छठ पर्वका लागि शृङ्गारिँदै राप्ती नदीतट « Khabarhub

छठ पर्वका लागि शृङ्गारिँदै राप्ती नदीतट


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बागमती – लोकआस्था, विश्वास र श्रद्धाको रूपमा मनाइने छठ पर्वका लागि हेटौँडा उपमहानगरपालिका –१ स्थित राप्ती नदीतटलाई विशेष रूपमा सरसफाइ गरी शृङ्गारिँदैछ ।

राप्तीतटलाई सरसफाइ गरेर पण्डाल लगाउने र शृङ्गारिने कार्य भइरहेको छठ पूजा समितिका संयोजक रवि गुप्ताले जानकारी दिए । करिब ७०० भन्दा बढी व्रतालु अटाउने गरी नदीतटमा ६२० फिट लामो पण्डाल लगाइएको उनले बताए ।

“व्रतालुहरू रातभर त्यही पण्डालमुनि जाग्राम बसेर पूजा गर्नेछन् । छठ पर्वमा व्रतालु र अवलोकन गर्न जानेहरूको सङ्ख्या हजारौँ हुन्छ । गत वर्ष ६० हजारभन्दा बढीको सहभागिता थियो । यो वर्ष गत वर्षको भन्दा पनि बढी सहभागी हुने अनुमान गरिएको छ”, संयोजक गुप्ताले भने ।

प्रत्येक वर्ष छठ मनाउनेहको सङ्ख्यामा वृद्धि भइरहेकाले पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजार घुइँचो देखिन थालेको छ । विगत भन्दा यस वर्ष छठ पर्वको आवश्यक पर्ने प्रसाद तथा अन्य सामानको मूल्य वृद्धि भएको स्थानीयले बताएका छन् ।

यस वर्षको छठ पर्व आजदेखि सुरु भएको छ । छठको पहिलो दिन आज व्रतालुहरूले नहायखाय गरी छठ पर्व आरम्भ गर्दछन् । दोस्रो दिन खरना विधि गर्ने गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरेर अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालुहरू दिनभरि उपवास बस्ने गर्छन् ।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटो कै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खिर पकाइन्छ । यस्तो खिर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ । चढाइसकेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहेको पण्डित रामकुमार शास्त्रीले बताए । उनका अनुसार यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।

पर्वको तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन व्रतालुले रातभरि जाग्रामा बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि व्रत समाप्त हुन्छ ।

पारिवारिक सुख, शान्ति रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा नदीतटमा भक्तजनको घुइँचो लाग्ने गर्छन् । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहिआएको पण्डित शास्त्रीले बताए ।

उनका अनुसार ज्योतिष शास्त्रका आधारमा छठ पर्वको समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलदकारी समेत मानिएको छ ।

छठ पर्वको मुख्य प्रसादका रूपमा केरा, फलफूल, मिठाई, अदुवा, उखुलगायत बाँसबाट बनेका अन्य सामग्रीको किनमेल गरिन्छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रतालु महिलाले भोजनमा माछा, मासु, लहसुन, प्याज, कोदो, मसुरलगायत परित्याग गरी व्रत बस्ने गर्दछन् ।

महाभारत अनुसार द्रोपतीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्यदेवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका राज्यमा बास बसेका थिए । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठ पर्व मनाउने परम्परा चलिआएको हो ।

अर्कोतिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनीका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात् अटलशौभाग्य र इच्छापूरा भएपछि त्यही दिनदेखि छठपर्वको सुरुआत भएको पण्डितले शास्त्रीले शास्त्रमा उल्लेख गरिएको बताए । “छठ पर्व मनाउनेको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्वहरू पनि महत्त्वपूर्ण छन् । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण ठानिन्छ”,उनले भने ।

भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रूख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ । अहिले हेटौँडा बजार क्षेत्रमा छठ पर्वको गीत गुञ्जिन थालेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ८ : ३० बजे

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक