश सक्नैका लागि बनेको भनेर आशंका गर्ने अवस्था आएको त होइन ?

जेन-जीको आन्दोलन नेतृत्व र विचारविहीन भएका त्यहाँनिर त्रुटि भएकै अवस्था हो । सबैलाई राखेर संसद् विघटन नगरी त्यो बेला संविधान संशोधनतिर लगेको भए समस्याको समाधान हुन्थ्यो । तर, यो सरकार त अन्तरिम हो । यसले चुनावबाहेक अन्य म्यान्डेट त लिएको देखिँदैन ।

आशंका गर्नु स्वाभाविक हो । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जीको भावनाअनुरूप काम गर्छु भनेर जानुभएको हो, तर उहाँले गर्न सक्नुभएन । पुरानै राजनीतिक संरचनालाई मन नपरेर जेन-जीले नयाँ प्रकारको संरचना खोजिरहेका छन्, विकल्प खोजिरहेको हो नि त ।

त्यो भनेको अब चुनावबाट मात्रै हुने भयो । तर, चुनाव हुन्छ कि हुँदैन त्यो निश्चित छैन, चुनाव गरेर परिणाम आउँछ कि आउँदैन निश्चित छैन । त्यसका लागि नै सर्वपक्षीय छलफल गराउँदा राम्रो होला जस्तो लाग्छ मलाई । यसरी देशलाई अन्योल र भ्रममा पारेर संकटमा राख्नु राम्रो हुँदैन जस्तो लाग्छ ।

मुख्य राजनीतिक दल एमालेले चुनाव हुँदैन भनेको छ, कतिपय नेतृत्व र विश्लेषकहरूले पनि आशंकापूर्ण ढंगले अभिव्यक्ति दिएका छन् । के चुनाव हुने स्थिति नदेखिएको हो र ?

बाराको सिमरामा भएको घटनाले त देश द्वन्द्वमा जान लागेको जस्तो देखिएको छ । भूराजनीतिक विषय पनि यहाँ जोडिएर आउँछ । द्वन्द्वमा गएपछि हस्तक्षेप हुनसक्ने सम्भावना पनि हुन्छ । आफ्नै देश कमजोर भएपछि बाह्य हस्तक्षेप हुनसक्छ । यसलाई मिलाउन जरूरी छ । चुनाव नै हुँदैन भन्ने कुरामा जानु हुँदैन । भए राम्रो हो, लोकतन्त्रमा चुनावको अर्को विकल्प छैन ।

चुनावमा दुईतिहाइ ल्याएर संविधान संशोधन गर्ने हो, तर एउटा टीओआर पनि बनाउन जरूरी छ अब । किनभने सर्वपक्षीय छलफल भनेको कारण त्यही हो नि । यसको लागि एउटा नेतृत्वको कमी देखेको छु मैले । 

तपाईंले सर्वपक्षीय छलफल भनिरहनुभएको छ । तर त्यस विषयलाई कार्यक्रमिक हिसाबले मुख्य बनाएर अगाडि बढाउन चाहिँ किन सक्नुभएको छैन ?

हामीले पनि अब पहल त गर्नैपर्छ । सम्पूर्ण क्षेत्रबाट यो विषयमा पहल गर्नुपर्छ । हामीले गरेर मात्रै हुने कुरा होइन, त्यहाँ नेतृत्वको पनि खोजी गर्नुपर्‍यो। सुशीला कार्की फेल हुँदै जानुभएको छ । उहाँ फेलियर भएर यहाँ द्वन्द्व निम्त्याउन पनि भएन । उहाँले पनि सोच्नुपर्ने विषय हो ।

यो विषयमा हामीले कुराकानी सुरु गरिसकेका छौँ । यदि चुनावसम्म जाने अवस्था छैन भने उहाँले ह्यान्डओभर गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।

छोड्नुपर्ने परिस्थिति सिर्जना भयो वा थप परिस्थिति बिग्रिएपछि मात्रै उहाँले छाड्नुहुन्छ ?

मलाई लाग्छ उहाँले छाड्नुपर्ने परिस्थिति त सिर्जना भइसक्यो । उहाँको अहिले जसरी अभिव्यक्ति आइरहेको छ, त्यसले त्यो परिस्थिति सिर्जना भइसकेको देखाउँछ ।

उहाँले स्वविवेक प्रयोग गरेर अगाडि बढ्नुभयो भने देश पनि बच्छ, नत्र भने द्वन्द्वमा जाने भयो । त्यसो भयो भने त बर्बाद भयो ।जसरी एमालेले शक्ति प्रदर्शन गर्ने काम गरेको छ र जेन-जीले घरघरमा आक्रमण गर्ने कुरा भइरहेको छ ।

 संविधानमै पनि पुनरावलोकनको व्यवस्था छ । यसअघि सरकार बनाउँदा नै संशोधनको विषय उठान गरेका थिए । तर, संविधान संशोधनका पक्षधरहरू एकै ठाउँमा आउने र सकारात्मक वातावरण बनाउन सक्ने अवस्था किन बन्न सकेन ?

यसमा राजनैतिक र वैचारिक कुरा पनि जोडिएर आउँछ । हामीले विचार मिल्नेसँग सहकार्य त गरिरहेका छौँ । तीन दलका शीर्ष नेताका कारणले हामी अनिश्चितताको खाडलमा फसिरहेका छौँ अहिले । यिनीहरूलाई विस्थापित गर्नुपर्ने जेन-जीको माग पनि हो ।

कांग्रेस-एमालेले सरकार बनाउँदा पनि संविधान संशोधनको कुरा गरेका थिए । तर, त्यहाँ त धोका भयो । यिनीहरूले त भ्रष्टाचार लुकाउन मात्रै यो कुरा गरेका रहेछन् । ठगबन्धन भनेर पनि उनीहरूमाथि आरोप लागेकै हो ।

अब निकासतिर जाने भनेको चुनावमार्फत नै हो । चुनावमा जाँदा पनि तीन दल एकै ठाउँमा आएर जनता र राष्ट्रकेन्द्रित हुने अरू दलहरूले छुट्टिएर बस्दिने अवस्था छ । हाम्रो दल बनेको छैन । जेन-जी सबैले दल खोलेका छन् । त्यसरी पनि सिद्धिने अवस्था भयो । एकता नभइई परिवर्तन सम्भव छैन । सबै जनता र देशको मुक्तिका लागि हामीले नयाँ ढंगबाट हामीले तयार गरिरहेका छौँ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : ४२ बजे

जनताप्रति जबाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफूहरू जनताप्रति

डीपी प्रतिनिधि सभाको सभामुखमा निर्विराेध निर्वाचित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म

डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भए

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध : मन्त्री रावल

काठमाडौं– नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा