फिरौतिको नाटक गरी योजनाबद्ध हत्या « Khabarhub

फिरौतिको नाटक गरी योजनाबद्ध हत्या


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै पुगेर रोकिएपछि, प्रहरीको शङ्का १७ वर्षीय पंकज सिंहतर्फ मोडियो । पंकज अभिषेकका काका पर्ने नातेदार हुन् ।

प्रहरीका अनुसार अभिषेकले ट्याक्टर चलाउन नदिएको रिसमा पंकजले योजनाबद्ध रूपमा हत्या गरेका हुन् । ७ गते नै पक्राउ परेका पंकजले प्रहरीलाई दिएको बयानमा अभिषेकलाई ‘खेल्न जाउँ’ भनेर घरबाट लगेका थिए । पहिले खेतमा खाल्डो खनी ड्रम राखिसकेका उनले गम्छाले बाँधेर अभिषेकको घाँटी थिचेर हत्या गरेका थिए । प्रारम्भमा शव ड्रममा राखी खाल्डोमा पुरेर माथिबाट माटोले ढाकिएको थियो ।

हत्या पश्चात पनि पंकजले आफन्तसँग खोजी अभियानमा संलग्न बनेको अभिनय गरेका थिए । असोज ६ गते बिहान उनले अभिषेककी आमा रेखादेवी सिंहको मोबाइलमा इमोमार्फत पाँच करोड फिरौति माग गर्दै हिन्दी भाषामा धम्कीपूर्ण सन्देश पठाएका थिए । सन्देशमा उल्लेख थियो, “पैसा नदिए मारिदिन्छौँ, प्रहरीले थाहा पाए पनि लास फाल्नेछौँ ।” यसबाट घटनालाई सीमापार (बिहारतर्फ)बाट आएको जस्तो देखाउने प्रयास गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

घटनाको राति भारी वर्षा भएपछि ड्रम देखिन थाल्यो र पंकज फेरि घटनास्थल गए । त्यसपछि शव निकालेर आँप बगैँचामा फ्यालेको र ड्रमलाई नजिकैको पोखरीमा डुबाएको बयान उनले प्रहरीसमक्ष दिएका छन् । घटनामा प्रयोग भएको गम्छा विद्यालय प्राङ्गणबाट, मृतकको मोबाइल र सिम पोखरी किनारबाट र ड्रम पोखरीभित्रबाट प्रहरीले बरामद गरेको छ । साथै, फिरौति सन्देश पठाउन प्रयोग गरिएको मोबाइल पंकजकै रहेको पुष्टि भएको छ । उक्त मोबाइल दाउरा राख्ने घरभित्र फेला परेको छ ।

अभिषेक परिवारका एक्ला छोरा थिए । उनका पिता सञ्जय सिंहको करिब १० वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो । अभिषेककै नाममा चार बिघा पुख्र्यौली जमिन रहेको हुँदा सम्पत्ति हत्याउने नियतले अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले भने, “पंकजले घटना आफू एक्लैले गरेको भनेका छन् तर ड्रममा शव लुकाउनेदेखि निकालेर फाल्नेसम्मको प्रक्रिया हेर्दा अरुको पनि संलग्नता हुनसक्छ ।”

घटनाको गम्भीरताका कारण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत अनुसन्धानमा खटिएको छ । नाबालक पंकजलाई मोहरा बनाइ अरू कसैले योजनाबद्ध ढङ्गले हत्या गराएको हुनसक्ने कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक शर्माले भने, “दोषी पत्ता लागिसकेको छ । धेरै प्रमाण जुटिसकेका छन् । केही निष्कर्ष आउन बाँकी छ, निष्कर्षमा पुगेपछि सार्वजनिक गर्छौँ ।”

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ८ : ४७ बजे

ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण

मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली

सुत्केरी महिलामाथि घर र अस्पतालमै हिंसा : एकतिहाइभन्दा बढी पीडित

काठमाडौं– सुत्केरी तथा गर्भवती महिलामाथि घर र स्वास्थ्य संस्थाभित्रै हिंसा

सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा

काठमाडौं- गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट