बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता « Khabarhub

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

एकताको मोडालिटीमा अलमल, प्रधानमन्त्रीमै धेरै आकांक्षी



काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग छलफल तीव्र पारेका छन् ।

ठूला दलका फरक विचार राख्ने नेताहरूसँग पनि उनले कुरा गरिरहेका छन् । बुधबार राति भएको छलफलमा वैकल्पिक शक्तिहरू एक भएर जानेबारे करिब सहमति जुटेको बताइएको छ।

यस अगाडि गत आइतबार र सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेनबीचको छलफलमा पनि वैकल्पिक शक्ति एक भएर जाने कुरा भएको थियो । तर कसरी भन्नेबारे छलफल गरेर निर्णयमा पुग्ने टुङ्गो लागेको थियो ।

तीन चारवटा विकल्पमा रवि र बालेनले छलफल गरेका थिए । त्यसपछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग पनि छलफल गर्ने गरि रवि र बालेन उठेका थिए ।

गयराति बालेनले विभिन्न राजनीतिक दल र सामाजिक क्षेत्रका व्यक्तिहरूसँग छलफल गरे । छलफलमा कांग्रेस नेता चन्द्र भण्डारी, जेन-जी नेतृ रक्षा बम, विवेकशील साझाका नेता मिलन पाण्डे, डाक्टर भगवान कोइराला, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, कलाकार निश्चल बस्नेत, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, सञ्चारकर्मी सुरज सिंह ठकुरी लगायत थिए । त्यहाँ पनि वैकल्पिक शक्ति एक हुने र र सहकार्यबारे लगभग टुङ्गो लगाएको नेताहरूको दाबी छ।

छलफल तीव्र

रातभर छलफलमा बसेका बालेन बिहान निरन्तर सक्रिय रहे । सुरुमा जेन-जी अभियान्ता सुधन गुरुङसँग छलफल गरे। त्यसलगत्तै उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ कुमार बेनको घरमा पुगे । जहाँ बालेन बसिरहेका थिए ।

छलफलमा बाले र कुलमान नयाँ शक्तिहरूको सहकार्यका लागि तयार भएका छन् । तर अझैसम्म शक्ति बाँडफाँटबारे कुरा मिलिनसकेको नेताहरूको दाबी छ ।

‘नयाँ शक्ति मिलेर मोर्चा बनाउने वा कार्यगत एकता गर्ने दिशामा छलफल भइरहेको छ। एउटै पार्टी बनाएर जाने विषयमा द्विविधा छैन । तर शक्ति बाँडफाँट र सैद्धान्तिक कुरा मिलाउन समय लागेको छ’, बालेनसँग संवादमा बसेका एक नेताले खबरहबलाई भने, ‘नयाँ शक्ति मिलेर जानेमा कसैको दुई मत र मन छैन । तर कुन मोडालिटी जाने, कस्तो सहमति गर्ने कुरा मिलेको छैन। सैद्धान्तिक आधार र एजेन्डाहरू पनि तयार गर्न समय लाग्छ।’

बालेनले पहिलो विकल्पमा नयाँ शक्तिसँग मिल्न चाहेका छन् तर आवश्यक परेमा आफ्नै दल खोल्ने मुडमा पनि देखिएका छन् ।

‘हामीसँगको कुराकानीमा बालेन आफ्नै पार्टी खोलेर जाने निर्णयमा पुग्नु भएको छैन। तर उहाँले लौरो चुनाव चिह्न बोक्छु भनिरहनु भएको छ । लौरोमै वैकल्पिक शक्ति मिलौँ भन्ने प्रस्ताव राख्नुभयो’, भेटघाटमा उपस्थित अर्का नेताले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै अगाडि बढाएर चुनाव चिह्न फेर्ने कि भन्ने पनि कुरा भएको छ।’

कुलमानले पनि राष्ट्रिय स्वतन्त्र पार्टी लगायत एक भएर जानेबारे फरक मत राखेका छैनन् । तर उनले साथीहरूसँग छलफल गरेर निर्णय लिने जानकारी गराएका थिए । स्रोतका अनुसार बालेनसँगै कुलमान पनि प्रधानमन्त्रीको दौडमा छन् । यसमा कुरा मिल्न बाँकी छ ।

कुलमानले सबै निर्णय आफूले नगर्ने भन्दै पार्टीमा छलफल गरेर जानकारी गराउने जवाफ दिएका छन् ।

‘कुलमान दाइले पार्टीमा छलफल गरेर निर्णय दिन्छु भन्नुभएको रहेछ । हामीले मोर्चा, कार्यगत एकता अथवा चुनावी गठबन्धन गरेर जाऊँ, पार्टी एक बनाएर नजाऊँ भनेर सुझाव दिएका छौँ’, कुलमाननिकट नेताले खबरहबलाई भने, ‘अहिले नै मिलेर गएमा भविष्यमा समस्या हुने चिन्ता छ । बरू मोर्चागत रुपमा अगाडि बढ्ने विकल्प ठिक छ।’

पुराना दलले बलिया र सशक्त उम्मेदवार उठाएका ठाउँमा नयाँहरू मिलेर लड्ने अर्को योजना छ । ‘चुनावमा बहुमत आएपछि सहकार्य गर्ने गरी विकल्प राख्न पनि हामीले सुझाव दिएका छौँ’, ती नेताले भने।

कुलमानपछि रविसँग संवाद

बिहीबार बिहान कुपण्डोलमा भएको बैठकबाट कुलमान निक्लिनेबित्तिकै कांग्रेस नेता सुनिल शर्मा कुमार बेनको घर पुगे । शर्माले पनि वैकल्पिक र युवा शक्ति एक भएर जाँदा साथ र समर्थन दिने बताएका छन् ।

त्यसपछि दिउँसो बालेन र रवि कुमार बेनको घर बसेका थिए। बेनको घर बाहिर जे-नजी अभियन्ता सुधन गुरुङ लगायतकाले दबाब दिइरहेका छन् । सुधनले दुई नेता सहमतिको आधार तयार पारेर हस्ताक्षरपछि निक्लिने दाबी गरिरहेका छन् ।

बालेनसँगको संवादपछि रवि मुस्कुराउँदै निस्किएका छन् । उनले आफ्नो अनुहारले सकारात्मक सन्देश दिएको बताए ।

बाहिर कलाकार अर्जुन घिमिरे, विशाल भण्डारी लगायतका पनि पुगेका थिए । रवि र बालेनले पनि सहमति गरेर जान सकिने बाटो रहेको बताइरहेका छन् । तर चुनावी सहकार्य गर्ने अथवा एउटै पार्टीमा जाने कुरा मिलेको छैन।

गत आइतबार र सोमबार बालेनसँग भएको छलफलमा पनि रविले सहकार्यका मोडालिटी प्रस्ताव गरेका थिए । स्रोतका अनुसार रविले फागुन २१ पछिको चुनावमा प्रधानमन्त्री बनेर जान पनि प्रस्ताव गरेको दाबी स्रोतले गरेको छ।

उनीहरू सभापतिबाहेकका पदमा लोभ नगर्न भनिरहेका छन् । बालेनलाई मिलाएर अगाडि बढे रास्वपा बहुमतसहित पहिलो शक्ति बन्ने रास्वपाको हिसाब छ ।

‘सुधन गुरुङले तीन नेता मिलाउन ठूलो भूमिका खेल्नुभएको छ । हाम्रो संकल्प पनि तीन नेता मिलुन्, हालसम्मको कुराकानीमा रवि र बालेन मिल्न सकारात्मक देखिए पनि कुलमान अस्पष्ट रहेको बुझेका छौं’, रविनिकट स्रोतले भन्यो, ‘आज र भोलिसम्ममा निकै कुरा पाक्छन् ।’

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ३ : ३० बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर